तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार

काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । सोमबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा पुगेर बन्द भएको हो । साथै, २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सेयर बजारमा दोस्रो सकारात्मक सर्किट, कारोबार ४० मिनेटको लागि बन्द

काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो ।  दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् १३५.७२ अंक बढेर २ हजार ८४८.२२ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । पहिलो सर्किट सेयर कारोबार खुलेको केही समयमै लागेर २० मिनेटका लागि बन्द भएको थियो । कारोबार खुलेको ११ बजेर १ मिनेटमा ४ प्रतिशत अर्थात् १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको थियो ।  नेप्सेका अनुसार यस अवधिमा २४७ कम्पनीको ५ लाख ३५ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।

सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६७४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधी विद्युतको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एपीआई पावरको ३३ करोड, मन्जुश्री फाइनान्सको २८ करोड, आँखु खोला जलविद्युतको २६ करोड र एसवाई प्यानलको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक र रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।   

रास्वपाको वाचापत्र: सेयर बजारलाई पारदर्शी बनाउने, ऋण र डेरिभेटिभ बजारको विकास गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचापत्रमा पुँजीबजार सुधारलाई प्राथमिकतामा राखेको छ । पार्टीले पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । रास्वपाको वाचापत्रअनुसार धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गरिनेछ । बोर्डलाई पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि र आवश्यक स्वायत्तता प्रदान गरिने उल्लेख छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गर्दै निजी क्षेत्रको सेयर सहभागिता बढाइ प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना अघि सारिएको छ । वाचापत्रमा पुँजीबजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धिका लागि स्पष्ट कानुनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरिने उल्लेख छ । यसले नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने लक्ष्य लिइएको छ । इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने र आईपीओ प्रणालीमा आमूल सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ प्रक्रियाको सुधार तथा समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि वाचापत्रमा समेटिएको छ । संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्न पेन्सन फन्ड, बीमा कम्पनी, म्युचुअल फन्डलगायत संस्थाहरूलाई सक्रिय लगानीका लागि प्रोत्साहन र सहजीकरण गरिने र पुँजी बजारसम्बन्धी कर नीति स्थिर तथा लगानीमैत्री बनाइने उल्लेख छ । रास्वपाले ऋण बजार र डेरिभेटिभ बजारको विकास गर्दै सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाउने, पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पुँजी जुटाउने वैकल्पिक साधन विकास गर्ने योजना पनि अघि सारेको छ । वर्षौंदेखि रोकिएको गैर-आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गर्ने, वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्ने पत्रमा उल्लेख छ । साना लगानीकर्ताको हित संरक्षणका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने तथा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ । रास्वपाले पुँजी बजारलाई काठमाडौं केन्द्रित मात्र नभई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँचमा पुर्याउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण अघि सारेको छ ।

जापानी चुनाव परिणामको प्रभाव, सेयर बजारमा उछाल

जापान । जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व सेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ ।      युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०.६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको छ । बेलायतको एफटीएसई १०० पनि ०.३ प्रतिशतले बढेर १०,३९९.६१ मा पुगेको छ ।      अमेरिकी सेयर बजारले शुक्रबार बलियो पुनरागमन गरेपछि सोमबारका लागि अमेरिकी फ्युचर्स पनि माथि देखिएका छन् । एस एन्ड पी ५०० का फ्युचर्स ०.१ प्रतिशतले बढेका छन् भने डाउ जोन्स औद्योगिक औसतका फ्युचर्स ०।२ प्रतिशतले उकालो लागेका छन् । शुक्रबार एस एन्ड पी ५०० करिब दुई प्रतिशतले बढ्दै मेयता सबैभन्दा राम्रो दिन देखिएको थियो । डाउ २.५ प्रतिशतले बढेर पहिलो पटक ५०,००० को मनोवैज्ञानिक स्तर पार गरेको थियो भने नास्डाक कम्पोजिट २.२ प्रतिशतले उकालो लागेको थियो ।      टोकियोमा निक्केई २२५ ३.९ प्रतिशतले बढेर बन्द भएको छ र यसअघि सूचकाङ्कले ५७,३३७.०७ को नयाँ इन्ट्राडे रेकर्ड पनि बनाएको थियो । अमेरिकी डलर जापानी येनको तुलनामा केही कमजोर हुँदै १५६.७१ येनमा कारोबार भएको छ ।      चुनावी जितले प्रधानमन्त्री ताकाइचीलाई बजारमैत्री नीतिहरू अघि बढाउन बलियो जनादेश दिएको विश्लेषकहरूले बताएका छन् । जापानी सार्वजनिक प्रसारक एनएचकेको मतगणनाको नतिजाअनुसार लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै सबैभन्दा ठूलो सफलता हो ।      एस्ट्रिस एडभाइजरी जापानका प्रबन्ध निर्देशक नील न्युम्यानले कमजोर सरकारबाट बलियो बहुमतको सरकार बनेकाले अब नीतिगत निर्णय अघि बढाउन सजिलो भएको बताउनुभयो । तल्लो सदन फेब्रुअरीको मध्यतिर पुनः बस्ने भएपछि बढ्दो जीवनयापन लागत र सुस्त ज्याला सम्बोधन गर्न बजेटसम्बन्धी काम पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।      एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले चुनावी नतिजाले राजनीतिक अनिश्चितता हटाएकाले बजारले सहज प्रतिक्रिया दिएको टिप्पणी गरे ।      एसियाका अन्य बजारहरू पनि मजबुत देखिएका छन् । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले बढेर ५,२९८.०४ मा पुगेको छ । हङकङको ह्याङ सेङ १.८ प्रतिशतले उकालो लागेर २७,०२७.१६ मा पुगेको छ भने साङ्घाई कम्पोजिट १.४ प्रतिशतले बढेर ४,१२३.०९ मा पुगेको छ । ताइवानको टाइक्स दुई प्रतिशतले बढेको छ र अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० १.९ प्रतिशतले उकालो लागेर ८,८७०.१० मा पुगेको छ । वाल स्ट्रिटको पछिल्लो र्यालीमा चिप उत्पादक कम्पनीहरूको ठूलो योगदान देखिएको छ । एनभिडिया ७.८ प्रतिशतले बढेको छ भने ब्रोडकम ७.१ प्रतिशतले उकालो लागेको छ । यद्यपि, ठूला प्रविधि कम्पनीहरूको खर्च र एआई प्रविधिबाट सफ्टवेयर कम्पनीहरू प्रभावित हुनसक्ने चिन्ताले एस एन्ड पी ५०० अझै केही हप्ताको आधारमा दबाबमै रहेको विश्लेषण गरिएको छ ।      अन्य कारोबारमा बिटक्वाइन एक प्रतिशतले बढेर ७०,००० डलरभन्दा तल कारोबार भएको छ । धातु बजार केही शान्त देखिँदा सुन १.४ प्रतिशतले बढेर ५,०४८.९० डलर प्रतिऔंस पुगेको छ भने चाँदी ६.२ प्रतिशतले उकालो लागेर ८१.६४ डलर पुगेको छ ।      तेल बजारमा भने मूल्य घटेको छ । अमेरिकी कच्चा तेल ६० सेन्टले घटेर ६२.९५ डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड पनि ६० सेन्टले घटेर ६७.४५ डलर प्रतिव्यारेलमा पुगेको छ । युरो डलरको तुलनामा बलियो हुँदै १.१८६६ डलरमा कारोबार भएको छ । रासस  

सेयर बजारमा १० अर्ब ७७ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६७२ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडि पावरको ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   एसवाई प्यानलको ५४ करोड, आँखु खोला जलविद्युतको ४८ करोड, लिबरटी इनर्जीको ३७ करोड र न्यादी गुप्रको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत र रिडि पावर कम्पनीको सेयर मूल्य ९.११ प्रतिशतले घटेको छ ।  

अमेरिकी ट्यारिफको मारमा भोल्भो कार, सेयर बजारमा ठूलो पहिरो

काठमाडौं । स्विडेनको भोल्भो कार्सको सेयर बिहीबार २५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यससँगै कम्पनी इतिहासकै सबैभन्दा खराब एकदिने कारोबारतर्फ उन्मुख भएको छ । चीनको जिली होल्डिङ स्वामित्वमा रहेको उक्त अटोमेकरले चौथो त्रैमासिकमा सञ्चालन नाफामा ठूलो गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार अमेरिकी भन्सार शुल्क (ट्यारिफ), मुद्रा विनिमयदरको नकारात्मक असर र कमजोर मागका कारण नाफा घटेको हो । भोल्भो कार्सले चौथो त्रैमासिक सञ्चालन आम्दानी १.८ अर्ब स्विडिस क्रोना (झन्डै २००.४६ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले कम हो । ‘विशेषगरी चीनमा बजार निकै चुनौतीपूर्ण छ, प्रतिस्पर्धा अत्यन्त कडा छ । युरोपका हाम्रा सबै सहकर्मीहरूले पनि यही समस्या भोगिरहेका छन्,’ भोल्भो कारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाकान सामुएल्सनले भने । उनले अमेरिका र चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा दिइँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) हटाइनु पनि ‘बाह्य वातावरणलाई अझै चुनौतीपूर्ण बनाउने’ कारण भएको बताए । ‘आन्तरिक रूपमा हामीले लागत घटाउने र सकारात्मक नगद प्रवाह सुनिश्चित गर्ने काम निकै राम्रो गरेका छौं । यही नै वर्षभरि हासिल गरेका सबैभन्दा सकारात्मक उपलब्धि हुन्,’ उनले थपे । पछिल्लो कारोबारमा भोल्भो कारका सेयर २५.५ प्रतिशतले घटेका देखिएका छन् । एकै सत्रमा ११.२ प्रतिशतभन्दा बढी गिरावट आएमा त्यो कम्पनीको इतिहासकै सबैभन्दा खराब कारोबारी दिन हुनेछ । यूबीएसका विश्लेषकहरूले भोल्भो कार्सको नाफा अपेक्षाभन्दा कमजोर रहेकाले सन् २०२६ का लागि ब्याज र कर अघिको आम्दानी (ईबीआईटी) सम्बन्धी वार्षिक अनुमानमा १०–१५ प्रतिशतसम्म कटौती हुनसक्ने बताएका छन् । उनीहरूका अनुसार २०२५ को अन्तिम तीन महिनामा आधारभूत ईबीआईटी मार्जिन झन्डै शून्य प्रतिशत नजिक रहेकाले कटौती अझ बढी हुन सक्ने सम्भावना छ । चुनौतीपूर्ण वर्षको संकेत अमेरिका र युरोपेली संघ (ईयू) ले गत वर्ष जुलाईमा व्यापार सम्झौतासम्बन्धी एक प्रारूपमा सहमति जनाएका थिए । सो सम्झौताअनुसार ट्रम्प प्रशासनले अधिकांश ईयू वस्तुमा १५ प्रतिशतको समान ट्यारिफ लगाएको थियो । यो ट्रम्पले धम्की दिएको ३० प्रतिशतभन्दा धेरै कम हो र युरोपेली अटो क्षेत्रमा लाग्ने ट्यारिफ दरलाई २७.५ प्रतिशतबाट झन्डै आधा बनाएको हो । त्यतिबेला उद्योग समूहहरूले सम्झौतालाई सर्तसहित स्वागत गरे पनि नयाँ ट्यारिफका कारण बढ्ने लागतप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । भोल्भो कार्सलाई लामो समयदेखि अमेरिकी ट्यारिफको सबैभन्दा बढी असर झेल्न सक्ने युरोपेली अटोमेकरमध्ये एक मानिँदै आएको छ । आगामी दिनतर्फ हेर्दा भोल्भो कार्सले आफ्नो नयाँ तथा पूर्ण विद्युतीय ईएक्स ६० मिड–साइज एसयूभीको डेलिभरी वर्षको दोस्रो अर्धभागमा तीव्र बनाइने जनाएको छ । तर कम्पनीले २०२६ पनि चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिएको छ । निरन्तर मूल्य दबाब, ट्यारिफको असर, नियामकीय अनिश्चितता र उपभोक्ताको कमजोर मनोभावनाले उद्योगलाई थप दबाबमा पार्ने सम्भावना रहेको भोल्भो कार्सको भनाइ छ।

सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।

सेयर बजारमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । सातो तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज १२.५८ अंक घटेर २ हजार ६८३.१५ अंकमा बन्द भएको छ ।  मंगलबार दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार पटक खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । आज होटल तथा पर्यटन समूह एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ र म्युचुअल फन्ड एक प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ६१, वित्त एक दशमलव ०९, जलविद्युत् शून्य दशमलव ९७, लगानी शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३८ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा शून्य दशमलव ३५, व्यापार शून्य दशमलव ४६ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य चार दशमलव ६३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ५९ करोड २९ लाख आठ हजार ४११ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १२ लाख ५८ हजार १७७ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा ९ अर्ब १० करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले घटेर २६९४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ५० कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको हो । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५३ करोड, राधी विद्युतको ३८ करोड, युनियन हाइड्रोपावरको ३६ करोड र शिव श्री हाइड्रोपावरको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

सेयर बजारमा १४ अर्बको कारोबार, ३ कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको ३ करोड कित्ता सेयर किचबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५२ करोड, युनाइटेड मोदीको ४६ करोड, युनियन हाइड्रोपावरको ४४ करोड र राधी विद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट, माथिल्लो लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेका छन् ।  

सेयर बजारमा ११ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामन्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै राधी विद्युतको ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदीको ४८ करोड र रिभर फल्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बुधबारको कारोबारमा ५ वटा उपसमूहको सूचक घटेका छन् भने अरु बाँकी सूचक बढेका छन् ।  वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।   

सेयर बजार ४२ अंकले घट्यो, १४ अर्बकाे कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले घटेर २७२६ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५७ करोड, आँखु खोलाको ५१ करोड, न्यादी गुप्रको ३९ करोड र बन्दिपुर केबलकारको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ।   । बैकिङ १.४९ प्रतिशत, डेभलपमेन्ट बैंक १.०० प्रतिशत, फाइनान्स २.४४ प्रतिशत, होटल तथा पर्यटन १.९० र हाइड्रोपावर १.४७ प्रतिशतले घटेका छन् ।   

एशियाली सेयर बजार घट्दा सुनको मूल्य पहिलो पटक ४ हजार ८०० डलर नाघ्यो

वासिङ्टन । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०.२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने ०.२ प्रतिशतले बढेको छ । सुनको मूल्य पहिलो पटक प्रति तोलामा चार हजार ८०० डलर नाघेको छ । लगानीकर्ताले अनिश्चित समयमा सुरक्षित सम्पत्तिमा पैसा लगाउने प्रवृत्ति देखाएका छन् । अमेरिकी सेयर बजारमा उतार–चढाव मंगलबार वॉल स्ट्रिटमा ठूला गिरावट आएपछि बुधबार अमेरिकी शेयर भविष्यका मूल्यहरू केही बढेका छन् । एस एण्ड पी ५०० को भविष्य मूल्य ०.३ प्रतिशतले बढेको छ भने डाउ जोन्स औद्योगिक सूची ०.२ प्रतिशतले बढेको छ । मंगलबार एस एण्ड पी ५०० २.१ प्रतिशतले घटेर ६ हजार ७९६.८६ मा पुगेको थियो । ठूला कम्पनीहरूको मूल्य घट्यो एनभिडिया कम्पनीको सेयर ४.४ प्रतिशतले घटेको छ । एप्पल ३.५ प्रतिशतले घटेको छ । खुद्रा विक्रेता, बैंक र औद्योगिक कम्पनीहरू पनि घाटामा रहेका छन् । जेपीमॉर्गन चेइस ३.१ प्रतिशत र क्याटरपिलर २.५ प्रतिशतले घटेको छ । अमेरिकी र जापानी नीतिगत बैठकको प्रतीक्षा अमेरिकी फेडरल रिजर्भले अर्को हप्तामा आफ्नो नीतिगत बैठक गर्ने तय गरेको छ । बजारले अनुमान प्रमुख ब्याजदरमा कुनै परिवर्तन नहुने लगाएको छ । जापानको केन्द्रीय बैंकले शुक्रबार आफ्नो पहिलो मौद्रिक नीतिगत बैठक सम्पन्न गर्नेछ । तेल र मुद्रा बजारको स्थिति तेल बजारमा अमेरिकी क्रूड तेल प्रति ब्यारेल ५६ सेन्टले घटेर ५९.८० डलरमा पुगेको छ । ब्रेन्ट क्रूड तेल ७० सेन्टले घटेर ६४.२२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर जापानी येनको सापेक्ष १५८.०८ मा आएको छ भने युरो स्थिर रहि १.१७१९ डलरमा कारोबार भइरहेको छ । रासस

सेयर बजारमा हरियाली, नेप्से २ हजार ६२५ बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार (आज) नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो ।   सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।   

बढ्यो सेयर बजार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेर २६१४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लक्ष्मी सनराइज बैंकको ११ करोड, राधी विद्युतको ९ करोड र युनिभर्सल पावरको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, श्रीनगर एग्रीटेकको ९.९९ प्रतिशत र माथिल्लो मैलुङको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ । आजको कारोबारमा बैंकिङ ०.१२, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक ०.३१, वित्त ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.८४, लगानी ०.१६ र जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ ।  

साताको सेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबर रुपैयाँमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर  छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्‍यो ।  त्यस्तै, सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो । मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो । कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।  त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।  सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो । बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ ।  साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् । 

अन्तिम २ मिनेटमा ५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।  मंगलबार नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।  बजार बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।  १३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।   

सेयर बजारमा ६ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेर २६०० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको ३४ करोड, राधी विद्युत कम्पनीको २१ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा लगानी र जीवन बीमा समूह २ प्रतिशतले बढेका छन् । बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।