रोष्ट्रममै भावुक बने गृहमन्त्री : ‘रातभर प्रयास गर्यौं, गणेशलाई बचाउन सकेनौं’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्ने क्रममा भावुक बनेका छन् । आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि संसद्मा बोल्दै उनले घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको बताए । संसद्को रोष्ट्रममा उक्लिएपछि केहीबेर उनी बोल्न नसकी भावुक बनेका थिए । आँखा रसाएपछि उनले केही क्षण आफूलाई सम्हाल्ने प्रयास गरे र त्यसपछि मात्रै आफ्नो धारणा राखे ।  गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन अन्तिमसम्म प्रयास गरेको उल्लेख गर्दै उपचारका लागि रातभर सबै संयन्त्र परिचालन गरिएको बताए । ‘रातभर खटियौं, उपचारका लागि सबै प्रयास ग¥यौं। तर, दुर्भाग्यवश गणेशलाई बचाउन सकेनौं,’ उनले भने ।  उनले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गर्दै जनताको सेवामा व्यवहारिक रूपमा काम गर्नुपर्नेमा जोड दिए । ‘संसद्मा ठूलो स्वरले बोल्दैमा मात्रै जनताको सेवा हुँदैन । जनताको पक्षमा बोलेको धेरै दशक भइसक्यो । अब काम गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘म यहाँ कसैलाई प्रभावित पार्न वा स्टन्ट गर्न आएको होइन । देश र जनताको सेवा गर्ने जिम्मेवारी पूरा गर्न आएको हुँ ।’ गृहमन्त्रीले घटनासँग जोडिएको ’ह्विल लक’ विवादबारे पनि स्पष्टिकरण दिएका छन् । उनका अनुसार गणेश नेपालीले प्रयोग गरिरहेको मोटरसाइकलमा नेपाल प्रहरीको ट्राफिकले होइन, काठमाडौं महानगरको नगर प्रहरीले ह्विल लक लगाएको थियो ।  ‘घटना भएको स्थानमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको होइन । त्यो नगर प्रहरीले गरेको हो,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकार कसको नेतृत्वमा छन् भन्ने पनि सबैलाई थाहा छ । त्यसैले तथ्य नबुझी गृह मन्त्रालयमाथि मात्र दोषारोपण गर्नु उचित हुँदैन ।’ उनले केही सांसदले संसद्मा कडा अभिव्यक्ति दिएकोप्रति संकेत गर्दै पीडित परिवारको साथमा व्यवहारिक रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए ।  ‘हामी गृह मन्त्रालयमा बसेर पीडित परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेका थियौं । अस्पतालमा पुगेर अवस्था बुझ्नेभन्दा संसद्मा ठूलो स्वरले बोल्ने प्रवृत्तिले समाधान दिँदैन,’ उनले भने, ‘पीडा अनुभूति गरेर काम गर्नुपर्छ । जनताको सेवामा लागेकालाई ‘स्टन्टबाजी’ को आरोप लगाउनु उचित होइन ।’ मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो ।  भक्तपुरमा परिवारसँग बस्दै आएका गणेश राइड–सेयरिङ एपमार्फत मोटरसाइकल चालकको रूपमा काम गर्दै आएका थिए । आफूले पार्किङमा राखेको मोटरसाइकल नगर प्रहरीले ह्विल लक गरी नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् । उनले सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही हुने बताए । उनले ती जना नगर प्रहरीलाई पनि नियन्त्रणमा लिइएको बताएका छन् ।   

संसदमा आलोचना, सडकमा प्रदर्शन

काठमाडौं । गणेश नेपालीको आत्मदाह प्रकरणमा विभिन राजनीतिक दलका नेता तथा सांसदहरुले सरकारको आलोचना गरेका छन् । मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार निधन भएको हो ।  भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि बिहीबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए । यो विषयमा संसद्मा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षणसँगै आलोचना पनि गरेका हुन् । यो विषयमा युवाहरु पनि विरोधका लागि सडकमा निस्किएका छन् ।  उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरिरहेका छन् । शुक्रबार प्रदर्शनकारीहरु आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका थिए ।  उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको छ ।  संसदमा पनि यो विषयमा व्यापक विरोध र आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक कवितासँगै सरकारप्रति कटाक्ष गरेका हुन् ।  ‘२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका एउटा २५ बर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।’ उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् । ‘उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन्,’ उनले भनेका छन् ‘आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ ।’ नेपाली कांग्रेसकै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेशले बाध्य भएर आत्मदाहको प्रयास गरेको बताएकी हुन् । संसद बैठकमा बोल्दै उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण त्यतिखरे बालेन बालेनले लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरिन् ।  बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । ‘गणेश नेपाली भाइप्रति एकदमै गम्भीर जुन घटना घट्यो यसमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘अबदेखि कुनै नेपालीहरूले यसरी आत्मदाह गर्नु नपरोस् ।’ यस्तै, शुक्रबार प्रतिनिधिसभामा बैठकमा श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् । ‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकको परिवारलाई राहत दिन अनुरोध गर्दछौं ।’ नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले पनि आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पनि बालेनको प्रेमराज आचार्यको आत्मदाहमा लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरेका छन् ।  नेकपा एमालेले पनि नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण जनतासामु असफल बन्दै गएको आरोप लगाइएको छ । राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ । यस्तै, शुक्रबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको निधनको कारण राज्यको नीति भएको बताएका छन् । ट्राफिक जरिवानाको नीतिका कारण नेपालीले आत्मदाह गरेको उनले बताए ।  यहाँनेर उनले प्रश्न गरे, ‘काठमाडौं धनीहरूको मात्रै हो ?’ राज्यको नीति, मन्त्रिपरिषद्का निर्णय हेर्दा सरकार धनीहरूको पक्षमा रहेको र गरिबहरूको पक्षमा नरहेको थाहा लाग्ने बताए । कर युरोप र अमेरिकाको जस्तो लिने तर सुविधा नदिने अवस्था रहेको उनको भनाइ छ । काठमाडौंमा गरिबलाई बस्न गाह्रो भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।  

ह्विल लकको आतंक, हजारको लोभ

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह प्रयास गरे । बिहीबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तत्कालै नेपालीलाई घटना वरपर भएका केही प्रहरी र व्यक्तिले उद्धार गरेर वीर अस्पताल पुर्‍याएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका नेपालीको आज बिहान मृत्यु पनि भइसकेको छ ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरीले विभाग अगाडि गेटमा नेपाली उभिएपछि केहीबेर मोटरसाइकल चालक नेपाली र नगर प्रहरीबीच भनाभन भएको थियो । सार्वजनिक स्थानमा पार्किङ गर्न नहुने भन्दै चालकसँग नगर प्रहरीले विवादसमेत गरेका थिए । मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय बिहीबार (२५) गते नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए । उनी काठमाडौंमा राइड सेयरिङ गर्दै गुजारा गरिरहेका थिए । उनी हिमाली जिल्ला मुगुबाट काठमाडौं उपत्यकामा फरक जीवनशैली बाँच्ने लालसा बोकेर उपत्यका आएका थिए । राज्य अभिभावक बन्ला र सुखका दिनमा परिवारसँग बिताउन पाइने आशामा संघर्ष गर्न राजधानी भित्रिएका थिए । त्यहीँ राजधानीभित्र अभिभावक रक्षक हुनुपर्नेमा भक्षक बन्दा नेपालीले ज्यानसमेत गुमाए । बाइकमा ह्वील लकबाट सुरु भएको विवाद आज राज्यको विवेकमा लक लागेको छ । नेपालीको मृत्युले समग्र राज्य प्रणालीको करूण र विवेकमा लक लाग्दा सोच्न बाध्य बनाएको छ । पछिल्लो केही वर्षयता काठमाडौं महानगरपालिकाले सहरलाई सुन्दर र व्यवस्थित बनाउने अभियान चलाएको छ । अव्यव्यवस्थित पार्किङ गर्न नदिने र त्यस्ता सावरीसाधनलाई तुरुन्त कारबाही गर्ने गरेको छ । काठमाडौंका चोक र गल्लीमा नगर प्रहरीदेखि ट्राफिक प्रहरीलाई देख्न सकिन्छ । अनुशासन सिकाउन बसेका भन्दा पनि उनीहरू नागरिकलाई त्रासमा राख्न ज्यान लिन बसेका जस्ता देखिन्छन् । जसले सडक सुरक्षाभन्दा नागरिकलाई त्रसाउन बसे जस्तो आभास दिलाउने गरेका छन् । भाषाशैलीमा मिठास भन्दा पनि पैसा संकलन पहिलो प्राथमिकतामा पर्ने गरेको छ । मुलुककै बागडोर सम्हालेका बालेन्द्र शाह यतिखेर प्रधानमन्त्री छन् । उनको गीतमा कोरस साउन्ड 'गरिबको चमेली बोल्दिने कोही छैन'  खुबै चर्चा पायो । जुन गीतले सामाजिक क्षेत्रको विकृति र विसंगतिलाई उजागर गरेको थियो ।  शाह समाजमा पछाडि परेका, निमुखा र गरिब वर्गको पीडा सुनिदिने वा उनीहरूको पक्षमा बोल्दिने गीतको सहाराले नेपाली राजनीतिमा भनौं वा सत्ताको आसनमा छन् । तीनै गीतका मर्म बुझ्न र सुन्न सक्ने प्रधानमन्त्री भएका मुलुकमा नेपालीले ज्यान गुमाउँदा एक शब्द स्टाटस लेख्न भ्याएका छैनन् । सिंहदरबारबाट केही किलोमिटर परमात्र रहेको वीर अस्पतालमा सान्त्वनाका निम्ति उपस्थित हुन सकेका छैनन् ।  जुनबेला प्रधानमन्त्री हुँदै थिए सोही समयमा उनी युवाले सबैभन्दा बढी रुचाएका व्यक्तिमा परेका थिए । आज एक युवा सदाका लागि सुतिरहँदा सिंहदरबारबाट वीर अस्पतालको भीडलाई कालो चस्माले हेरिरहेका होलान् ! कुनै समय उनी पनि काठमाडौं महानगरका प्रमुख थिए । जुनबेला नगर प्रहरीलाई सक्रिय बनाएर तथा उनीहरूको कामबाट वाहावाही बटुलेका थिए ।  आजै तिनै नगरप्रहरी अथवा ट्राफिक प्रहरीले सडकमा चालकलाई कारबाही गर्नु शिक्षा र ज्ञान दिन बसेका ठान्नेले अन्याय गर्दा बोल्न र शब्द लेख्न भ्याएनन् । राज्यले भने जरिवानाबापतको एक रसिद शिक्षा र ज्ञानको ठूला ग्रन्थ ठानिरहेको छ ।  स्थानीय सरकारदेखि केन्द्रीय सरकारले राजश्व संकलनलाई विकासको मुख्य स्तम्भ मानिरहेको छ । राज्यभित्र सबैभन्दा पहिले नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सुरक्षित ठानिनुपर्छ । सबैभन्दा पहिले राज्य उपस्थित हुने भनेको सडक र सार्वजनिक स्थानमा हो । सडकमा ट्राफिक प्रहरी वा नगर प्रहरीदेखि डराएर भाग्नुपर्ने अवस्था छ । पार्किङ गरेका सवारीसाधानलाई ट्राफिक प्रहरी र नगर प्रहरी गाडी लिएर आउँछ टपक्क टिपेर बग्गी कारखनामा पुर्‍याएपछि एक हजारको रसिद थमाउँछ । त्यहीँ राजश्वको लोभले आज गणेश नेपाली आगोमा लतपतिएर ज्यान गुमाउन बाध्य भए । सडकको किनारामा जीवन बाँच्न खोज्नेहरू राज्यबाट अपहेलित र मारिन बाध्य भएका छन् । कोही सडक किनारा रहेको खोलामा हाम फाल्छन त कोही भने सडकमै जल्न बाध्य भएका छन् ।  केही वर्षअघि बानेश्वरमा सडक अगाडि प्रेम आचार्यले आत्मदाह गरेका थिए । मुलुकमा राज्य हराएको सरकार पैसा उठाउन व्यस्त छ । नागरिकहरू ज्युँदै जल्दा राज्य पहिलो नभइ पैसा हुन थालेको छ ।  गणेश नेपालीको मृत्यु प्रकरणमा जीविकोपार्जनका निम्ति संघर्ष गरिरहेका नागरिकलाई अपराधी झैं व्यवहार गर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने पूर्वमन्त्री तथा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले बताएका छन् ।  ‘गरिब र असहाय परिवारलाई विकल्पबिना विस्थापित गर्नु, र उनीहरूलाई निराशाको यस्तो मोडमा पुर्याउनेलाई स्वीकार्न नसक्ने उनले बताएका छन् ।  सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई कठोर निर्णय लिनुअघि त्यसको मानवीय प्रभावबारे पनि गम्भीरतापूर्वक सोच्न तामाङले आग्रह गरेका छन् । राज्य गरिबमुखी होस् भनेर त्यत्रा आन्दोलन गरेका जनताले आज फेरि गरिबमारा सरकार बेहोर्नु परेको पत्रकार नारायण वाग्लेले बताएका छन् । ‘अहिले राज्यको व्यवहारले शब्दहरू आफै शक्तिहीन भएका छन्,’ उनले भने । काठमाडौंमा दुःख गरेर जीविका चलाउने मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली दिएर मात्र नपुग्ने उनको भनाइ छ । ‘क्षमायाचनाले पनि पुग्दैन । रवैया फेर, नभए फेरिन तयार होऊ,’ उनले थप अगाडि भने । काठमाडाैं महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका गणेश नेपालीले ज्यान गुमाएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन् ।  ‘स्थानीय र केन्द्रीय सरकारबाट सवारीसाधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताणित बन्ने गरेका छन्,’ उनले भनेका छन्, 'के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? खोइ नि:शुल्क पार्किङको व्यवस्था काठमाडाैं मा ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने होला नि ।' पार्किङलाई अपराधिककरण गर्ने पर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ? उनले प्रश्न गरेका छन् । सांसदहरु र नेताहरूले गरे आलोचना गणेश नेपालीको आत्मदाह प्रकरणमा विभिन्न पार्टीका नेता तथा सांसदहरूले पनि सरकारको आलोचना र आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक कवितासँगै सरकारप्रति कटाक्ष गरेका हुन् । ‘२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका एउटा २५ वर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।’ उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् । ‘उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन्,’ उनले भनेका छन् ‘आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ ।’ नेपाली कांग्रेसकै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेशले बाध्य भएर आत्मदाहको प्रयास गरेको बताएकी हुन् । संसद बैठकमा बोल्दै उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण त्यतिखरे बालेन बालेनले लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरिन् ।  बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । ‘गणेश नेपाली भाइप्रति एकदमै गम्भीर जुन घटना घट्यो यसमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘अबदेखि कुनै नेपालीहरूले यसरी आत्मदाह गर्नु नपरोस् ।’ यस्तै, शुक्रबार प्रतिनिधिसभामा बैठकमा श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् । ‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकको परिवारलाई राहत दिन अनुरोध गर्दछौं ।’ नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले पनि आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पनि बालेनको प्रेमराज आचार्यको आत्मदाहमा लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरेका छन् ।  नेकपा एमालेले पनि नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण जनतासामु असफल बन्दै गएको आरोप लगाइएको छ । राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ । यस्तै, शुक्रबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको निधनको कारण राज्यको नीति भएको बताएका छन् । ट्राफिक जरिवानाको नीतिका कारण नेपालीले आत्मदाह गरेको उनले बताए ।  यहाँनेर उनले प्रश्न गरे, ‘काठमाडौं धनीहरूको मात्रै हो ?’ राज्यको नीति, मन्त्रिपरिषद्का निर्णय हेर्दा सरकार धनीहरूको पक्षमा रहेको र गरिबहरूको पक्षमा नरहेको थाहा लाग्ने बताए । कर युरोप र अमेरिकाको जस्तो लिने तर सुविधा नदिने अवस्था रहेको उनको भनाइ छ । काठमाडौंमा गरिबलाई बस्न गाह्रो भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।