इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
काठमाडौं । अमेरिका र चीनले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नहुनेमा सहमति जनाएका छन् । बिहीबार बेइजिङमा भएको शिखर बैठकमा यस्तो सहमति भएको हो । बैठकमा दुबै देशबीच थप सहकार्य सम्बन्ध विकास गर्ने सहमति भएको छ । बौद्धिक सम्पत्ति, मानवअधिकार, प्रविधि र व्यापारजस्ता मुद्दामा वर्षौंदेखि प्रतिस्पर्धा र विवादमा रहेका यी दुई देशबीचको उच्चस्तरीय बैठक सौहार्दपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ सरकार र ह्वाइट हाउसका एक अधिकारीले सार्वजनिक गरेका विवरणका आधारमा हालसम्म भएका पाँच प्रमुख बुँदाको बारेमा संक्षिप्त रूपमा वर्णन गर्ने प्रयास गरेका छौं । १. नयाँ रणनीतिक सम्बन्धको परिभाषा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध’ विकास गर्ने सहमति गरेका छन् । चीनले यसलाई आगामी तीन वर्ष र त्यसपछिको मार्गदर्शक ढाँचाका रूपमा लिने बताइएको छ । शीका अनुसार यो रणनीतिक सम्बन्ध सहकार्य र ‘नियन्त्रित प्रतिस्पर्धा’ मा आधारित हुनेछ, जहाँ मतभेदहरूलाई व्यवस्थापनयोग्य बनाइनेछ । उनले यस ढाँचालाई व्यवहारिक कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री टियानचेन सुका अनुसार, ‘यसले केही समयसम्म कायम रहने ‘व्यवस्थित स्थिरता’ को संकेत गर्छ । ‘तनावहरू जारी रहने भए पनि नियन्त्रणका उपाय रहनेछन् र २०२५ मा झन्डै नियन्त्रणबाहिर पुगेजस्तो अवस्था फेरि दोहोरिने छैन,’ उनले भने । २. शिखर बैठकअघि भएको वार्ता ‘सन्तुलित र सकारात्मक’ शीका अनुसार बुधबार दक्षिण कोरियामा भएको तयारी बैठकमा दुवै देशका व्यापार प्रतिनिधिहरूले ‘समग्रमा सन्तुलित र सकारात्मक परिणाम’ हासिल गरेका थिए । उक्त प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री ही लिफेङले गरेका थिए । ‘दुवै पक्षले कठिन प्रयासबाट प्राप्त भएको यो सकारात्मक वातावरण जोगाउन मिलेर काम गर्नुपर्छ,’ शीले भने । उनले चीन अमेरिकी व्यापारिक संलग्नता अझ मजबुत बनाउन इच्छुक रहेको र ‘चीनको खुलापन अझ विस्तार हुँदै जाने’ बताएका छन् । यो टिप्पणी त्यतिबेला आएको हो जब ट्रम्पको भ्रमणमा अमेरिकी ठूला कम्पनीका एक दर्जन व्यवसायी सहभागी भएका थिए, जसमा एलन मस्क र जेनसन हुवाङ पनि थिए । ३. सहकार्य अझ गहिरो बनाउने प्रयास शीले कूटनीतिक तथा सैन्य संवादका माध्यमहरूलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले आर्थिक तथा व्यापार, कृषि र पर्यटन क्षेत्रमा सहकार्य बढाउन पनि आह्वान गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प, शी र उनीहरूका टोलीहरूले अमेरिकी व्यवसायलाई चीनमा थप बजार पहुँच दिने तथा अमेरिकी उद्योगहरूमा चिनियाँ लगानी बढाउने उपायबारे छलफल गरेका थिए । अमेरिकी अधिकारीका अनुसार ट्रम्पले अमेरिकामा फेन्टानिलको अवैध आपूर्ति नियन्त्रण गर्न चीनले प्रयास जारी राख्नुपर्ने तथा अमेरिकी कृषि उत्पादनको खरिद बढाउनुपर्ने माग पनि गरेका थिए । ४. होर्मुज जलडमरूमध्य र तेल खरिद चिनियाँ विवरणअनुसार दुवै पक्षले मध्यपूर्वको द्वन्द्व, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थाबारे पनि छलफल गरेका थिए, यद्यपि विस्तृत जानकारी दिइएको छैन । ह्वाइट हाउसका अधिकारीका अनुसार ट्रम्प र शीले ऊर्जा आपूर्ति सुचारु राख्न स्ट्रेट अफ हर्मुज खुला रहनुपर्नेमा सहमति जनाएका छन् । अधिकारीका अनुसार शीले ऊर्जा मार्गको ‘सैन्यीकरण’ तथा त्यसको प्रयोगमा शुल्क लगाउने कुनै पनि प्रयासको विरोध दोहोर्याएका छन् । चीनले मध्यपूर्वी कच्चा तेलमाथिको निर्भरता घटाउन थप अमेरिकी तेल खरिदमा पनि रुचि देखाएको बताइएको छ । ५. ताइवान : ‘सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ शीले सबैभन्दा कडा अभिव्यक्ति ताइवानको विषयमा दिएका छन् । उनले यसलाई ‘अमेरिका–चीन सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ भनेका छन् । उनका अनुसार यसको महत्त्व अत्यन्त संवेदनशील छ । ‘यसलाई सही तरिकाले व्यवस्थापन गरियो भने सम्बन्ध टिकिरहन्छ । गलत तरिकाले सम्हालियो भने दुई देशबीच टकराव वा द्वन्द्वको जोखिम बढ्छ,’ उनले भने ।
अमेरिका-चीन शिखर वार्ताअघि बेइजिङ र तेहरानको शक्ति संवाद
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्चस्तरीय चीन भ्रमणको केही दिनअघि चीनले इरानका विदेशमन्त्री अब्बास अराघ्चीलाई स्वागत गरेको छ । अमेरिका–इजरायल युद्धले तेहरानलाई लक्षित गरेपछि पहिलो पटक यस्तो भेटवार्ता भएको हो । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले बुधबार बिहान अराघ्चीसँग भेट गरेका हुन्, जसको पुष्टि सरकारी समाचार संस्था सिन्वा न्युज एजेन्सीले गरेको छ । चीनको सरकारी सञ्चारमाध्यमले मंगलबार बेलुकै यो भ्रमणबारे जानकारी सार्वजनिक गरेको थियो र विदेश मन्त्रालयको वक्तव्य उद्धृत गर्दै निमन्त्रण चीनकै पहलमा गरिएको जनाएको थियो । तर, आधिकारिक रूपमा वार्ताको एजेन्डा भने सार्वजनिक गरिएको छैन । इरानको विदेश मन्त्रालयका अनुसार वार्तामा द्विपक्षीय सम्बन्धसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरू समेटिनेछन्। क्विन्सी इन्स्टिच्युटका बोर्ड सदस्य अमिर हान्डजानीका अनुसार, ‘यो बैठक अत्यन्त रणनीतिक छ । तेहरान र बेइजिङले ट्रम्प र सी जिनपिङबीच हुने शिखर बैठकअघि आफ्ना हितहरू मिलाउँदै छन् र यसको समय छनोट सोच-विचार गरेर गरिएको हो ।’ तर चीनको मुख्य चासो पर्सियन गल्फमा स्थिरता कायम राख्नु हो ताकि व्यापार र ऊर्जा आपूर्ति निर्बाध रहोस् । हान्डजानीका अनुसार, ‘चीन चाहन्छ कि तेल बोकेका ट्यांकरहरू चलिरहून् र पर्सियन गल्फबाट एसियाली बजारमा व्यापार निरन्तर होस् । लामो समयको नाकाबन्दीले मुद्रास्फीति र सम्भावित मन्दी निम्त्याउन सक्छ, जुन चीनलाई स्वीकार्य छैन ।’ फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि वाङ यी र अराघ्चीबीच कम्तीमा तीन पटक टेलिफोन वार्ता भइसकेको छ । चीनले बारम्बार तत्काल युद्धविरामको आह्वान गर्दै स्ट्रेट अफ हर्मुजबाट व्यापारिक जहाजहरू स्वतन्त्र रूपमा आवत–जावत गर्न पाउनुपर्ने बताउँदै आएको छ । अप्रिल अन्त्यतिर सी जिनपिङले पनि यस जलमार्गमा सामान्य आवागमन हुनुपर्ने बताएका थिए । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही मार्ग हुँदै जाने गर्दथ्यो । तर पछिल्ला हप्ताहरूमा व्यापारिक आवत–जावत उल्लेखनीय रूपमा घटेको छ । गल्फ क्षेत्रबाट सबैभन्दा धेरै तेल तथा ग्यास किन्ने देश चीनले हालको अवस्थालाई केही हदसम्म सामना गरिरहेको छ । आन्तरिक भण्डारण र विविध ऊर्जा स्रोतले उसलाई केही राहत दिएको छ । मे १४–१५ मा तय भएको ट्रम्पको चीन भ्रमणअघि अमेरिकी सल्लाहकारहरूले बेइजिङलाई इरानमाथि दबाब दिन आग्रह गरेका छन्, ताकि व्यापारिक जहाज सञ्चालन पुनः सामान्य बनोस् । तर बेइजिङसँग सम्बन्धित एक थिंक–ट्यांकका निर्देशकका अनुसार चीनसँग दुवै पक्षलाई वार्तामा ल्याउने क्षमता वा इच्छाशक्ति दुवै सीमित छ, यद्यपि उसले अघिल्लो महिना अस्थायी युद्धविराममा सहयोग गरेको थियो । विश्लेषक ड्यानी रसेलका अनुसार तेहरानका लागि यो भ्रमण अमेरिकालाई ‘आफू एक्लो छैन, साथीसँगै विकल्पहरू छन्’ भन्ने सन्देश दिनु हो । यसले वासिङ्टनसँगको तनावमा आफ्नो बार्गेनिङ शक्ति बढाउन र सम्भावित अमेरिकी आक्रमणलाई रोक्न सहयोग पु‍र्याउँछ । इरानले चीनसँग तेल आपूर्ति, वित्तीय कारोबारका माध्यम र सम्भावित अमेरिकी सैन्य कारबाहीविरुद्ध कूटनीतिक समर्थनको सुनिश्चितता खोज्ने अपेक्षा गरिएको छ । चीनले इरानलाई गल्फ क्षेत्रको पूर्वाधार र व्यापारिक जहाजहरूलाई धम्की दिन नछोड्न तथा स्ट्रेट अफ हर्मुज पुनः खुला गर्नतर्फ अघि बढ्न दबाब दिने सम्भावना छ । रसेलका अनुसार सी जिनपिङका लागि यो भ्रमण ट्रम्पको आगमनअघि चीनलाई जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गर्ने अवसर हुन सक्छ । साथै आफ्ना जोखिमहरू सीमित राख्ने प्रयास पनि हो । यसबीच शिखर सम्मेलनअघि दुवै पक्षबीच तनाव पनि बढिरहेको छ । चीनले इरानी कच्चा तेल किन्ने आफ्ना कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विरोध गर्दै पहिलो पटक ‘ब्लकिङ नियम’ लागू गरेको छ, जसले कम्पनीहरूलाई अमेरिकी प्रतिबन्ध नमान्न निर्देशन दिन्छ । यसले अमेरिकी र चिनियाँ नियमहरूबीच द्वन्द्व सिर्जना गर्ने जोखिम बढाएको छ, जहाँ कम्पनीहरूले कुन नियम पालना गर्ने भन्ने छनोट गर्नुपर्ने स्थिति आउन सक्छ । इरान युद्धका कारण एक महिनाभन्दा बढी ढिलाइ भएको ट्रम्पको बेइजिङ शिखर सम्मेलन आगामी नोभेम्बर मध्यावधि निर्वाचनअघि अमेरिका–चीन सम्बन्ध सुधार गर्ने अवसरका रूपमा हेरिएको छ । ट्रम्पले चीनबाट अमेरिकी कृषि उत्पादन, औद्योगिक सामान र ऊर्जा खरिदमा प्रतिबद्धता लिन चाहेका छन् । तर विश्लेषकहरूका अनुसार इरानसम्बन्धी टकरावले त्यो योजना विफल पार्न सक्छ । रसेल भन्छन्, ‘यदि ट्रम्पले चीनले इरानलाई कूटनीतिक रूपमा मात्र सहयोग गरिरहेको ठाने पनि उनी कमजोर अवस्थामा छन् । उनलाई तेहरानलाई नियन्त्रणमा राख्न बेइजिङको सहयोग चाहिन्छ, सशक्त बनाउन होइन ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
अमेरिका-चीन टिकटक ‘फ्रेमवर्क’ सम्झौतामा टुंगो, ट्रम्प-सीले शुक्रबार अन्तिम निर्णय गर्ने
काठमाडौं । अमेरिका र चीनबीच सामाजिक सञ्जाल प्लेटफर्म टिकटकका लागि एउटा ‘फ्रेमवर्क’ सम्झौता भएको अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले सोमबार बताएका छन् । ‘यो दुई निजी पक्षबीचको कुरा हो, तर वाणिज्यिक सर्तहरूमा सहमति भइसकेको छ,’ उनले मड्रिडमा भएको अमेरिका-चीन वार्ताबाट भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सर्तहरूबारे छलफल गर्नेछन् । ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेख्दै भनेका छन् कि एक यस्तो कम्पनीबारे सम्झौता भएको छ ‘जसलाई हाम्रो मुलुकका युवाहरू अत्यन्तै बचाउन चाहन्थे ।’ बेस्सेन्टका अनुसार यो फ्रेमवर्कले टिकटकलाई अमेरिकी स्वामित्वमा लैजाने सम्भावना छ । टिकटकले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रोयटर्सका अनुसार चिनियाँ प्रमुख व्यापार वार्ताकार ली चेंगगाङले पनि फ्रेमवर्क सम्झौता भएको पुष्टि गर्दै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाउने काम रोक्नुपर्ने बताएका छन् । यी टिप्पणीहरू अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ताको क्रममा आएका हुन् । पछिल्ला महिनाहरूमा ट्रम्पका ट्यारिफ र अन्य व्यापारिक प्रतिबन्धका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएको छ । यहीबीच टिकटकको आमा कम्पनी बाइटडान्सलाई सेप्टेम्बर १७ सम्म अमेरिकी कारोबार बेच्न वा अमेरिकामा बन्द हुने जोखिम मोल्नुपर्ने समयसीमा तोकिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार भनेका छन् कि सम्झौता हस्ताक्षर गर्न समयसीमा केही पछाडि सारिन सक्नेछ तर निरन्तर म्याद थपिँदैन । गत वर्ष अमेरिकी कांग्रेसले एप्पल र गुगल जस्ता एप स्टोर सञ्चालकहरूलाई अमेरिकामा टिकटक वितरण गर्न रोक लगाउने कानून पारित गरेको थियो, किनकि यसलाई ‘विदेशी प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेको एप्लिकेशन’ मानिएको थियो । तर ट्रम्पले जनवरीमा टिकटक बन्द गर्ने निर्णय स्थगित गर्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसले बाइटडान्सलाई सम्झौता गर्न ७५ दिन थप समय दिएको थियो । थप समय विस्तारका लागि अप्रिल र जुनमा पनि कार्यकारी आदेश जारी गरिएका थिए । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले जुलाईमा भनेका थिए कि यदि चीनले अमेरिकालाई यो लोकप्रिय छोटो भिडियो एपमा बढी स्वतन्त्रता नदिए टिकटक अमेरिकामा बन्द हुनेछ । प्लेटफर्मलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा ट्रम्पले जुनमा फक्स न्युजलाई बताएका थिए कि उनका साथमा ‘धेरै धनी व्यक्तिहरूको समूह’ तयार छ जसले यो एप किन्न सक्छ र उनीहरूको नाम दुई हप्तामा खुलासा गर्न सकिनेछ । तर त्यो खुलासा कहिल्यै भएन । ट्रम्पले यसअघि पनि भनेका थिए कि उनी ओराकलका अध्यक्ष ल्यारी एलिसन वा टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा टिकटक किन्ने पक्षमा खुला छन् । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप पर्पलेक्सिटी र व्यापारी फ्र्याङ्क म्याककोर्टको प्रोजेक्ट लिबर्टी इन्टरनेट एडभोकेसी समूहले पनि खरिदका लागि प्रस्ताव बुझाएका छन् । ट्रम्पले गत वर्ष सीएनबीसीलाई दिएको अन्तर्वार्तामा टिकटकलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा व्याख्या गरेका थिए, यद्यपि ह्वाइट हाउसले अगस्टमा आधिकारिक टिकटक खाता सुरु गरेको छ । मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
अमेरिका-चीनबीच ट्यारिफ नलाग्ने सहमति ९० दिनका लागि थपियो
काठमाडौं । अमेरिका र चीनले एक-अर्कामाथि ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि थप गरेका छन् । यो निर्णय त्यतिबेला गरिएको हो जब विद्यमान सहमतिको अवधि सकिँदै थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा मे महिनामा भएको सहमतिको प्रावधानलाई यथावत राखिएको छ । त्यतिबेला दुवै देशले अस्थायी रूपमा एक(अर्काका सामानमा लगाइएका ट्यारिफलाई निलम्बन गरेका थिए । अमेरिकाले चेतावनी दिएको थियो यदि सहमतिको अवधि बढाइएन भने मंगलबारदेखि उच्च ट्यारिफ लागू हुनेछ। गत महिनाको वार्तामा चीनले दुवै पक्षले सहमति कायम राख्ने प्रयास गर्ने जनाएको थियो । अमेरिकी अधिकारीहरूले त्यसबेला भनेका थिए कि उनीहरू ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छन् । अप्रिलमा व्यापारसम्बन्धी तनाव चरममा पुगेको थियो। ट्रम्पले विश्वका धेरै मुलुकका सामानमा टैरिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च ट्यारिफ लगाइयो र चीनले त्यसको जवाफी कदमस्वरूप अमेरिकी सामानमा ट्यारिफ बढायो । मे महिनामा भएको सम्झौताअनुसार अमेरिका भित्रिने चिनियाँ सामानमा वर्षको सुरुवातको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । त्यस्तै चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ ट्यारिफ लागू गरियो ।
अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि लगाएका भारी शुल्कहरूलाई रोक्ने घोषणा गरे । जसले बिहीबार संसारभरका क्षतिग्रस्त सेयर बजारहरूलाई उकालो लाग्न बाध्य पार्यो, यद्यपि उनले चीनसँगको व्यापार युद्धलाई भने अझ चर्काए । ट्रम्पले नयाँ ट्यारिफहरू ९० दिनका लागि स्थगित गरेका हुन् । बुधबार ट्रम्पले लिएका यो यु-टर्न जुन नयाँ उच्च ट्यारिफहरू अधिकांश व्यापार साझेदारहरूमा लागू भएको २४ घण्टा नपुग्दै आएको थियो । ट्रम्पको ट्यारिफले संसारभरको सेयर बजारमा प्रतिकूल असर गरेको थियो, जसले ट्रम्पको ध्यान तानेको देखियो । 'मलाई लाग्यो मान्छेहरू अलिकति लाइनबाट बाहिर गइरहेका थिए, यिनले उत्साहमा नियन्त्रण गुमाउँदै थिए,’ ट्रम्पले घोषणा पछि पत्रकारहरूलाई भने यो समाचारसँगै अमेरिकी सेयर सूचकांकहरू माथि गए, बेन्चमार्क एसएन्ड ५०० सूचकांक ९.५ प्रतिशतले बढेर बन्द भयो र राहतको लहर बिहीबार एसियाली सेयर बजारमा पनि देखियो, जहाँ जापानको निक्केई सूचकांक ८ प्रतिशतले उचालियो । तेलको मूल्य पनि करिब १ प्रतिशले घट्यो । जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले बारम्बार विभिन्न व्यापार साझेदारहरूमाथि दण्डात्मक कदमको धम्की दिएका छन्, तर तीमध्ये केही अन्तिम क्षणमा फिर्ता पनि गरेका छन् । यो 'कहिले हुन्छ, कहिले हुँदैन’ शैलीले विश्व नेताहरूलाई अलमलमा पारेको छ र व्यवसायिक कार्यकारीहरूलाई डराएको छ । अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले भने कि यो पछि हट्ने योजना पहिलेदेखि नै थियो, जसको उद्देश्य देशहरूलाई वार्ताको टेबलमा ल्याउनु थियो । तर ट्रम्पले अप्रिल २ पछि बजारमा देखिएको त्रासको अवस्थाले उनको सोचमा परिवर्तन गरेको बताएका छन् । आफ्नो नीतिहरू कहिल्यै नबदलिने भनेर दिनौंसम्म जोड दिँदै आए पनि उनले बुधबार पत्रकारहरूलाई भने, ’लचिलो हुनुपर्छ ।’ तर उनले चीनमाथि दबाव यथावत् राखे- जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र अमेरिकी आयातको दोस्रो ठूलो आपूर्तिकर्ता । ट्रम्पले चिनियाँ आयातमा ट्यारिफ तुरुन्तै बढाएर १२५ प्रतिशत पु¥याए, जुन बुधबार लागु भएको १०४ प्रतिशत स्तरभन्दा उच्च हो । अमेजनमा सामान बेच्ने चिनियाँ कम्पनीहरू अमेरिकी बजार छाड्ने तयारीमा अमेजनमा उत्पादनहरू बेच्ने चिनियाँ कम्पनीहरू अमेरिका बजारमा मूल्य वृद्धि गर्ने वा बजार नै छाड्ने तयारीमा छन्, चीनको सबैभन्दा ठूलो ई-कमर्स संघका प्रमुखले भनेका छन् । यो निर्णय ट्यारिफको 'अभूतपूर्व झट्का' पछि आएको हो । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले अन्य देशहरूमा लगाइएको ट्यारिफ फिर्ता लिए पनि चीनसँगको व्यापार युद्ध अझ चर्किएको छ । बुधबार चीनले अमेरिकाबाट आउने आयातमा ८४ प्रतिशत ट्यारिफ लगाएको थियो, ट्रम्पको अघिल्लो ट्यारिफ आक्रमणको जवाफस्वरूप । चीनले बारम्बार विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्धमा 'अन्तसम्म लड्ने' घोषणा गर्दै आएको छ । 'अहिले अमेरिका र चीन 'ब्रिंकम्यानसिप' को शक्ति खेलमा छन्,’ आईएनजीका विश्वबजार प्रमुख क्रिस टर्नरले भने । बेइजिङले तनावको जवाफस्वरूप युरोपियन युनियन र मलेसियासँग व्यापार सुदृढीकरणका लागि छलफल गरेको जनाएको छ । यद्यपि अष्ट्रेलियाले भने चीनको प्रस्ताव अस्वीकार गरेको छ- चीन अष्ट्रेलियाको प्रमुख व्यापार साझेदार हो । 'हामी संसारमा भइरहेको कुनै पनि प्रतिस्पर्धामा चीनसँग हातेमालो गर्ने छैनौं,’ अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचार्ड मार्लेसले स्काई न्यूजसँग भने । राज्य समर्थनको आशाले बिहीबार चिनियाँ सेयर बजारलाई केही स्थिरता दिएको देखिए पनि चिनियाँ मुद्रा युआन भने २००८ को वैश्विक आर्थिक संकटपछिकै सबैभन्दा कमजोर स्तरमा झरेको छ । ‘चीनलाई उक्साए’ अन्य देशहरूमा लगाइएको ट्यारिफबारे ट्रम्पको निर्णय पूर्ण रूपमा उल्टिएको भने होइन । ह्वाइट हाउसका अनुसार सबै अमेरिकी आयातमा १० प्रतिशतको ब्लान्केट ड्युटी यथावत रहनेछ । नयाँ घोषणाअनुसार कार, स्टील र एलुमिनियममा पहिले लागू गरिएको ट्यारिफहरूमा कुनै असर परेको छैन । ९० दिने रोक क्यानडा र मेक्सिकोका सामानहरूमा लागू हुने छैन किनभने यदि उनीहरूले यूएसएमसीएको उत्पत्ति नियमअनुसार सामान नपठाएमा ती सामानहरू अझै २५ प्रतिशत फेन्टानिल-सम्बन्धित ट्यारिफमा पर्ने छन् । यी ट्यारिफ तत्कालका लागि यथावत् रहनेछ तर यूएसएमसीए-अनुरूप सामानहरूलाई अनिश्चितकालीन छुट दिइएको छ । ट्रम्पका ट्यारिफले केहि दिनसम्मको बजार गिरावट निम्त्यायो, जसले वैश्विक सेयर बजारबाट ट्रिलियन डलरहरू गायब गर्यो र अमेरिकी ट्रेजरी बन्डहरू र डलरमा समेत दबाब पार्यो- यी सबै विश्व वित्तीय प्रणालीका मेरुदण्ड हुन् । क्यानडा र जापानले आवश्यक परेमा स्थायित्व दिन आफूहरू तयार रहेको बताएका छन्- जुन कार्य सामान्यतया संकटको समयमा अमेरिका स्वयंले गर्छ । विश्लेषकहरू भन्छन् कि सेयर मूल्यमा आएको अचानक वृद्धि पूरै क्षति मेटाउन पर्याप्त नहुन सक्छ । सर्वेक्षणहरूका अनुसार ट्यारिफको प्रभावको डरले व्यापार लगानी र उपभोग खर्चमा गिरावट आएको छ । एक सर्वेक्षण अनुसार चारमध्ये तीनजना अमेरिकीले आगामी महिनाहरूमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । गोल्डम्यान स्याक्सले ट्रम्पको पछिल्लो कदमपछि मन्दीको सम्भावना ६५ प्रतिशतबाट घटाएर ४५ प्रतिशतमा ल्याएको छ, यद्यपि बाँकी ट्यारिफहरूले अझै पनि कुल ट्यारिफ दर १५% ले बढाउने देखिएको छ । कोषाध्यक्ष स्कट बेसेन्टले बजारको हलचललाई बेवास्ता गर्दै भने, 'ट्रम्पको अचानक निर्णयले ती देशहरूलाई पुरस्कार दिएको हो जसले प्रतिकार नगर्नु ट्रम्पको सल्लाह सुने ।’ 'ट्रम्पले वार्ता गर्न बढी दबाब सिर्जना गर्न ट्यारिफ प्रयोग गरेका हुन् । यही उहाँको रणनीति थियो । र तपाईं भन्न सक्नुहुन्छ कि उहाँले चीनलाई नराम्रो स्थितिमा उक्साउनुभयो,’ उनले थपे । बेसेन्ट देश-देश अनुसारका वार्तामा मुख्य व्यक्ति हुन्, जसले आर्थिक विषय मात्र होइन, विदेशी सहायता र सैन्य सहयोगको विषय पनि सम्हाल्नेछन् । ट्रम्पले जापान र दक्षिण कोरियाका नेतासँग कुरा गरिसकेका छन् र भियतनामबाट आएको एक प्रतिनिधिमण्डलले बुधबार अमेरिकी अधिकारीहरूसँग व्यापारबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । ७५ भन्दा बढी देशले सम्पर्क गरेकाले वार्ता कति समय लाग्छ भन्ने प्रश्नमा बेसेन्टले केही खुलाएनन् । ट्रम्पले भने, 'चीनसँग समाधान सम्भव छ । चीन सम्झौता गर्न चाहन्छ । तर कसरी गर्ने भन्ने थाहा छैन उनीहरूलाई ।’ तर अधिकारीहरूले अन्य देशसँगको वार्तालाई प्राथमिकता दिने बताएका छन् ।
चिप्सको विश्व बजार नियन्त्रणमा अमेरिका-चीन प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
एजेन्सी । अहिले विश्वका दुई ठूला अर्थतन्त्रहरू अर्को बहुमूल्य वस्तुको लागि आमनेसामने उभिएका छन् र त्यो हो सेमीकन्डक्टर। यो चिप हो, जुन हाम्रो दैनिक जीवनमा साँच्चै एक प्रकारको तागत बनेर आएको छ । सिलिकनको यो सानो टुक्रा ५ अर्ब डलरको उद्योग बनेको छ, जुन सन् २०३० सम्ममा मूल्यमा दोब्बर हुने अपेक्षा गरिएको छ। कसले यसको आपूर्ति श्रृंखला नियन्त्रण गर्ला भन्ने विषय निकै महत्वपूर्ण बनेको छ । यो एक महत्वपूर्ण सवाल तिनीहरुको लागि बनेको छ, जुन देशहरु र कम्पनीहरु यसको निर्माण प्रकृयामा जुटेका छन् । यसको आपूर्ति श्रींखलाको नियन्त्रणले कसैलाई बजोड महाशक्ति बनाउन सक्छ । चीनले यी चिप्स बनाउनको लागि टेक्नोलोजी चाहिरहेको छ। यो प्रविधिको अधिकांश स्रोत आफूसँग राखेको अमेरिकाले बेइजिङलाई पछाडि धकेलिरहेको छ । टफ्ट्स युनिभर्सिटीका एसोसिएट प्रोफेसर तथा चिप वार्सका लेखक क्रिस मिलर भन्छन् कि दुवै देश एशिया प्रशान्त क्षेत्रमा हतियारको दौडमा स्पष्ट रूपमा संलग्न छन्। उनी भन्छन् तर दौड अझै धेरै छ। ‘दुबै एकअर्कासँग कतिवटा जहाज र क्षेप्यास्त्र छन् भन्ने परम्परागत प्रतिस्पर्धाहरुमा पनि दौडिरहेका छन् र तिनीहरूलाई बढाउँदैछन्, तर तिनीहरू आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सैन्य प्रणालीमा पनि लागु गर्न चाहन्छन् । अहिले अमेरिकाले जितेको देखिन्छ तर चीन विरुद्ध घोषित चिप युद्धले विश्व अर्थतन्त्रलाई नयाँ आकार दिइरहेको छ । चिप निर्माताहरू सेमीकन्डक्टर्स बनाउने काम निकै जटिल हुन्छ। यसमा विशेषज्ञता चाहिन्छ। आईफोन चिपहरू अमेरिकामा डिजाइन गरिन्छ, ताइवान, जापान र दक्षिण कोरियामा बनाइन्छ र त्यसपछि चीनमा जोड्ने काम गरिन्छ । सेमीकन्डक्टरहरू अमेरिकामा आविष्कार गरिएका थिए तर समयसँगै पूर्वी एशिया यसको उत्पादन केन्द्रको रूपमा देखा पर्यो। यसको कारण त्यहाँका सरकारहरूको प्रोत्साहन र अनुदान हो । शीतयुद्धकालदेखि नै रुससँग कमजोर सम्बन्ध भएकाले यस क्षेत्रमा यसको व्यापार विकास गर्न वाशिङ्टनले रणनीतिक साझेदारी गरेको थियो। एसिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावपछि अमेरिकाका लागि यो अझै महत्त्वपूर्ण छ। अब यी चिप्सलाई ठूलो मात्रामा साना र थप प्रभावकारी बनाउने दौडमा अमेरिका रहेको देखिन्छ । अब चुनौती भनेको सानो सिलिकन वेफरमा कति ट्रान्जिस्टरहरू फिट हुन सक्छन् जुन स्वचालित रूपमा सञ्चालन हुन र बन्द हुन सक्छन् । ‘यसैले सेमिकन्डक्टर उद्योगले यसलाई मुरको नियम भन्दछ, विशेष गरी समयसँगै ट्रान्जिस्टरको घनत्व दोब्बर बनाउने काम एकदमै कठिन हो’, सिलिकन भ्यालीको बेन एण्ड कम्पनीका साझेदार जुइ वाङ भन्छन्। ‘यसले हाम्रा फोनहरूलाई छिटो बनाउँछ, हाम्रो डिजिटल फोटो अभिलेखहरूलाई ठूलो बनाउँछ, हाम्रो स्मार्ट घरका उपकरणहरू समयसँगै स्मार्ट बनाउँछ, र हाम्रो सामाजिक सञ्जाल सामग्री विस्तार हुन्छ’, उनले भने । संसारको सबैभन्दा ठूलो चिप निर्माता शीर्ष चिप निर्माताहरूको लागि पनि यो बनाउन सजिलो छैन। सन् २०२२ को मध्यमा सेम पहिलो कम्पनी बन्यो जसले तीन न्यानोमिटर चिपहरू बनाउन सफल भयो। सोही वर्षको अन्त्यमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चर कम्पनी (टीएसएमसी) विश्वको सबैभन्दा ठूलो चिप निर्माता र एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ताले पनि त्यसै गर्न सक्षम भयो। यो कति सानो हुन्छ ? यो मानव कपालको किनारा भन्दा सानो हुन्छ, जुन ५० देखि एक लाख न्यानोमिटर सम्मको हुन्छ। यस्ता सानो खास साइज भएका चिपहरू धेरै शक्तिशाली हुन्छन् । यसको मतलब यो धेरै महँगो उपकरणहरूमा प्रयोग हुन्छ । जसमा इन्टरनेट जडान भएका सुपर कम्प्युटरहरू र एआई जस्ता चीजहरू समावेश छन्। यी चिप्सले हाम्रो जीवनशैलीलाई पनि निकै सजिलो बनाउन सहयोग पुर्याउँछ । किनकि यसले हाम्रो दैनिक जीवनमा गति थप्ने काम गर्छ, तिनीहरू माइक्रोवेभ, वाशिंग मेसिन र फ्रिजमा प्रयोग गरिन्छ। तर भविष्यमा यसको माग घट्ने सम्भावना छ । विश्वमा अहिलेको समयमा सबैभन्दा धेरै चिप ताइवानमा निर्माण हुन्छ । जसलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । मिलर भन्छन कि बेइजिङले राष्ट्रिय प्राथमिकतामा आधारित चिपहरू पनि उत्पादन गर्दछ र तिनीहरूलाई सुपर कम्प्युटर र एआईमा बढ्दो प्रयोग गरिरहेको छ। यो यस मामिलामा विश्वव्यापी नेता बन्ने दौडमा कतै छैन, तर पछिल्लो दशकमा यसले विशेष गरी चिप डिजाइन क्षमताको सन्दर्भमा यस क्षेत्रमा गति लिएको छ। उनी भन्छन्, ‘ऐतिहासिक रूपमा तपाईले देख्नुहुनेछ कि जब कुनै शक्तिशाली देशले उन्नत कम्प्युटिङ टेक्नोलोजी प्राप्त गर्दछ, उसले यसलाई बुद्धिमत्ता र सैन्य प्रणालीमा ग्रहण गर्दछ।’ यही कारण र ताइवान र अन्य एसियाली देशहरूमाथि चिप निर्भरताका कारण अमेरिकाले पनि पछिल्लो समयमा यसको निर्माणलाई तिव्रता दिएको छ । चीनको प्रगतिलाई अमेरिकाले कसरी रोकिरहेको छ ? बाइडेन प्रशासनले चिप्स बनाउने प्रविधिमा चीनलाई रोक्न खोजिरहेको छ। गत अक्टोबरमा वाशिंगटनले यसलाई नियन्त्रण गर्न केही नियमहरू घोषणा गर्यो, जसमा चीनलाई चिप्स, चिप बनाउने उपकरण र अमेरिकी सफ्टवेयर कम्पनीहरूलाई बेच्न प्रतिबन्ध लगाइएको थियो। अमेरिकाको सो निर्णय विश्वका सबै कम्पनीमा लागू भएको थियो । यस निर्णयमा अमेरिकी नागरिक र स्थायी बासिन्दाहरूलाई चीनको स्थायी कारखानाहरूमा चिप्स उत्पादन वा विकास गर्न प्रतिबन्ध लगाइएको थियो। यसले चीनलाई नराम्रो असर पारेको छ किनभने यसको नयाँ चिप बनाउने उद्योग हार्डवेयर र नयाँ प्रविधिको आयातमा निर्भर छ। अमेरिकी निर्णयका कारण नेदरल्यान्ड्सको एएसएमएल कम्पनीले चीनबाट कमाउने गरेकोले एक चौथाइ घाटा बेहोर्नु परेको छ । यो एक मात्र कम्पनी हो जससँग अत्याधुनिक लिथोग्राफिक मेसिनहरू छन् जसले अल्ट्रा(फाइन चिपहरू उत्पादन गर्दछ। अमेरिका पनि धेरै चिप्स बनाउन चाहन्छ। चिप्स र विज्ञान ऐन अन्तर्गत, अमेरिकामा सेमीकन्डक्टर्स बनाउने कम्पनीहरूलाई ५३ अमेरिकी डलर अनुदानको रूपमा दिइन्छ। यस क्षेत्रका ठूला खेलाडीहरूले यसको फाइदा उठाइरहेका छन्। टिएसएमसीले अमेरिकामा दुईवटा प्लान्टमा ४० बिलियन डलर लगानी गरिरहेको छ, यो ताइवान बाहिरको एक मात्र प्लान्ट हो। मेमोरी चिपहरू सुपर कम्प्युटर, सैन्य हार्डवेयर, र प्रोसेसर भएको कुनै पनि उपकरणको लागि आवश्यक हुन्छ। अमेरिकाको सबैभन्दा ठूलो मेमोरी चिप्स निर्माता माइक्रोनले न्यूयोर्कको बाहिरी भागमा रहेको कम्प्युटर चिप प्लान्टमा आगामी २० वर्षमा १०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। माइक्रोन टेक्नोलोजीका प्रमुख कार्यकारी सञ्जय मेहरोत्रा भन्छन्, ‘चिप्स ऐनले अमेरिका र एसियामा निर्माण लागतको भिन्नतालाई क्षतिपूर्ति दिन्छ। माइक्रोनले एशियामा आफ्ना प्लान्टहरूमा लगानी गर्न जारी राख्नेछ। यस क्षेत्रमा प्रतिस्पर्धाका धेरै स्तरहरू छन्।’ चीन खेल अमेरिकाको प्रतिबन्धले चीनले नोक्सान बेहोर्नु परिरहेको छ । अमेरिकी प्रतिबन्धको कारण एप्पलले चीनको सबैभन्दा सफल चिप कम्पनी यांगत्से मेमोरी टेक्नोलोजी कर्प बाट मेमोरी चिपहरू किन्न सम्झौता रद्द गरेको छ। ‘वाशिंगटनलाई चिनियाँ टेक्नोलोजी कम्पनीलाई अपांग बनाउन सजिलो थियो, चीनसँग वास्तवमा जवाफ दिन केही छैन। पहिले अमेरिकाले केही चिनियाँ कम्पनीहरूलाई निशाना बनाउँदै आएको थियो तर यसपटक पूरै देशलाई लक्षित गरेको छ। के चीनले यसको जवाफ दिन सक्छ ? वस्तु वा सेवाहरू अवरुद्ध गरेर वा निर्यात नियन्त्रणहरू लगाएर, यसले आफैलाई हानि पुर्याउन सक्छ किनभने अर्थव्यवस्थामा समस्या देखिन लागेको छ । बेइजिङले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा गुनासो गरेको छ तर समाधान गर्न वर्षौं लाग्न सक्छ। सोही विषयमा विज्ञहरूले चीनले लगानीमा दोब्बर कम गर्ने र आफ्नो घरेलु चिप निर्माता उद्योगलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन् । अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा राष्ट्रपति सी चिनफिङले भनेका थिए, ‘हामी राष्ट्रिय रणनीतिमा ध्यान केन्द्रित गर्नेछौं, घरेलु र वैज्ञानिक-प्राविधिक अनुसन्धानलाई सुदृढ गर्नेछौं र मुख्य प्रविधि प्राप्त गर्न दृढतापूर्वक लडाइँ जित्नेछौं।’ अब के हुन्छ ? छोटकरीमा भन्नुपर्दा, यो उद्योग युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति र चीनको अर्थतन्त्रको पुनः खोल्ने कारणले गर्दा विश्वव्यापी मन्दीसँग पनि संघर्ष गरिरहेको छ । कोभिड महामारीसँग लड्दै बेइजिङले आफ्नो अर्थतन्त्रलाई लिएर सावधानीपूर्वक कदम चालिरहेको छ । मिलर भन्छन्, ‘अमेरिकी, ताइवानी, चिनियाँ र बाँकी विश्वका कम्पनीहरुबीचमा निकै प्रतिस्पर्धा हुनेछ, यो सबै अत्याधुनिक तर्क र मेमोरी चिप्समा देखिनेछ। जहाँ हामी अमेरिकाले चीनको खोजलाई पर राख्न खोजिरहेको देख्नेछौं, साथसाथै चीनले अमेरिकाबाट मुक्त भएको आफ्नै आपूर्ति श्रृंखला निर्माण गर्ने प्रयास गर्नेछ।’ उनी भन्छन् कि यसले एक इकोसिस्टम सिर्जना गर्न सक्छ जसमा एकातिर चीन हुनेछ र अर्कोतिर सम्पूर्ण विश्व हुनेछ। यसबाट विश्व अर्थतन्त्रमा ठूलो असर पर्नेछ । यसले यस क्षेत्रका ठूला खेलाडीहरूलाई आफ्नो पक्ष छनोट गर्न बाध्य पार्छ । सम्भवतः धेरैलाई चिनियाँ बजारमा जानबाट रोक्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको ।
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो, अमेरिका-चीनबीचको व्यापार युद्धको असर
टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका-चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल-जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ । अमेरिका र इरानबीचको बढ्दो तनाबले इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, एयरलाइन्सले जारी गरेको विवरणमा उल्लेख छ । विज्ञप्तिमा कम्पनीको नाफा निरन्तर खस्किएको र तत्काल सुधार हुने सम्भावना कमै रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय कार्गो व्यवसायको आयमा पनि ३।३ प्रतिशतले कमी आएको छ । खासगरी अमेरिका–चीन बीचको व्यापार अवरोधले कार्गो व्यवसायमा अन्यौल बढेको हो । रासस÷एएफपी
अमेरिका-चीन व्यापार वार्ता हुँदै, अमेरिकी व्यापार प्रतिनिधि र अर्थमन्त्री बेइजिङ आउँदै
वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन अर्को साता चिनियाँ प्रतिनिधिसँग वार्ताका लागि बेइजिङ प्रस्थान गर्ने उल्लेख छ । चिनियाँ प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्दै गर्देै छन् । बेइजिङ वार्तापछि वासिङ्टनमा फेरि आगामी मे ८ देखि अर्को चरणको वार्ता हुने पनि ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार आगामी वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, गैरकर अबरोध, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयन समेतका व्यापारसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । विश्व अर्थतन्त्रमै असर गर्नेगरी अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी
अमेरिका-चीन व्यापार वार्ता टुङ्गोमा पुग्ने, शेयर बजारमा सुधार
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताएका छन् । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको अन्तिम व्यापार वार्ता र सम्झौतामा हस्ताक्षर हुने मितिमा विश्व समुदाय प्रतिक्षारत रहेको छ । तर चिनियाँ र अमेरिकी व्यापार प्रतिनिधिहरुले दुई नेताको भेटवार्ताको मिति घोषणा गर्न सकेका छैनन् । व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको सङ्केत पाएसँगै विश्वको शेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको छ । “हामी आगामी चार हप्तामा केही हुने विश्वासमा छौं । त्यसपछिका दुई हप्तामा अवश्य केही हुनेछ,” चिनियाँ व्यापार प्रतिनिधि लिऊ हेसँगको भेटपछि वासिङ्टनमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बताए । अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पुर्याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । आर्थिक तथा व्यापार सम्झौताको मस्यौदामा महत्वपूर्ण प्रगति- चीन यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–अमेरिका आर्थिक तथा व्यापार सम्झौताको पाठमा महत्वपूर्ण प्रगति भएकामा खुशी व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिलाई आफ्ना व्यापार प्रतिनिधि उपप्रधानमन्त्री लिऊ हेमार्फत पठाएको सन्देशमा राष्ट्रपति चिनफिङले दुबै देशबीच जतिसक्दो चाँडो नयाँ सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति चिनफिङले दुबै मुलुकबीचको व्यापार आपसी सम्मान, समानता र परस्पर लाभका आधारमा हुनुपर्ने चीनको धारणा रहेको पनि बताएका छन् । रासस/एएफपी
अप्रिल ३ मा अमेरिका-चीन व्यापार वार्ता, चिनियाँ टोली अर्को साता वासिङ्टन पुग्ने
वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ । व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अमेरिकी अधिकारीको बेइजिङ भ्रमण पश्चात अमेरिका–चीन व्यापार विवादमा छलफलका लागि चीनका उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा चिनियाँ टोली अर्को सातासम्म वासिङ्टन पुग्ने शनिबार ह्वाइट हाउस स्रोतले जानकारी गराएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी साहा स्यान्डर्सले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाजर तथा ट्रिजरी सेक्रेटरी स्टेभेन मनुचिनको नेतृत्वमा अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसलगायत अन्य अमेरिकी उच्च अधिकारी यसै हप्ता छलफलका लागि बेइजिङ पठाउने कार्यक्रम तय भएको छ । उप–प्रधानमन्त्री लिउ र चिनियाँ अधिकारी अप्रिल ३ गते वासिङ्टनका अधिकारीसँग वार्ताका लागि पुग्नुहुनेछ, स्यान्डर्सले जानकारी गराए । दुई शक्तिशाली अर्थतन्त्रबीचको विवाद गत बर्ष अमेरिकाले चीनमाथि केही आरोप लगाएपछि शुरू भएको हो । अमेरिकाले चीनद्वारा अमेरिकी प्रबिधि लगायत व्यापारसम्बन्धी गोपनियतालाई चोरी गरेको र प्रबिधिको क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी तथा फर्मलाई अनावश्यक दवावमा राख्ने गरेका दावी गर्दै अमेरिका आयात हुने चिनियाँ सामानमाथि दुई खर्ब ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेको थियो । बदलामा चीनले आफ्नो देशमा जाने अमेरिकी सामानमा एक खर्ब १० अर्ब मूल्य बराबरको सामानमा करवृद्धि गरेको थियो । चीनको बाणिज्य मन्त्रालयले पनि अमेरिकी अधिकारी आगामी बिहीबार र शुक्रबार छलफल गर्ने गरी बेइजिङ आइपुग्ने यस अघि नै जानकारी गराइसकेको छ । यस पहिलेका वार्ताबाट व्यापार विवाद टुङ्ग्याउने बिषयमा निकै प्रगति भएको दुवै पक्षका उच्च अधिकारीले जनाउँदै आएका छन् । रासस/एपी
अमेरिका-चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी, ट्रम्प-सीबीचको शिखर बैठक कहिले ?
बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाब जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनाबले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनीया राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ । तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताए । “मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,” सराहले ह्वाइट हाउसमा भने । “वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।” सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले संयुक्तराज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । रासस/एएफपी
अमेरिका-चीन व्यापार विवादको असर, श्रमिकहरू प्रत्यक्ष मारमा
काठमाडौँ । सन् २०१८ को जनवरी २२ देखि लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सोलार प्यानलमाथि ३० प्रतिशत करवृद्धिको घोषणा गरे । सोलार प्यानल निर्माणका लागि अग्रणी चीनले अमेरिकी निर्णयको विरोध गर्यो । सोही दिन चीनबाट खरिद हुने करिब १२ लाख वासिङ मेसिनको करमा पनि २० प्रतिशतको वृद्धि गरियो । सन् २०१६ मा अमेरिकाले ४२ करोड ५० लाख अमेरिकी डलर बराबरको वासिङ मेसिन खरिद गरेको थियो भने सोही परिणाममा सन् २०१७ मा पनि वासिङ मेसिन भित्रिएको अमेरिकी वित्त विभागको तथ्याङ्क छ । तर यसमा अमेरिकाको कर वृद्धिको प्रभाव परेपछि सन् २०१८ मा वासिङ् मेसिनको आयातमा निकै कमी आएको बताउने गरिन्छ । सन् २०१८ को मार्चमा अमेरिकाले विदेशी स्टिल आयातमा २५ प्रतिशत र आल्युमिनियममा १० प्रतिशतको कर वृद्धि गरेको छ । यसको प्रभाव चीन र अमेरिका बाहेक क्यानडा, दक्षिण कोरिया लगायतका अन्य मुलुकमा पनि परेको छ । यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधिलाई चिनियाँ सामानमा ५० देखि ६० अर्ब अमेरिकी डलर बराबरको कर लगाउँदा पर्ने प्रभावबारे अनुसन्धान गर्न लगाए । उनले यो नीति व्यापार ऐन १९७४ को धारा ३०१ मा टेकेर गरेका बताइएको छ । विदेशी सामान आयातमा खास गरी चीनमाथि कर वृद्धि गर्ने प्रस्तावलाई चीनको अन्यायपूर्ण व्यापार अभ्यासको प्रतिक्रियास्वरूप गरिएको अमेरिकाले जनाएको छ । अमेरिकाले चीनमाथि आफ्ना व्यवसायीलाई अनावश्यक दवाबमा पारेको, चिनियाँ कम्पनीलाई अत्यधिक सरकारी अनुदान दिएर चीनमा अमेरिकी सामानको आयातलाई निरूत्साहित गरेको र बौद्धिक सम्पत्तिको चोरी गरेकोजस्ता आरोपहरू लगाएको छ । अमेरिकी प्रशासनले करवृद्धि लागू गरिने चिनियाँ सामानको सूची एक हजार ३०० भन्दा बढी तोकेको छ । जसमध्ये विमानका सामान, व्याट्री, फ्लाट प्यानेल टेलिभिजन, स्वास्थ्यसम्बन्धी उपकरण, कृत्रिम उपग्रह तथा विभिन्न प्रकारका हतियारहरूमा करवृद्धि लागू भएको छ । अमेरिकी निर्णयलाई विरोध जनाएपनि चीनले अमेरिकाको करवृद्धि घोषणाको प्रतिक्रियामा अमेरिकी १२८ सामानमाथि कर बढाउने निर्णय सन् २०१८ को अप्रिल २ मा मात्र गरेको थियो । जसअनुसार आल्युमिनियम, विमान, कार, बँदेल र सोयविनमा २५ प्रतिशत र फलफुल, सुपारी, बदाम र स्टीलको पाइपमा १५ प्रतिशत करवृद्धिको घोषणा गरेको छ । गत बर्षको अप्रिल ५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि अर्को चरणको करवृद्धि योजनालाई सार्वजनिक गर्नुभयो । चीनले वासिङ्टनको करवृद्धिपछि प्रतिक्रियामा गरेको निर्णयको जवाफस्वरूप चिनियाँ समानमा एक खर्ब अमेरिकी डलर बराबरको थप करवृद्धिको घोषणा अमेरिकाले गरेको हो । यसको अर्को दिन अर्थात् अप्रिल ६ मा चीनले अमेरिकी थप करवृद्धिको निर्णयबारे परामर्श गर्न विश्व व्यापार संगठनमा अनुरोध गर्यो । अमेरिकी कृषि, उड्ययन र उत्पादन उद्योगमा चीनसँगको व्यापार विवादको ठूलो प्रभाव परेको छ । अर्थशास्त्रीहरू चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपारेको बताउँछन् तर यसले देशैभर सबै खाले वस्तुको मूल्यमा भने वृद्धि भएको छ । ट्रम्प प्रशासनले यसको दोष अमेरिकी केन्द्रीय बैंकद्वारा गरेको ब्याजवृद्धिलाई लगाएको छ भने अधिकांश व्यवसायीहरूले चीन–अमेरिका विवाद नै यसको कडी मान्दछन् । अमेरिकाका स्टिल उद्योगहरूले आफ्नो उत्पादन बढाउने र सयौं कामदार थप गर्ने घोषणा गरिरहेका समय उनीहरूका उपभोक्ता भने चिन्तित देखिन थालेका छन् । चिनियाँ स्टिलमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकी स्टिलको माग बढेको र यसले मूल्यवृद्धि गराएको उपभोक्ताको चिन्ता हो । यसको असर स्टिलसँग सम्बन्धित उत्पादनहरूमा पनि परेको छ । ट्रम्प प्रशासन भने सरकारी निर्णयले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरेको बताउन थालेको छ । चीनमा उत्पादित सयौं पार्टपुर्जा, उपकरणमा भन्सार शुल्क लगाउने निर्णयले व्यवसायीलाई झन् पिरोलेको छ । छ सय कामदार रहेको अमेरिकी कम्पनी रोडटेकका मार्केटिङ निर्देशक इरिक बेकर आफ्नो कम्पनीमा आउने अर्डरमा व्यापक वृद्धि भएको बताउँछन् । यो कम्पनीले रोड सम्याउने मेसिन उत्पादन गर्दै आएको छ । कसरी कम मूल्यमा उत्पादन गर्ने भन्ने विषयले कम्पनीलाई चिन्ता थपेको उनी बताउँछन् । “अहिले एकदमै अनिश्चय छ,” उनले भने, “यो कति समयसम्म रहला भन्ने नै अहिलेको सबैभन्दा ठूलो प्रश्न हो ।” चीन सन् १७०० देखि अमेरिकी जुडीबुटीको ग्राहक हो । अमेरिकामा उत्पादन हुने तीन चौथाइ जिनसेन एक प्रकारको जडीबुटी चीन निर्यात हुन्छ । चीनमा अमेरिकी जिनसेनलाई गुणस्तरीय मान्ने गरिन्छ । यही जिनसेन उत्पादन गरी अमेरिका र चीनमा ४ सय बढीलाई रोजगारीको अवसर मिलेको छ । तर वृद्धि गरिएको भन्सार शुल्कका कारण सामान महँगिएर किन्न नसक्ने भएकोप्रति चिनियाँ व्यवसायी पनि चिन्तित छन् । अमेरिकी कृषकहरूमा प्रतिस्पर्धाको चिन्ता पनि छ । अमेरिकामा उत्पादन हुने एक तिहाइ सोयाबिनको बजार चीन हो । अमेरिकाबाट वार्षिक १४ अर्ब डलर बराबरको सोयाबिन चीन निर्यात हुन्छ । चीनलाई सोयाबिन बेच्नमा अर्जेन्टिना र ब्राजिल पनि अग्रपंक्तिमा छन् । करवृद्धिपछि आफ्ना चिनियाँ ग्राहक ती देशतिर फर्किन थालेको चिन्ता अमेरिकी कृषि क्षेत्रमा रहेको छ । चीनमा बिक्री नभएपछि अमेरिकी सोयाबिनको मूल्य घट्ने र आफ्नो देशमा ल्याएर बेच्न सकिने विषय पनि उनीहरूले मौका हेरेका बताउने गरिएको छ । अमेरिका–चीन व्यापार विवादको पछिल्लो घटनाक्रम नियालिरहेका अमेरिकी किसान विल हचिन्सनले यो विवाद मत्थर हुने आशा व्यक्त गरे । “दुवै देशका लागि व्यापार आवश्यक छ,” उनी भन्छन्, ‘एक अर्कालाई दुःख दिनका लागि आपसमा नाक काटाकाट गर्नु पर्दैन ।’ अघिल्लो वर्ष अमेरिकाको आधा कवाडी आल्मुनियम चीन पुगेको थियो । तर, कवाडी बेचबिखन गर्ने अमेरिकी कम्पनीले अहिले अन्य देशमा बजार खोजिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले केही महिना पहिले राष्ट्रसङ्घमा गरेको सम्बोधनमा भने, “चीनको बजार विकृतिलाई अब सहन सकिँदैन ।” वास्तविक बिषयवस्तुमाभन्दा सैद्धान्तिक आरोपमा उत्रिएका ट्रम्पले थपे, “समाजवाद वा कम्यूनिष्ट शासनले निम्त्याएको पीडा र भ्रष्टाचार उत्पन्न गरेको छ । यसले विस्तारवाद, घुसपैठ र उत्पीडन निम्त्याएको छ”-जवाफमा चीनले अमेरिकाले विश्वमा राखेको एकपक्षीयता, संरक्षणवाद र आर्थिक आधिपत्य तोडिने डरमा चीनमाथि गलत आरोप लगाएको र यसबाट अमेरिकालाई नै घाटा पुग्ने बताएको थियो । अमेरिकाले करवृद्धि नै अन्तिम लक्ष्य नभएको तर असमान व्यापार अभ्यास, जसले अमेरिकी रोजगारीका महत्वपूर्ण औजार रहेको बताउँदै आएको छ । सन् २०१७ मा अमेरिकाले आफ्नो देश र सहयोगी मुलुकमा चीनद्वारा पु¥याएको क्षतिबारे गरेको अनुसन्धानबाट प्रत्येक बर्ष अमेरिकाले अनुमानित दुई खर्ब २५ अर्ब अमेरिकी डलरदेखि छ खर्ब अमेरिकी डलर गुमाएको निष्कर्ष निकालेको थियो । चीनले भने यसलाई भ्रामक भन्दै खण्डन गर्दै आएको छ । चीन र अमेरिका दुवैले व्यापार विवादबाट देशलाई घाटा नभएको बताइरहेका समयमा दुवै मुलुकका व्यवसायीहरू भने विवादको प्रभावका कारण खास गरी कृषि, प्रविधि तथा उद्योग क्षेत्रमा समस्या आएको बताउन थालेका छन् । शुक्रबार अमेरिकी मोटर्स कम्पनी जनरल मोटर्स जिएमले सन् २०१९ मा कम्पनीको पुनः संरचना गर्ने र रोजगारी कटौति तथा चीन र अमेरिकामा हुने ठोस विक्रीबाट आफूलाई नाफामा लाने बताएको छ । विश्लेषकहरूले भने व्यापार विवाद नै रोजगारी कटौति गर्नुपर्ने कारण रहेको बताएका छन् । रोजगारी कटौति गर्ने निर्णयका लागि अमेरिकी राष्ट्रपति तथा राजनितिज्ञबाट आलोचित हुनुपरेको जिएम कम्पनीले पुनः संरचनाबाट कम्पनीलाई दुई अर्ब अमेरिकी डलरदेखि दुई अर्ब ५० करोड अमेरिकी डलर थप नाफा गर्ने प्रक्षेपण गरेको छ । पुनःसंरचनाले कम्पनीलाई आर्थिक विश्लेषकको अनुमानभन्दा शेयरमा धेरै गुना वृद्धि गर्ने पनि जिएमले जनाएको छ । जिएमका कार्यकारिणीहरू चीन–अमेरिका व्यापार सम्झौताप्रति पनि आशावादी देखिएका छन् । उनीहरूले चीनमा यसै हप्ता भएको चीन–अमेरिका वार्तालाई दुवै मुलुकको हितका लागि गरिएको रचनात्मक पहल भनेका छन् । जिएमले विवाद विवादलाई छिट्टै अन्त्य गर्न अधिकारीहरू लाग्नेमा विश्वास राख्नु विवादले आफूलाई पारेको पीडा व्यक्त गरेको अवस्था हो । चिनियाँ राष्ट्रपति सी चिनफिङका आर्थिक सल्लाहकार लिउ हे भन्छन्, “अमेरिकाले चीनसँग भएको व्यापार घाटालाई चीनले घटाओस भन्ने चाहन्छ भने चीन पनि अमेरिकाको आग्रहलाई सम्बोधन गर्न आफूलाई चाहिने अमेरिकी सामानको आयातमा वृद्धि गर्न तयार छ ।” तर समाधान प्रयास चीनबाट मात्रै गरेर निकास ननिस्कने धारणा उनको छ । सन् २०१८ को जुलाईपछि व्यापार विवादका कारण दुवै देशका अर्थतन्त्रमा परेका सकारात्मक तथा नकारात्मक असर देखिन थाले । निर्णयले कतिपय उद्योगमा सकारात्मक प्रभाव देखिएको जनाइए पनि खास गरी अमेरिकी कृषि क्षेत्र र चिनियाँ प्रविधि क्षेत्रमा व्यापार विवादको नकारात्मक प्रभाव पर्न थालेको छ । कतिपय कम्पनीहरूमा विवादको प्रभाव पर्दा उनीहरूको शेयर बजार ह्वात्तै गिरेको छ । मोबाइल उत्पादन गर्ने अमेरिकी कम्पनी एप्पल र चिनियाँ टेलिकम हुवावेलाई प्रतिनिधिका रूपमा उल्लेख गर्न सकिन्छ । हुवावेसँगको अमेरिकी विवादले नोभेम्बर डिसेम्बरतिर अमेरिका र चीनको सम्बन्धमा थप समस्या आउने अवस्था आएको थियो । तत्काललाई यो टरेको जस्तो देखिएको छ । एप्पलको चिनियाँ बजारमा घटेको कारोबारले सन् २०१८ का लागि लिएको उसको आम्दानीको लक्ष्यभन्दा कम कारोबार गरेको एप्पलले गत हप्ताको समिक्षामा जनाएको थियो । विश्व शेयर बजारमा गिरावट आउनुलाई पनि चीन–अमेरिकाबीचको व्यापार विवादसँग लिने गरिन्छ । चीन-अमेरिका विवादबाट विश्व अर्थ बजार नै तनावग्रस्त रहेका समय यसलाई समाधानका लागि गरिएको वार्ता सकारात्मक रहेको गत मङ्गलबार ट्रम्पले गरेको एक ट्वीटमा उल्लेख छ । चिनियाँ पक्षले पनि वार्ता उपलव्धिपूर्ण बनेको प्रतिक्रिया दिएको छ । “चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार, गहिराईमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदानप्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार पारेको छ । “दुवै पक्षले निकट सम्वन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।” वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तिको बलजफ्ती रूपान्तर र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृत्तिलाई रोक्न माग गरेको छ । अमेरिकी बाणिज्य मन्त्री विल्वर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तवार्तामा दुवै मुलुकबीच सम्झौता हुने प्रवल सम्भावना रहेको बताएका थियो । व्यापार युद्धबाट अमेरिकीभन्दा चिनिया अर्थतनत्रलाई बढी नोक्सान हुनेछ । चीनले अरू मुलुककोभन्दा बढी सामान संयुक्त राज्य अमेरिकामा नै विक्री गर्छ ।” विश्वको ध्यान खिचेको चीन–अमेरिका वार्तापछि विश्व बजारमा सकारात्मक उर्जा प्रवाह भएको छ तर अझै विवाद सुल्झिहाल्नेमा विश्वस्त भैहाल्ने मजबूत आधारहरू बन्न बाँकी नै छ । रासस/विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा