काठमाडौं । विसं २०८३ को वैशाखयता शनिबारसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना नागरिक घाइते भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुंगा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एकरएक जनाको मृत्यु भएको छ ।
ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विपद्जन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेका तीन जनाको मृत्यु भएको पनि उनले बताए । ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।
देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ । आज पूर्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ ।