सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दशैँ बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।
नेशनल लाइफबाट बाहिरिँदै स्वदेशी सेक्युरिटिज, सेयर मूल्य १८५ रुपैयाँ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थागत संस्थापक सेयरधनी स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । कम्पनीले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सेयरको मूल्य १८५ रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १३ गतेदेखि असोज २० गतेम्मि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतमा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
नेशनल लाइफको ४% र सूर्योदय वोमी लघुवित्तको १४% बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यी दुवै कम्पनस्ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेशनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात नेशनल लाइफको सेयर मूल्य ७०५.७७ रुपैयाँ र सूर्योदय वोमीको सेयरमूल्य १ हजार १३.११ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको सेयर प्रतिकित्ता ७३४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्त १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज बिहीबार सोही समायोजित मूल्यका आधारमा सेयर कारोबार खुल्नेछ ।
बैंकको ब्यालेन्ससिटप्रति लगानीकर्ता असन्तुष्ट, लाभांश दिन नसक्ने बैंकको सेयर मूल्य छानीछानी घटाए
काठमाडौं । उकालो लागिरहेको सेयर बजारमा सोमबार पनि निरन्तरता पाएको छ । दिनभर उतारचढाब रहेको बजार अन्तिम समयमा दोहोरो अंक बढेर बन्द भएको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.७६ अंक बढेर २ हजार ७९६.३८ अंकमा पुगेर बन्द भएको हो । आज दिनभर ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २ लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४९ करोड ३८ लाख ७२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोको ४४ करोड ५१ लाख ६४ हजार रुपैयाँ, शिवम् सिमेन्टको ४२ करोड ७ लाख ७३ हजार रुपैयाँ र माउन्टेन इनर्जीको ४० करोड ९३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज रू रू जलविद्युत् परिआयोजना, सीईडीबी हाइड्रो, सगरमाथा जलविद्युत, कुथेली बुखरी स्मल हाइड्रो, भगवती हाइड्रो, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटलको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ९.९७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ९.९४ प्रतिशत, रावा इनर्जीको ९.८७ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ९.७४ प्रतिशत बढेको छ । यस्तै खराब वित्तीय विवरण विसार्वजनिक गरेको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशत घटेको छ । साथै सोमबार सार्वजिनक गरेको वित्तीय विवरणप्रति लगानीकर्ताहरू भने असन्तुष्ट रहेको देदिन्छन् । किनभने बैंकिङ समूह ०.५० प्रतिशत, विकास बैंक समूह ०.१५ प्रतिशत, फाइनान्स समूह ४.६१ प्रतिशत घटेको छ ।
ईपीएस ०.२४ रुपैयाँ, सेयर मूल्य २१५४ रुपैयाँ
काठमाडौं । अहिले बजार बुलिस ट्रेण्ड अर्थात् उकालो यात्रामा छ । दिनप्रतिदिन सेयर बजार बढ्दा कारोबार रकम २२ अर्ब छुनै लागेको छ । बजार बढ्दा लगानीकर्ता हौसिएका छन् । अब सेयर बजारले नयाँ रेकर्ड कायम गर्न सक्ने र मनग्य कमाउने लोभमा सर्वसाधारण तथा बजारलाई राम्रोसँग ‘नुबझेका’ सेयर लगानीकर्ता पनि सेयर बजारतर्फ आकर्षित भइरहेकाे संकेत देखिन्छ । बजार बढ्दा सेयर बजारमा प्रवेश गर्नुलाई त्यति राम्रो मानिँदैन । यतिबेला ठूला लगानीकर्ता तथा बजारमा अभ्यस्त भइसकेकाहरुले खेलेर साना अर्थात् आधारभूत र प्राविधिक ज्ञान नभएका लगानीकर्तालाई डुबाएर फिर्ता पठाउने प्रतिस्पर्धा चल्छ । यो प्रतिस्पर्धा र खेल भने कमजोर कम्पनीबाट सुरु हुन्छ । कमजोर कम्पनीको सेयर कारोबार बढाएको देखाएर मूल्य ह्वात्तै बढाउनेर कमाएर ठूला लगानीकर्ता बाहिरिने र साना लगानीकर्ता त्यसमै झुम्मिने खेलले अन्ततः साना लगानीकर्ताकाे हार हुन्छ । त्यस्तै, खेल अहिले सेयर बजारका विभिन्न कम्पनीहरूमा देखिएको छ । जसको वित्तीय अवस्था खराब छ, वित्तीय प्रतिवेदन नकारात्मक छ, लामो समयदेखि सेयरधनीलाई लाभांश दिएको छैन, साधारणसभा समेत गर्न सकेको छैन । प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण वित्तीय सूचकहरु नकारात्मक छन्, त्यस्तो कम्पनीको सेयर मूल्य यतिखेर अप्रत्यासित रुपमा बढ्ने गर्छ । यस्तै, खेल एउटा वित्त कम्पनीमा पनि देखिएको छ । बिहीबार नेपाल फाइनान्सको सेयर मूल्य अप्रत्यासित रुपमा बढ्यो । पछिल्लो केही दिनयता यस कम्पनीको सेयर मूल्यमा एकाएक उछाल आइरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा यस कम्पनीको सेयर मूल्य १ हजार ६ सय २ रुपैयाँ अर्थात् २९० प्रतिशतले बढेको छ । तीन महिनाअघि यस कम्पनीको सेयर मूल्य ५५२ रुपैयाँ थियो । यस कम्पनीको मूल्य बिहिबार २ हजार १५४ रुपैयाँ पुगेको छ । बिहिबार कम्पनीको सेयर ९.९६ प्रतिशतले बढेर २१५४ रुपैयाँ कायम भएको हो । बुधबार १ हजार ९५८ रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । बिहिबार सेयर बजार ५ अंकले घटेर २७५५.६२ बिन्दुमा कायम भएको भएको छ । यद्यपि यस कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लेभलमा बढेको छ । यसरी हेर्दा यस कम्पनीको सेयर मूल्य उल्लेख्य रूपमा बढेको देखिन्छ । तर, यस कम्पनीको वित्तीय विवरण भने कमजोर छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी ०.२४ रुपैयाँ मात्रै छ । ०.२४ रुपैयाँ मात्रै प्रतिसेयर आम्दानी रहेको सेयरको मूल्य २ हजार रुपैयाँ बढी हुनु अस्वाभाविक नै हो । कम्पनीले तेस्रो त्रैमाससम्म जम्मा १३ लाख १८ हजार खुद नाफा गरेको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ भने कम्पनीको निष्क्रिय कर्जा ९.२४ प्रतिशत रहेको छ । यति भेरै खराब कर्जा भएको यस कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँभन्दा पनि कम देखिनुलाई राम्रो मानिँदैन । अर्थात् त्यस्ता कम्पनी लगानीकर्ताको रोजाइमा पर्दैनन् । प्रतिसेयर आम्दानी बढ्दा सेयर मूल्य बढ्छ । तर, प्रतिसेयर घट्दा सेयर मूल्य पनि कम हुन्छ । सेयर बजारमा कम्पनीको नाफा भन्दा पनि प्रतिसेयर आम्दानीलाई नै बढी हेर्ने गरिन्छ । प्रतिसेयर नाफा बढ्दो भएका कम्पनी राम्रो मानिन्छ । सेयर बजारमा लगानीकर्ताले पनि जुन कम्पनीको प्रतिसेयर बढी छ, सोही कम्पनीको सेयर खरिद गर्न रुचाउँछन् । तर, पछिल्लो समय नेपाल फाइनान्स जस्तै कम्पनीको सेयरमा किनबेच बढी देखिन्छ । यो एउटा डुब्ने र डुबाउने खेल भएको सेयर बजारका जानकारहरु बताउँछन् । तीन दशक पुरा गरिसकेको नेपाल फाइनान्सले हालसम्म लाभांश दिन सकेको छैन । आर्थिक वर्ष २०६७÷६८ मा मात्रै यस कम्पनीले सेयरधनीलाई लाभांश् दिएको रेकर्ड छ । सो आर्थिक वर्षमा कम्पनीले २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगदसहित २३.१६ प्रतिशत लाभंश दिएको थियो । त्यसयता कम्पनीले लाभांश दिन सकेको छैन । वित्तीय अवस्था कमजोर रहेको यस कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढ्नुको पछाडिको कारण कम्पनीसाग पनि छैन । सेयरमूल्य बढ्नुको पछाडिको कारण आफूलाई थाहा नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया बताउँछन् । ‘हाम्रो कम्पनीको सेयरमूल्य बढिरहेको हामीलाई पनि थाहा छ । हामीले सर्किट लेभलमै बढ्ने गरी हामीले कुनै नयाँ काम गर्ने निर्णय पनि गरेका छैनौं, मूल्यमा प्रभाव पार्ने काम पनि गरेका छैनौं,’सीईओ थपलियाले भने । उनले पनि कम्पनीले तत्काल लाभांश वितरण गर्न सक्ने स्थिति नरहेको बताए । ‘विगतमा कम्पनी नोक्सानमा जाँदा लाभांश पनि दिन सकेनौं, अहिले पनि दिन सक्ने अवस्था छैन,’ उनले भने । यस कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको जगेडा कोषमा ४२ करोड ३९ लाख ९५ हजार १२१ रुपैयाँ छ । छोटो अवधिमा सबैभन्दा द्रुत गतिमा मूल्य उचालिनुमा यसको न्यून पूँजी रहेको हुनसक्ने बजार विश्लेषकहरू बताउँछन् । विश्लेषकका अनुसार बजारमा सूचीकृत सेयर संख्या न्यून भएकाले सीमित व्यक्ति तथा समूहले यस कम्पनीको मूल्यलाई सजिलै नियन्त्रण गर्न सक्छ । लोक्यापका कम्पनीहरू ठूला कारोबारीले खरिद बढाउनेबित्तीकै कम्पनीमा आपूर्तिले थेग्न सक्दैन, जसले गर्दा मूल्य उचालिने गरेको लगानीकर्ताको बुझाइ छ । बजार विश्लेषक मुक्ति अर्याल नयाँ सत्ता समिकरणका साथै मौद्रिक नीतिको प्रभावका कारण केही दिनयता निरन्तर बढिरहेको सेयर बजारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको समेत सेयर मूल्य अस्वाभाविक रूपमा बढिरहेको हो । ‘यसरी वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरूको समेत सेयर मूल्य अस्वाभाविक रूपमा बढ्नुले लगानीकर्तामा वित्तीय ज्ञानको कमि रहेको हुनसक्ने बुझिन्छ,’ उनी भन्छन्, ‘यसरी मूल्य बढ्नुमा लगानीकर्ताको सेन्टिमेन्ट, बजारको माग र आपुर्ति जस्ता धेरै पक्षहरूले पनि प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।’ लगानीकर्ताले वित्तीय विवरण अध्ययन नगरी खरिद बिक्री गर्नाले पनि यस्तो अवस्था सिर्जना भएको हुनसक्ने उनी बताउँछन् । ‘आफूले वित्तीय विवरण अध्ययन गर्ने भन्दा पनि हल्लाको भरमा लाग्ने गर्नुहुन्छ,’ उनी भन्छन्, ’तर त्यस्तो गल्ति गर्नु हुँदैन ।’ हल्लाको भरमा नभई वित्तीय विवरण अध्ययन गरेर मात्रै कारोबार गर्न उनी सुझाव दिन्छन् ।
हरियाली बजारमा यी कम्पनीको सेयर मूल्यमा राताम्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री मौद्रिक नीति ल्याएपछि एकपछि अर्काे सर्किट ब्रेक लागिरहेको छ । खुलेको एक मिनेटमै सर्किट लागेर २० मिनेका लागि बन्द भएको सेयर पुनः दोस्रो सर्किट लागेर ४० मिनेका लागि बन्द भएको छ । दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको छ । यसअवधिमा २४४ कम्पनीको १३ लाख २०५ कित्ता सेयर ४ हजार ७३३ पटक खरिदबिक्री हुँदा ५१ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । तर, दोस्रो सर्किटको अवधिमा ११ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा गणपती लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, कुमारी इक्विटी फण्ड, नाडेप लघुवित्त, भूगाले इनर्जी डेभलपमेन्ट कम्पनी, फरवार्ड माइक्रोफाइनान्स, समृद्धि फाइनान्स, महिला लघुवित्त, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पाेरेशन कम्पनीको सेयर मूल्य भने घटिरहेको छ ।
सेयर बजारमा दोस्रो सर्किट, ५ बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो
काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो । दोस्रो सर्किटमा ेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको लगानीकर्ताहरूको भनाई छ । यसअवधिमा २४४ कम्पनीको १३ लाख २०५ कित्ता सेयर ४ हजार ७३३ पटक खरिदबिक्री हुँदा ५१ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ९९ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेप्सेले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षमा ओटीसी मार्केटमा ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । ती कम्पनीको कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर कारोबार ओटीसी बजारमा हुने गरेको छ । गत वर्ष सबैभन्दा महँगो मूल्यमा वर्ल्डलिंक कम्युनिकेसनको सेयर कारोबार भएको छ । गत वर्ष यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा १३ हजार ३ सय ९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै गत वर्ष लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ लाख ४ हजार ५८३ कित्ता सेयर प्रतिकित्ता ५४० रुपैयाँमा खरिदबिक्री हुँदा ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको नेप्सेको भनाइ छ । यस्तै गत वर्ष ओटीसी बजारमा आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ३९ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १३६ रुपैयाँमा ४० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेले वि.सं २०६४ सालदेखि ओटीसी मार्केट सञ्चालनमा गरिरहेको छ । वि.सं २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार हुने गर्छ । हालसम्म ओटीसी मार्केटमा २४४ वटा कम्पनी दर्ता भई कारोबार भइरहेका छन् । [pdf id=499267]
५६ सय बढ्यो युनिलिभरको नेपालको सेयर, साढे ५२ हजार रुपैयाँ सेयर मूल्य
काठमाडौं । युनिलिभरको नेपालको सेयर मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा यस कम्पनीको सेयर मूल्य दुई दिनमा ५ हजार ६ सय रुपैयाँ बढेर ५२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि मंगलबार कम्पनीको सेयर मूल्य ४६ हजार ९ सय रुपैयाँ थियो । बुधबार र बिहीबार कम्पनीको सेयर मूल्य निरन्तर बढेर उचाईमा पुगेको हो । बिहीबार कम्पनीको ३११ कित्ता सेयर ३० पटक खरिदबिक्री हुँदा १ करोड ५५ लाख २ हजार ८९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेमा २३ अंकको वृद्धि, १९४ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार नेप्से परिसूचक २३.२५ अंकले बढेर २ हजार १ सय ७५ को विन्दुमा कायम भएको छ । यस दिन १ सय ९४ कम्पनीको सेयरयर मूल्य बढ्दा ४६ कम्पनीको घट्यो भने ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बुधबार दिनभरिमा ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँ र एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस नि सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै केविएल डिबेञ्चरका सेयरधनीले ८.६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् । बुधबार सबैभन्दा धेरै बुद्ध भूमी नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिफल शून्य, सेयर मूल्य छोइनसक्नु
काठमाडौं । आधारभूत र प्राविधिक विश्लेषण गर्न नसक्नेका लागि जोखिमको क्षेत्र हो सेयर बजार । तर, पनि लगानीकर्ताले लाखौं/करोडौं लगानी गरेर सेयर बजारमा त्यो जोखिम मोल्छन् । तर, सेयर मूल्य बढ्यो भने नाफा कमाउँछन्, घट्यो भने पुर्पुरोमा हात लगाउँदै सेयर बजारलाई सराप्छन् । अहिलेसम्मको उदाहरण हेर्दा सेयर बजारबाट कमैले कमाएका छन् । धेरैले गुमाएका छन् । अधिकांशले नबुझेरै लगानी थुपारिरहेका छन् । लगानी नाफाकै लागि गर्ने भए पनि अन्ततः सबैले घाटा खाएको समाचार सुनिन्छ । त्यो घाटा खानुको एउटै कारण हो कम्पनी । कम्पनीको कस्तो हो ? त्यसको स्ट्रेन्थ के हो ? त्यसको विगत, वर्तमानर भविश्य कस्तो हुन्छ भन्ने विषयको विश्लेषण नगरेरै धेरै लगानीकर्ताले अन्धाधुन्द लगानी गर्छन् । पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । यी मध्ये कुनै यस्ता कम्पनी छन् जसको कुनै हैसियत छैन । अर्थात् ती कम्पनीले न विगतमा लाभांश प्रदान गरेका छन् नत आगामी दिनमा लाभांश दिन सक्ने सामथ्र्य देखिन्छ । तर, तिनै कम्पनीको सेयर मूल्य छोइनसक्नु छ । बजारमा उच्च रुपमा तिनै कम्पनीको कारोबार भइरहेको छ । आज हामीले यो सामग्रीमा त्यस्ता कम्पनीको विषयमा चर्चा गरेका छौं । राष्ट्रिय बीमा कम्पनी बजारमा बढी सेयर मूल्य भएको कम्पनीका रूपमा राष्ट्रिय बीमा कम्पनी परिचित छ । उच्च मूल्य हुने कम्पनीका रूपमा तेस्रो नम्बरमा छ राष्ट्रिय बीमा कम्पनी । नेप्सेका अनुसार आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ हजार १११ रुपैयाँमा कारोबार भएको छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १६ हजार ५२४ रुपैयाँ र न्यूनतम १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको देखिन्छ । कम्पनीको साधारण सेयर मात्र नभई संस्थापक सेयर मूल्य पनि उच्च छ । संस्थापक सेयरको मूल्य प्रतिकित्ता १० हजार २३० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य उच्च भएपनि प्रतिफल भने शून्य छ । यस कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूको हात रित्तो बनाएको छ । यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश पाउने अपेक्षामा रहेका लगानीकर्ताहरू त्यसयता निराश छन् । यस कम्पनीका सेयरधनीहरूले तत्काल प्रतिफल पाउने अवस्था पनि देखिँदैन । किनभने विगत लामो समयदेखि कम्पनीले आफ्नो लेखापरीक्षण गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०७२/७३ सम्मको मात्रै वार्षिक र लेखापरीक्षक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको छ । त्यसयताको कम्पनीको लेखापरीक्षण तथा वार्षिक साधारणसभा हुन सकेको छैन । राष्ट्रिय बीमा कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण)बाट निर्जीवन बीमकको इजाजतपत्र प्राप्त गरी साउन १८ गतेदेखि व्यवसाय सञ्चालन गरेको हो । हाल यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ कार्यरत छन् । कम्पनीको साधारणसभा समेत गर्न नसकेको, लामो समयदेखि लाभांश पनि दिन नसकेको यस कम्पनीको सेयर मूल्य नेप्सेमा उच्च हुनुलाई धेरैले आश्चर्य मानेका छन् । यद्यपि, लगानीकर्ताहरु कम्पनीको सम्पत्ति धेरै रहेको र सो अचल सम्पत्ति बिक्री नै गरे पनि धेरै कमाउन सक्ने भएकोले सेयरमूल्य उच्च रहेको धारणा राख्छन् । विशाल बजार पुँजी बजारमा बढी सेयर मूल्य भएको अर्को कम्पनी हो विशाल बजार । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ५० रुपैयाँ छ । ५२ सातामा यस कम्पनीको सेयर मूल्य अधिकतम् ४ हजार ५३९ रुपैयाँ र न्यूनतम ३ हजार ३४१ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्यांकबाट देखिन्छ । सेयर बजारमा यस कम्पनीको उच्च मूल्य भएपनि प्रतिफल शून्य छ । यस कम्पनीबाट पनि सेयरधनीहरूले हालसम्म प्रतिफल पाएका छैनन् । कम्पनीले विगत लामो समयदेखि लेखापरीक्षण पनि गर्न सकेको छैन । कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसयता कम्पनीको कुनै तथ्याङ्क नै लगानीकर्ताहरूको पहुँचमा छैनन् । कम्पनीको सेयर स्वामित्वका विषयमा विवाद हुँदा अदालतमा मुद्दा विचाराधीन छ । तर, लगानीकर्ताको आकर्षण भने यही कम्पनीमा छ । समाज लघुवित्त एक वर्षअघि समाज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँ थियो । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भयो । तर, पछिल्लो तथ्याङ्क अनुसार यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन लघुवित्त वित्तीय समूहमा सबैभन्दा धेरै हो । २ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई १५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यसयता लघुवित्तले लगानीकर्ताको हात रित्तो बनाएको छ । चैतसम्म लघुवित्तले खुद नाफामा २२ लाख ९८ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । साथै प्रतिसेयर आम्दानी १०.०६ रुपैयाँ ऋणात्मक छ । लघुवित्तका अधिकांश सूचक नकारात्मक छन् । अधिकांश सूचक नकारात्मक भएकै कारण आउँदो वर्ष पनि लाभांश दिन नसक्ने करिब पक्का छ । तर, यही लघुवित्तको मूल्य बजारमा उच्च छ । कुथेली बुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचिकृत जलविद्युत कम्पनीहरूमध्ये सबैभन्दा उच्च मूल्य भएको हाइड्रोमा कुथेली बुखरी स्मल कम्पनी पर्छ । नेप्सेमा आइतबारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य १ हजार ४३० रुपैयाँमा छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १ हजार ७३० रुपैयाँ थियो भने न्यूनमत मूल्य ४७९ रुपैयाँ थियो । वि.सं २०८० भदौ ३ गते नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत चैतसम्म कम्पनीले २ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१.२३ रुपैयाँ रहेको छ । यसपटक सेयरधनीहरूलाई लाभांश वितरण नगरे पनि आगामी वर्षमा भने कम्पनीले प्रतिफल भने दिन सक्ने देखिन्छ । एलआईसी नेपाल पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २३ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ६५५ रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । तर, विगतका वर्षको नाफा जगेडा कोषमा राखेकाले आगामी वर्षमा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिन सक्नेछ । मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा महँगो मूल्य भएका कम्पनीहरूमध्ये मुक्तिनाथ कृषि कम्पनी हो । हालै सर्वसाधारणलाई सेयर जारी गरेर नेप्सेमा सूचीकृत भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३२२ रुपैयाँ रहेको छ । सेयर मूल्य उच्च भएपनि यस कम्पनीले सेयरधनीहरूलाई कुनै प्रतिफल दिन सकेन । ७० करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको तथ्याङ्क अनुसार २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ४.०५ रुपैयाँ मात्रै छ । कालिञ्चोक दर्शन होटल तथा पर्यटन समूहको सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी कालिञ्चोक दर्शन हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २०८० चैतमा नेप्सेमा सूचीकृत यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै प्रतिफल दिएन । गत चैतसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ । चन्द्रागिरि हिल्स होटल तथा पर्यटन समूह चन्द्रागिरि हिल्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ । ५२ हप्ताको अवधिमा कपनीको सेयर मूल्य अधिकतम १ हजार ५२० रुपैयाँ र न्यूनमत मूल्य ७६० रुपैयाँ थियो । १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैतसम्मको विवरण अनुसार म्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताको रोजाईमा परेको यस कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिन भने अझै केही समय लाग्ने देखिन्छ ।
तीन वर्षदेखि लाभांश नदिएको एलआईसी नेपालको सेयर मूल्य किन उच्च ?
काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक १० हजार ६७७ अंक कायम छ । १० हजारमाथि सूचकांक रहेका यी दुई समूहबाट पनि प्रष्ट हुन्छ कि पुँजी बजारमा लगानीकर्ताको चासो सबैभन्दा धेरै बीमा कम्पनीहरूमा छ । जीवन बीमा कम्पनीहरूमध्ये पुरानो र परिपक्व कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)लाई लिइन्छ । पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा एलआईसी नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यद्यपी सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९० रुपैयाँ घटेको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ८ सय रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । कम्पनीले आर्थिक वर्ष २०६४/६५ मा १५ प्रतिशत, आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/६७ मा ५.२६ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै आर्थिक वर्ष २०६८/६९ मा ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कुल ६५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत (बोनस), आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत गरी कुल २६.३२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २४.८ प्रतिशत बोनस सेयर र १.३ प्रतिशत नगद गरी कुल २६.१ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५३ प्रतिशत नगद गरी कुल ७० प्रतिशत र आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको लाभांश इतिहास हेर्दा पुँजी बजारमा बीमा कम्पनीहरूमा नम्बर वान थियो । अहिले समय बदलिएको छ । अन्य जीवन बीमा कम्पनीले निरन्तर र उच्च दरमा लाभांश वितरण गरिरहेका छन् । तर, ती कम्पनीहरूको सेयर मूल्य उच्च छैन । भारतीय बीमा कम्पनी एलआईसीले नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा सन् २००१ सेप्टेम्बरमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । विगतमा एलआईसीले उच्च लाभांश बाँडेको भएपनि नेपाल बीमा प्राधिकरणले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि प्रतिस्पर्धामा कमजोर बन्न पुग्यो । कम्पनीका सूचना अधिकारी सदर्शन गिरी प्राविधिक कारणले सेयरधनीहरूलाई लाभांश बाँड्न नपाएको बताउँछन् । विगत तीन आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको कमाई रिजर्भमा राखेको र उक्त रकम सेयरधनीहरूकै भएको उनको भनाइ छ । ‘तीन आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँडेको छैन । त्यो सबै नाफा रिजर्भमा राखिएको छ । सेयरधनीहरूको कमाइ खातामा छ । कम्पनीले सेयरधनीहरूलाई कुनै घाटा बनाउँदैन । त्यसमा कुनै शंका छैन । एलआईसीमा लगानी गर्ने सेयरधनीहरू जहिले पनि खुसी नै हुनुहुन्छ,’ उनले भने, ‘प्राविधिक कारणले एलआईसीले लाभांश बाँड्न नपाएको हो । अरू कुनै कारण छैन । कम्पनीको क्षमता नभएको भन्ने पनि होइन ।’ उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको रिजर्भ उच्च छ । ‘कम्पनीले वितरण गर्ने रकम रिजर्भमा छ । त्यसैले यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर मूल्य उच्च भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म कम्पनीले रिटेन्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ, सेयर प्रिमियममा ६ करोड ११ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले ८८.४५ प्रतिशत अर्थात् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अड्किएको छ । सूचना अधिकारी सदर्शन गिरीका अनुसार हकप्रद सेयरको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको भएपनि एक वर्षदेखि पेण्डिङमा छ । पुँजी नपुर्याएसम्म प्राधिकरणले लाभांश बाँड्न नदिएकाले नगद लाभांश वितरण गर्न नपाएको उनले बताए । ‘८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर बोर्डमा आवेदन दिएका छौं । न्यूनतम पुँजी नपुर्याएसम्म नगद लाभांश बाँड्न मिल्दैन । सबै प्रक्रिया पुरा गरेर के आधारमा बोनस सेयर दिने ?,’ उनले भने, ‘कम्पनीले कमाएको सबै नाफा जगेडा कोषमा राखिएको छ ।’
‘लकइन पिरियड’ सकिएपछि किन घट्छ सेयर मूल्य ?
काठमाडौं । अबको एक महिनामा तीन वटा कम्पनीको सेयर लक इन अवधि समाप्त हुँदैछ । सीईडीबी हाइड्रोपावर कम्पनी, मकर जितुमाया सुरी हाईड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि समाप्त हुँदैछ । वैशाख ३० मा सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । त्यस्तै, मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि पनि समाप्त हुँदैछ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि आगामी जेठ १६ गतेबाट समाप्त हुने भएको हो । कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा २०८० जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको थियो । उक्त मितिदेखि डोल्मा इम्प्याक्ट फण्ड आईको स्वामित्वमा रहेको कम्पनीको प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो । उक्त रोक्का रहेको सेयरको लक इन अवधि आगामी जेठ १६ गते समाप्त हुन लागेको हो । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिन लागेको कम्पनीले जनाएको हो । कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर रोक्का हुने प्रावधान रहेको छ । ३ कम्पनीको ८५ लाख ९६ हजार ७ सय ४४ कित्ता सेयर सर्वसाधारणको पनि खरिदबिक्रि गर्न पाउने छन् । वैशाखमा मात्रै चार वटा कम्पनीको लक इन अवधि समाप्त हुने भएको हो । बैशाखमा माथिल्लो मैलुङखोला, रुरु जलविद्युत्, चिरख्वा हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको लक इन समाप्त हुँदैछ । जसमध्ये वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भइसकेको छ । त्यस्तै, वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिएको हो । चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएको छ । माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भएको दिन वैशाख २ गते ४६२ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो । वैशाख ३ गते घटेर ४५४ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, ४ गते ४५० रुपैयाँ, ६ गते ४४५ रुपैयाँ, ९ गते ४५३ रुपैयाँ र १० गते ४४२ रुपैयाँमा कारोबार भएको देखिन्छ। यसरी हेर्ने हो भने लक इन अवधि सकिएर बजार खुलेसँगै मुल्य घटेको देखिन्छ । सो समय अवधि अघि चैत २८ गते ४६० रुपैयाँमा खरिदबिक्रि भएको देखिन्छ । रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको दिन वैशाख ३ गते ६२३ रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन वैशाख २ गते ६२५ रुपैयाँमा कारोबार भएको थियो भने चैत २८ गते ६३५ रुपैयाँमा कारोबार भएको थियो । लक इन अवधि समाप्त भएपछि वैशाख ४ गते मूल्य घटेर ५६० रुपैयाँमा कारोबार भयो । त्यस्तै वैशाख ६ गते ५०४ रुपैयाँ, वैशाख ९ गते ५४६ रुपैयाँ र १० गते ५३० रुपैयाँमा कारोबार भएको छ । चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएर बजार खुलेको दिन वैशाख १६ गते ५१५ रुपैयाँमा कारोबार भएको छ । त्यसअघि १३ गते ५३० रुपैयाँ, १२ गते ५२३ रुपैयाँ र १० गते ५२२ रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्ने हो भने लकइन अवधि समाप्त भएर सेयर कारोबारमा आएपनि त्यसले मूल्य निर्धारणमा खासै ठूलो प्रभाव पारेको देखिँदैन । तत्काल लकइन अवधि समाप्त भएर बजारमा भएका कम्पनीहरुलाई नियाल्ने हो भने क्रमशः मूल्य घट्दै गएका छन् । लकइन अवधि समाप्त भएपछि बजारमा आएको सेयरमा लगानीकर्ताको कम चासोमा पर्ने भएकोले मूल्य पनि घट्ने गरेको लगानीकर्ता माधव खनाल बताउँछन् । उनी भन्छन्, ‘सय रुपैयाँमा पाइरहेको सेयर बढिमा किन्नु पर्यो भने त्यो सर्वसाधारणको लागि त महङ्गो पर्नेभयो नी, मानौं न यदि सय रुपैयाँमा पाइरहेको सेयर ३ सय रुपैयाँमा किन्नुपर्यो भने सर्वसाधारणको लागि त २ सय रुपैयाँ महङ्गो पर्यो नि त्यसैले पनि सर्वसाधारणको त्यसप्रतिको रुचि कम भएको हो ।’ उनका अनुसार लकइन अवधि समाप्त भएपछि बजार मूल्य घट्नु स्वाभाविक हो ।
२२.७५ अकंले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आईतबार हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अकं अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अकंमा पुगेको छ । आईतबार विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३.५६ रुपैयाँमा कारोबार भएका छन् । आईतबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ रुपैयाँ पुगेको छ । होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ । आजको कारोबारमा विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ ।
बम्पर लाभांश घोषणा गरेको सूर्यज्योतिको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो
काठमाडौं । बुधबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बम्पर लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो । कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसको सकारात्मक प्रभाव दोश्रो बजारमा देखिएको हो । बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कारोबार मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३२.७० रुपैयाँले बढी हो । यससँगै कम्पनीको घोषित लाभांशले लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएको बुझिने जानकारहरु बताउँछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । समग्रमा बुधबारको बजार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक ३.४३ अंंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । सेयर कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा तीन लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.९१ प्रतिशतले बढेका छन् । बुधबार जीवन बीमा, लघुवित्त र म्यूचुअल फण्ड समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।
समता घरेलु लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.४२२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७०० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ६६४ रुपैयाँलाई आधार मानेर हुने छ ।
निरन्तर बढिरहेको सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लाग्यो ब्रेक, प्रतिकित्ता कति ?
काठमाडौं । करिब एक सातायता निरन्तर उकालो लागिरहेको सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य १०२.७० रुपैयाँले घटेर प्रतिकित्ता ९८० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ९.४९ प्रतिशत घटी हो । गत बिहीबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०८२.७० रुपैयाँ पुगेको थियो । यद्पि यो अधिकतम मूल्य भने होइन । कम्पनीको अधिकतम मूल्य प्रतिकित्ता १०८३ र न्यूनतम मूल्य ५५६ रुपैयाँ हो । दोश्रो बजारमा प्रवेश गरेसँगै निरन्तर सर्किट सकारात्मक सर्किट लागेको कम्पनीमा आज पहिलो पटक नकारात्मक सर्किट लागेको छ । कम्पनी गत चैत ६ गते दोश्रो बजारमा प्रवेश गरेको थियो । सो दिनको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको थियो । त्यसयता ७ दिनसम्म निरन्तर सर्किट लागेर प्रतिकित्ता १०८२.७० रुपैयाँ कम्पनीको सेयर मूल्य आज आठौं दिनको दिन घटेको छ । नाफा बुक गर्नेको हावीभएसँगै कम्पनीको सेयर मूल्य घटेको बजारका जानकारहरु बताउँछन् ।
डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२५.१८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७९७.७० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७२५.१८ रुपैयाँलाई आधार मानेर हुने छ ।
सर्वोत्तम सिमेन्टमा लगातार सर्किट, कति पुग्यो सेयर मूल्य ?
काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । दोश्रोे बजारमा कारोबार शुरु भएयता कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेर सर्किट लागेको हो । चैत ६ गते कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा चैत १२ गतेसम्ममा लगातार चार सर्किट लागेको छ । यो अवधिमा चार दिन कारोबार भएको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगिसकेको छ । चौथो दिन पनि कारोबार खुल्न नपाई कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७३.९० रुपैयाँले बढेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य चार दिनको कारोबारमै प्रतिकित्ता २५७.७२ रुपैयाँले बढेको छ । यससँगै कम्पनीका सेयरधनीले यो चार दिनमै कम्पनीको सेयरबाट प्रतिकित्ता २५७.७२ रुपैयाँ बढी कमाइसकेका छन् ।
दुई कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७६.३० रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३६२.५२ रुपैयाँलाई आधार मानेर हुने छ । त्यस्तै, साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५६२.६१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५२४७ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४५६२.६१ रुपैयाँलाई आधार मानेर हुने छ ।