एसईईमा पासदर बढ्दै, ‘सन्तुष्ट हुने आधार छैन’

काठमाडौं । २०८२ सालको माध्यमिक  शिक्षा परीक्षा (एसईई) नतिजा २०८१ सालको नतिजाभन्दा ४.१७ प्रतिशतले सुधार भएको देखिएको छ । २०८१ सालको नतिजामा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा २०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यो वर्ष २ लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भए । गत चैत २९ गते सम्पन्न भएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए । यो नतिजा गएको वर्षभन्दा ४.१७ प्रतिशतले बढी हो ।  विगतका वर्षमा करिब तीन महिनापछि प्रकाशित हुने नतिजा यो वर्ष २९ दिनमै सार्वजनिक हुँदा शिक्षामन्त्री सस्मित पोखरेलले राज्य संयन्त्रको सामूहिक प्रतिवद्धता कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन्। २०८१ सालको एसईई नतिजा २०८० सालको नतिजाभन्दा १३.९५ प्रतिशतले सुधार भएको थियो । २०८० मा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक वर्षमा १३ प्रतिशतले नतिजामा सुधार गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको मिहिनेत भनेका थिए । प्रत्येक सरकारले नतिजा सुधारमा जस लिन खोजेपनि यो सुधारलाई शिक्षामा सुधार भएको मान्न नसिकिने विज्ञहरू बताउँछन् । अझै चार प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कम भएकाले दुई/चार प्रतिशत नतिजामा सुधार आउँदैमा सिकाइमा गुणस्तर भएको मान्न नसकिने उनीहरूको तर्क छ । समग्र नतिजामा सुधार देखिए पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर देखिएको छ ।  २०७८ सालमा ४६ प्रतिशत विद्यार्थी ग्रेडड भएकोमा पाँच वर्षपछि अर्थात् २०८२ सालमा करिब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । झट्ट सुन्दा यो नतिजाले शिक्षा क्षेत्रमा बिस्तारै सुधारको संकेत गरेको देखिए पनि विज्ञहरू भने यसलाई सुधार भन्न नमिल्ने बताउँछन् । उनीहरूका अनुसार हरेक वर्ष नतिजामा तीन/चार प्रतिशतले सुधार हुनु भनेको प्राकृतिक हो, यो हरेक वर्ष आफै हुन्छ । गत वर्षभन्दा ४ प्रतिशतले नतिजा सुधार हुनु अर्थात् २०७८ सालको नतिजासँग तुलना गरेर शिक्षामा सुधार भएको हो भन्न नसकिने विज्ञहरू बताउँछन् ।  शिक्षाविद् डा. विष्णु कार्की यो नतिजाले शिक्षामा सुधार भएको भन्न नमिल्ने बताउँछन् । उनी सरकारले एक महिनाभित्रै नतिजा प्रकाशन गर्नु गत वर्षभन्दा चार प्रतिशतले नतिजामा सुधार आउनु राम्रो संकेत भए पनि शिक्षामा सुधार भएको भन्न नमिल्ने उल्लेख गर्छन् । उनी एक महिनाभित्रै नतिजा निकाल्न सक्नु सकारात्मक कदम भएको धारणा राख्छन् ।    यस्तो छ पाँच वर्षको नतिजा २०८२ सालको परीक्षामा दुई लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । २०८१ सालमा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएकोमा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।  २०८० सालको एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यो नतिजा सार्वजनिक हुँदा सरकार र सरकारी विद्यालयको निकै आलोचना भएको थियो । सरकारले नतिजा सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो ।  २०७९ को एसईईमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका थिए । ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए भने २०७८ को एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जनाले फारम भरेका थिए । तर ४ लाख ९५ हजार ७५१ मात्रै थियो । चार जीपीए ल्याउने विद्यार्थीको संख्या २०८० यता फोर जीपीए ल्याउने विद्यार्थीको संख्या पनि बढ्दै छ । जीपीए ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २०८२ सालमा ४८ हजार ३ सय ९२ छ भने अघिल्लो वर्ष २०८१ मा यस्ता विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ थियो ।  यस्तै, २०८० सालमा भने ३१ हजार २ सय ९ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका थिए । त्योभन्दा अघिल्ला वर्षहरूमा यो संख्या अझ कम थियो । २०७९ सालको एसईई नतिजामा ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो भने २०७८ सालको एसईई नतिजामा ९ हजार ६ सय ३३ जना विद्यखर्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।  यो वर्ष अर्थात् २०८२ सालको एसईई नतिजामा ७ जना विद्यार्थीले १.६० देखि २ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५ हजार १ सय ९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५ हजार ९ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९४ हजार २ सय २२ जना रहेका छन् । यस्तै, जीपीए ३.२० देखि ३.६० ल्याउने ८० हजार ३ सय ७२ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार ३ सय ९२ जना रहेका छन् ।  २०८१ सालको एसईईमा १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ८ जना थिए । २.००देखि २.४० ल्याउने ४ हजार १ सय २६ विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४८हजार ४ सय ७९ विद्यार्थी थिए । यस्तै २८० देखि ३.२० ल्याउने विद्यार्थी ८९ हजार १ सय २४, ३.२० देखि३.६०ल्याउने विद्यार्थी ४१ हजार ३ सय ८५, ३.६० देखि ४०० ल्याउने विद्यार्थी ४८ हजार १ सय ७७ थिए ।    २०८० सालको एसईई परीक्षामा  १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ६ जना थिए । यस्तै २.००देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४१ हजार ४ सय ८७ विद्यार्थी थिए । यस्तै २.८० देखि ३.२० ल्याउने विद्यार्थी ७८ हजार ८ सय ७४, ३.२० देखि३.६० ल्याउने विद्यार्थी ६८ हजार २ सय ५६ थिए भने ३.६० देखि ४०० ल्याउने विद्यार्थी ३१ हजार २ सय ९ थिए ।    २०७९ को एसईईमा  ०.८०देखि १.२० ल्याउने विद्यार्थी २ हजार २ सय, १.२०देखि १.६० ३८ हजार ७ सय ७०, १.६० देखि २.०० ल्याउने ४८ हजार ४ सय ४७, २.०० देखि २.४० ल्याउने १ लाख २२ हजार ९३, २.४०देखि २.८० ल्याउने ८९ हजार ३ सय ३१ , २.८० देखि  ३.२० ल्याउने ७२ हजार ३ सय ६२, ३.२० देखि ३.६० ल्याउने ५५ हजार ६९, र ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो ।  यस्तै २०७८ को एसईईमा ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२ हजार ८० (०.६६ प्रतिशत), १.२ देखि १.६ जीपीए ल्याउने ४४हजार ५ सय ८६ (८.९९ प्रतिशत), १.६ देखि २.० जीपीए ल्याउने १००५९४ (२०.२९ प्रतिशत), २.० देखि २.४ जीपीए ल्याउने ११२७३३ (२२.७४ प्रतिशत), २.४ देखि २.८ जीपीए ल्याउने ९०५५८ (१८.३१ प्रतिशत), २.८ देखि ३.२ जीपीए ल्याउने ६९९०० (१४.१० प्रतिशत), ३.२ देखि ३.६ जीपीए ल्याउने ४१६२७ (८.४० प्रतिशत) र ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ (१.९४ प्रतिशत) थिए । हराएका विद्यार्थीको खोजी खोइ ?  सरकारले हरेक वर्ष नतिजामा दुई/चार प्रतिशत सुधार गरे पनि अझै शिक्षा क्षेत्रमा राम्रो काम गर्न सकेको छैन । शिक्षाविद् कार्की अझै ३४ प्रतिशत विद्यार्थी नन् ग्रेडेड हुनु भनेको राम्रो नभएको बताउँछन् । उनी यो संख्या निकै धेरै रहेको दाबी गर्छन् । योभन्दा अर्को चुनौतीको कुरा झण्डै ४० प्रतिशत एसईई दिने विद्यार्थी बीचमा हराउँदा पनि कसैले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि राखे ।  २०७२ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीले २०८२ सालमा एसएईई दिएका थिए । जबकि त्यो बेला ९ लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तर कक्षा १० को परीक्षा हुँदा करिब ४ लाख विद्यार्थी बिचबाटोमा हराएका छन् । ‘हामीले नतिजामा सुधार आयो भन्दै गर्व गरिराख्दा ४० प्रतिशत विद्यार्थी बीचमा हराए । यो विषयमा न हामी शिक्षामा चासो राख्नेले खोजी गर्यौं न जिम्मेवार तहमा रहेका व्यक्तिले खोजी गरे, यो तीतो यथार्थ हो,’ कार्कीले भने। उनी यो विषयमा तीनै तहका सरकारले काम गर्नुपर्ने बताउँछन् । यदि सुधार हुने हो भने २० प्रतिशतको हिसाबले सुधार हुनुपर्ने बताउँछन् । कार्की भन्छन्, ‘जसरी कक्षा ८ भनेको आधारभूत तह हो कक्षा १० भनेको माध्यामिक शिक्षको तह होइन एउटा कक्षामात्र हो यसलाई अरू वार्षिक परीक्षा जस्तै सामान्य रुपमा लिइनुपर्छ, यसलाई कुनै बोर्डले लिनुपर्ने परीक्षा होइन ।’  उनी कक्षा १० मा ६६ प्रतिशत नभई झण्डै ९०/९५ प्रतिशत विद्यार्थी पास हुनुपर्ने बताउँछन् । 

एसईई नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ सजिलो तरिका

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/८३ को एसईई नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले अन्तिम तयारी गरिरहेको र गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै वेबसाइट डाउन हुने समस्याबाट बच्न ३५००१ सर्टकोडमार्फत एसएमएसबाटै नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार पारिएको कम्पनीले जनाएको छ । स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले सन् २०१० देखि नेपालमा नतिजा हेर्ने डिजिटल प्रणालीको विकास गर्दै आएको छ । सुरुवातमा क्याम्पस स्टार्टअपका रूपमा सुरु भएको यो सेवा अहिले राष्ट्रिय डिजिटल पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बनेको छ । पहिले नतिजा थाहा पाउन गोरखापत्र कुर्नुपर्ने वा साइबर क्याफे जानुपर्ने बाध्यता रहेकोमा स्प्यारोले इन्टरनेट बिना नै सामान्य मोबाइलबाट एसएमएसमार्फत नतिजा हेर्ने सुविधा उपलब्ध गराउँदै आएको छ । स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले विद्यार्थीको तनावपूर्ण समयमा सहज सेवा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार देशका जुनसुकै स्थानमा रहेका विद्यार्थीले ३५००१ सर्टकोडमार्फत सजिलै नतिजा प्राप्त गर्न सक्नेछन् । एसएमएसबाट एसईई २०८३ को नतिजा हेर्ने तरिका : मोबाइलको मेसेज (SMS) एप खोल्नुहोस् नयाँ मेसेजमा SEE <स्पेस> आफ्नो सिम्बोल नम्बर टाइप गर्नुहोस् उक्त मेसेज ३५००१ मा पठाउनुहोस्

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक हुने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असार पहिलो साता नै नतिजा सार्वजनिक हुने तय थियो । तर, गत चैत २० गतेदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको मूल्यांकन बहिष्कारका कारण उत्तरपुस्तिका परीक्षण ढिला भइ नतिजा सार्वजनिक मिति पछाडि धकेलिएको हो । ‘शिक्षकहरूको आन्दोलनले परीक्षण प्रक्रियामा ढिलाइ भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा आउन सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाइएको छ । केही स्थानमा अझै परीक्षण भइरहेकाले ती काम सकिएपछि इन्ट्री, रुजु र त्रुटि सच्याएर नतिजा प्रकाशित गर्नेछौं’, उनले स्पष्ट पारे । एसईई परीक्षा चालु वर्षको चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ ।

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । २०८० को एसईई परीक्षाको नतिजाका विषयमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह, अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको जानकारी दिइन् । ५२ प्रतिशत विद्यार्थीहरु ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनैपनि संयन्त्र उम्कने ठाँउ नभएको बताइन् । उनले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको दाबी गरिन् । हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताइन् । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी रहेको जानकारी दिइन् । उनले प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले समान रुपमा खर्च गर्नेगरी कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्ने बताइन् । विद्यालयहरुले परीक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउने बनाउन आवश्यक रहेको बताइन् । नियम कार्यान्वयन गर्नुपर्ने निकाय र व्यक्तिहरु विद्यालय शिक्षा सुधारको लागि कार्यान्वयनको निर्मम हुनुपर्ने बताइन् । राजनीतिमा लागेको शिक्षकलाई प्रदेश,स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्ने बताइन् । अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई नभएको जानकारी दिइन् । ‘एसईईको रिजल्टको जिम्मेवारी सबैले लिनुपर्छ, पाठ्यक्रमलाई सुभारको लागि(रिभाईज) गर्नको लागि कार्ययोजना माग गरेको छ, अर्थमन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी छ, प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले व्यहोर्ने हो भने कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्नसक्छौं’, उनले भनिन् । उनले एसईई नितिजाको जिम्मेवारी सबैले लिनुपर्ने बताइन् ।

एसईई नतिजा प्रकाशनको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी थालेको छ । यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । रुजु गर्ने र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनको भनाइ छ । करिब ३ दिनको हाराहारीमा सबै टुंगो लाग्ने उनले बताए । गत चैत १४ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी थिए ।

एसईई नतिजा यसै साताभित्र आउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ ।

एसईई नतिजा: बाल मनोविज्ञानमाथिको ‘मजाक’

काठमाडाैं । माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै प्रभाव पर्ने किसिमको प्रतिक्रिया आइरहेको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन्  । “नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षमा मूल्याङ्कन चाहीँ मजाक बनाउनु दुःखद् छ” भट्टराई भन्छन्, “हामीले राम्ररी परीक्षा लेखाएर परीक्षाफल पठाएका हौँ । प्रश्नपत्र अहिले पनि हेर्न सकिन्छ । यति हुँदाहुँदै पनि परीक्षाफल शून्य भएको कसरी मान्न सकिन्छ ?” उत्कृष्ठ र मेधावी विद्यार्थीका लागि भने आन्तरिक मूल्याङ्कन चित्तबुझ्दो मापदण्ड नभएपनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएजस्तो नभएको भट्टराई बताउँछन् । उनका अनुसार विद्यार्थीको अध्ययन र क्षमताकै आधारमा परीक्षाफल विद्यालयले पठाएको हो । हुन त एसइईको मापदण्ड विगतमा पनि परीक्षाफल प्रकाशित हुँदा बढी र अरू बेला कम हुने गरेको थियो । केही वर्षअघि प्रवेशिका परीक्षा एसएलसीलाई अहिले एसइईमा रुपान्तरण गरिएको हो । परीक्षाको नाम भिन्न भएपनि परीक्षाको ढाँचा एकै किसिमको छ । एसएलसीमा दिइने श्रेणी (डिभिजन) लाई एसइर्ईमा ग्रेडिङका रूपमा प्राप्ताङ्क दिइन्छ । समय परिस्थितिअनुसार मूल्याङ्कन गर्ने पद्दतिको ढाँचामा परिवर्तन भएको बताउँछन् महेन्द्र रत्न बहुमुखी क्याम्पसका शिक्षा अर्थशास्त्र सङ्कायका उपप्राध्यापक पूर्णप्रसाद ढुङ्गाना । “एउटा विद्यालयले आफ्ना विद्यार्थी दशौं वर्षदेखि मूल्याङ्कन गरेको छ । एकैदिनमा १२ घण्टासम्म शिक्षक–विद्यार्थी सँगै रहेर अध्ययन गरेका छन्,” ढुङ्गाना भन्छन्, “तल्लो कक्षामा यही मूल्याङ्कन वैज्ञानिक ठहरिने र माथिल्लो कक्षा १० मा भने अवैज्ञानिक ठहरिने हुँदैन ।” ढुङ्गाना एउटै परीक्षाले विद्यार्थीको भविष्य किटान गर्न नसकिने भएकाले अनावश्यक प्रतिक्रियाले विद्यार्थीको मस्तिष्कमा समस्या उत्पन्न हुनसक्ने बताउँछन् । विशेष परिस्थितिले एसइई परीक्षा गराउन नसकिएपनि समयानुसारको उत्कृष्ठ ढाँचा रहेको शिक्षा सरोकारवालाको भनाइ छ । कतिपय शिक्षा सरोकावाला भने तीन घण्टा परीक्षा लेखेका भरमा विद्यार्थीको मूल्याङ्कन गरिनु दुःखद् प्रणाली रहेको बताउँछन् । विगतका परीक्षा प्रणाली पनि वैज्ञानिक नभएकाले अहिलेको मापदण्ड नै प्रभावकारी नभएको नेपाल शिक्षक सङ्घका प्रदेश नं। १ का अध्यक्ष पूर्ण गौतम बताउँछन् । “शिक्षकले विद्यार्थी सबै पक्ष बुझेरै मापदण्ड बनाएका हुन्छन् । त्यसैले यसलाई हचुवाको भरमा नकारात्मक टिप्पणी गर्न मिल्दैन” गौतमले भने, “यस्ता टिप्पणीले बालबालिकाको बालमनोविज्ञान र मनो­सामाजिक प्रभाव पर्छ ।” बाहिरी टिकाटिप्पणीले बालमनोविज्ञानमा असर गर्ने भन्दै यसबाट सचेत भएर अघि बढ्न शिक्षा कार्यालयले भनेको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शम्भु थापामगरले अघिल्लो वर्षको परीक्षाफल, आन्तरिक परीक्षा, आवधि परीक्षाका आधारमा एसइईको मूल्याङ्कन गरिएको बताए । परिस्थितिजन्य परीक्षाका रूपमा एसइर्ईको परीक्षा भएकाले यसबाट सबै परीक्षाको मूल्याङ्कन हुन नसक्ने उनको भनाइ छ । “केही विद्यालयले परीक्षाको मूल्याङ्कनमा तलमाथि गरेका होलान्”, मगरले भने, “यसो भन्दैमा सबै विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकालाई यसरी मुछ्नु हुँदैन ।”

एसईई नतिजा प्रकाशनमा सरकारको चरम लापरबाही, १४ हजार विद्यार्थीको रिजल्ट आएन

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको माग छ । ‘भर्खरै मात्र प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्,’ उनले भने ‘यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ ।’ प्राविधिक तथा अन्य जुनसुकै पक्षको गल्ति भएको पनि त्यसलाई छानविनको दायरामा ल्याउनु पर्ने उनकोे धारणा छ । त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रत्येकदिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिन फरक रिजल्ट देखिएको छ ।’ नतिजा प्रकाशनमा यतिका विघ्मान समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? सहजै अनुमान लगाउन सकिने उनले बताए । उनका अनुसार विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग र परीक्षा बोर्ड गम्भिर छैनन् । ग्रेड सिस्टमका पनि आफ्नै प्रकारका नियमहरु हुन्छन् । देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टममा ल्याइएको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । ‘कक्षा ९ र १० को परीक्षाकोबीच कुनै भिन्नता छैन । परिणाममा मात्रै फरक देखाएर हुन्छ ?’, उनको प्रश्न छ । ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो क्रममा छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ,’ उनले भने ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएनका छैनन् ।’ यस सम्बन्धमा शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ । र दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’ कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

एसईई नतिजामा लापारबाही: परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन । नेपाल समाचारपत्रबाट ।

एसईई नतिजा खस्कियो, १ लाख विद्यार्थी ११ कक्षा भर्ना हुनै मुस्किल

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी नजिकै माध्यमिक शिक्षा परीक्षा (सईई) को नतिजा हेर्दै छात्रहरु । एसईई परीक्षा दिएकामध्ये एक लाखभन्दा बढी विद्यार्थीको भर्ना मापदण्ड पूरा नहुने पाइएको छ । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुनसुकै विषय पढ्न पनि अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य सामाजिकमा त्यसभन्दा तल डी र ई ल्याउने १ लाख ६ हजार ४ सय ६४ विद्यार्थी छन् । अंग्रेजीमा डी र ई ल्याउने ६५ हजार ७० र नेपाली विषयमा ६५ हजार छन् । सामाजिक विषयलाई मात्रै आधार मान्ने हो भने परीक्षा दिएका ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थीमध्ये ३ लाख ३९ हजार एक सय जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् । यसमा १.६ भन्दा कम जीपीए ल्याउने ६९ हजार, बीचैमा परीक्षा छाडेका र परीक्षा रद्द गरिएका विद्यार्थी जोडिएको छैन । गतवर्ष ४ लाख ३७ हजार विद्यार्थीले परीक्षा दिएकामा १ लाख १२ हजारले सामाजिकमा डीभन्दा कम ग्रेड ल्याएका थिए । गतवर्ष परीक्षा दिएकामध्ये ३ लाख ४८ हजार अर्थात ८० प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना भएका छन् । यसमा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्नुअघि श्रेणीका आधारमा पास गरेका विद्यार्थी पनि भर्ना भएका छन् । गतवर्ष भर्ना भएको संख्यालाई आधार मान्ने हो भने यसवर्ष ३ लाख ५० हजार हाराहारी मात्रै ११ कक्षामा भर्ना हुन योग्य हुनेछन् । भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ । विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ । त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न पनि अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ । त्यसबाहेक तीन सय पूर्णांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ । व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ । गत चैतमा भएको परीक्षामा ४ लाख ४५ हजार ५ सय ६४ जनाले परीक्षा दिएकामा १२ हजार २ सय ८४ जनाले ३.६५ देखि ३.६० जीपीए ल्याएका छन् । यो गतवर्षभन्दा १.०१ प्रतिशत कम हो । गतवर्षभन्दा यसपालि परीक्षा दिने विद्यार्थी संख्या ८ हजार २ सय ३८ जना बढी छन् । यसको आधारमा यो समूहमा पर्ने विद्यार्थीको संख्या बढ्नुपर्नेमा झन् घटेको छ । यसलाई आधार मान्ने हो भने मुलुककै शैक्षिक गुणस्तर गतवर्षको भन्दा खस्किएको पुष्टि हुन्छ । यसबाहेक अन्य समूहमा भने गतवर्षको भन्दा सुधार भएको छ । ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५० प्रतिशत रहेकोमा यसपालि ९.५२ पुगेको छ । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११.११ प्रतिशत रहेकोमा यसपालि १३.९० प्रतिशत पुगेको छ । कान्तिपुर दैनिकबाट ।