संसदीय समिति सञ्चालनका लागि बजेट अभाव

काठमाडौं । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गरेका हुन् । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताइन् । संसदीय समितिका लागि वार्षिक कार्यक्रम बाँडफाँट विवरण २०८०-८१ प्रस्तुत गर्दै सभापति राईले न्यून बजेटका कारण समितिका गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताइन् । समितिका सदस्य डा खिमलाल देवकोटाले सरकारको प्रतिनिधि गर्ने संसदीय समितिको आर्थिक अवस्था कमजोर रहेको प्रस्ट्याए । उनले समितिमा बजेट अभावका कारण तोकिएको कार्यक्रममा लक्ष्यअनुसार काम गर्न नसकिएको पनि जानकारी दिए । समितिका अर्का सदस्य देवेन्द्र दाहालले संसद् सचिवालयलाई पर्याप्त बजेटसँगै निर्धारित वार्षिक कार्यक्रमको प्रभावकारिताबारे समेत प्रश्न उठाए। गत वर्ष समितिलाई रु १५ लाख बजेट विनियोजन भएको भए पनि उक्त रकम खर्च गर्न नसकेको बताउँदै सांसद दाहालले धेरै बजेट हुनुभन्दा कार्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने धारणा राखे। समितिका सदस्य जितेन्द्रनारायण देवले विधायन व्यवस्थापन समितिले सन्तोषप्रद काम गरेको बताए । उनले अन्य समितिभन्दा यो समितिले निर्धारण गरेका कार्यक्रमको नतिजा लक्ष्यअनुसार प्राप्न गर्न सकेको र अब आर्थिक वर्ष २०८०–८१ को योजनाअनुसार नै सफल हुने विश्वास व्यक्त गरे। सांसद गङ्गाकुमारी बेल्वासेले समितिमार्फत चार वटा प्रदेश अवलोकन गरिसकेको र बाँकी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पनि अवलोकन गर्ने योजना तय गर्न सभापतिसँग अनुरोध गरिन् । सङ्घीय संसद्अन्तर्गतका विभिन्न १६ वटा विषयगत समितिको कार्यसञ्चालनका लागि सङ्घीय संसद् सचिवालयमार्फत सरकारले चालु आव २०८०–८१ का लागि एकमुष्ट २ करोड ८ लाख बजेट बिनियोजन गरेको छ । प्रत्येक समिति सचिवालयले आ–आफ्नो समितिको कार्यक्षेत्रका अनुगमन कार्यक्रम सञ्चालनका लागि १० लाखको दरले कूल १ करोड ६० लाख विनियोजन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौमासमा सो रकमको एक तिहाइ बराबरको रकम खर्च गर्नुपर्ने रहेको छ । विज्ञ र परामर्श सेवाका लागि प्रत्येक समितिका लागि ६२ हजार ५०० का दरले कूल १० लाख बराबर रकम विनियोजन गरिएको छ । समितिका कार्यक्षेत्रबमोजिम अन्तक्रिया सञ्चालन गर्न एकमुष्ट ३० लाख र पूर्वबजेट छलफलका लागि ८ लाख बजेट राखिएको छ । रासस

सेयर र क्रिप्टोमा अनावश्यक लगानी भयो, बजेट र मौद्रिक नीति अनुशासित भएर आएन

केही वर्षयता देशको समस्या छ । यो समस्यालाई समाधान गर्नका लागि सरकारले काम अगाडि बढाइसकेको छ । समस्याहरू घट्दैछन्, घटाइँदैछ । ती समस्याहरू आउनुमा धेरै कारणहरू छन् । यो विषयमा हामीले विभिन्न मञ्चहरूमा निजी क्षेत्र समेतको उपस्थितिमा, दलहरूको उपस्थितिमा, संसद र संसदका समितिहरूमा पनि छलफल गरिसकेका छौं । सर्वपक्षीयरूपमा पनि चिरफार गर्यौं । समस्या संसारभरि नै छ । संसारभरि नै मन्दी छ । धेरै कम देशहरू मात्रै त्यो समस्या चिरेर अगाडि बढ्न सकेका छन् । त्यो सिथिलता हामीले पनि भोग्यौं । यहाँ आन्तरिक कारणले पनि आयो बाह्य कारणले पनि आयो । संसारभरि आएको कोभिड महामारीबाट पनि हामी प्रभावित भयौं । २०७२ सालमा आएको भूकम्पको प्रभावको अवशेषहरू र दायित्व पनि थपियो । यो सँगसँगै हाम्रोतर्फबाट राज्य संरचनाले लिएका निर्णयहरू परिस्थितिको यथार्थ मूल्यांकन नगरीकन सञ्चालित मौद्रिक नीति र वित्तीय नीतिमा प्राथमिकीकरण र अनुशासन नहुँदा यी सबैको गठजोडले समस्याहरू चुलिएको हो । तर, अब देशको अर्थतन्त्र सकारात्मकतर्फ अगाडि बढ्दैछ । हामी अहिले सूचना प्रविधिको युगमा छौं, हिजो चारजनाबीचमा रहने कुरा सय जनासँग हुन सक्थ्यो । अहिले सामाजिक सञ्जालमा सत्य वा असत्य संसारभर नै फैलन सक्छ । अझ प्रायोजितरूपमा, नियोजितरूपमा वा लगानी गरेर समूहले निश्चित उद्देश्यकासाथ त्यो प्रवाहित गर्यो भने त्यसले भ्रम पैदा गर्न सक्छ । त्यसले यो देश खराब छ, यो देशमा केही हुँदैन, यो सत्ता खराब छ, यसले केही गर्दैन भन्नेखाले भ्रमपूर्ण प्रचार त्यहाँबाट भएको छ । जसले आफ्नो दायित्व जिम्मेवारी पूरा गरेको छैन । जसले जनताबाट उठेको रकम बैंकबाट लिएर खुलेआम तिर्दिन भनेर तिर्नै नपर्ने अवस्था आउँछ भन्ने किसिमको अभिव्यक्तिले ठाउँ पाइराखेको अवस्था छ । हरेक देशमा समस्या आउँछ, समस्यारहित कुनैपनि देश छैन । र, समस्याको समाधान हुन्छ । हाम्रो देशको भविष्य छ, यही देशमा केही गर्न सकिन्छ, त्यसको सुरुवात भएको छ । जुन रफ्तारमा हुनुपर्ने हो त्यो नभएकै हो । तर, हुँदै नभएको होइन र अब गर्न सकिन्छ । यही देशमा युवाहरूको रोजगार सुनिश्चित गर्न पनि सकिन्छ । यही देशमा उत्पादन बढाउन पनि सकिन्छ । हाइड्रोपावरले एउटा लय समातेको छ । संसारभभरि नै कार्बन उत्सर्जन घटाउने लक्ष्यका कारणले नेपालमा लगानी गर्नको लागि विदेशी र निजी लगानीकर्ताको चासो छ । कमिटमेन्ट पनि आउन थालेका छन् । यसले व्यापार घाटालाई घटाउने मात्रै नभएर हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँछ । अर्को, पर्यटनको क्षेत्रमा ठूलो सम्भावना छ । यतिबेला अहिलेसम्मकै धेरै पर्यटक आएका छ्न । पर्यटनको विकास गर्न पूर्वाधार विकास गर्न आवश्यक छ, त्यसको लागि लगानीको आवश्यकता छ । सूचना प्रविधिले राम्रो सम्भावना देखाएको छ । हजारौं युवाहरूको मानसिकता आईटीसँग मेल खान्छ । यो क्षेत्रमा ठूलो संख्यामा यूवाहरु संलग्न छन्, त्यसलाई प्रवर्द्धन गर्न जरुरी छ । अहिले पनि ठूलो सफ्टवेयर एक्सपोर्ट हुन थालेको छ । कृषिलाई व्यवसायीकरण गर्ने काम गर्नुपर्छ । अहिले भइरहेको सानोसानो जमिनको स्वामित्वले उत्पादनमा वृद्धि हुँदैन । कृषि क्षेत्रमा टुक्रे स्वामित्वकर्ताहरूको सहभागितालाई पनि लिएर व्यवसायीहरूलाई दिएर ठूलो क्षेत्रमा फार्मिङमा लैजान सकिन्छ । यसलाई राज्यले सहुलियत, संरक्षण र अनुदान दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गराउनुपर्छ । अहिले बाहिरबाट थोरै पुँजी लिएर कृषि क्षेत्रमा काम गर्नेहरू पनि छन । तिनलाई पनि प्रवद्र्धन गर्नुपर्छ । त्यस्तै, राज्यलाई आत्मनिर्भर बनाउन उत्पादन उद्योग लगायतका क्षेत्र छन्, तिनलाई पनि प्रवद्र्धन गर्यो भने नेपालले टेकअफ गर्छ । यसको लागि निजी क्षेत्रले नेतृत्व लिनुपर्छ । राज्यको काम सहजिकरण गर्ने हो, यही बाटोमा हामी छौं । पोजेटिभ डिस्कोर्स गरौं । अहिलेको समस्या भनेको कन्फिडेन्सको समस्या हो । पहिला मौद्रिक नीति र वित्तीय नीतिमा पनि यथार्थ आंकलन नगरी निर्णयहरु भए । राज्यले लगानी गर्दा पनि गैर प्राथमिकताको क्षेत्रमा, रिटर्न नआउने क्षेत्रमा पनि भएकै हो । मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा लगानी गरेकै हो । शेयर मार्केट कृत्रिम रुपमा विकास भएकै हो, कृप्टोमा पनि गएकै हो । अब यसबाट पाठ सिक्नुपर्छ । अब दीर्घकालिन रूपमा कुन क्षेत्रमा अवसर छ, कुन क्षेत्रबाट रिटर्न आउने सम्भावना त्यो क्षेत्रमा लगानी गर्नुपर्छ । जहाँसम्म जसले ऋण लिइसकेको छ, गर्दागर्दै भएको छैन त्यसलाई राज्यले सहजीकरण गर्नुपर्छ । केही सहजीकरण मौद्रिक नितिले ब्याज, समय लगायतका उपकरणहरुमार्फत पनि सम्बोधन गर्नुपर्छ । हामीले ३.७ प्रतिशतले साधारण खर्च घटाएका छौं । हामीले वित्त क्षेत्रमा पनि अनुशासन कायम गर्ने, जथाभावी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेका छौं । त्यसको नतिजा अब आउँछ । संरचनामा उदासिनता छ । अनेकन नियमनकारी निकाय छ्न । बुझाइ फरक–फरक छ । त्यसले पनि कतिपय समस्या आएको छ । हामीले निजी क्षेत्र सरकारी क्षेत्र नभनीकन काम गर्ने हो भने नतिजा ल्याउन सकिन्छ । (अर्थमन्त्री डा. महतले आन्तरिक राजस्व विभागको आयोजना गरेको कर सप्ताह समापन कार्यक्रममा राखेको विचारको सम्पादित अंश)

२३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०र८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइरकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताए । त्यउस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताए । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् । रासस

पुँजीगतभन्दा चालू खर्च दोब्बर, चार महिनामा २० प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँबराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३.७५, पुँजीगततर्फ ९.९३ र वित्तीय व्यवस्थातर्फ १७.७२ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपैयाँबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब २अर्ब ७ करोड ४४ लाख रूपैयाँ बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँबराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबरको बजेट विनियोजन भएकामा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख रुपैयाँबराबर खर्च भएको छ । सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ । चालु आर्थिक वर्षमा पूँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो । सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पुँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ । पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २०.०८ प्रतशित बराबर छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँबराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँबराबर राजस्व उठाएको छ । जसमा कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्व २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँबराबर छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

‘अर्थमन्त्रीसँग नजिक भएर बजेट पार्ने भन्ने बाहेकको सांसदको काम भएन’

काठमाडौं । ‘सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो !’ सदनको पछिल्ला दुई अधिवेशनबारे हामीले राखेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गरे । उनले भने, ‘हामी संसदीय अभ्यासमा नयाँ र उत्साहित भएका थियौँ । तर यो सत्ता पुरानै सोच र ढर्रा भएका राजनीतिक दलको हातमा भएकाले समग्र सदन प्रभावित भयो । जति कानुन बन्नु पर्दथ्यो जति विधेयक पास हुनुपर्दथ्यो, त्यो भएन । दोस्रो अधिवेशनमा रास्वपाले सदनमा दर्ता गराएको दुई सार्वजनिक महत्व र पाँच सङ्कल्प प्रस्ताव सदनमा प्रस्तुतसमेत भएन । उनले सदनमा प्रतिपक्ष हुनेबित्तिकै विरोध र सत्तापक्ष हुनेबित्तिकै बचाउ गर्ने संस्कारप्रति टिप्पणी गरे । संसद्मा पुरातनशैलीको यथास्थितिमा रमाउन खोज्ने दलहरूको हालीमुहाली भएको उनको आरोप छ । ‘सदनमा सत्तापक्षका सरकारको संख्याका आधारमा नै हामीले गरेका संशोधनहरू ‘फेल’ भए’, उनले भने, ‘तर हामीले हालेका संशोधन फेल गराइरहँदा, सदन सकिएपछि सत्तापक्षकै सांसदहरूले ‘कस्तो राम्रो संशोधन हाल्नुभएको पास हुन सकेन हाम्रो त यस्तै छ, यसरी नै चलिरहेको छ,’ भन्ने प्रतिक्रिया दिन्छन् । सरकार र सदन दुवैले कानुन निर्माणमा ध्यान केन्द्रित गर्न नसकेको अवस्थामा उनी भन्छन्, ‘सरकार सञ्चालकहरू यो संख्याले सरकार कति मजबुत छ भनेर संख्या गन्न मात्र लागिपरेको छ । सरकार बनिसकेपछि सदनले सत्ताको जोडघटाउमा होइन कानुन बनाउनमा केन्द्रित हुनुपर्ने हो ।’ सदनको सम्पन्न दुई अधिवेशनको समीक्षा गर्दै रास्वपाका नेता ढकालले आफ्नो पार्टीको उपस्थितिले सदनमा आमनागरिकको चासो बढेको दाबी गरे । उनले भने, “यसपटकको उपलब्धि सोध्नुहुन्छ भने, हाम्रो उपस्थितिका कारण सदनप्रति नागरिकको चासो बढेको छ ।’ संवादका क्रममा उनले आगामी अधिवेशनलाई अघिल्ला दुई अधिवेशनजस्तै हुन नदिने सङ्कल्पसमेत व्यक्त गरे । ‘हामी पनि सिकारु थियौँ, यो ११ महिनाको अनुभवबाट धेरै सिक्यौँ । आउने अधिवेशनमा अझ बढी सशक्तरूपमा प्रस्तुत हुनेछौँ”, उनले भने । युवा सांसद ढकालले आगामी हिउँदे अधिवेशनमा सफल संसदीय अभ्यासका लागि अन्य राजनीतिक दलका नेताहरूसँग पनि अनौपचारिकरूपमा निरन्तर छलफल जारी राखेको बताए । ‘जनताले पनि राजनीतिक दल र जनप्रतिनिधिलाई सिर्जनात्मक, रचनात्मक सुझाव र खबरदारी गर्नुपर्छ,’ सांसद ढकालले भने । विधायिकको भूमिकामाथि प्रश्न वडाध्यक्ष, नगर प्रमुख र सांसदलाई आउने जनगुनासोको प्रकृति उस्तै छन् । विधायिकाको भूमिकाबारे आमजनता स्पष्ट छैनन् । जनप्रतिनिधिले नै आमजनतालाई विधायिकाको भूमिकाबारे बुझाउन चाहेनन् । विकास निर्माणको जिम्मा पनि सांसदले लिएर हिँडने पुरानो संस्कारका कारण स्थानीय तहको भूमिका र सांसदको भूमिकाबीच जनतामा स्पष्टता नभएको सांसद ढकालको भनाइ छ । ‘जनतामा समेत सरकारले होइन, फलानो सांसद र नेताले हालेको बजेट भन्ने छ । मेरो निर्वाचन क्षेत्रमा पूर्वसांसदहरूले बाटाको नामसमेत आफ्नो नाममा राख्नुभएको छ,’ उनले भने, ‘सांसदले आफ्नो मुख्य काम कानुन निर्माण हो है भन्ने बुझाउनुपर्ने ठाउँमा उहाँहरू सडक, पुल, कलर्भट र धारा बनाउन लागि पर्नु भएको छ ।” चितवन–१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य ढकालले विधायिकाहरू बजेट अधिवेशनका समयमा पनि सैद्धान्तिक छलफलमा भन्दा बढी आफ्नो क्षेत्रमा बजेट पार्न व्यस्त हुने गरेको बताए । उनले भने, ‘अर्थमन्त्रीसँग कसरी नजिक हुने, दुई–चार किलोमिटर सडकका लागि कसरी बजेट पार्ने र ‘मैले ल्याएको बजेट भन्ने’ भाष्य निर्माण भइरहेको छ ।’ उनले विश्वका अन्य देशको सफल संसदीय अभ्यासबाट आफूहरूले धेरै सिक्न बाँकी रहेको बताए । ‘सदनको उन्नत लोकतन्त्रको अभ्यास भएका देशहरूमा सरकारले पेस गरेका विधेयक सदनले ‘फेल’ गरेको छ । त्यहाँ सांसद दलको हँुदैन । आमनागरिक र पार्टीले मूल्याङ्कन गर्दा कुन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिए, संशोधन हाल्यो कि हालेन र गैरसरकारी विधेयक हाल्यो कि हालेन भनेर हेर्छ । तर हाम्रो देशमा कुलो बनायो कि बनाएन, धारो बनायो कि बनाएन भनेर हेरिन्छ”, सांसद ढकालले भने । उनले सांसदहरू आफ्नो भूमिकामा खरो उत्रिनका लागि अध्ययनशील हुनुपर्ने बताए । आफ्नो पार्टीका अधिकांश सांसद जनताका मुद्दा उठाउन र कानुन निर्माणका लागि अध्ययन गरेर मात्र उपस्थित हुने उनको भनाइ छ । उनले सदनमा दलीय ह्वीपका कारण पनि कतिपय सांसदमा अध्ययन गर्ने बानीको अभाव भएको बताए । ‘के देख्यौँ भने कतिपय सांसदहरू पिजन होलमा विधेयक आएको हुन्छ, त्यसलाई अध्ययन गर्नुहुन्न, किनभने सदनमा उहाँहरूको भूमिका नै ‘रबर स्ट्याम्प’को काममा जस्तो हुनुहुन्छ, प्रमुख सचेतकले अग्रिम दिएको सूचनाका आधारमा ‘हुन्छ भन्नुहोस्, हुन्न भन्नुहोस्’ मात्र पालना गर्ने सांसदहरू धेरै हुनुहुन्छ ।’ लोकतन्त्र र संसदीय अभ्यासमा यस्तो अभ्यासलाई उनी भन्छन्, ‘यो ‘विकृत स्वरुप’ हो !’ सरकारले नसुन्ने शून्य समय ‘मैले बर्खे अधिवेशनमा शून्य समयसहित २७ पटक सदनमा बोलेको छु । मेरो अनुभूतिले के भन्छ भने यो सरकारले सुन्दैन,’ उनले भने । सरकारले प्रतिनिधिसभाको शून्य समयमा उठाएको विषय आवश्यकतानुसार तत्काल सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ छ । तर, सरकारबाट चासो व्यक्त नहुने उनको अनुभव छ । उनले भने, ‘उठाएको मुद्दाको निरन्तर अद्यावधिक गर्दा पनि सरकारले सुन्दैन त्यसैले दोस्रो अविधेशनको एक बैठकमा शून्य समयमा मौन धारणा गरेर विरोध जनाए ।’ रासस

डब्लूएचओको क्षेत्रीय निर्देशक बन्ने दौडमा आचार्य, ५०० मिलियन डलरको बजेट चलाउने अवसर

काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशिया क्षेत्रीय निर्देशकमा नेपालले लामो समयदेखि विश्व स्वास्थ्य संगठनमा काम गर्दै आएका डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको छ । सोही पदका लागि बंगालादेशकी डा. साइमा बाजेदले उम्मेदवारी दिएकी छन् । आचार्य नेपालको तर्फबाट डब्लुएचओमा काम गरेर माथिल्लो ओहदामा पुगेका पहिलो नेपाली हुन् । उनी डब्लुएचओको मुख्यालय जेनेभामा कार्यरत रहँदै आएका छन् । त्यस्तै बंगालादेशकी साइमा जाबेद पेसाले क्लिनिकल साइकोलोजिस्ट र बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । विश्व स्वास्थ्य संगठनको दक्षिण पूवी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । सो क्षेत्रको निर्देशक बन्नको लागि बहुमत देशका स्वास्थ्य मन्त्रीहरुले मत दिनुपर्ने हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनको सो महत्वपूर्ण पदमा आचार्यलाई नियुक्त गर्नका लागि नेपालको तर्फबाट कुटनीतिक भूमिका महत्वपूर्ण देखिन्छ । सोमबारदेखि डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठक शुरु भएको छ, जुन नोभेम्बर ३ सम्म चल्नेछ । सो बैठकमा ११ वटै देशका स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशक सहित उच्च अधिकारीहरु सहभागी हुनेछन् । सो बैठकमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी भएका छन् । अहिलेसम्मको अवस्थामा क्षेत्रीय निर्देशकको लागि नेपाल र बंगालादेश दुवैले अगाडि सारेको उम्मेदवारको पक्ष वा विपक्षमा कसैले पनि आफ्नो औपचारिक धारणा अगाडि सारेका छैनन् । नेपालले निर्देशक पदको लागि अगाडि सारेका उम्मेदवार आचार्यले तीन दशक बढी समय डब्लुएचओमा काम गरेका क्षमतावान र अनुभवी व्यक्ति हुन् तर, उनले बंगालादेशकी प्रधानमन्त्रीकी छोरीसँगको प्रतिस्पर्धालाई सामना गर्ने विषयलाई महत्वपूर्ण ढंगले हेरिएको छ । निर्देशक पदमा नियुक्ति हुने व्यक्तिले झण्डै २ अर्ब मानिसमा पाँच सय मिलियन डलर बराबरको बजेट रहने कार्यक्रम सञ्चालन गर्ने अधिकार राख्छ । नेपालले आफ्नो उम्मेदवारलाई सो पदमा नियुक्तिको लागि आवश्यक कुटनीतिक मत सिर्जना गर्न सकेमा दक्षिण एशियाली कुटनीतिक सम्बन्ध विस्तार र नेपालको स्वास्थ्य क्षेत्रमा थप लाभ प्राप्त गर्न सक्छ । नेपालले यस अगाडि क्षेत्रीय निर्देशक पदमा नियुक्ति गर्दा भारतलाई समर्थन गर्दै आएको थियो । डब्लुएचओको दक्षिण पूर्वी एशियाली क्षेत्रीय संगठनमा रहेका अन्य देशहरुसँग पनि नेपालको राम्रो सम्बन्ध रहँदै आएको छ । तर, नेपालले कुटनीतिक रुपमा अन्य सदस्य राष्ट्रहरुलाई कति विस्वास दिलाउन सक्छ भन्नेमा आचार्यको नियुक्तिको सम्भावना रहेको देखिन्छ । आजदेखि बिहीबारसम्म सञ्चालन हुने क्षेत्रीय सत्रमा गोप्य मतद्वारा निर्देशक पद चयन हुन्छ । त्यसपछि जनवरीमा हुने डब्लुएचओको कार्यकारी बोर्डको बैठकले जिम्मेवारी प्रदान गर्नेछ ।

जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विभिन्न अध्ययनहरुले पछिल्लो समय विपद्का घटनाहरु बढ्दै गएको र ती घटनामध्ये ७५ प्रतिशत घटना जलवायुजन्य रहेको देखाएका छन् । यीनै अध्ययन प्रतिवेदनका आधारमा विज्ञहरुले जलवायु परिवर्तनजन्य विपद्का घटनाको जोखिम न्युनिकरणका लागि अनुकुलनमा बजेट बढाउनुपर्ने सुझाव दिएका हुन् । विपद् जोखिम न्युनिकरण दिवसको सन्दर्भमा विकासन्युुजसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले विश्वव्यापी रुपमा विपद् जोखिम न्युनिकरणमा ६३ र जलवायु अनुकुलनमा ३५ प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गर्दै अनुकुलनतर्फ बजेट वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । जलवायु परिवर्तनलाई रोक्न नसकिने भएकाले अनुकुलनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सरकारले योजनाहरु जलवायुमैत्री हुन् भन्ने उद्देश्यका साथ सन् २०१२ मा जलवायु कोड ल्यायो । तर २०१२ देखि २०२३ सम्मको अवस्थामा लगभग पाँच प्रतिशत भन्दा बढी बजेट जलवायुमा विपद् जोखिम न्युनिकरणको लागि छुट्याएको पाइँदैन । साथै यस्ता बजेटहरु रुकमान्तर गरी अन्य शिर्षकमा राखेर खर्च गर्ने प्रवृत्ति सबै तहका सरकारमा देखिँदै आएको छ । हालै क्यानडामा भएको विश्व सम्मेलनमा पनि जलवायुजन्य विपद्का घटना बढ्दै गएको निष्कर्ष निकाल्दै अनुकुलनमा बजेट वृद्धि गर्नुपर्ने आवाज उठेको उल्लेख गर्दै जलवायु तथा विपद् विज्ञ उप्रेतीले न्युनिकरण र अनुकुलन दुवैमा काम नगर्ने हो भने विपद्जन्य जोखिमका घटनाले खतराको घण्टी बजाउने चेतावनी समेत दिए । आर्थिक वर्षको अन्त्यतिर रकमानान्तर गरेर रकमानन्तरको शिर्षकमा हालेर खर्च गर्ने प्रवृत्तिपनि देशभर देखिएको छ । अल्पविकसीत र विकासोन्मुख देशमा बढी जोखिम विपतका घटना पछिल्लो २० वर्षमा अध्ययन गर्ने हो भने विपद्जन्य घटनाहरु बढ्दै गएको र विपद्का कारणले गर्दा ठूलो धनजनको क्षती बढ्दै गइराखेको अवस्था देखिएको छ । उनले वशहुप्रकोपिय जोखिममा रहेको देश नेपालमा जलवायुजन्यसँगै भूकम्प, आगलागी लगायत अन्य प्राकृतिक जोखिमहरु पनि रहेको बताए । उनका अनुसार संसारभर नै जलवायुजन्य विपद्का घटनाहरु बढ्दै गएका छन् । विभिन्न क्षेत्रमा असमानताहरु बढेको र त्यसले विपद् जोखिम न्युनिकरणलाई प्रभाव पारिरहेको भन्दै उनले सबै किसिमका असमानता अन्त्यको लागि जलवायुजन्य बजेटमा वृद्धि गर्नुपर्नेमा जोड दिए । विकासका संरचनाहरु विपद्मैत्री हुनुपर्ने विकास भन्ने बित्तिकै वाटो बनाउने र ठूला ठूला भौतिक संरचनाको विकास भन्ने बुझाईमा परिवर्तन हुनुपर्ने देखिन्छ । साथै त्यस्ता मानवश्रृजित भौतिक संरचनाहरु निर्माण गर्दा विपद्को पूर्व आँकलन नगरेकाले तीनै संरचनाले विपद् निम्त्याउने गरेको उल्लेख गर्दै विज्ञहरुले विकासलाई विपद्मैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगरभित्र फुटपाथ बनाउन दुई अर्ब १५ करोड बजेट, काम पनि भटाभट शुरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ । महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ । साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए । महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं ८ को गौशालासम्मका लागि रु छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि रु तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ । वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ । साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं १४ को कलङ्कीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ । अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आवश्यक क्षेत्रको पहिचान गरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने आवश्यकता रहेको बताए । उनले सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताए । सामाजिक सुरक्षाका दायित्व र वैदेशिक ऋणको दायित्व बढीरहेको बताए । अर्थमन्त्री महतले श्रोत तथा साधन न्युन र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘स्वास्थ्यको कुरा गर्ने बित्तिकै हाम्रा आवश्यकता अत्यन्त ज्यादा र हाम्रो श्रोत तथा साधन न्युन छन् । त्यसको बीचमा हामीले काम गर्नुपर्ने जरुरी छ । आवश्यकता धेरै छन् । साधन श्रोत थोरै छ । अब यसको अन्त्य गर्नुपर्छ । सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । हाम्रा सामाजिक सुरक्षाका दायित्व बढीरहेका छन्, तलव भत्ता आदि इत्यादि कम गर्नसक्ने अवस्था छैन । वैदेशिक ऋणको दायित्व पनि बढ्दैछ’, उनले भने । मन्त्री महतले थोरै श्रोत, साधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौति सरकारसँग रहेको बताए ।

‘अर्थतन्त्र सुधारमा बजेटले घोषणा गरेका कार्यक्रमको नतिजा देखिएन’

  काठमाडौं । अर्थतन्त्र सुधारको प्रयाससहित चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमको नतिजा देखिन नसकेको धारणा सांसदहरूले राखेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा अर्थतन्त्र सुधारका लागि सरकारले उदासीनता देखाएको भन्दै आलोचना भएको हो । पूर्वअर्थमन्त्री तथा समिति सदस्य विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगिसकेको बताउदै अर्थमन्त्रीले यसबारे जवाफ दिनुपर्ने धारणा राखे। ‘अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ । यसलाई सरकारले स्वीकार्नु पर्छ । उपेक्षा गरेर बस्न सकिँदैन’, उनले भने, ‘अधिकांश आर्थिक सूचक नकारात्मक छन् । बजारमा तरलता छ तर कर्जा माग छैन । वैदेशिक विकास सहायतामा कटौती भएको छ । इतिहासमै डरलाग्दो अवस्थाको समस्याबाट निजी क्षेत्र गुज्रिरहेको छ ।’ अर्थतन्त्र सुधारका लागि सरकारका भएका प्रयास पर्याप्त नरहेको एवम् नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको उनको दाबी छ । अर्थमन्त्रीले यसको जवाफ दिनुपर्ने पौडेलको भनाइ छ । ‘अर्थ समितिले बोलाउँछ, उहाँ आउँछु पनि भन्नुहुन्छ तर आउनुहुन्न । टालटुले प्रश्न र जवाफले अहिलेको समस्या समाधान हुन सक्दैन’, बैठकमा अर्थमन्त्री अनुपस्थित भएकोबारे इङ्गित गर्दै पौडेलले भने, ‘संसद् र समितिमा आर्थिक सूचकको सामान्य प्रस्तुति लिएर आउने होइन, विस्तृत जानकारीसहित आउनुप¥यो । अर्थतन्त्रको अवस्था बारेको जानकारी आम नागरिकलाई पनि दिन आवश्यक छ ।’ अहिले बजारमा माग र आपूर्तिमा उल्लेख्य रुपमा कटौती भएको बताउदै पौडेलले औद्यागिक उत्पादन कटौती भएको यसले बेरोजगारी बढाएको धारणा राखे । साधारण खर्चसमेत धान्न नसक्ने अवस्था रहेको राजस्व सङ्कलनको नाजुक स्थिति अर्को समस्या रहेको उनको भनाइ छ । त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्दा अर्थतन्त्रमा सुधारका सङ्केत नदेखिएको उनको पौडेलको बुझाइ छ । समिति सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीलाई शङ्काको लाभ दिन दिएर कार्यान्वयनको अवस्थासम्म पुग्दा नतिजा देखिन नसकेको बताए । ‘अर्थतन्त्र सुधारका लागि बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्मको कार्यप्रगतीको अवस्था के छ ? यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ’, वाग्लेले भने, ‘अर्थतन्त्रका सूचकलाई बृहत् (म्याक्रो) रुपमा भन्दा पनि सूक्ष्म (माइक्रो) तरिकाले हेरिनुपर्छ । रेमिट्यान्स, पर्यटन र जलविद्युत् क्षेत्रका सम्भावनालाई देखाएर मात्र हुँदैन ।’ समिति सदस्य ज्ञानबहादुर शाहीले राजस्व चुहावट बढेको भनेर सरकार मातहतकै निकायले स्वीकारेको अवस्थामा भन्सारका कर्मचारीलाई के कस्तो कारबाही हुन्छ भनेर जिज्ञासा राखे । त्यस्तै, नेपालको कर प्रणालीमा सूचना प्रविधिको प्रयोग अझै बढ्न नसकेको र पुरानै शैलीको कर भुक्तानी प्रणालीले राजस्व बढ्न नसकेको उनको भनाइ छ । पछिल्लो समय नेपाल भित्रने पर्यटकले यहाँ गर्ने खर्चको तुलनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा बाहिर गइरहेको रकम बढी रहेको उल्लेख गर्दै शाहीले मुलुकमै अवसर सिर्जना गर्नका लागि साना तथा मझौला खालका उद्यमशीलता विकासमा सरकारले जोड दिनुपर्ने बताए । अर्थ सचिव कृष्णहरी पुष्करले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित ८० प्रतिशत कार्यविधि र मार्गदर्शन बनिसकेको दाबी गरे । बजेट कार्यान्वयनको सबै काम अर्थ मन्त्रालयले मात्र गर्ने नभई विषयगत मन्त्रालयको दायित्व पनि रहने उल्लेख गर्दै अर्थसचिव पुष्करले अर्थ मन्त्रालयले समन्वयकारी भूमिका र सहजीकरण गरिरहेको बताए । त्यस्तै, राजस्व सचिव रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको दुई महिनासम्ममा पनि राजस्व सङ्कलनमा उत्साह देखिन नसकेको स्वीकारे । ‘राजस्व प्रशासनमा त्यति उत्साह देखिन सकेको छैन । बजेटले लिएका नीति र सुधारका कार्यक्रमको तत्काल नतिजा नआउने भएकाले सुधार हुन समय लाग्छ’, उनले भने, ‘समस्या पहिचान गरेर सुधार गर्नुपर्छ । तर बढाइचढाइ गर्न हुँदैन । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै पुगेको भन्ने होइन ।’ नेपालको राजस्व प्रणालीमा संरचनागत समस्या विरासतको रूपमा जकडिएर बसेको उल्लेख गर्दै घिमिरेले त्यसमा सुधार गर्नका लागि समय लाग्ने बताए । अहिले आन्तरिक अन्तःशुल्क र पैठारीको अन्तःशुल्क घटेको देखिएकाले यसको कारण खोज्न अध्ययन भइरहेको पनि उनले बताए । त्यस्तै, विभिन्न छुट तथा अनुदानका कार्यक्रमका कारण पनि राजस्वमा कमि आएको हुनेसक्ने उनको भनाइ छ । अर्थ समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराएका थिए । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर उत्पादक मूल्यको आधारमा दुई दशमलव २६ प्रतिशत र उपभोक्ता मूल्यको आधारमा एक दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे छ प्रतिशतको बाञ्छित सीमाभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य राखिएको छ । सुवेदीले चालु आर्थिक वर्षको शुरुवातदेखि नै थप बजेट माग हुन थालेको बताए । त्यस्तै, कर्मचारी संयन्त्र निर्णय गर्न हिच्किचाउने गरेको र सही निर्णय गर्दा पनि डराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । विभिन्न विकास आयोजना प्रमुखहरु चाँडो चाँडो परिवर्तन हुँदा त्यसको असर समग्र खर्च प्रणालीमा परेको उनको भनाइ छ । सार्वजनिक खर्चको पुरातन शैली कायम नै रहेको उल्लेख गर्दै सुवेदीले अहिले निक्षेपको अवस्था बढ्दो र कर्जाको माग घट्दो रहेको बताए । रासस

विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछुः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरु पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे । उनले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताए । उनले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए । ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन्, मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु, यो इतिहासमै पहिलो पटक हो नेपालमा, दरबन्दी एक चौथाइ मात्रै छ, चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु । पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भनेपनि गर्ने हो, संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ, अब नेपालमा उपचार गर्न नसकेर हस्पिटलको बरण्डाबाट आत्महत्या गरेर कोही पनि बिरामी मर्नु पर्दैन, घर फर्किनु पर्दैन, गरिव र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु, हामी सुधारको प्रक्रियामा लागेका छौँ,’ उनले भने । मन्त्री बस्नेतले अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए ।

बजेट अभावले रैथाने बाली प्रवर्द्धनको कार्यक्रम ओझेलमा

काभ्रेपलाञ्चोक । परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियान यसबर्ष बजेट अभावमा ओझेलामा परेको छ । गत आर्थिक बर्षसम्म बाग्मती प्रदेश सरकारले धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण कार्यक्रमलाई प्राथमिकता दिँदै आएको थियो । उक्त अभियानअन्तर्गत गतबर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्द्धन गर्न सुरु गरिएको थियो । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवर्द्धन कार्यक्रम गर्न कृषक समूह तथा कृषि सहकारीसँग प्रस्ताव आह्वान गरी कार्यक्रम अघि बढाइएको केन्द्रका बागबानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/८१ मा उक्तकार्यक्रमका लागि बजेट नहुँदा अभियाननै स्थगित गरिएको सापकोटाले बताए । उनका अनुसार यसअघि प्रदेश र सङ्घीय सरकारले रैथाने बाली प्रवर्द्धनका लागि बर्षेनी बजेट थप्दै आएको थियो । गतबर्ष प्रदेश सरकारले रैथाने बाली प्रवर्द्धनका लागि काभ्रेपलाञ्चोकमा ४० लाख रुपैयाँबाट सङ्घीय सरकारको ‘राष्ट्रिय खाद्य सुरक्षा मिसन रैथाने बाली प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत तालिम, प्रचारप्रसार, अनुदानमा कृषि सामग्री वितरण, उन्नत जातका रैथाने बालीको बीउ वितरण तथा होटल, होमस्टे ब्यवसायीलाई रैथाने बालीका परिकारमा आकर्षण गराउन तालिमलगायत कार्यक्रम गरिएको थियो । विशेषगरी गाउँमा सञ्चालित होमस्टेमा रैथाने बालीको परिकार दिन सकिने भएकाले तिनलाई कार्यक्रममा समेट्न थालिएको अधिकृत सापकोटाले बताए । यसअघि उक्त अभियानमाअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका केही स्थानीय तहका खेतबारीमा रैथाने बाली लगाइएको थियो । कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन बर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ । पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमीलगायत बाली पर्दछन् । केन्द्रले रैथाने बालीको वीउ निःशुल्करुपमा कृषकलाई वितरण गर्नाका साथै ८५ प्रतिशतसम्म अनुदानमा उपकरण दिइएको उल्लेख गर्दै सापकोटाले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर हाल नेपाली भान्छामा कमै प्रगोग हुने गरेकाले रैथाले बालीलाई प्रवर्द्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको जानकारी दिए । ‘लापोन्मुख अवस्थाका रैथाले बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवर्द्धन गर्न लगिएको थियो, बजेट अभावमा कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्ने विषयमा हाल रुकावट आएको छ,’ उनले भने । अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रहरुमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य लिइएको छ । जलवायू अनुकुलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिबृद्धि तथा विविधिकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन वृद्धि , कम लगानी, सिमान्त जमिनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रवर्द्धन तथा संरक्षण गर्नुपर्ने उद्देश्य रहेको थियो । रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटीन र फलामतत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ । बालीविज्ञका अनुसार रैथाने बाली रोपेपछि त्यति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने, जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन हुन्छ । यसैबीच पाँचखाल नगरपालिकाले भने गत बर्षको स्थानीयस्तरमा रैथाने बालीका परिकार ख्वाउन होमस्टे सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरको १, ५, ८ र ११ नं वडामा रैथाने बालीको रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकैलगायत बाली संरक्षण तथा रैथाने बाली प्रयोग गर्ने गरी घरबास९होम स्टे० सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको थियो । नगर कृषि शाखाका अनुसार नगरका चार वडामा क्लस्टर बनाइ २० समूहमार्फत रैथाने वीउ, हाते ट्याक्टर, जोख्ने मेसिन तथा अन्न राख्ने विशेष खालका ९किराहरु नलाग्ने० बोरा वितरण गरिएको थियो । साथै अभियानअन्तर्गत् प्रारम्भिक चरणमा २० समूहलाई भटमासको बीउ वितरण गरिएको थियो । नगरको ५ नं वडास्थित खावा होमस्टेमा पाहुनालाई रैथाने बालीबाट बनेका परिकार खुवाईंदै आइएको छ । केन्द्रको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा बार्षिक ४० हजार आठ सय आठ मेट्रिकटन मकै, १८ हजार छ सय ८३ मेट्रिकटन धान, १६ हजार पाँच सय ६८ मेट्रिकटन गहुँ, दुई हजार छ सय ७३ मेट्रिक टन कोदो र पाँच सय ४६ मेट्रिकटन फापर उत्पादन हुने गरेको छ । काभ्रेपलाञ्चोक खाद्यान्नमा आत्मनिर्भर भई खाद्यान्न स्थिति सन्तलुनमा तीन हजार ४१ मेट्रिक टन बढी खाद्यान्न उत्पादन हुने गरेको छ । रैथाने बाली प्रवर्द्धन गर्दा खाद्यान्न सन्तलुन स्थिति बढ्दै जाने प्रक्षेपण गरिएको पाइन्छ । कृषि विभागका अनुसार कोदोमा २८८ मिलिग्राम क्याल्सिएम तथा ४९ दशमलव दुई प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सियम पाइन्छ । यस्तै चामलमा १० मिलिग्राम क्याल्सियम र जिरो दशमलब सात प्रतिशत मात्र फलाम पाइन्छ ।  रासस

सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन : सांसद झा

काठमाडौं । कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य छिन् । उनी विगतमा नेकपा (एमाले)को सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त गरेकी छिन् । सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण विकास निर्माणका काममा पनि संलग्नता देखिएकामा खुसी देखिँदैनन् । सांसदले संवैधानिक दायित्वबमोजिम कानुन निर्माणका काममा पर्याप्त समय दिएका छन् त ? भन्ने प्रश्नमा उनले भनिन्, “सांसदको काम विशुद्धरुपमा कानुन र नीति बनाउने नै हो । हामी कहाँ सरकार, संसद् र समितिबीचको उचित तथा प्रभावकारी समन्वय पनि आवश्यक छ । सरकारको काम कानुनको मस्यौदा तयार गरी सदनमा लैजाने र सदनले सम्बन्धित समितिमा जनताको आवाजबमोजिम छलफल गराइ सदनमा पेस गरी पारित गराउने प्रक्रियाका बीचमा सांसदको सक्रिय भूमिका खोजिनुपर्छ ।” संसदीय मामिलामा शीर्ष र अनुभवी सांसदले आफूहरुलाई खासै नसिकाएको गुनासो गर्ने सांसद झाले ‘सांसदसँग रासस’ संवादमा चुनावमा जाँदा यति विकास गर्छु, उति बजेट ल्याउँछु भनेर आश्वासन दिने र त्यही कुरा पत्याएर मतदान गर्ने जनताले पनि सांसदका कारण विकास हुन्छ भन्ने बुझाइलाई त्याग्नुपर्ने बताइन् । “सांसदले आफ्नो क्षेत्रमा योजना ल्याउने वा विकासको पैसा थुपार्ने अनि विकास गर्ने भन्ने बुझाइ गलत छ । यसलाई हामीले चिर्न सक्नुपर्छ ।” सांसद झा संसद्भित्र विधेयक आउनुपूर्व वा बजेट तथा नीति निर्माण कार्यक्रम तय हुँदा सांसदको भूमिकाको माग गर्छिन् । “सांसदको क्षमता नै नभएर उनीहरुले भूमिका निर्वाह नगरेका होइनन् । सबै सांसद सक्षम छन् भन्ने होइन र सबै असक्षम नै छन् भन्ने पनि होइन । उनीहरुलाई त भूमिका दिनुपर्छ । मेरो क्षमता र ऊर्जाअनुसार मैले संसदीय काम गर्न पाइरहेको छैन । मैले गर्न खोजेको एक प्रतिशत पनि काम पाइरहेको छैन । अहिले संसद्मा सरकारले पर्याप्त विजनेश दिन सकिरहेको छैन,” उनले भनिन् । सदनमा विभिन्न नाममा अवरोध तथा आरोप प्रत्यारोपणको क्रम बढेको छ । बढ्नुपर्ने चिज घटेको छ । घट्नुपर्ने चिज बढेको छ । यसले संसदीय अभ्यास र मर्यादामा आँच आउने त होइन भन्ने प्रश्न उठेको छ । सांसद झा सदन अवरोध गर्ने कार्य नियमावली र लोकतान्त्रिक आन्दोलनको मर्मविपरीत भएको ठान्छिन् । उनले भनिन्, “संसद्मा जनतामा आवाज प्रस्तुत हुनुपर्छ र सांसदबीच संवाद हुनुपर्छ । यसमा अनुभवी र पुराना सांसदले अगुवाइ गर्नुपर्छ । उहाँहरुबाट हामीले केही सिक्न पाउनुपर्छ । सदनमा कुनै अवरोध नहोस् भन्ने सबैको चाहना हो । यसरी अवरोध कायम रहेमा विधेयक समयमा अघि बढ्न सक्दैनन् ।” सदनमा आवेगमा आएर अभिव्यक्ति दिने र पछि शब्द फिर्ता लिने वा रेकर्डबाट हटाउनुपर्ने स्थिति देखिएको छ । जनताको चाहना बमोजिम यी कार्य ठिक छन् त ? सांसद झा यसलाई कहिलेकाहीँ त्यस्तो अवस्था हुनसक्ने तर अधिकतम सांसदले विचार गरेरै बोलिरहेको जिकिर गर्छिन् । संसद्मा साझा मानसिकताको कमी भई सिद्धान्त र आदर्शबाट विद्यमान व्यवस्था सञ्चालन हुनुपर्ने हो त्यो हुन नसक्दा यदाकदा समस्या वा कमजोरी हुने गरेको उनको टिप्पणी छ । संसद्भित्र देखिने विकृति तथा कमीकमजोरीका सवालमा सांसद झाको बुझाइ छ, “सांसदले कानुन र नीतिका सबै विषयको अध्ययन गर्नुपर्छ । अध्ययन गरिरहेका पनि छन् । तर कामका सवालमा केही कमीकमजोरी त हुन्छ नै । भएका नियमको पालनाका सवालमा हामीले ध्यान दिनुपर्छ । सबै कुरा एकै पटक थाहा नहुन सक्छ । यसमा सम्बन्धित संसदीय दलले प्रशिक्षणलगायत माध्यमबाट सांसदलाई पोख्त बनाउन सक्नुपर्छ ।” संसदीय पूर्वाधार विकास कोषको औचित्यबारेको प्रश्नमा उहाँले विगतमा अभ्यासमा आएको, बीचमा हटेको र अहिले किन ल्याइयो भन्ने आफू पनि अनभिज्ञ रहेको उल्लेख गर्दै उनले भनिन्, “बजेट निर्माणमा हाम्रो कुनै भूमिका नहुनाले यो फेरि किन आयो भन्ने थाहा हुने कुरा भएन । सरकारले ल्यायो । संसद्ले पास गर्यो । तर यसमा सर्वोच्च अदालतले रोक्न मिल्दैन । यो त संसद्को कार्यक्षेत्र र अधिकारको विषय हो । कार्यपालिकालाई न्यायपालिकाले हस्तक्षेप गर्न मिल्दैन ।” यदि यो कार्यक्रम लागू गर्ने हो भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदका लागि लागू हुने गरी ल्याउनुपर्ने तर्क गर्दै सांसद झा प्रतिप्रश्न गर्छिन्, “अधिकांश प्रत्यक्ष सांसद पुरुष छन्, उनीहरुले नै कोषको बजेटमा अगुवाइ गर्छन् । विगतमा पनि उनीहरुले जितेर त्यो कार्यक्रम चलाए, अहिले पनि चलाउँछन् । यहाँ महिला धेरै समानुपातिकमा छन् । जनताले बजेट लिएर र कार्यक्रम लिएर आउने नै नेता हो भन्ने बुझाइ राख्ने स्थितिमा उनीहरु कसरी राजनीतिमा स्थापित हुने ?” मधेस प्रदेशमा समिति तथा उपभोक्ता समिति बनाउने र अनेक नाममा प्रतिशतका आधारमा बजेट खर्च गरिने स्थितिको अन्त्य भई सुशासन काम हुनुपर्ने र त्यसमा सांसदको भूमिका हुनुपर्ने उनको भनाइ छ । समाधानका लागि असारे विकास बन्द गरी सरकारको नीति तथा कार्यक्रम फागुन चैततिरै सांसदलाई थाहा हुने स्थिति हुने भएमा बजेट तर्जुमामा सहज हुने सांसद झाको धारणा छ । नेपालको संविधानको सफल कार्यान्वयनका लागि सांसद झाको सुझाव छ, “विद्यमान निर्वाचन प्रणालीअनुसार गठबन्धनमा जानुपर्ने बाध्यता देखिन्छ । यसमा जस्तो परिणामा आएको छ, त्यसका आधारमा दलीय हैसियतका आधारमा पालैपालो सरकारको नेतृत्व र सत्तामा हिस्सेदारी दिनुपर्छ । संसदीय व्यवस्थामा हामी कुर्सीमोहमा लागेर स्वार्थी भयौँ । राजनीतिमा उच्च इमानदारिता र नैतिकता प्रदर्शन हुन सकिरहेको छैन । यसका लागि नेताहरु गम्भीर र सदाचारी हुनुपर्छ । सबै नीतिको माउ नीति राजनीति भएकाले राजनीति हाँक्ने शीर्ष नेताले आफूलाई सुधार गर्नुपर्छ ।”

मौद्रिक नीति र बजेटमा निजी क्षेत्रको माग सम्बोधन नहुँदा अर्थतन्त्रमा प्रभाव पर्याे : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधानतर्फ उन्मुख हुने बताएका हुन् । पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे । उनले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राख्नुभयो । अध्यक्ष ढकालले निजी क्षेत्रका तीन वटा संस्थाले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझाव दिँदासमेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताए । उनले भने, “निजी क्षेत्रका तीन वटा संस्थाले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटा भ्वाइसमा सुझाव दियौँ । त्यो सुझाव कार्यान्वयन हुन सकेन । निजी क्षेत्रको समस्याका विषयमा सरकार र नियमनकारी निकायले बेवास्ता गर्दा अर्थतन्त्रमा असजिलो आएको छ तर पछिल्लो समय धेरै आशाको किरण देखिएको छ ।” अध्यक्ष ढकालका अनुसार रेमिट्यान्स निरन्तररुपमा वृद्धि भएको छ भने पर्यटन आगमनमा पनि वृद्धि भएको छ । “बैंकहरुमा तरलता बढ्दै गएको छ । देशमा अब केबल सरकार र नियमनकारी निकायको तर्फबाट सर्वसाधारणको मनोबल बढाउने नियमनकारी निकायले सिस्टमलाई नबिगारी उद्योगी व्यवसायी र जनताको आत्मबल बढ्ने नीति अपनाउनुपर्ने खाँचो छ ।”, उनले भने । अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताए । उनका अनुसार रेमिट्यान्स, पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको छ । अर्थतन्त्रका आयाममा सकारात्मक सङ्केत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

‘काठमाडौंको जति बजेट हुने भए गाउँमा चमत्कार भइसक्थ्यो’

कतिपय अवस्थामा काठमाडौं महानगरको काम र पहलको उदाहरण दिएर धेरैले प्रश्न गर्ने गरेका छन्, ७५३ स्थानीय तहमध्ये किन काठमाडौंको मात्रै बढी चर्चा हुन्छ ? अन्य स्थानीय तहका जनप्रतिनिधि के गर्दै छन् ? विभिन्न समयमा यस्ता प्रश्न हामीलाई पनि आउने गरेको छ । काठमाडौं महानगरसँग अन्य स्थानीय तहको सहज तुलना हुँदैन । किनभने, राजधानीको शहर रहेको महानगरपालिकाको बजेट, जनशक्ति र पहुँच अन्य स्थानीय तहकोभन्दा बढी प्रभावकारी हुन्छ । केन्द्रीय सरकारबाट बेसीशहर नगरपालिकामा बर्षेनी सामाजिक सुरक्षा भत्ता मात्रै १८ करोड रुपैयाँ आउँछ । नगरको वार्षिक बजेट भने करिब २३ करोड रुपैयाँ छ । कुल बजेट मध्ये १४ करोड रुपैयाँ त तलब भत्ता लगायतका सेवा सुविधामा मात्रै खर्च हुन्छ । नगरभित्रका ११ वटा वडालाई वडा विकासका लागि करिब ७ करोड २५ लाख रुपैयाँ पठाउँछौं । यो खर्च कटाउँदा नगरपालिकासँग करीब डेढ करोड रूपैयाँ बाँकी रहन्छ । नगरको आन्तरिक आम्दानी ३/४ करोड मात्रै छ । प्रदेश सरकारबाट करीब एक करोड प्राप्त हुन्छ । यो सबै जोड्दा नगरले खर्च गर्ने बजेट करिब पाँच करोड रुपैयाँको हाराहारीमा हुन्छ । अनि, यो बजेटले सडक पिच गर्ने कि ढलान ? नगरपालिकाले सडक पीच गरेर मात्रै पनि हुँदैन । यसका अन्य बहुआयामिक जिम्मेवारी पनि छन् । सामाजिक, आर्थिक तथा प्रशासनिक लगायतका क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्ने हुन्छ । ती क्षेत्रमा योजनाबद्धरुपमा काम भइरहेका पनि छन् तर, पर्याप्त बजेट नहुँदा तत्कालै नतिजा देखिएको भने छैन । नगरपालिकाले ‘एक घर एक धारा’ भनेर काम गरिरहेको छ । उज्यालो पालिका, सिञ्चाइ सुविधा, भवन, सहरी विकास, मर्मतसम्भार, कृषि विकास, सुशासन लगायतका क्षेत्रमा दीर्घकालिन योजना बनाएर काम गरिरहेको छ । करिब ४५ स्क्वायर किलोमिटर भएको काठमाडौं महानगरपालिकाको वार्षिक बजेट नै २३ अर्ब भन्दा माथि हुन्छ । १२७.५ स्क्वायर किलोमिटर क्षेत्रफल भएको बेसीशहर नगरपालिकाले खर्च गर्ने बजेट चाहिँ ५ करोड हारहारी मात्रै छ । अहिलेको समयमा एउटा सफ्टवेयर जडान गर्नुपर्‍याे भने ४५/४६ लाख रुपैयाँ चाहिन्छ । यस्तो अवस्थामा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग दाँजेर यहाँको मेयरले काम गरेन, बाटो पिच गरेन, ठूला–ठूला भवन बनाएन, सुरुङ बनाएन, खोला निमन्त्रण गरेन भन्नुको अर्थ हुँदैन । ती सबै काम एकै पटक गर्न नगरमा आउने बजेटले भ्याउँदैन । यदि काठमाडौं महानगरको जस्तो यहाँको नगरको बजेट भए मेयर बालेनले भन्दा धेरै काम गर्थ्याै‌ं । ४/५ करोड पैसाले शहरको व्यवस्थापन गर्न सकिँदैन । यतिमात्र नभई नगरभित्र कुनै कार्यक्रम आयोजना भयो भने नगरले नै पैसा हाल्नुपर्छ । आयोजकले पैसा हालेर कार्यक्रम गर्ने प्रचलन हरायो । बजेट माग्न नगरपालिकामै आइपुग्छन् । त्यति हुँदाहुँदै पनि भएको बजेटलाई सदुपयोग गरेर काम गरिरहेका छौं । क्षमता नभएर विकास निर्माणको काम गर्न नसकेका हैनौं, बजेट नभएर उल्लेख्य काम नदेखिएको हो । म लगातार पाँच पटक चुनाव लडेर विजयी भएको मान्छे हुँ । वि.सं. २०४३ सालको जनपक्षीय प्रधानपञ्च हो म । २०५४ सालको गाविस अध्यक्ष भएर काम गरेको थिए । संघीय संरचना बनेसँगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भए । २०७९ सालको निर्वाचनमा पनि मतदाताले विश्वास गरिदिनुभयो । प्रत्येक पटक पहिलाको भन्दा बढी मत ल्याए विजयी भएको छु । म निर्वाचित भएर आउँदा नगरको आन्तरिक आम्दानी ५० लाख रुपैयाँ थियो । अहिले नगरको वार्षिक आम्दानी ५ करोडको हाराहारी पुग्छ । पालिकाको आम्दानी बढाएर धेरै विकास निर्माणका काम गर्न सक्ने अवस्था पनि छैन । किनभने, जनताबाट अनावश्यक पैसा उठाउने कुरा पनि हुँदैन । खोलामा बालुवा छ । तर, निकाल्न पाइँदैन । यहाँ प्राय ठाडो खोला छन् । असारमा खोलाले बालुवा बगाएर ल्याउँछ । त्यो निकालेर उपभोग गर्न पाइँदैन । असोजसम्म बालुवा झिक्न नमिल्ने नियम संघ र प्रदेश सरकारले बनाएको छ । कानूनले भनेको समय पर्खदा पर्खदै खोलाले बालुवा बगाएर कहाँ पुर्‍याइसक्छ, बगरमा बालुवा नै हुँदैन । हामीले प्रत्येक वडाको भवन बनाइसकेको छौं । भएको बजेटले भ्याएसम्म भवन बनाउने, सडक ढलान गर्ने काम भइरहेका छन् । बेसीशहरमा आन्तरिक सडक एउटा पनि थिएन । म आएपछि ७० वटा बाटो ढलान भएका छन् । त्यो काम जनताको सहयोगमा भएको हो । एउटा सडक बत्ती नभएको ठाउँमा हजारौं सडक बत्ती जडान भएका छन् । खानेपानी थिए अहिले खानेपानी २० वर्षलाई पुग्ने छ । यो विकास पैसा भएर गरेको हैन, पैसा उठाएर गरेको हो । संघीय सरकारले प्रदेशलाई बजेट दिएर काम हुन सकेको छैन । प्रदेश सरकारलाई दिएको बजेट कार्यान्वयन हुनै सकेन । नगरको एउटै योजनामा अध्ययन नगरी पैसा २/३ कार्यालयले हालेका छन् । प्रदेशले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्मको योजना हाल्छ । पुल भएको ठाउँमा पैसा हाल्छ, मागेको नयाँ कार्यक्रमका लागि पैसा दिँदैन । स्थानीय पालिकाले टोल–टोलदेखि छनोट गरेर पठाएको योजनामा पैसा हालिँदैन । अनि कार्यकर्ताको पछाडि लागेर पैसा पठाइदिन्छ । प्रदेशमा जुन ठाउँका कर्मचारी छन् त्यहाँ बजेट पठाएको पाएका छौं । अनि यसरी मुलुक चल्छ ? हामीले २ लाख रुपैयाँमा सक्ने काममा प्रदेशले लाखौं रुपैयाँ बजेट हालेर काम गरिरहेका हुन्छ । त्यसमा मुल्याङकन, अनुगमन त परको कुरा भयो । प्रदेशको काम असार लागेपछि सुरु हुन्छ । प्रदेशलाई दिने पैसा सिधै‌ं स्थानीय तहलाई दिने हो भने हजारौं गुणा राम्रो काम स्थानीय तहले गर्न सक्छन् । स्थानीय तहसँग काम गर्ने २ पैसा छैन । अनि माथि बसेर स्थानीय तहले काम गर्न सकेन भन्दै बर्बराउँछन् । संघीय सरकारले प्रत्येक स्थानीय तहलाई कम्तीमा एक अर्ब बढी बजेट दिनु पर्छ अनि मात्र विकासले गति लिन्छ । स्थानीय तहमा ठेकेदारले कामै नगरेर समस्या सिर्जना हुन थालेको छ । गाउँको काममा घाटा पर्छ भनेर ठेक्का लिनै मान्दैनन् । सजिले काम गर्छन्, बाँकी काम छाडिदिन्छन् । सरकारले भुक्तानी नगरेको कारण पनि उनीहरुसँग काम गर्ने पैसा नहुने रहेछ । (लमजुङकाे बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालसँगको कुराकानीमा आधारित)

प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोड बराबरको बजेट

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको क्यान बोर्ड सञ्चालकको बैठकले चालू आर्थिक वर्षको बजेट पास गरेको हो । बोर्ड सञ्चालक समितिले पास गरेको बजेट गत आर्थिक वर्षभन्दा कम हो । प्राधिकरणले गत आर्थिक वर्ष ४१ अर्ब ६५ करोड बराबरको बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस वर्षको बजेट ५ अर्ब १९ करोडले घटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माण सम्पन्न भएकाले बजेट घटेको बताए । ‘अघिल्लो वर्ष भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा थिए, अहिले दुई विमानस्थल निर्माण सम्पन्न भएकाले बजेट घटेको हो’, उनले भने । प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ । यस्तै, प्राधिकरणसँग बैंकमा मौज्दात रहेको ६ अर्ब ६४ करोड, सरकारबाट पाउनु पर्ने मूल्य अभिबृद्धि करवापत् २ अर्ब ३४ करोड र साउन १ को पेश्कीबापतको मौज्दात ४ अर्ब ८५ करोड रुपैयाँ गरी ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ चालु वर्षको स्रोत भनेको छ । यस्तै, प्राधिकरणले पुँजीगत खर्च तर्फ १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी सम्बन्धी खर्चमा २ अर्ब ११ करोड ७१ लाख, कर्मचारी अवकाश भुक्तानीमा ५३ करोड ३० लाख र अन्य कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब ३४ करोड ७१ लाख गरी २६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । मुअक कर भुक्तानीमा ८२ करोड १८ लाख, कर्मचारी अवकाश कोष तथा अन्य भुक्तानीका लागि २० करोड ३० लाख, नेपाल सरकारलाई लाभाशं भुक्तानीमा २९ करोड ९२ लाख, नेपाल सरकारको ऋणको साँवा २ अर्ब ९३ करोड ६७ लाख, सरकारको ऋणकोे व्याज भुक्तानीमा १ अर्ब ७१ करोड, कर्मचारीलाई बोनसवापत ५ करोड ८९ लाख वितरण गर्ने उल्लेख छ । वायुयान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड गरी ३६ अर्ब ६६ करोड २ लाख उपयोग (व्यय) तर्फ विनियोजन गरेको छ । प्रवक्ता निरौलाले बजेटका उद्देश्यहरु नागरिक उडड्यनको विकास तथा विस्थार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने रहेको जानकारी दिए । यस्तै, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुमा थप पूर्वाधारको विकास, विस्तार तथा स्तरोन्तति गर्ने, आय वृद्धि तथा वित्तीय अनुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने तथा मानव संशाधनको विकास गर्ने मुख्य उद्देश्य रहेको जनाईएको छ । प्राधिकरणले उडड्यन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य, यात्रु सेवा सुविधामा अभिवृद्धि, आयवृद्धि तथा आर्थिक अनुशासन र मानव संशाधन विकास मुख्य लाई बजेटमा प्राथमिकतामा राखिएको जनाएको छ ।

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री

काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए । ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन’, मन्त्री डा महतले भने । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ’, उनले भने । मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।’ उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो । मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए । यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे । सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए । चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजानिक नभएको बताइएको छ । जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आबको बजेट ल्याइसकेका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फ बजेट खर्च गर्न सकेन

काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ १९ करोड ७६ लाख रुपैयाँ बजेटमध्ये ९ करोड २६ लाख ४४ हजार रुपैयाँ अर्थात् ४६.८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ ६९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा कार्यक्रमले ३० लाख ८१ हजार रुपैयाँ अर्थात् ४४.६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन । २० करोड ४५ लाख रुपैयाँ कार्यान्वयनका आगि आएको बजेटमा कार्यक्रमले ९ करोड ५७ लाख २५ हजार रुपैयाँ अर्थात् ४६.८१ प्रतिशत बजेट खर्च भएको कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले जानकारी दिए । उनका अनुसार कार्यान्वयन एकाइले ठूलो आयोजनाका रूपमा रहेको शीतभण्डार (कोल्डस्टोर)को बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको छ । “शीतभण्डारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसलाई गत आवमा खर्च गर्न सकिएन । त्यो बजेट कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ”, उनले भने, “अन्यमा पनि किसानले सम्झौताअनुसार काम नगर्दा भुक्तानी कम हुनु, कार्यालयमा कर्मचारी नहुँदा तलबभत्तामा जाने रकम पनि खर्च कम हुँदा प्रगति कम देखिएको हो ।” कार्यक्रममा कामको प्रगति कम देखिनुमा शीतभण्डार निर्माणको काम सुरु नहुनु पनि देखिएको छ । बर्सेनि बजेट विनियोजन हुने तर कार्यान्वयन नभएरै त्यसै बजेटलाई अल्यामा ल्याउने काम आयोजनाले गर्दै आएको छ । चालु आवमा भने शीतभण्डार निर्माणको काम सुरु हुने भएको छ । आयोजनाले सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएपछि कृषि क्षेत्रमा सम्भावना बढाउँदै गएको टीकापुरमा शीतभण्डार निर्माण हुने आशा जागेको स्थानीय कमल चौधरी बताउँछन् । यसमा १ करोड २५ लाख रुपैयाँ स्थानीय सरकारले लगानी गर्दै छ । अर्को कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएको छ । कर्मचारी अभावका कारण पनि गत वर्ष कामको प्रगति सन्तोषजनक हुन नसकेको सूचना अधिकारी रानाले बताए । उनका अनुसार १३ स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल सातजना मात्रै छन् । अधिकृतस्तरको मात्रै सात जनाको दरबन्दी छ । यसमा तीनजनाको मात्रै पदपूर्ति छ । “कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो”, उनले भने, “विशेषगरी अधिकृतस्तरको कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन् । त्यहीँ पनि सहायकस्तरका कर्मचारीले पनि काम गरेकै हुन् ।” लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको कार्यक्रमको चालु आवका लागि बजेट घटेर आएको छ । चालु आवमा १४ करोड ८६ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । यसमा नेपाल सरकारको १ करोड ६७ लाख रुपैयाँ छ भने विश्व बैंकको १३ करोड १९ लाख रुपैयाँ रहेको छ । यसमा ६ करोड ६० लाख रुपैयाँ कोल्डस्टोर निर्माणका लागि मात्रै छ । विश्व बैंकसँगको सन् २०२३ डिसेम्बरमा कार्यक्रमको सम्झौता अवधि सम्पन्न हुनेमा पुनः १८ महिनाका लागि कार्यक्रम थप भएको छ । अब आयोजनाले सन् २०२५ जुलाइसम्म काम गर्ने छ । अब आयोजनासँग दुई वर्ष बाँकी छ । रासस

प्वाल पर्यो बजेटमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनको विषय व्यापक बहसका रुपमा देखा पर्यो । सडकदेखि सदनसम्म बजेट संशोधन गर्नु पर्ने आवाज उठ्यो । तर, सरकारले प्रतिपक्षी र सडकको कुरा नसुनेरै बजेट पास गर्यो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमार्फत् गरिएका केही महत्वपूर्ण विषयमा सम्बन्धित निकायका सरोकारवालाहरुले विरोध जनाए । र, सरकारले बजेटमार्फत् गरेका विषयहरु संशोधन तथा खारेज गर्नु पर्ने माग गरे । बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिमा र एफपीओमा कर लाग्ने विषयको व्यापक विरोध गरे । अहिलेसम्म पनि सो विषय खारेज गर्न बैंक तथा वित्तीय संस्थाहरुले माग गरिरहेका छन् । सो विषयको सम्बोधन नभए अदालत जाने चेतावनी पनि बैंक तथा वित्तीय संस्थाले गरिरहेका छन् । अदालत जाने अन्तिम तयारीमा बैंकर छन् । बजेटमा आएको अर्को महत्वपूर्ण विषय हो स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम । चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. महतले यसअघि नै राखेज भइसकेको यो कार्यक्रम बजेटमार्फत् ब्युत्याएको भन्दै ब्यापक आलोचना भयो । उनले बजेटमार्फत् एउटा निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ वितरण हुनेगरी बजेट विनियोजन गरेका थिए । उक्त व्यवस्था विरुद्ध अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, यज्ञप्रसाद अधिकारी र विनोद सापकोटाले रिट दायर गरेका थिए । रिटमा राज्यकोषबाट छुट्याइएको उक्त रकम खारेजीको माग गरिएको थियो । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि सो कार्यक्रम ल्याएका थिए । तर, सर्वोच्च अदालतले बुधबार स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले संघीय सरकार र प्रदेश सरकारसँग ७ दिनभित्र लिखित जवाफ पनि माग गर्दै उक्त अन्तरिम आदेश जारी गरेको हो । यस्तै, टिकटमा भ्याट लाग्ने विषयको पनि व्यापक आलोचना भयो । पर्यटन व्यवसायीहरुले विभिन्न समयमा अर्थमन्त्रीसँग बसेर यो निर्णय कार्यान्वयन नगराउन माग गरेपनि अर्थमन्त्रीले नटेरेपछि उनीहरु अदालत गए । अदालतले हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । हवाई टिकटमा भ्याट लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले साउन ११ गते अदालतमा रिट दायर गरेको थियो । साउन १४ गते अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । बजेटमार्फत् गरेका यी विभिन्न कार्यक्रमहरुमाथि  अदालतले प्रश्न उठाएको छ ।  अदालतको आदेशले बजेट फितलो बनेको छ । बजेट मार्फत् गरेका व्यवस्थाहरु तत्काल लागू नगर्न आदेश दिएपछि सरकारले कुनै अध्ययन अनुसन्धान र विना तयारी ती कार्यक्रमहरु ल्याएको सन्देश अदालतको आदेशले पनि दिएको छ । यसले बजेटमाथि विश्वसनियता गिरेको छ भने एउटा नराम्रो अभ्यासको पनि सुरुवात भएको छ । अदालतको आदेशले बजेटमा प्वाँल परिसकेको छ । यो प्वाँल अझै ठूलो बन्छ वा यतिमै सीमित हुन्छ भन्ने विषय भने हेर्न बाँकी छ । संघीय बजेटमा प्रदेश तथा स्थानीय तहले समेट्नु पर्ने १/२ लाख रुपैयाँका साना कार्यक्रम पनि परेका छन् । जुन संघीयताको खिलाप हुन जान्छ । सरकारले नेपालको संविधान २०७२ को अनुसूची ५, ६, ७, ८ र ९ विपरित संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने आयोजनाहरुमा बजेट विनियोजन गर्ने कार्य गरेको स्पष्ट देखिन्छ । विकासे कार्यक्रम सञ्चालन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयहरुले ठूलो संख्यामा टोल स्तरका आयोजनाहरुमा बजेट विनियोजन गरेका छन् । यस विषयमा पनि व्यापक आलोचना भइरहेको छ । तर, मुद्दा दायर गर्ने प्रयास भने अहिलेसम्म हुन सकेको छैन । संसदमा पनि बहस स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) को बजेट खर्च नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश दिएपछि यस विषयमा संसदमा पनि बहस भएको छ । प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वोच्चले कोषको रकम खर्च नगर्न आदेश दिएर संसद्‍को क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको धारणा राखे । ‘बजेट बनाउने अधिकार संसद्को हो, यो अधिकारलाई कसैले हनन् गर्न सक्दैन’, सर्वोच्चले संसद्‍को कार्यक्षेत्रभित्र प्रवेश गर्न र दख्खल दिन खोजेको आभास भएको छ,’ उनले भने ।