इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको ‘च्याप्टर क्लोज’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको ‘च्याप्टर’ करिब ‘क्लोज’ भएको छ । हिमालयन बैंकले २९ माघका लागि बोलाएको २७औं बार्षिक साधारणसभाको विषयमा मर्जर वा एक्वीजीसनको प्रस्ताव नै छैन । पछिल्लो समय बैंक वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजीसनको लहर नै चलेको छ । अधिकांश बैंक वित्तीय संस्थाले आफ्नो बार्षिक साधारणसभाबाट मर्जर वा एक्वीजीसनको अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने गरेका छन् । तर, हिमालयन बैंकले उपयुक्त संस्थासँग मर्जर तथा एक्वीजीसनको अधिकार संचालक समितिलाई दिने प्रस्ताव सभामा लगेको नै छैन । तर, २८ पुसमा सम्पन्न भएको नेपाल इन्भेष्टमेन्ट बैंकको ३३औं बार्षिक साधारणसभामा अध्यक्ष पृथ्वीबहादुर पाँडेले चाढै नै ठूलो बाणिज्य बैंकसँग मर्जर गर्न लागिएको जानकारी गराएका थिए । यसका लागि बैंक संचालक समिति अध्यक्ष पद छाड्नु परे पनि तयार रहेको पाँडेको भनाइ थियो । अध्यक्ष पाँडेको यस्तो भनाईपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर हुने आकलन धेरैको थियो । तर, हिमालयन बैंकले सार्वजनिक गरेको आफ्नो २७औं बार्षिक साधारणसभाको सूचनामा मर्जर र एक्वीजीसन सम्बन्धी एक शब्द पनि उल्लेख छैन । इन्भेष्टमेन्ट र हिमालयनको किन हुन्छ चर्चा ? गत असार १२ गते नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संचालक समिति अध्यक्षलाई होटल याक एण्ड यतीमा बोलाएर मौद्रिक नीति आउनु अगाडि नै ‘बिग मर्जर’को खाका तत्काल ल्याउन निर्देशन दियो । सो छलफलको उद्देश्य कुन बाणिज्य बैंक कुन बैंकसँग मर्जरमा जान तयार होलान् भन्ने ‘मार्केट सेन्टिमेन्ट’ बुझ्नु थियो । बाणिज्य बैंकहरु मर्जरको लागि आफै तयार नभए एउटै ग्रुपको धेरै लगानी भएका तथा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरुले संचालन गरेका बैंकबीच मर्जर गराउने राष्ट्र बैंकको ‘हिडन इन्ट्रेष्ट’ सो छलफलमा लुकिरहेको थिएन । नेपाल राष्ट्र बैंकले सोभन्दा अगाडि पनि एउटै ग्रुपको धेरै लगानी भएका र पारिवारिक सम्बन्ध भएका संचालक रहेका बैंकबीच ‘स्वेच्छिक’ मर्जरको जबरजस्त सहजीकरण गरिरहेको थियो । राष्ट्र बैंकको यही गृहकार्यको कारण ज्वाइ–ससुरा सम्बन्ध भएका पृथ्वीबहादुर पाँडेको प्रमुख लगानी रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन शमशेर जवराको लगानी रहेको हिमालयन बैंकबीच मर्जरको अड्कलबाजी चलेको थियो । हिमालयन बैंकमा छाया इन्टरनेसनल प्रालिको ८.८९ प्रतिशत प्रमोटर सेयर छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा छाया इन्भेष्टमेन्ट कम्पनीको ६.६५ प्रतिशत सेयर लगानी छ । यी दुबै बैंकमा केही प्रमोटर पनि समान छन् । हिमालयनलाई राष्ट्र बैंकको दबाब हिमालयन बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर हिस्सा छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउन हिमालयनलाई लिखित निर्देशन नै दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले पनि बैंकमा सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा पुर्याउन हिमालयनसँग विभिन्न विकल्प छन् । जस्तो कि सर्वसाधारणको कम्तिमा ४५ प्रतिशत सेयर हिस्सा भएको तथा हिमालयनको भन्दा चुक्ता पुँजी कम नभएको बैंकसँग समान स्वाप रेसियोमा मर्जर गर्ने हो भने हिमालयनले अरु केही गर्नुपर्दैन । अर्काे विकल्प भनेको बैंकले थप सार्वजनिक निस्कासन (एफपीओ) जारी गर्ने हो । त्यस्तै, अर्काे विकल्प प्रमोटर सेयरलाई साधारणमा परिणत गर्ने हो । तर, राष्ट्र बैंकले जारी गरेको निर्देशनमा एकैपटक १० प्रतिशतभन्दा बढी प्रमोटर सेयरलाई साधारणमा परिणत गर्न नमिल्ने भनिएको छ । राष्ट्र बैंकले यो निर्देशनमा पुनर्बीचार गर्ने हो भने हिमालयनले सोही विकल्प अपनाउने सम्भावना अधिक छ । हिमालयन बैंकमा पाकिस्तानको हविव बैंकको २० प्रतिशत सेयर छ । हविव बैंकले हिमालयनको आफ्नो सेयर बेच्न खोजेको छ । यो सेयर हविवले बेलायतको इन्भेष्टमेन्ट कम्पनी सीडीसीलाई बेच्ने प्रक्रिया अगाडि बढेको थियो । तर, हिमालयन बैंक संचालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठले असहयोग गरेका कारण सम्भव नभएको आरोप श्रेष्ठमाथि लाग्ने गरेको छ । हविवको सेयर सीडीसीलाई बेच्ने प्रक्रियामा राष्ट्र बैंकले पनि सहयोग गर्ने गरेको छ । विश्व बजारमा राम्रो ख्याती कमाएको कम्पनी नेपाली बैंकमा साझेदार भएर आउँदा सकारात्मक सन्देश प्रवाह हुने ठानेर राष्ट्र बैंकले सहजीकरण गरिरहेको हो । हिमालयन अब मर्जरमा जादैन ? कुनै पनि बैंक मर्जरमा जाने नजाने भनेको उसको व्यवसायिक रणनीति अनुसार पनि हो । नियामकले दबाब दिएर मर्जर वा एक्वीजीसनमा जाने भन्ने बेग्लै कुरा हो । तर, हिमालयन बैंकले अहिलेसम्म कुनै बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजीसन गरेको छैन । र, आगामी साधारणसभामा पनि मर्जर वा एक्वीजीसन सम्बन्धी प्रस्ताव छैन । आगामी साधारणसभाले मर्जर र एक्वीजीसन सम्बन्धी विशेष प्रस्ताव पारित नगर्दैमा मर्जर वा एक्वीजीसन हुनै सक्दैन भन्ने होइन । हिमालयन बैंकका प्रमोटरसँग ८५ प्रतिशत सेयर छ । हविव बैंकको २० प्रतिशत, कर्मचारी संचय कोषको १४ प्रतिशत, एन ट्रेडिङको १२.७१ प्रतिशत, म्युचुअल ट्रेडिङको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत, छाया इन्टरनेसनलको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत प्रमोटर सेयर छ । यी ७ सेयरधनी मिल्ने हो भने पनि ८० प्रतिशत सेयरधनीको प्रतिनिधित्व हुन्छ । बैंक वित्तीय संस्थाको कुनै पनि नीतिगत निर्णय गर्न ५० प्रतिशतभन्दा बढी सेयरधनीको सहमति चाहिन्छ । त्यसैकारण हिमालयन बैंकका ५ देखि ६ जना सेयरधनी मिलेको अवस्थामा विशेष साधारणसभा गरेर मर्जर वा एक्वीजीसनको विशेष प्रस्ताव पारित गर्न कुनै अप्ठेरो हुनेछैन । अझै विकल्प छ इन्भेन्टमेन्ट बैंकसँग हिमालयन बैंकमा हिमालय शमशेर जवरासहित उनको परिवारको लगानी हिस्सा ठूलो छ । जवरा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेका ससुरा हुन् । अहिले हिमालयन बैंक संचालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठ छन् । श्रेष्ठ समुहले आफूहरुलाई पेलेको अनुभूति जवरा समुहले गरेको छ । यस्तै प्रमुख लगानीकर्तामध्येमै पर्ने सीपी खेतान समुह पनि श्रेष्ठ समुहको पेलानमा परेको अनुभुत गरिरहेको छ । त्यसैकारण जवरा र खेतान समुह मिलेर यसपटक श्रेष्ठ समुहलाई बैंक संचालक समितिमा अल्पमतमा पार्ने रणनीतिमा देखिएका छन् । आगामी साधारणसभाबाट अध्यक्ष श्रेष्ठ वा उनका भाइ प्रचण्डबहादुर श्रेष्ठमध्ये एक जनालाई मात्रै संचालक समितिमा आउन दिने रणनीति जवरा–खेतान समुहको छ । श्रेष्ठ समुह हिमालयन बैंकलाई इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने विषयमा त्यति सकारात्मक नभएको बताइन्छ । तर, हिमालयनको यसपालीको साधारणसभाले श्रेष्ठ समुहलाई संचालक समितिमा अल्पमतमा पार्यो भने मर्जरको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर भए हिमालयनको साधारण सेयरधनी हिस्सा बढाउने विषय पनि त्यसै टुंगिने देखिन्छ । त्यो कसरी भने इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बाणिज्य बैंकको १५ प्रतिशत प्रमोटर सेयर थियो । राष्ट्र बैंकले क्रस होल्डिङ रोकेपछि राष्ट्रिय बाणिज्य बैंकले सो सेयर विक्री गर्यो । तर, अहिले पनि बाणिज्य बैंकले बेचेको सो १५ प्रतिशत सेयर एनआईबीपीओको नाममा स्पेसल विन्डोबाट दैनिक कारोबार भइरहेको छ । अन्य प्रमोटर सेयर खरिद विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिने भएपनि बाणिज्य बैंकले बेचेको इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत प्रमोटर सेयर साधारण सेयर जस्तै गरी कारोबार भइरहेको छ । राष्ट्र बैंकले सो १५ प्रतिशत सेयरलाई साधारणमा परिणत गर्न इन्भेष्टमेन्ट बैंकलाई दबाव दिइरहेको छ । गत वर्ष नविल बैंकलाई राष्ट्र बैंकले दबाब दिएपछि यसै गरिएको नजिर छ । नविल बैंकमा एनआईडीसीको प्रमोटर सेयर थियो । क्रस होल्डिङ रोकिएपछि एनआईडीसीले बेचेको नविल प्रमोटर सेयर नविलपीको नाममा कारोबार हुने गरको थियो । तर, राष्ट्र बैंकको दबाबपछि नविलले गत वर्ष सो सेयरलाई साधारणमा परिणत गरेको थियो । इन्भेष्टमेन्ट बैंकले सो १५ प्रतिशत सेयर पनि साधारणमा परिणत गरेमा सो बैंकमा सर्वसाधारण सेयरको हिस्सा करिब ४६ प्रतिशत पुग्नेछ । अहिले पनि इन्भेष्टमेन्ट बैंकमा ३१ प्रतिशतभन्दा बढी सेयर हिस्सा सर्वसाधारणको छ । राष्ट्रिय बाणिज्य बैंकले बेचेको इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने हो र त्यसपछि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर हुने हो भने हिमालयनमा अहिले देखिएको साधारण सेयर हिस्साको मुद्दा पनि सकिनेछ । सम्बन्धित सामग्री हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने
हाम्रो सगरमाथा सहकारी बिग मर्जरमा जाँदै, अध्यक्षमा पुनः उप्रेती
काठमाडौं । ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बिग मर्जरमा जाने भएको छ । शनिबार सम्पन्न संस्थाको २२ औं साधारणसभाले बिग मर्जरमा जाने निर्णय पारित गरेको हो । मर्जरमा जाने संस्थाहरु बीच छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने साधारणसभामा जानकारी गराईएको थियो । यस अघि धेरै संस्थाहरु मर्ज गर्नेमा हाम्रो सगरमाथा रहेको छ । संस्थाको विभिन्न जिल्लाहरुमा गरी १९ वटा सेवा केन्द्र रहेको छ । ११ हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी १७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६५ करोड बचत संकलन गरी १ अर्ब ३० करोड कर्जा प्रवाह गरेको साधारणसभामा जानकारी गराईएको थियो । हाल संस्थामा १ सय ७० जना कर्मचारी कार्यरत छन् । साधारणसभामा प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए । कार्यक्रममा बोल्दै नेता नेपालले सहकारी संस्थाहरु धेरै भन्दै मर्जर अहिलेको आवश्यकता रहेको बताउँदै आर्थिक समृद्धिको लागि सहकारी उपयुक्त माध्यम रहेको र अब सहकारी संस्था उत्पादनमा केन्द्रित रहनुपर्ने बताएका थिए । साधारणसभामा संस्थाका अध्यक्ष केबि उप्रेतीले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष उप्रेती र लेखा संयोजक पौडेलले पेश गरेको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ । अध्यक्षमा पुनः केबी उप्रेती हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः के.बि. उप्रेती निर्वाचित भएका छन् । संस्थाको २२ औं साधारणसभाले पुनः केबि उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा शिवप्रसाद कट्टेल, सचिवमा देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दप्रसाद पाण्डे, सदस्यमा बद्रि बहादुर राउत र प्रकाशमान शाही निर्वा्चित भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा राजु पौडेल निर्वा्चित भएका छन् । पौडेल यसअघि पनि लेखा समिति संयोजक थिए ।
बीमा मर्जरः नियामकले बाटो खोल्यो, कम्पनीलाई ‘हतार छैन’
काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको हतार नभएको बताएका छन् । नियामक निकाय बीमा समितिले मर्जरको बाटो खुलाए पनि कम्पनीहरुले तत्काल हतार नभएको प्रतिक्रिया दिएका हुन् । कम्पनीलाई मर्जर र एक्वीजीसनामा अवरोध नपुगोस भनेर नै निर्देशिका जारी गरिसकेको छ । केही कम्पनीहरुले भने आन्तरिक रुपमा मर्जरको तयारी गरिरहेका छन् । पूँजी बृद्धिले मर्जरमा दबाब बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनै पर्ने व्यवस्था गरेको थियो । समितिले १३ माघ २०७३ मा जारी गरेको यो निर्देशन अनुसार कम्पनीहरुले असार मसान्त २०७५ मा तोकिए अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर, समितिले दिएको पहिलो म्यादभित्रमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्न नसकेपछि समितिले पुस मसान्त २०७५ सम्म म्याद थप गरेको थियो । थप गरिएको समयभित्र पनि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुको लागि समितिले असार मसान्त २०७५ सम्मको ग्रेस अवधि थपेको थियो । समितिले दिएको निर्देशन बमोजिम कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनामा हकप्रद जारी गर्ने, बोनस सेयर दिने, थप निस्कासन (एफपीओ) जारी गर्ने लगायत थियो । तर, समितिमा योजना पनि पेश गर्ने र तोकिएको समयभित्रमा पूँजी वृद्धि गर्न नसक्ने ७ कम्पनीलाई समितिले स्पष्टीकरण सोधेको थियो । नपुर्याउनेहरू चटाराेमा सरकारी लगानीसमेत रहेकाे राष्ट्रिय बीमा कम्पनीले पनि समितिले ताेकेअनुसारकाे न्यूनतम चुक्ता पूँजी पुर्याएकाे छैन। तर ताेकेअनुसारकाे पूँजी पुर्याउने अन्तिम तयारीमा कम्पनी छ । कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले पूँजी वृद्धिकाे काम हुन लागेकाे बताए । अहिले कम्पनीकाे लेखा परीक्षण भइरहेकाेले साे काम सकिनेबितीकै पूँजी वृद्धिकाे याेजना अघि बढ्ने बताए ।
बिग मर्जर पछि विदेशमा शाखा खोल्ने- अध्यक्ष चन्द्रप्रसाद ढकाल
सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारी शुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।
मर्जर स्वीकृतिका लागि ग्लोबल र जनता राष्ट्र बैंकमा, यसै साता अन्तिम स्वीकृति दिइने
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका छन् । दुईओटै बैंकका साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेसँगै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा गत साता नै निबेदन दिएको बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका तर्फबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि पत्र प्राप्त भइसकेको भन्दै त्यसबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले केही दिनभित्रै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने बताए । ‘हामीकहाँ पत्र आएको छ, हामीले आवश्यक प्रक्रिया अघि बढाइसकेका छौं, अब बस्ने बोर्ड बैठकले मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिने निर्णय गर्छ’ ढकालले भने । कसरी बढ्दैछ मर्जर प्रक्रिया ? मर्जरका लागि दुई बैंकहरुबीच सञ्चालक समिति, कार्यकारी प्रमुख र स्वाप रेसियोबारे भएको प्रारम्भिक सहमतिलाई नै दुई बैंकबीच अन्तिम सहमतिले समेत निरन्तरता दिएको छ भने उक्त सहमतिलाई दुबै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन् । अहिले मध्यम र तल्लो तहका व्यवस्थापनका कर्मचारीहरुको व्यवस्थापन, दोहोरिएका शाखाहरुको व्यवस्थापन, सफ्टवेयर व्यवस्थापन लगायतका प्राविधिक कामहरु भइरहेको बताइएको छ । ग्लोबल आईएमई र जनता बैंक मर्ज भइसकेपछि करिब ३०० शाखा पुग्नेछ । एकै स्थानमा रहेका केही शाखाहरु भने बन्द गर्नुपर्ने अवस्थामा रहेकोले केही शाखाहरु भने बन्द गर्नुपर्ने हुनसक्ने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । शाखा बन्द गर्नु परेपनि बैंकबाट कुनैपनि कर्मचारीहरु बाहिरिने अवस्था भने नहुने ढकालकाे भनाई थियो । मर्जर र एक्विजिसनको लामो अनुभव आफूहरुसँग भएकोले जनतासँगको मर्जर प्रक्रियामा पनि कर्मचारी व्यवस्थापनका कुनै समस्या नभएको उनले बताए । नयाँ बन्ने ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई बैंककै सफ्टवेयर प्रयोग गर्नेछ । हाल ग्लोबल आईएमई बैंकको शेयर रजिष्ट्रारको रुपमा ग्लोबल आईएमई क्यापिटल तथा जनता बैंकको शेयर रजिष्ट्रारको रुपमा जनता क्यापिटलले नै काम गरिरहेको छ । यी दुईलाई एकै ठाउमा ल्याउने र सहायक कम्पनीको मर्जर प्रक्रिया समेत सुरु भइसकेको छ, यद्यपि यी प्रक्रियाहरु भने एकीकृत कारोबार घोषणापछि समेत गर्न सकिन्छ ।
ग्लोबल आइएमईको २५% लाभांश पारित, मर्जरपछि सञ्चालकमा ग्लोबलबाट ५ र जनताबाट २ जना
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ । सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताएका छन् । मर्जरपछि ग्लोबल आइएमई ठूलो र सबल बैंक बन्ने अध्यक्ष ढकालले बताए । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेशशर्मा ढकाल हुने सहमतिभएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । साथै, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् ।
जनता बैंकको १२ प्रतिशत लाभांश सहित ग्लोबल आईएमइसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डा पारित
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको १०औं वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३१० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ । सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैकको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैंकसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डालाई पारित गरेको छ । शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैंक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैकको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैंकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ हुने बैंकले जनाकारी दिएको छ ।
मेगा बैंकको ११ प्रतिशत नगद लाभांश पारित, मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिने
काठमाडौं । मेगा बैंक नेपालको प्रस्तावित ११.७५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकले उक्त पुँजीको ११.७५ प्रतिशतको दरले एक अर्ब २२ करोड रुपैयाँ बराबरकाे रकम नगद लाभांश स्वरुप सेयरधनीलाई दिने भएको छ । त्यस्तै, सभामा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई पारित गर्दै सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । अध्यक्ष शाहले मेगा बैंकलाई अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको बताएका छन् । ‘आफ्नो पुँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई बढावा दिन पोखरामा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको “ख” वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौँ । उक्त प्राप्ति प्रक्रिया सम्बन्धी कार्यहरु सम्पन्न भएपश्चात स्वीकृतिको लागि साधारण सभामा प्रस्ताव पेश गरिनेछ’, अध्यक्ष शाहले भने- ‘गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल २१० वटा भन्दा बढी रहन गई व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुनेछ ।’ बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा प्रगति भएको बताउँदै सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिँदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बताएकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित बैंकको छवि बनाउन सफल भएकै कारण बैंकले यस बर्ष साना तथा मझौला व्यवसाय र लघुवित्त कर्जा गरी दुई विधामा उत्कृष्ट बैंकको रुपमा अन्तर्राष्ट्रियस्तरको ‘एशिया मनी अवार्ड’ जित्न सफल भएको सीईओ खुञ्जेलीले जानकारी दिइन् । गत आर्थिक वर्षमा २३ दशमलव ७१ प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको जानकारी दिँदै सिइओ खुञ्जेलीले मुनाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि बैंकले उत्तिकै प्राथमिकता दिएको बताइन् । सोही बमोजिम देशभरका प्रत्येक शाखाबाट एक–एक जना गरी १ सय २ जना असहाय छात्राहरु लगायत डोल्पा जिल्लास्थित उत्पीडित जनजाति समुदायको तर्फबाट एसईई परिक्षामा एक प्लस ग्रेड हासिल गर्न सफल विद्यार्थी छिरिङ दावा बुढामगरलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरी कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि शैक्षिक सामाग्री लगायत छात्रवृत्तिको व्यवस्था गरेको उनले जानकारी दिइन् । ‘छात्रवृत्ति अभियानबाट आर्थिक अभावमा बालिकाहरुले बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने हामीले विश्वास लिएका छौँ ।’- उनले बताइन् । हाल बैंकको १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटीएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ । बैंकले आफ्नो व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी “मेगा क्यापिटल मार्केट्स् लिमिटेड” ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ वैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ । साथै, धितोपत्र व्यवसायी/शेयर दलालको कार्य गर्न बैंकको शत प्रतिशत स्वामित्व रहने गरी ‘मेगा स्टक मार्केटस् लिमिटेड’ को नाममा सहायक कम्पनी दर्ता भई सञ्चालन अनुमतिको प्रक्रियामा रहेको बैकले जनाकारी दिएको छ ।
अर्थमन्त्री खतिवडा भन्छन्-‘बैंक तथा वित्तीय संस्थालाई कसैको करकाप र हतारमा मर्जर गरिँदैन’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्जर ऐच्छिक कुरा हो’, उनले भने– ‘बैंक मर्जर कसैको करकाप र हतारमा गरिँदैन । कानून पालना गर्नु सबैको कर्तब्य हो ।’ केही कमजोर वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकारको तर्फबाट बाध्यकारी मर्जरको विपक्षमा धारणा बेलाबखत आउने गरेको छ । अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव पनि नरहेको बताए । दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरीवेक्षण, निष्कृय कर्जा, र सपूर्ण व्यवस्थापनको हिसाबले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. चिन्तामणी शिवाकोटीले कमजोर बैंकहरुले मर्जरमा जानु भन्दा अर्को बिकल्प नभएको बताए । उनले अब राष्ट्र बैंंकले छिट्टै नै दुई महत्वपूर्ण कार्यक्रम ल्याउने योजनामा समेत रहेको उल्लेख गरे । ‘राष्ट्र बैंकले डिसेम्बरबाट सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआएएस) कार्यक्रम लागू गर्दैछ।’ उनले भने–‘यसका लागि बैंकहरुले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो लगानी गर्न नसक्ने बैंकले मर्जरमा जान बाहेकको विकल्प छैन ।’ कामना सेवाका ५२ शाखा विस्तार कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ । १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । अब बैंकका देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । कामना सेवा बैंकले आफ्नो केन्द्रीय कार्यालय समेत उद्घाटन गरेको छ । बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियत भएकोले मर्जर आवश्यक नभएको प्रतिक्रिया दिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामना विकास बैंकलाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले राष्ट्र बैंकले जारी गर्ने सम्पूर्ण नीतिनियमहरु पालना गर्ने मध्येको एक बैंक कामना सेवा रहेको उल्लेख गरे । हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको छ । समग्र विकास बैंहरुमा ७ प्रतिशत हिस्सा कामना विकास बैंकले ओगटेको कार्यक्रममा बताइयो ।
युनाइटेड इन्स्योरेन्सको एजीएमले सञ्चालक समितिलाई दियो मर्जर सम्बन्धी अख्तियारी
काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं.(नेपाल) लि.को २५ औ बार्षिक साधारण सभा(एजीएम) मंगलवार सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनी संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव बहुमतले पारित गरेको छ । आव २०७४÷०७५ बार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आव २०७५÷०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो । त्यसैगरी, बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पूरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।
ग्लोबल बैंकसँग मर्जरमा जाने अन्तिम तयारी गरेको जनता बैंकको नाफा ३६ करोड
काठमाडौं । ग्लोबल बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा पुगेको जनता बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ३६ करोड ६९ लाख रुपैयाँ कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने १८ करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकले गएको आवको सोही अवधिमा ३२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । जनता बैंकले साउनदेखि असोजसम्मको यो अवधिमा ७५ अर्ब ३ करोढ निक्षेप संकलन गरेर ६८ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७९.९४ प्रतिशत पुगेको छ । यसले कर्जा प्रवाहमा बैंकलाई चुनौती थपेको छ । अब बैंकले निक्षेप संकलन नबढाइ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा बैंक छैन । ८ अर्ब चुक्ता पुँजी भएको जनता बैंकको जगेडा कोषमा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.१३ प्रतिशत छ भने स्प्रेड दर ४.९५ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.३३ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ७.५३ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १८.३४ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १३७.५० रुपैयाँ छ । जनता बैंक र ग्लोबल आइएमई बैंकले मंसिर दोस्रो सातासम्म एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्र बैंक सञ्चालक समिति बैठकद्वारा ४ वित्तीय संस्थालाई मर्जरको स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले चार वटा वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ । समिति बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको हो । यसैगरी मनकामना लघुवित्तसँग स्मार्ट लघुवित्त गाभ्न सैद्धान्तिक स्वीकृति दिइएको राष्ट्र बैंक श्रोतले जनाएको छ । सञ्चालक समिति बैठकको भोलि पनि बस्ने जनाइएको छ । आजको बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि लागेको अनियमितताको आरोप बारे छलफल भएपनि निर्णय हुने सकेन र भोलिको बैठकमा ठोस निर्णय हुने राष्ट्र बैंक श्रोतले जनाएको छ ।
जनता र ग्लोबल आईएमईको मर्जर प्रक्रियाले सार्थकता पाउँदै, दुवै बैंकले साधारणसभा बाेलाए
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया सार्थकता उन्मुख देखिएको छ । मर्जरका लागि अन्तिम सम्झौता भई दुवै बैंकहरुले साधारणसभा समेत बोलाएसँगै ती बैंकहरुबीचको मर्जरले सार्थकता पाउन लागेको हो । दुवै बैंकहरुबीच यसअघि भएको सहमति अनुसार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच तय भएको १००ः८५ अनुपातको स्वाप रेसियोलाई दुवै बैंकको डीडीए रिपोर्टले समेत साथ दिएसँगै प्रारम्भिक सम्झौताबमोजिम नै मर्जरका लागि अन्तिम सम्झौता भएको हो । दुवै बैंकहरुले मंसिर २ गते साधारणसभा बोलाएका छन् । साधारणसभामा बैंकको लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदनका अतिरिक्त प्रस्तावित नगद लाभांश र बोनस शेयर प्रस्ताव पारित गर्ने र मर्जरसम्बन्धी सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । ग्लोबल आईएमई बैंक २५.५ प्रतिशत लाभांश घाेषणाा गरिसकेकाे छ जसमध्ये १२.५ प्रतिशत नगद र १२.५ प्रतिशत बाेनस शेयर दिने प्रस्ताव गरिएकाे छ । त्यस्तै जनता बैंकको साधारणसभामा यसअघि बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनससहित १२ प्रतिशत लाभांश प्रस्ताव पेश हुनेछ । घोषणा भएको उक्त बोनसपछि हुन आउने शेयर संरचनामा दुई बैंकहरुबीच तोकिएको १००ः८५ अनुातमा मर्जरमा जाने प्रस्तावसमेत पारित हुनेछ । साधारणसभाका लागि जनता बैंकले कात्तिक १४ गते तथा ग्लोबल आईएमई बैंकले कात्तिक २२ गते बुकक्लोजको मिति तोकेका छन् । ग्लोबल आईएमईको लाभांशका लागि कात्तिक २० गतेसम्म आफ्नो नाममा शेयर कायम हुनुपर्नेछ भने जनता बैंकको भने बिहीबारसम्म शेयर कायम भएका शेयरधनीले मात्रै साधारणसभामा सहभागिता जनाउन र बोनसमा हिस्सा पाउनेछन् । मौद्रिक नीतिभन्दा अघि नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ‘बिग मर्जर’को प्रयासस्वरुप गत असार २२ गते ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरमा जाने प्रारसम्भक समझदारी भएको थियो । मौद्रिक नीतिले मर्जरमा जाने बैंकहरुका लागि आकर्षक सुविधा नदिए पनि ती बैंकहरुले पूर्व सहमति अनुसार मर्जर प्रक्रियालाई निरन्तरता दिएका थिए । नेपाल राष्ट्र बैंकले गत असोज ८ गते दुई बैंकहरुबीचको सहमतिको लागि प्रारम्भिक स्वीकृति दिएको छ । दुवै बैंकले मर्जर प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिनेछ त्यसपछि दुई बैंकबीच एकीकृत कारोबार हुनेछ । बुकक्लाेज नभई जनता बैंककाे काराेबार नहुने जनता बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुकक्लोजको मिति तय गर्यो । तर जनताले घोषणा गरेको बुकक्लोजको मितिसम्म दोस्रो बजार भने खुल्ने छैन । शनिबार नियमित बिदा भएकोले नेपाल स्टक एक्सचेञ्जको कारोबार हुने छैन भने आइतबारदेखि मंगलबारसम्म तीन दिन तिहारका लागि सार्वजनिक बिदा हुनेछ । बुधबार पनि नेवार समुदायको भाइटीका परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । यसैले साधारणसभा आह्वान गरेपछि जनताका शेयरधनीहरु कारोबारको अवसरबाट वञ्चित भएका छन् । ग्लोबल आईएमईले भने कारोबारका लागि एक साताको समय दिएको छ ।
मर्जरलाई अन्तर्राष्ट्रिय स्तरबाट हेर्न जरुरी छः शिवराम तिमल्सिना
बीमितहरुको नजरमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी एक विश्वासिलो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीले बजारको आवश्यकता अनुसार बीमा प्रडक्ट ल्याएको छ । प्रतिष्ठित प्रमोटर रहेकाहरुका कारण सानिमा लाईफलाई बीमितहरुले सहजै विश्वास गरेका छन् । वर्तमान बीमा बजारको बारेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर शिवराम तिमल्सिनासँग नबिन पोखरेलले गरेको विकास बहस । सानिमा लाइफ इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो छ? हाम्रो व्यालेन्सिट सन्तोषजनक छ । हाम्रो बोनश दर राम्रो छ भने नाफा आर्जनमा समेत हामी सन्तुष्ट रहने अवस्था छ । अब एउटा कम्पनीको कुन-कुन सूचकलाई हामीले आधार मानेर हेर्ने भन्ने कुराले समेत भूमिका खेल्छ । अहिले हाम्रो प्रायः सबै सूचक सन्तोषजनक अवस्थामा नै छ । गत असार मसान्तमा भने कम्पनीको कूल बीमा शुल्क आर्जन ५२ करोड ८० लाख पुगेको देखिन्छ । अघिल्लो बर्ष ९ करोड ४५ लाख रुपैयाँ थियो । नयाँ कम्पनी भएकोले सिस्टम निर्माण र विकास, नेटवर्क निर्माण र विस्तार, कर्मचारीको क्षमता विकास, अभिकर्ताको क्षमता विकासमा हामीले जोड दिएका छौं । आगामी दिनमा व्यापार वृद्धि हुने सम्भावना कतिको छ ? आगामी दिनमा पनि व्यापार वृद्धि हुने अवस्था राम्रै छ । हामीले दक्ष जनशक्ति थप्दैछौं र भएका कर्मचारीहरुको पनि दक्षता बढ्दै गइरहेको छ । यस्तै, बीमाको पहुँच नपुगेका ठाउँमा समेत हामीले हाम्रा स्किमहरु लगिरहेका छौँ । अनलाईन सर्भिस समेत हामीले दिने प्रयास गरिरहेकै छौँ । सोही कारण आगामी दिनमा हाम्रो व्यापार बढ्ने हाम्रो अनुमान छ । साधारणसभा कहिले गर्दै हुनुहुन्छ ? हामीले वित्तीय विवरणहरुको प्रक्रिया सिध्याउन लागेका छौँ । आव २०७४÷७५ को साधारण सभा हामीले दशैँ अगाडिनै गर्ने सोच बनाएका छौँ । प्रक्रियामा केही समस्या आएकाले मात्र ढिलाई भएको हो । तैपनि करिब १ महिना भित्र हामी साधारण सभा गर्छौँ । यस्तै, आव २०७५÷७६ को साधारण सभाको तयारी पनि गर्दैछौँ । नयाँ रणनीतिक योजना के छन् ? हाम्रो रणनीति भनेको बजार बिस्तार गर्ने, अभिकर्ताको संख्यात्मक तथा गुणस्तरमा वृद्धि गर्ने तथा इनोभेटिभ प्रडक्टहरु ल्याउने हो । साथै, बीमा बजारमा रहेको प्रडक्ट भन्दा पनि बजारको आवश्यकता अनुसारको प्रडक्ट ल्याउने रणनीति छ । सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ । उपभोक्ताले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाहीँ के हो ? आर्थिक स्थिति कम भएका बीमितहरुले समेत सानिमा लाइफमा कुनै अप्ठ्यारो महशुस गर्दैनन् । हाइस्कुल देखी, दम्पत्ती, ग्यारेण्टेड प्रडक्ट, ३ महिनासम्म लाभ लिन सकिने किसिमका प्रडक्टहरु भएकाले नै बीमितले सानिमा लाइफ इस्योरेन्स कम्पनी छान्ने गर्छन् । दाबी भुक्तानीमा हामी निकै अगाडि छौँ भने बीमा सम्बन्धी जानकारीहरुमा पनि हामीले सही सूचना दिँदै आएका छौँ ।नीतिगत रुपमा हामी अनुशासित ढङ्गले बढिरहेका छौँ । सानिमा गु्रपबाट हामी प्रवर्तित छाँै । सोही कुराले नै समाजमा समेत राम्रो छवि समेत बनाएको छ । बैंक, हाइड्रो, जनरल तथा लाइफ इन्स्योरेन्स सानिमा ग्रुपले सञ्चालन गरेकाले पनि बीमितले हामीलाई मान्ने दिगो आधार हुन् । बीमितको माग अनुसारको सेवा हामीले दिन्छौँ तथा सोही अनुसारको प्रडक्ट समेत हामीले ल्याएका छौँ । सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? हामीले बजारमा (इनोभेटिभ प्रडक्ट) दिने प्रयास गरिरहेका छौँ । बजारमा हाल भइरहेको भन्दा केही फरक दिन अवश्यक रहेको हाम्रो बुझाई हो । सोही अनुसार कार्य सम्पादन समेत गर्दै आएका छौँ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ, तपाईँको कम्पनीमा कस्तो अवस्था छ ? कर्मचारीहको टर्न ओभर समान्यता सबै कम्पनीहरुमा भईरहने कुरा हो । यस्तै, बीमा क्षेत्रमा कर्मचारीहरुको टर्नओभर हुने कारण भनेको चाहीँ दक्ष जनशक्ती अभाव हुनु हो । दक्ष जनशक्तीको अभाव भएपछि अनुभविलाई प्राथमिकता दिनु पर्ने हुन्छ । तर, हाम्रोमा तानातानको स्थितिमा भने सिर्जना भएको छैन ।अहिले हामी फ्रेसरहरु राखेर सिप, दक्षता, ज्ञान दिएर अघि बढिरहेका छौँ । हामीले राम्रो सिस्टमको विकास गर्ने हो । बेरोजगारहरु ल्याएर क्षमता विकास गर्न सकेमा त्यसले राम्रो गर्छ । हाम्रो कर्पोरेट कल्चर पृथक छ । हामीसँग जोडिएका साथिहरु कम नै बाहिरिनु हुन्छ । यसलाई हाम्रो तागतको रुपमा हेरेपनि हुन्छ । काम गर्ने कर्मचारीहरुको सोचाई अनुसार प्रशासनले काम गर्न दिने र कर्मचारीहरुले कम्पनीको उद्देश्य अनुसार काम गरेमा टर्न ओभरको अवस्था आउँदैन । हामीले हालसम्म टर्न ओभर भोगेका छैनाँै र भोलिका दिनमा यो अवस्था कायम राख्ने प्रयत्न गर्नेछौँ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? यसमा त सबै कुरा खुलाउन मलाई नै केही समस्या पर्छ । श्रम ऐनले तोकेका कुराहरु सबैले गर्नै पर्ने हुन्छ । हामीले त्यसको अतिरिक्त कार्य क्षमता अनुसारको प्रमोसन दिँदै आएका छौँ ।कर्मचारीहरुलाई उत्साह हुने किसिमले हामीले काम गर्दै आएका छाँ,ै यसलाई नै अतिरिक्त मान्दा हुन्छ । एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ । समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? अहिले बीमा क्षेत्रमा अवसर राम्रो छ । बीमाको पहुँच बढ्दो क्रममा छ । विकसित देशमा बीमा बेचिन्छ भने हाम्रो अहिले बीमा बुझ्ने/बुझाउने क्रममा रहेको छ । बीमाको आफ्नै महत्व रहेको छ ।बचतको सधैँ महत्व हुन्छ । बीमाले भनेको बचत नै गराउने हो । सधै अवसर मात्र भेटिन्छ भन्ने पनि हुँदैन । हामीले केही संघर्ष गर्नु पर्ने पनि हुन्छ । कम्पनीहरुले गरेका संघर्षहरुलाईपनि हामीले अवसरको रुपमा हेर्दै आएका छौँ ।पछिल्लो समयका नीतिहरुले बीमालाई लगानी गर्न केही खुल्ला गरेको छ ।हामी आफैँले विकास गर्दै, जनताहरुलाई बुझाउँदै लानु पर्ने हो । बुझाईमा रहेको कमी पनि एककिसिमको च्यालेन्ज रुपमा स्थापित छ । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा कम्पनीहरु बढ्दो क्रममा छन् । बीमा समितिले सुपरीवेक्षणमा आफ्नो काम गर्दै आएको छ । पछिल्लो समय बीमा चेतना बढाउने कुरामा बीमा समिति लागिरहेको छ । सोही कुरामा हामीलेपनि सहयोग गर्दै आएका छौँ । भोलिका दिनमा बीमा कम्पनी र बीमा समितिको सहकार्य तथा डिजिटल युगमा बीमा प्रवेश गर्दा बीमितले लाभ पाउँछन् । हामी सबैको उद्देश्य बजारमा सेवा राम्रो प्रवाह गरौँ भन्ने हो, यसमा बीमा समितिको सहयोगी भूमिका छ । पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? मर्जरकालागि विभिन्न कारणहरु आवश्यक हुन्छन् । एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ । सानिमाको केसमा भने पब्लिकबाट आउने ३० प्रतिशत आएपछि पूरा भई हाल्छ । मर्जरलाई हामीले राष्ट्रिय आवश्यकताबाट भन्दापनि अन्तर्राष्ट्रिय स्तरबाटहेर्न जरुरी छ । अन्त्यमा बीमितहरुलाई के भन्न चाहानुहुन्छ ? हामीसँग व्यवसायिक प्रमोटरहरु हुनुहुन्छ । नेटवर्क बिस्तार हुँदैछ । हाम्रो शाखाबाट नै पोलिसी हातमा लिन सकिने व्यवस्था छ । हामीले प्रविधि मैत्री भएर काम गर्दै आएका छौँ । बीमितहरु ढुक्क भए हुन्छ, हामी राम्रो गरिरहेका छौँ ।
सानिमा बैंकको एजीएम असोज २९ गते, ‘मर्जर वा प्राप्ति सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिन प्रस्ताव’
काठमाडौँ । सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने जनाइएको छ । बोनस सेयर बितरणपछि हाल कायम चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट बृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ । साथै साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । वार्षिक साधारण सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जनाएका छन् ।
कहाँ पुग्यो ग्लोबल आईएमई र जनताको मर्जर ? स्वाप रेसियो र कर्मचारी व्यवस्थापनबारे यस्तो हुँदैछ प्रगति
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको वाणिज्य बैंकहरूको मर्जर नीतिलाई कार्यान्वयनमा लगेको हालसम्मको पहिलो र एकमात्र ग्लोबल आईएमई र जनता बैंकको मर्जर प्रक्रिया मंसिरसम्म टुंगिने भएको छ । ग्लोबल आईएमई बैंक र जनता बैंकले आगामी मंसिर १५ गतेसम्म एकीकृत कारोबार गरिसक्ने तालिका बनाएका छन् । गत असार २० गत दुबै बैंकका अध्यक्षहरूले मर्ज गर्न सहमती पत्रमा हस्ताक्षर गरेका थिए । अहिले दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) भइरहेको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पर्शुराम कुँवर क्षेत्रीले अहिले दुबै बैंकको डीडीए भइरहेको बताए । ‘ रिपोर्ट आएपछि यस विषयमा छलफल गरी एकीकृत कारोबारकाे स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिने तयारी बैंकहरूले गरेका छन् । ‘भदौ अन्तिम तथा असोज पहिलो सातासम्म डीडीए रिपोर्ट आउँछ,’ सिईओ क्षेत्रीले भने ‘हामीले सहमतिपछि एकीकृत कारोबार गर्न आवश्यक प्रक्रियामा काम गरिहेका छौं ।’ मर्जरले साधारणसभा र बैंकको ब्यालेन्स सिट स्वीकृत गर्ने वार्षिक साधारण सभा एकै पटक गर्ने सहमति भएको छ । त्यसका लागि बैंकको ब्यालेन्स सिट बनाएर राष्ट्र बैंकमा पठाएका छौं । केही दिनमा राष्ट्र बैंकले बैकको वित्तीय विवरण पास गर्नेछ । राष्ट्र बैंकले आसय पत्र (एलओआई) दिएपछि सेयर स्वाप रेसियो, कर्मचारी व्यवस्थापन र प्राविधिक विषयमा छलफल गरी टुंगाइने छ । यो काम सम्पन्न भएपछि साधारणसभा बोलाउँछौं,’ सिईओ क्षेत्रीले भने ‘सोही साधारण सभाले डीडीए रिपोर्ट र २०७५÷७६ वित्तीय विवरण र मर्जरको विषय दुबै स्वीकृत गर्छ ।’ त्यसपछि दुई बैंकबीच अन्तिम सम्झौता हुन्छ र अन्तिम स्वीकृतका लागि यो सम्झौता राष्ट्र बैंक पठाइन्छ । ‘हामीले राष्ट्र बैंकबाट एकीकृत कारोबार गर्ने अन्तिम स्वीकृती लिनको लागि १० दिनको समयावधि छुट्याएका छौं, उनले थपे ‘सोही मितिभित्र राष्ट्र बैंकले अन्तिम स्वीकृत दिए हामी मंसिर १५ सम्म एकीकृत कारोबारमा गइसक्ने छौं ।’ राष्ट्र बैंकले बिग मर्जर गर्न फोर्स गरिरहेका बेला असार २० गते दुबै बैंकले मर्जर पत्रमा हस्ताक्षर गरेका थिए । सहमतिको बेला ग्लोबल आईएमईको एक सय रुपैयाँ बराबर जनता बैंकको सेयरलाई ८५ रुपैयाँ दिने गरी प्रारम्भिक समझदारी भएको थियो । बैंकहरू मर्जरमा जाने सहमति भएपछि नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई र जनता बैंक दुबैको सेयर कारोबार रोक्का गरिएको छ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गरी यहि भदौ १८ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।
बीमा क्षेत्रमा अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छः सुद्युम्न उपाध्याय
निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ, त्यसरीनै कम्पनीलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायले । बीमा बजारमा प्रिमियर इन्स्योरेन्सको अवस्था सहित समग्र बीमा क्षेत्रका बारेमा सीईओ उपाध्यायसँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको विकास बहस । प्रिमियर इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो आयो ? हाम्रो गत आवको वित्तीय नतिजा सन्तोषजनक आएको छ । हामीले १ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छौँ । अघिल्ला वर्षमा जस्तो प्रिमियमको बृद्धि आकर्षक छैन । यसरी आकर्षक नहुनुमा चाँही हामीले विजनेशहरु छनोट गरेको कारणले गर्दा हो । वृद्धि चाँही हामीले सोचेको अनुसार नै भइरहेको छ । कम्पनीको बीमा शुल्क आम्दानी अघिल्लो बर्षको तुलनामा करिव साढे ६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । बीमा बजारको औषत वृद्धि भन्दा पनि प्रिमियरको वृद्धि कमजोर देखियो, किन ? हामीले कुल कति व्यवसाय वृद्धि गर्यौ भन्ने कुरामा केही कमी भएपनि हाम्रा सूचाङ्कलाई छुट्याएर हेर्दा वृद्धि कमजोर देखिदैन । हामी व्यवसाय वृद्धिमा मात्र केन्द्रित भएका छैनौँ । व्यवसाय वृद्धि हुने कुरालाई पनि २ तरिकाबाट हेर्न सकिन्छ । एउटा व्यापारको दायरा बढाउने, अर्को चाँही भएको नाफामा वृद्धि गर्ने । अहिले हाम्रो नाफाको अवस्था राम्रै छ । अघिल्लो आव भन्दा गत आवमा बीमा पोलिसी संख्या नै ८ हजार कम जारी भएको देखियो, किन ? हाम्रो कम्पनीको बीमा पोलिसी संख्या ८ हजार कम जारी हुनुमा हामीले केही बिजनेश घटाएका कारणले गर्दा हो । यो हाम्रो नीति हो । नेपालमा भएका अन्य बीमा कम्पनीहरुले समेत आवश्यकता अनुसार १५ हजार देखि २ लाख पोलिसी जारी गरेका छन् । व्यापार वृद्धि कम भएपनि नाफा वृद्धि ४८ प्रतिशत देखिन्छ । कसरी यस्तो भयो ? हामीले व्यापार वृद्धि गर्दा औषत रुपमा नाफामा चाँही जानै पर्छ भन्ने रणनीति अपनाएका हौँ । सोही कारण व्यापार वृद्धि घट्दा नाफा वृद्धि बढ्न पुगेको हो । उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । नाफा वृद्धि त देखिन्छ । तर, पूँजी वृद्धिको कारण प्रतिसेयर आम्दानी २८ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी उच्च कायम राख्न कम्पनीले कस्तो रणनीति लिएको छ ? कम्पनीले गत वर्षबाट टप भन्दा बटम लाइनमा केन्द्रित भएर काम गरेको छ । पहिले पहुँच बढाउन काम गर्यौ। अहिले हामीले गुणस्तरमा ध्यान दिएका छौं, सोही कारण हाम्रो सूचाङ्क कही कतै फरक देखिन सक्छन् । चार महिना अगाडि प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १२८० रुपैयाँ थियो । हाल ३९० भन्दा तल गयो । किन यस्तो भयो ? हाल सम्पूर्ण सेयर बजारको मूल्य नै घट्दो क्रममा छ । सोही कारण प्रिमियरको सेयर मूल्यपनि घटेको हो । तर पनि अन्य कम्पनीसँग तुलना गर्दा हाम्रो अवस्था त्यति नराम्रो छैन । बीमा दावी भुक्तानी हुन बाँकी रकम असार मसान्तसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ देखियो । यति ठूलो रकम किन पेण्डिङ्गमा बस्यो ? अन्य कम्पनीको तुलनामा हाम्रोमा प्रोजेक्ट विजनेश छ, सो कारण हाम्रो भुक्तानी हुन बाँकी रहेको देखिएको हो । पछिल्लो समय बाढीका कारण हाइड्रो पावरमा क्षति पुग्न गयो । तरपनि हाम्रो नेटमा लायवलिटी नराम्रो देखिने अवस्था छैन । हामीले पुनर्बीमा पनि गरेका छौँ । नेट लायवलिटी बढेको छैन । गत बर्ष नै तपाईँहरुले एनएफआरएस अनुसार वार्षिक प्रतिवेदन तयार गरिसक्नु भयो । तर, असार मसान्तको चौमासिक प्रतिवेदन किन एनएफआरएस अनुसार प्रकाशित गर्नु भएन ? अहिले वार्षिक प्रतिवदेन एनएफआरएस बन्याे । अब क्रमशः चाैमासिक प्रतिवेदन पनि साेही डाँचामा बन्छ । प्रायः सबै कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम नगद लाभांशबाट दिन्छन् । तपाईँहरुले सेयरधनीसँग बोनसमा लाग्ने कर रकम संकलन गर्नु भयो । यसले लगानीकर्तालाई झण्झट भयो नि ? बीमा समितिको नियम अनुसार एनएफआरएस र एनएसको व्यालेन्स मिलाउँदा वितरण गर्न नमिल्ने भएका कारण हामीले नदिएका हौँ । कम्पनीले दिन भने सक्ने अवस्था छ । गत आवको साधारण सभा कहिलेसम्म हुन्छ ? गत आवको साधारण सभा पुस मसान्तसम्म गर्नेछौँ । एनएफआरएसका कारणले गत वर्षमा केही ढिलाई भएको थियो । यसपालि ढिला हुन्न । कम्पनीका नयाँ योजना तथा वार्षिक योजनाहरु के छन् ? गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । बजारमा नयाँ भन्दा पनि इन्जिनियरिङ्ग बीमा सम्बन्धि बीमाको आवश्यकता छ, हामीले सोही अनुसार काम गर्छौ । गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । उपभोक्ताले प्रिमियर इन्स्याेरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाँही के हो ? उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । २५ वर्ष पुरानो कम्पनी हो । हरेक सूचक राम्रो रहँदै आएका छन् । सोही कारण हाम्रोमा विश्वास गर्ने थुप्रै आधारहरु छन् । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? नौलो प्रडक्ट निर्जीवन बीमामा ल्याउन जीवन बीमा व्यवसायमा जस्तो सजिलो छैन । तर, बजार विकास गर्न केही समय लाग्छ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ । यस कम्पनीमा कस्तो अवस्था छ ? हाम्रोमा न्यून छ । कम्पनीको स्थापनाको दिन देखि हालसम्म २ जना मात्र सिईओले काम गरेका छन् । हाम्रा शाखा प्रमुखहरु नै २५ वर्ष यहि काम गर्न सफल हुनु भएको छ । सोही कारण हाम्रो कम्पनीमा कर्मचारीहरु अन्य कम्पनीमा जाने काम छ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? कर्मचारीको क्षमता विकासका लागि हामीले स्वदेशी तथा विदेशी तालिममा समेत सहभागी गराउँदै आएका छौँ । अतिरिक्त सुविधा के छ ? बीमामा अतिरिक्त सुविधा भन्ने त हुँदैन । हामीले ट्यारिफ अनुसार काम गर्नुपर्छ । सस्तो प्रिमियममा समेत काम गर्दैनौं। तर, हामीले बीमाको गुणस्तरमा भने ध्यान दिँदै आएका छौँ । सिईओको नजरबाट समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? बीमा बजार विश्वासमा चल्ने हो । हामीले जसलाई क्लेम पर्छ, उसको लागि नै सेवा गर्न आवश्यक हुन्छ । बजारमा सबैभन्दा काम गर्न आवश्यक कुरा भनेको इमान्दारिता र धैर्यता हो । बीमा बजारमा सेल्स भन्दा आफ्टर सेल्स (पोलिसी बेच्दा भन्दा बेचिसकेपछि)को अवस्था महत्वपूर्ण मानिन्छ । बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा समितिको नियमन राम्रोसँग अघि बढिरहेको छ । एक किसिमले भन्ने हो भने हाम्रो जस्तो भरपर्दो नियमनकारी निकाय अन्य क्षेत्रमा छैन जस्तो लाग्छ । बजार विकासको क्रममा भएकाले कम्पनी र नियामकमा परिपक्कता पनि आउने क्रममा छ । तर यस्तो अवस्थमा बीमा समितिले खेल्नु पर्ने भूमिका भने सन्तोषजनक नै छ । साथै, बीमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट गरेको कामलाई राम्रो मान्न सकिने अवस्था छ । पछिल्लो समय बीमा बजारमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । एक तहको साईकल पूरा गरेपछि मर्जरमा जान आवश्यक हुन्छ । अहिले मर्जरमा जान बीमा कम्पनीहरुको संख्या धेरै हुनुलाई कारण मान्न सकिन्छ । अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छ ।
महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।
एभरेष्ट इन्स्योरेन्सको एजीएम असोज १ गते, मर्जरमा जाने प्रस्ताव पारित गरिने
काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । असोज १ गते हुने कम्पनीको २४औं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पेश गरिने भएको हो । विहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २२ गते कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने कम्पनी सचिव भद्रबहादुर विष्टले जनाएका छन् । साधारण सभाले आव २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचिहरु पारित गर्ने कम्पनीले जनाएको छ ।
सहकारी मर्जर अभियन्ताकै पहलमा : मन्त्री अर्याल
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताईन । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताईन । मन्त्रालयले मर्जर अभियान थालेको बताउदै क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीका बिचमा एकता गरिने मन्त्री अर्यालको भनाई छ । उनले सहकारी अभियन्ताहरूकै पहलमा सहकारी संस्थाहरूले मर्जर अभियान अगाडी बढ्न सक्ने विश्वास व्यक्त गरिन् । नेपालमा अब १०।१२ हजार सहकारी संस्था भए पुग्ने बताउदै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भएको खण्डमा देश हराभरा हुने र सरकारले सोचेको सम्बृद्धिको अभियान साथ मिल्ने विश्वास व्यक्त गरेकी छिन्। ती सहकारीको संख्या घटाउन मर्जरमा जानैपर्ने भन्दै मन्त्री अर्यालले तर यस अभियानमा सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न भने नसकिने जानकारी दिईन । सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वाताबरण बनाउने हाम्रो काम हो । त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फुर्त रुपमा मिलेर पर्ने उनको भनाई छ । सहकारी संस्था पनि उत्पादनमा जानुपर्ने र बजारिकरणमा जान आवश्यक रहेको भन्दै उनले अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उल्लेख गर्दै सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक रहेको बताईन । अब सहकारीले उत्पादनमै जोड दिने हो । एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ । यसका लागि पनि सहकारीको मर्जर अभियान थालेका हौ । मर्जर अभियानलाई तिब्र ढंगले अगाडि बढाउन पर्नेमा जोड दिनुपर्ने मन्त्री अर्यालको भनाई छ । सहकारी अभियानमा केही संस्थाको बदमासीका कारण प्रश्नचिन्ह उठेको भन्दै उनले त्यही समस्यालाई समाधान गर्न कोपोमिस प्रणाली लागु गरिएको बताईन । मन्त्री अर्यालले भने, ‘कुन संस्थामा केछ भनेर हेर्न कोपोमिस प्रणाली लागू गरिएको छ । यो कसैलाई कारबाही गर्न होइन सुशासन कायम गर्न, पारदर्शी बनाउन यो सफ्टवेयर लागू गरेका हौ ।’ यसमा तपाईं अभियन्ताहरुले पनि सहयोग गर्नुपर्यो । को व्यक्तिले कुन संस्थामा बसेर कहाँ के गर्यो भन्ने कुरा हेर्न आवश्यक रहेको भन्दै त्यही बद्मायस व्यक्तिले फेरि अर्को ठाउँमा बसेर बदमासी नगरोस् भनेर सरकार र अभियन्ता सबै लाग्नुपर्ने बताईन।आजको आवश्यकता समृद्धिमा योगदान दिन सक्ने सहकारी संस्था भएको भन्दै धेरै मान्छेलाई रोजगारी दिने र आत्मनिर्भर बनाउने जिम्मेवारी अब सहकारीकै भएको बताईन ।