काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईयफ) ले राजधानीमा ‘नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र आगामी विकासका सम्भावनाबारे गहन विश्लेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा युवा व्यवसायी नेतृत्व, नीति विज्ञ तथा स्थापित उद्योगीहरूको व्यापक सहभागिता रहेको थियो ।
नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको उक्त छलफलमा देशको वर्तमान आर्थिक अवस्था र भविष्यको दिशानिर्देशबारे बहस भएको थियो ।
छलफलको प्यानलमा उद्योग, वाणिज्य तथा आपूर्ति लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री अनिलकुमार सिन्हा र पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल मुख्य प्यानलिस्टका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहेको थियो भने सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन् ।
कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले आर्थिक संकट र अन्योलका बीच वर्तमान अवस्थाको सही र वस्तुनिष्ठ विश्लेषण हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ । अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको ऊर्जाबीचको दुरी मेटाउन मञ्च सधैं प्रतिबद्ध छ ।’
छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधाहरू र नेपालको वाणिज्य क्षेत्रमा भइरहेका समसामयिक परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा खुला प्रश्नोत्तर सञ्चालन गरिएको थियो । सो सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूले नेपालको वर्तमान बजारमा देखिएको तरलताको अभाव, नीतिगत अस्थिरता र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा तथा चासो राखेका थिए ।
‘टकिङ बिजनेश, टकिङ चेन्ज को नारासहित अघि बढेको सो कार्यक्रमको औपचारिक समापन मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरेका थिए ।