जब मजदुरले १ अर्ब ६० करोडको सुनको खजाना भेट्टाए...

काठमाडौं । युरोपेली देश बेल्जियममा जमिनमुनिबाट ठूलो परिमाणमा सुनको खजाना फेला परेको छ ।  पुरातत्त्वविद् वा विशेषज्ञको टोलीले नभई निर्माणको काम गरिरहेका मजदुरहरूले यो खजाना फेला पारेका हुन् ।  राजधानी ब्रसेल्सबाट करिब १९ माइल उत्तरपश्चिममा रहेको डेन्डरमोन्डे सहरमा एउटा भवनमुनि काम गर्ने क्रममा उनीहरूले ठूलो संख्यामा सुनका सिक्का र सुनका इँटा फेला पारेका हुन् । स्थानीय अधिकारीका अनुसार मंगलबार निर्माणका क्रममा फेला परेको उक्त सुनको सिक्का र बारको कुल मूल्य १०.५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबर रहेको छ ।  भवनको जगमुनि मर्मतको काम गर्ने क्रममा यो सुन फेला परेको हो । यो खजाना कोबे फिलिप्स नामका विद्यार्थीले फेला पारेका हुन्, जो पार्टटाइम निर्माण मजदुरका रूपमा काम गरिरहेका थिए । डेन्डरमोन्डे प्रहरी जिल्लाका प्रमुख प्याट्रिक फेयसले सीएनएनलाई बताएअनुसार एउटा पुरानो मदिरा उत्पादन गर्ने कारखानाको जगमा ४० वटा सुनका बार र करिब ४ हजारवटा सुनका सिक्का लुकाएर राखिएको अवस्थामा फेला परेका थिए । कोबे फिलिप्सका अनुसार सुरुमा आफूहरूले ती सिक्का एक युरोका सिक्का भएको ठानेका थिए । ती वस्तु बाहिर निकाल्दा एउटा सुनको बार देखिएपछि मात्रै वास्तविकता थाहा भएको उनले बताए । आफूहरूले अनुमान गरेभन्दा निकै ठूलो परिमाणमा सुन फेला परेको उनको भनाइ छ । सुन फेला परेपछि मजदुरहरूले सम्पत्तिका मालिकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई बोलाइएको थियो । इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयका अनुसार सुनको ठूलो मूल्यका कारण प्रहरीलाई खबर गरिएको हो । अहिले उक्त सुनलाई कडा सुरक्षा र निगरानी भएको स्थानमा राखिएको छ । डेन्डरमोन्डे प्रहरीको फेसबुक पेजमा सार्वजनिक गरिएका तस्बिरमा सुनका सिक्काले भरिएको धातुको बाल्टी तथा सुनका बारले भरिएको टेबल देखिन्छ । प्रहरी प्रमुख फेयसका अनुसार केही सुनका बारमा १९६० को दशकका छाप भेटिएका छन् । त्यस्तै, सिक्कामा विभिन्न राजा र मितिका चिन्हहरू रहेका छन् । त्यसैले यो खजाना कहिले र कसले लुकाएको थियो भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । खजाना फेला परेपछि यसको स्वामित्व दाबी गर्नेहरू पनि देखिन थालेका छन् । केही व्यक्तिले विभिन्न कागजात पेस गर्दै आफूहरू उक्त सुनका वास्तविक हकदार भएको दाबी गरेका छन् । प्रहरीले अहिले यो खजाना कसको हो र यससँग कुनै आपराधिक घटना जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट अनुदित तथा सम्पादित)