कागजात पूरा भए २४ घण्टामै दाबी भुक्तानी
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगार बीमा दाबी भुक्तानीमा ढिलासुस्ती भएको भन्दै बीमितहरूबाट गुनासो बढिरहँदा बीमा कम्पनीहरूले भने भुक्तानी प्रक्रियामा कुनै समस्या नरहेको दाबी गरेका छन् । वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका अधिकांश जीवन बीमा कम्पनीहरूले भुक्तानी सहज रूपमा भइरहेको दावी गरेका हुन् । एशियन लाइफ इन्स्योरेन्सका क्लेम विभाग प्रमुख प्रकाश खनाल कम्पनीमा वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीमा अनावश्यक ढिलाइ नहुने बताउँछन् । उनका अनुसार दाबी प्रक्रिया सुरु गर्दा नै आवश्यक कागजातबारे बीमित वा हकवालालाई स्पष्ट जानकारी गराउने गरिएको छ। ‘सुरुमै आवश्यक डकुमेन्ट स्पष्ट रूपमा बताइदिन्छौँ, उहाँहरूले सबै कागजात पेस गरिसकेपछि हामीले अध्ययन गरेर भुक्तानी गर्छौं,’ उनले भने । खनालका अनुसार आवश्यक कागजात अपुग भएमा त्यसलाई पुनः माग्नुपर्ने भएकाले दाबी भुक्तानीमा केही ढिलाइ हुन सक्छ । त्यस्तै, दाबी भुक्तानीका लागि उपलब्ध गराइएको बैंक खाता नम्बर नमिलेमा पनि प्रक्रिया लम्बिन सक्ने उनले बताए । ‘उहाँहरूले दिएको एकाउन्ट नम्बर नमिलेमा पनि ढिला हुन सक्छ, नभए त्यस्तो अन्य अवस्थामा भुक्तानी ढिला हुँदैन,’ उनले भने । खनालका अनुसार जीवन बीमामा निर्जीवन बीमाको तुलनामा झुटा दाबीको सम्भावना कम हुने भएकाले दाबी भुक्तानीमा पनि त्यस्तो समस्या कम हुन्छ । विशेषगरी वैदेशिक रोजगार बीमामा मृत्युको दाबी हुने भएकाले दाबीको वास्तविकता पुष्टि गर्न पनि तुलनात्मक रूपमा सहज हुने उनको भनाइ छ । ‘मृत्यु भएको विषयमा झुटो दाबी गर्ने सम्भावना कम हुन्छ, निर्जीवन बीमामा सामान बिग्रिएको वा मर्मत गरिएको विषयमा विवरणमा हेरफेर गर्न सकिने सम्भावना हुन्छ, यसलाई भेरिफाई गर्न समय लाग्न सक्छ,’ उनले भने । उनका अनुसार जीवन बीमामा कसैको मृत्यु भएको हो भने त्यसको पुष्टि गर्न तुलनात्मक रूपमा धेरै समय लाग्दैन । सन् नेपाल लाइफ इन्स्योरेन्सले पनि कम्पनीमा वैदेशिक रोजगार बीमासहित अन्य बीमाको दाबी भुक्तानी प्रक्रिया सहज रहेको जनाएको छ । कम्पनीका सूचना अधिकारी गणेश चौलागाईंले दाबीसम्बन्धी फाइल दर्ता भएपछि आवश्यक प्रक्रिया पूरा गरी छोटो समयमै भुक्तानी गर्ने गरिएको जानकारी दिए । उनका अनुसार कम्पनीमा हाल कुनै पनि दाबी भुक्तानी बाँकी छैन । उनले कम्पनीले जानीजानी दाबी भुक्तानी नरोक्ने स्पष्ट पार्दै आवश्यक कागजातको अभाव वा हकवालाको पहिचानमा समस्या हुँदा भने भुक्तानी प्रक्रियामा ढिलाइ हुन सक्ने औंल्याए । ‘मृतकको श्रीमती नभएको अवस्थामा बुवा–आमालाई दाबी रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा नाता प्रमाणित गर्ने कागजात नहुँदा वा मृतकसँगको सम्बन्ध स्पष्ट नखुल्दा दाबी भुक्तानीमा समस्या आउन सक्छ,’ उनले भने । वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीको वास्तविक अवस्था बुझ्न नेपाल बीमा प्राधिकरणको तथ्यांक तथा प्रतिवेदनलाई आधार बनाउनुपर्ने उनको सुझाव छ । वैदेशिक रोजगार बीमाको दाबीलाई अन्य बीमाको दाबीबाट छुट्ट्याएर विश्लेषण गरेमा कुन कम्पनीमा कति दाबी भुक्तानी हुन बाँकी छ भन्ने वास्तविक अवस्था स्पष्ट हुने उनले बताए । चौलागाईंका अनुसार वैदेशिक रोजगार बीमाको पोलिसीमा श्रमिकको जुनसुकै कारणले मृत्यु भए पनि जोखिम बहन हुने व्यवस्था रहेकाले सामान्य अवस्थामा दाबी भुक्तानी रोकिने वा अड्किने सम्भावना कम हुन्छ । साथै दाबी भुक्तानीको प्रक्रिया अहिले पूर्ण रूपमा डिजिटलाइज भइसकेकाले पनि भुक्तानी प्रक्रियालाई सहज बनाउन सहयोग पुगेको उनले बताए । सिटिजन लाइफ इन्स्योरेन्स पनि कम्पनीमा वैदेशिक रोजगार बीमालगायत कुनै पनि प्रकारका बीमा दाबी भुक्तानीमा समस्या नभएको दावी गरेको छ । कम्पनीले हरेक महिनाको दाबी भुक्तानी विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार आफ्नो वेबसाइटमा ‘ट्रान्सपरेन्सी ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । उक्त ड्यासबोर्डमार्फत कुन दाबी कुन चरणमा छ, कति रकम भुक्तानी भयो, कति दाबी फर्स्यौट भए र कति फर्स्यौट हुन बाँकी छन् भन्ने विस्तृत विवरण बीमितले सहजै हेर्न सक्छन्। कम्पनीले साउन महिनासम्मको दाबी भुक्तानीसम्बन्धी विवरण अद्यावधिक गरिसकेको जनाएको छ । बीमा जुन उद्देश्यका लागि खरिद गरिएको हो, सोहीअनुरूप समयमै गुणस्तरीय सेवा दिनुपर्छ भन्ने मान्यताका साथ काम भइरहेको सिटिजन लाइफले दाबी गरेको छ । त्यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि आफ्नो कम्पनीमा वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीमा कुनै समस्या नरहेको जनाएको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोरप्रसाद लामिछानेले वैदेशिक रोजगार बीमाको दाबी भुक्तानीलाई लिएर गुनासो आफूले पनि सुनको भएपनि आफ्नो कम्पनीमा त्यस्तो समस्या नरहेको दाबी गरे । यद्यपि अन्य कुनै कम्पनीमा दाबी भुक्तानीसम्बन्धी समस्या हुन सक्ने उनले औंल्याए । ‘कहीँ न कहीँ दाबी भुक्तानीको समस्या नभई यो विषय पक्कै उठेको होइन होला । यद्यपि, हाम्रोतर्फबाट कहिल्यै पनि तपाईंहरूले कम्प्लेन्ट सुन्न पाउनुहुन्न,’ उनले भने । उनका अनुसार प्रभु महालक्ष्मी लाइफले आवश्यक कागजात पेस भएको २४ घण्टाभित्रै वैदेशिक रोजगार बीमाको दाबी भुक्तानी सेटल गर्दै आएको छ । ‘ओभरअल कुरा गर्ने हो भने हाम्रो ९८ प्रतिशत क्लेम सेटल भएको छ,’ उनले भने । बीमा जुन उद्देश्यका लागि गरिएको हो, सोहीअनुसार जोखिम परेको समयमा बीमित वा उनका परिवारले लाभ पाउनुपर्ने उनको भनाइ छ । परिवारको आर्थिक अवस्था जोखिममा नपरोस् भन्ने उद्देश्यले नै बीमा गरिने भएकाले दाबी भुक्तानीलाई कम्पनीले प्राथमिकतामा राखेको उनले बताए । ‘मानिसले जुन उद्देश्यका लागि बीमा गरेको हो, त्यो उद्देश्य पूरा हुनुपर्छ । परिवार आर्थिक रूपमा विचलित नहोस् भनेर नै बीमा गर्ने हो । त्यसैले दाबी परेको अवस्थामा समयमै भुक्तानी होस् भन्नेमा हामी सचेत छौं,’ डीसीईओ लामिछानेले भने । त्यस्तै, वैदेशिक रोजगार बोर्डका प्रवक्ता भूपेन्द्र सापकोटाले वैदेशिक रोजगार बीमाको दाबी भुक्तानी, त्यसमा देखिएका चुनौती र समाधानका उपायबारे श्रम मन्त्रालयमा बीमा कम्पनीहरूसँग छलफल भएको जानकारी दिए । उनका अनुसार छलफलमा दाबी भुक्तानीलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विषयमा कम्पनीहरूबीच सहमति जुटाउने प्रयास गरिएको थियो । विशेषगरी दाबी भुक्तानी प्रक्रियालाई सरल बनाउने, कभरेजको दायरा विस्तार गर्ने र तोकिएको समयभित्र भुक्तानी गर्ने विषयमा समझदारी भएको उनले बताए । ‘अहिले उहाँहरूले एउटा एग्रिमेन्ट गर्नुभएको छ । कभरेज बढाउने, समयमै भुक्तानी गर्ने र प्रक्रिया कम गर्ने भन्ने विषयमा सहमति भएको छ,’ सापकोटाले भने, ‘अब यी कुरा प्रभावकारी रूपमा कार्यान्वयन भए भने समस्या समाधानतर्फ जान सकिन्छ ।’ उनले सहमतिअनुसारको व्यवस्था कार्यान्वयन नभए अन्य विकल्पबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । उनका अनुसार वैदेशिक रोजगार बीमाको उद्देश्य श्रमिक र उनीहरूका परिवारलाई जोखिम परेको समयमा तत्काल राहत उपलब्ध गराउनु भएकाले दाबी भुक्तानी प्रक्रियालाई व्यवहारिक र सेवामुखी बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता छ। केही दिनअघि मात्रै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरूले ढिलासुस्ती गर्ने गरेको गुनासोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । दाबी भुक्तानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित बीमा कम्पनीहरूलाई बोलाएर छलफलसमेत गरेको थियो । छलफलमा मन्त्री यादवले बीमा कम्पनीहरूले कानुनबमोजिम दाबी भुक्तानी नगरे श्रमिकको बीमासम्बन्धी जिम्मेवारी वैदेशिक रोजगार बोर्ड वा सामाजिक सुरक्षा कोष (एसएसएफ)मार्फत सञ्चालन गर्ने विकल्पमा सरकार जानसक्ने चेतावनीसमेत दिएका थिए । मन्त्रालय तथा मातहतका निकायसँग भएको छलफलमा मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाइ भइरहेको गुनासो बारम्बार आउने गरेको उल्लेख गरेका थिए । उनका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकको विदेशमा रहँदा जुनसुकै कारणले मृत्यु भए पनि प्रचलित कानुनअनुसार बीमित रकम अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। प्रि–एग्जिस्टिङ रोग र पोलिसी क्यान्सेलेसनका मुद्दा बढी नेपाल बीमा प्राधिकरणका अनुसार वैदेशिक रोजगार बीमामा पछिल्लो समय प्रि–एग्जिस्टिङ (पहिलेदेखि रहेका) रोग र बीमा पोलिसी क्यान्सेलेसनसम्बन्धी मुद्दा बढी आउने गरेका छन् । प्राधिकरणको उजुरी तथा गुनासो सुनुवाई शाखा प्रमुख रञ्जिता केसीका अनुसार कतिपय बीमितले बीमा गर्ने क्रममा आफूलाई पहिलेदेखि रहेका रोगबारे सही विवरण नदिने र पछि दाबी गर्दा विवाद सिर्जना हुने गरेको पाइएको छ । उनका अनुसार केही नेपाली श्रमिकले विदेशमा रहँदा बीमा पोलिसीको अवधि (ल्याप्स) समाप्त भइसकेपछि पनि समयमै नवीकरण नगर्ने, तर बिरामी परेपछि वा जोखिम उत्पन्न भएपछि मात्र पुनः बीमा गर्न खोज्ने प्रवृत्ति देखिएको छ । यस्तो कार्य बीमाको आधारभूत सिद्धान्तविपरीत हुने उनले बताइन् । ‘जोखिम परिसकेपछि मात्रै बीमा गर्ने वा पुरानो रोग लुकाएर बीमा गर्ने प्रवृत्ति बीमाको सिद्धान्त अनुकूल हुँदैन । यस्ता कारणले पनि दाबी भुक्तानीमा विवाद देखिने गरेका छन्,’ केसीले भनिन् । उनले बीमाको उद्देश्य सफल बनाउन स्वघोषणा प्रणालीलाई थप कडाइ गर्नुपर्ने आवश्यकता औंल्याइन् । बीमा प्रस्ताव फाराम भर्दा बीमितले आफ्नो स्वास्थ्य अवस्था र पहिलेदेखिका रोगबारे सत्य र पूर्ण विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने उनको भनाइ छ । केसीका अनुसार दाबी भुक्तानीलाई छिटो बनाउन भन्दै विभिन्न तहबाट निर्देशन आए पनि बीमाका आधारभूत सिद्धान्तको पालना अनिवार्य हुन्छ । ‘बीमा भनेको जोखिम व्यवस्थापनको प्रणाली हो, सामाजिक सुरक्षा कार्यक्रम होइन,’ उनले भनिन्, ‘त्यसैले बीमालाई सामाजिक सुरक्षा कोषसँग एउटै रूपमा हेर्न मिल्दैन ।’ उनले राज्यका नीति निर्माता र सरोकारवालाले पनि बीमाको अवधारणा र सामाजिक सुरक्षाबीचको भिन्नता बुझ्न आवश्यक रहेको बताइन् । बीमा उपचार खर्च उपलब्ध गराउने माध्यम मात्र नभई निश्चित जोखिम व्यवस्थापन गर्ने वित्तीय संयन्त्र भएकाले दाबी भुक्तानी गर्दा बीमाका सर्त र सिद्धान्त पालना गर्नैपर्ने उनको भनाइ छ । प्राधिकरणले बीमा कम्पनीहरूले स्वास्थ्य परीक्षण, जोखिम मूल्यांकन र स्वास्थ्यसम्बन्धी विवरण प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउनुपर्ने सुझाव दिएको छ । साथै बीमितले प्रस्ताव फाराम भर्दा आफ्नो स्वास्थ्य अवस्थाबारे सत्य र पूर्ण विवरण दिने संस्कृतिको विकास भए मात्र वैदेशिक रोजगार बीमाको उद्देश्य प्रभावकारी रूपमा पूरा हुने केसीले बताइन् ।
वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपालको हिस्सा २९ प्रतिशत, कसको कति हिस्सा ?
काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा १४ बीमा कम्पनीहरूले २५ लाख ८६ हजार ३१३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा सबैभन्दा धेरै देखिएको छ । तथ्यांकअनुसार एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा हिस्सा क्रमशः २९.५३ प्रतिशत र २९.०९ प्रतिशत रहेको छ । गत आवमा एशियन लाइफले ३७ हजार ७०१ बीमालेख जारी १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सन नेपाल लाइफले १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने अर्को कम्पनी आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ६.९९ प्रतिशत रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ हजार १०१ बीमालेख जारी गरी कुल २४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेपाल लाइफको बजार हिस्सा पनि लगभग आईएमई लाइफको समान छ । समीक्षा आवमा नेपाल लाइफले ५ हजार १५१ बीमालेख जारी गरेर कुल २४ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखमा नेशनल लाइफको हिस्सा ५.४९ प्रतिशत रहेको छ । गत आवमा नेशनल लाइफले ३ हजार २४ बीमालेख जारी गरी १९ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । समीक्षा वर्षमा सानिमा रिलायन्स लाइफले १७ करोड ३८ लाख रुपैयाँ, सिटिजन लाइफले १७ करोड २१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १४ करोड ६९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ७० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ११ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमा व्यवसायमा यी कम्पनीहरूको बजार हिस्सा क्रमश : ४.८६ प्रतिशत, ४.८२ प्रतिशत, ४.११ प्रतिशत, ३.२७ प्रतिशत र ३.१९ प्रतिशत रहेको छ। वैदेशिक रोजगार बीमालेखमा लिवर्टी माइक्रो लाइफको हिस्सा ०.७५ प्रतिशत रहेको छ । गत आवमा लिवर्टी माइक्रोले २ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, क्रेस्ट माइक्रोको बजार हिस्सा ०.५६, हिमालयन लाइफ ०.२९ र गार्डियन माइक्रोको ०.१२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा क्रेस्ट माइक्रो लाइफले १ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफले १ करोड ५ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफले ४१ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
वैदेशिक रोजगार बीमा व्यवसायमा सन् लाइफको हिस्सा ३४ प्रतिशत, कस्को कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट २ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल ११ वटा जीवन बीमा र ३ लघु जीवन बीमा कम्पनीहरूले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमा व्यवसायबाट सन् नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन् नेपालको मात्रै ३४.२१ प्रतिशत हिस्सा रहेको छ । सन् नेपालले वैशाखसम्मममा ९८ करोड ६२ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ । वैदेशिक रोजगार बीमाबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एसियन लाइफ रहेको छ । एशियन लाइफले वैशाखसम्ममा ७६ करोड ४४ लाख रुपैयाँ कुल व्यवसाय गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा एशियन लाइफको हिस्सा २६.५२ प्रतिशत रहेको छ । तेस्रोमा आईएमई लाइफ रहेको छ । आईएमई लाइफले चालु आवको १० महिनामा वैदेशिक रोजगार बीमाबाट २० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ७.०५ प्रतिशत रहेको छ । त्यस्तै, कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेपाल लाइफकोे हिस्सा ६.९४ प्रतिशत रहेको छ । वैशाखसम्ममा उक्त कम्पनीले २० करोड एक लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायबाट नेशनल लाइफले १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्सले १४ करोड २२ लाख, सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ९ करोड ७७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९ करोड ३ लाख रुपैयाँ र हिमालयन लाइफले ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेशनल लाइफको ५.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.९४ प्रतिशत, सूर्यज्योति लाइफको ३.५७ प्रतिशत, सिटिजन लाइफको ३.५२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ३.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.१४ प्रतिशत र हिमालयन लाइफको ०.२३ हिस्सा रहेको छ । लघु जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार बीमा व्यवसायबाट लिबर्टी माइक्रो लाइफले १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा लिबर्टी माइक्रोको हिस्सा ०.४७ प्रतिशत रहेको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफले ३८ लाख १४ हजार रुपैयाँ क्रेस्ट माइक्रो लाइफले ८ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । वैदेशिक रोजगार बीमा व्यवसाय गार्डियन माइक्रो लाइफको ०.१३ प्रतिशत र क्रेस्ट माइक्रो लाइफको ०.०३ प्रतिशत हिस्सा रहेको छ ।
वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड संकलन, सन नेपालले कमायो सर्वाधिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट सन नेपाल लाइफले सर्वाधिक व्यापार गरेको छ । सन नेपालले चालु आवको ९ महिनामा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी गरी ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्याेरेन्स रहेको छ । उक्त कम्पनीले २ लाख ३३ हजार ८४२ बीमालेख जारी गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा कुल ५ लाख ७१ हजार ४९४ बीमालेख जारी गरेर १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ९ महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेखबाट आईएमई लाइफले २ लाख ३९ हजार ८०६ बीमालेख जारी गरी १७ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ९५८ बीमालेख जारी गरेर ४० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशन दोस्रोपटक संशोधन, बीमकले दैनिक विवरण पेश गर्नुनपर्ने
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवनबीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशन, २०८१ संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले २०८२ वैशाख ५ गते दोस्रोपटक संशोधन गरेको हो । प्राधिकरणले यसअघि २०८१ फागुन फागुन ६ गते पहिलोपटक निर्देशन संशोधन गरेको थियो । प्राधिकरणले निर्देशन संशोधन गरेर यसअघि सदस्य बीमक (बीमक) ले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण दैनिक रूपमा कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेकोमा अब नपर्ने भएको छ । निर्देशन, २०८१ को परिच्छेद २ को ७ अनुसार अब बीमकले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण १५ गतेसम्मको १६ गतेभित्र र त्यसपछिका विवरण मसान्तदेखि अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ । यसअघिको निर्देशनमा सदस्य बीमकले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण दैनिक रूपमा कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, बीमकले आफूले भुक्तानी गरेको दाबी बापत्को रकम प्रत्येक महिनाको १५ गतेसम्ममा र १६ देखि मसान्तसम्मको रकम अर्को महिनाको १ गतेभित्र पेश गर्न सक्नेछन् । संशोधन अघिको निर्देशनमा भने प्रत्येक महिनाको सात गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था थियो । वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशनको अनुसूचीमा हेरफेर गर्ने अधिकार प्राधिकरणका अध्यक्षलाई दिइएको छ । यसअघिको निर्देशनमा अनुसूची हेरफेर गर्ने अधिकार कसैलाई दिइएको थिएन । परिच्छेद २ को ९ मा कोषको सदस्यता खारेज हुनेसम्बन्धी व्यवस्था छ । उक्त परिच्छेदको २ मा सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको तथा यो निर्देशन पालना नगर्ने बीमकले रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न नपाइने उल्लेख गरिएको छ । यसअघिको निर्देशनमा सामूहिक कोषमा सहभागी हुन तथा बीमालेख बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो । यसबाहेक अन्य व्यवस्थामा पनि संशोधन भएको छ । परिच्छेद २ को उपदफा ६ मा कोष प्रबन्धकको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ । उक्त उफदफाको (ख) मा प्राधिकरणले संशोधन गरेको छ । संशोधनअनुसार कोष प्रबन्धकले बीमा शुल्क प्राप्त भए नभएको यकिन गर्न पाउनेछन् । यसअघिको निर्देशनमा कोष प्रबन्धकले बीमा शुल्क दैनिक रूपमा प्राप्त नभएको यकिन गर्न पाउने व्यवस्था रहेको थियो । दोस्रोपटकको संशोधनमा प्राधिकरणले दैनिक शब्दलाई हटाएको छ । वैदेशिक रोजगार बीमा पुल सम्बन्धी निर्देशन परिच्छेद २ को (ङ) मा ‘सदस्य बीमक’ भन्नाले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोषमा हिस्सेदार भएको बीमक भनेर परिभाषित गरेकोमा संशोधन गरेर अनुसूची-१ बमोजिम हिस्सेदार भएको सम्झिनुपर्ने भनेर नयाँ व्यवस्था गरेको छ ।
हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा काम गर्ने जिम्मेवारी पाएको छ । नेपाल बीमा प्राधिकरणले सामूहिक बीमा कोष तथा खाता सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हिमालयन रिलाई दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । गत चैत ४ गते प्राधिकरणमा भएको छलफलपछि दुवै पुनर्बीमकबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्ने कोष तथा खाता हिमालयन रिलाईले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन २०८१ को दफा ५ अनुसार, प्रत्येक पुनर्बीमक कम्पनीले चार–चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाअनुसार अबको ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणले जीवन बीमक र अन्य पुनर्बीमकहरूलाई उक्त निर्णयअनुसार आवश्यक कार्य गर्न निर्देशन समेत दिएको छ । यस कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिना रहेका थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बत्तीस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहने जनाएको छ ।
वैदेशिक रोजगार बीमा: एशियनको व्यापार १७९ प्रतिशतले बढ्यो, ७ कम्पनीको घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । चालु आवको पौष मसान्तसम्म १४ वटा बीमा कम्पनीले १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४.३९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा वैदेशिक रोजगार बीमाबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ संकलन भएको थियो । यो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेमा एशियन लाइफ रहेको छ । एशियनले गत आवको भन्दा १७८.८८ प्रतिशत धेरै बीमाशुल्क संकलन गरेको छ । चालु आवको ६ महिनामा कम्पनीले वैदेशिक रोजगार अन्र्तगत ३५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा १२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको थियो । सन नेपाल लाइफले पनि गत वर्षको भन्दा ८५.८९ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ६८ करोड ६२ लाख संकलन गरेको छ । गत वर्षको पौष मसान्तसम्म ३९ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि वैदेशिक रोजगार बीमाको व्यापार वृद्धि गरेको छ । कम्पनीले गत वर्षको तुलनामा ५.४५ प्रतिशतले व्यापार वृद्धि गरेको हो । वैदेशिक रोजगार बीमा पोर्टफोलियोको अन्तर्गत नेपाल लाइफको व्यापार सबैभन्दा धेरै घटेको छ । नेपाल लाइफको व्यापार ४५.२३ प्रतिशतले घटदा आइएमई लाइफको ४०.०१, सुर्यज्योति लाइफको ३२.५६, रिलायबल लाइफको २८.८९, सिटिजन लाइफको २१.८२, सानिमा रिलायन्सको १७.१८ र नेशनल लाइफको ८.७३ प्रतिशतले व्यपार घटेको हो । नेपाल लाइफले यो पोर्टफोलिया अन्तर्गत गत आवको पौष मसान्तसम्म ३२ करोड ५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोहि अवधिमा कम्पनीले १४ करोड ६७ लाखमा समेटिएको छ । यस्तै, आइएमईले गत आवको ६ महिनामा १६ करोड ४१ लाख रुपैयाँको व्यापार गरेकोमा चालु आवको सोहि अवधिमा ९ करोड ८४ लाख रुपैयाँमा खुम्चिएको छ । हिमालयन लाइफ, गार्डियन माइक्रो लइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रोले यसै वर्षदेखि वैदेशिक बीमाको व्यापार सुरु गरेका हुन् । नेपाल बीमा प्राधिकरणले गत साउन महिनादेखि लागुहुनेगरी वैदेशिक रोजगार बीमालाई पुल प्रणालीमा लैजाने कार्यविधि बनाएको थियो । कार्यविधि लागु भएसँगै धेरै व्यापार गर्नेले थोरै व्यापार गर्नेलाई भाग बाढ्नुपर्ने भएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्याे वैदेशिक रोजगार बीमा
काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएकाे छ । साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएकाे छ । कम्पनी लामाे समयदेखि वैदेशिक राेजगार म्यादी जीवन बीमाबाट बाहिर रहेकाे थियाे । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक राेजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेकाे थियाे । यससँगै कम्पनीले साे बीमालेख जारी गर्न सुरू गरेकाे हाे ।
बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट गरे १ अर्ब बढीको व्यवसाय, सन र एसियन अगाडि
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री भएको छ । १४ जीवन बीमा कम्पनी (लघु जीवनसहित) ले कार्तिक मसान्तसम्म १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन्। वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार सबैभन्दा धेरै सन नेपाल लाइफले गरेको छ । सन् नेपालले चार महिनामा ४६ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले कार्तिक महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सन नेपालले वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत कार्तिक महिनामा ३२ हजार ८१ वटा पोलिसी बिक्री गरेको छ । यसैगरी, एसियन लाइफले २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ८ करोड २६ लाख रुपैयाँको व्यापार गरेको हो । कार्तिक महिनामा एसियन लाइफले १८ हजार ९०४ वटा पोलिसी बिक्री गरेको छ । नेपाल लाइफले ८ करोड ९६ लाख, नेसनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ५ करोड ३४ लाख, सूर्यज्योति लाइफले ५ करोड १७ लाख र रिलायबल लाइफले ४ करोड ३० लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन् । कार्तिक महिनामा नेपाल लाइफले २ करोड १६ लाख, नेसनल लाइफले २ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले १ करोड २८ लाख, सूर्यज्योति लाइफले १ करोड २५ लाख र रिलायबल लाइफले ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत संकलन गरेका छन् । कुनको कति ?
वैदेशिक रोजगार बीमा: पुलमा गएपछि सुस्ताए नेपाल र आइएमई, आक्रामक बन्दै सन र एशियन
काठमाडाैं । वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लागू गरेपछि केही कम्पनीको व्यवसाय सुस्ताएको छ भने केही कम्पनी झन आक्रामक बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणले गत साउन एक गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लगेको छ । पुल प्रणाली लागु भएपछि नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको व्यपार घटेको छ । यसैगरी, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल इन्स्योरेन्स व्यापारमा उच्च वृद्धि भएको छ । नेशनल लाइफको व्यापारमा सामान्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांकलाई गत आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा यस्तो देखिएको हो । चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकलाई हेर्ने हो भने व्यवसाय वृद्धिमा एशियन लाइफ अगाडि छ । एसियन लाइफले गत आवको सोही अवधिको तुलनामा १६६.९६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । एशियल लाइफले चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारी म्यादी जीवन बीमातर्फ ११ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सन नेपालले १०४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले गत आवको सोही अवधिमा १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यता आईएमई लाइफ इन्स्योरेन्सको व्यापार ८५ प्रतिशतले खस्किएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा पोर्टफोलियोअन्तर्गत चालु आवको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, नेपाल लाइफको व्यापार ५४ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सोही कम्पनीले गत आवमा १४ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सिटिजन लाइफको व्यापार ४३ प्रतिशतले, रिलायबल लाइफको ४० र सूर्यज्योति लाइफको व्यपार २८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षदेखि लघु बीमा कम्पनीहरूले पनि वैदेशिक रोजगारी म्यादी जीवन बीमा पोलिसी बिक्री गर्न थालेका छन् । पहिलो त्रैमासमा गार्डियन माइक्रो लाइफले ५६ हजार, क्रेष्ट माइक्रो लाइफले ९६ हजार र लिबर्टी माइक्रो लाइफले ३ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
वैदेशिक रोजगार बीमाको पुलले चार कम्पनीलाई फाइदैफाइदा, ६ कम्पनी मारमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजान केही साताअघि एउटा मोडालिटी निर्माण गर्यो । चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि नै पुल प्रणाली लागू गर्नेगरी प्राधिकरणले निर्देशिका नै बनायो । वैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै प्राधिकरणले पुल प्रणाली लागू गरेको जनाएको छ । वैदेशिक रोजगार म्यादी बीमाको व्यवसाय पाउन बीमा कम्पनीहरूसँग म्यानपावर कम्पनीले कमिसन लिने गरेको भन्दै यस व्यवसायलाई पुल प्रणालीमा लैजानुपर्ने धारणा केही जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गर्दै आएका थिए । यस्तै, अन्य केही कम्पनीका सीईओहरूले भने म्यानपावर कम्पनीसँग ती जीवन बीमा कम्पनीले उधारोमा पोलिसी बिक्री गरेको आरोप लगाएका थिए । म्यानपावरले उक्त उधारो तिर्न आनाकानी गरेपछि पुल प्रणालीमा जान उनीहरूले दबाब सिर्जना गरेको आरोप पनि छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने निचोड निकालेर प्राधिकरणले पुल प्रणाली नै लागू गर्यो । कस्तो छ मोडालिटी ? प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ सार्वजनिक गरेको छ । सो निर्देशनअनुसार अब कुनै पनि कम्पनीले जति नै व्यवसाय गरे पनि त्यसको ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । एक प्रतिशत भने प्रशासनिक, उक्त पोलिसी जारी गर्दा लाग्ने खर्चलगायत खर्चका लागि कम्पनीले स्वयं आफैले राख्न पाउँछ । यसैगरी, सबै कम्पनीले आफूले संकलन गरेको बीमाशुल्कको बाँकी ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्ने निर्देशनमा भनिएको छ । उक्त पुलमा जम्मा भएको रकमको ३१ प्रतिशत रकम सबै बीमा कम्पनीहरूले आफूले गरिएको व्यवसायको अनुपातमा विभाजन हुन्छ । त्यसैगरी, बाँकी ६९ प्रतिशत रकम यस बीमा व्यवसाय गर्ने सबै कम्पनीलाई बराबर भाग हुन्छ । निर्देशनअनुसार चालु आवका लागि १५ वटा कम्पनीले यस व्यवसाय गर्न इच्छुक रहेकाले उनीहरूलाई त्यो ६९ प्रतिशत रकम बराबर अर्थात ४.६० प्रतिशतका दरले बाँढिन्छ । त्यस्तै, आव २०८२/०८३ मा संकलन गरेको रकमको १ प्रतिशत स्वयं कम्पनीले राख्ने र ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । पुलमा जम्मा गरिएको रकमको ८५.५० प्रतिशत रकम सबै बीमा कम्पनीलाई बराबर भाग लाग्छ । बाँकी १४.५० प्रतिशत भने कम्पनी व्यापार गरेको अनुपातमा भाग लाग्छ । त्यस्तै, आव ०८३/०८४ मा भने पुलमा जम्मा गरिएको सबै रकम सबै कम्पनीलाई बराबर भाग लाग्छ । यसो गर्दा केही धेरै व्यवसाय गर्ने कम्पनीहरूले आफूले संकलन गरेको रकम पनि अन्य कम्पनीलाई बाँढिन्छ । कम व्यवसाय गर्ने अर्थात तुलनात्मक रूपमा कम बीमाशुल्क संकलन गर्ने कम्पनीले आफूले गरेको व्यवसायभन्दा बढी थप रकम प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । अर्थात् केही कम्पनीलाई यस प्रणालीले फाइदा र केही कम्पनीलाई यसले घाटा पुर्याएको बीमाका जानकारहरू बताउँछन् । कति हुन्छ नाफा-घाटा ? कुन कम्पनीलाई यो प्रणालीबाट कति फाइदा र कुन कम्पनीलाई कति घाटा भनेर विश्लेषण गर्नुपूर्व नेपालमा हाल कति जीवन बीमा कम्पनी छन् ? त्यसमध्ये गत चालु आवमा कुन-कुन कम्पनीले यो बीमा पोलिसी जारी गरे ? कुन-कुन कम्पनीले गरेनन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । हाल नेपालमा तीन लघु जीवन बीमा कम्पनी छन् । १४ वटा ठूला जीवन बीमा कम्पनी छन् । समग्रमा १७ जीवन बीमा कम्पनी छन् । विदेशी २ जीवन बीमा कम्पनी मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । तसर्थ यो पोलिसि जारी गर्ने कम्पनीको संख्या १५ वटा रह्यो । कुन कम्पनीलाई कति फाइदा भन्नुपूर्व यो पोलिसी जारी गर्ने कम्पनीले गत आवमा गरेको कारोबारका आधारमा यहाँ विश्लेषण गरिएको छ । गत आवमा १५ मध्ये हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री गरेका थिएनन् । यसैगरी, तीन लघु जीवन बीमाहरू गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले पनि गत वर्ष याे पोलिसी बिक्री गरेका थिएनन् । तयी कम्पनीहरूलाई पुल प्रणालीले घाटा हुन्छ या नाफा हुन्छ भनेरे विश्लेषण गर्ने आधार नै छैन । यीबाहेक गत आवमा १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार पोलिसी बिक्री गरेका थिए । अब हामीले कुन कम्पनीलाई कति नाफा वा घाटा भनेर विश्लेषण गर्न गत वर्षको तथ्यांकलाई केलाएर विश्लेषण गर्नेछाैं । उल्लेखित तथ्यांकअनुसार गत वर्ष ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ वैदेशिक रोजगारी म्यादी जीवन बीमाबापत बीमा शुल्क संकलन भएको रहेछ । यही तथ्यांकलाई आधार मानेर हिसाब गर्दा उक्त रकमको ९९ प्रतिशत रकम बीमा पुलको कोषमा जम्मा हुन्छ । अर्थात् ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुलमा जम्मा हुन्छ । सो पुलमा जम्मा गरिएको रकमको ३१ प्रतिशत अर्थात ९५ करोड ९६ लाख रुपैयाँ कम्पनीको व्यापारको अनुपातमा भाग गरिन्छ । बाँकी ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँ १५ कम्पनीलाई बराबर भाग लगाइन्छ । यो रकम १५ कम्पनीलाई भाग गर्दा एक कम्पनीको भागमा १४ करोड २३ लाख ८६ हजार रुपैयाँ हुन जान्छ । सन नेपाल लाइफ सन नेपालले गत आवमा ८६ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यसको एक प्रतिशत अर्थात ८४ लाख ३० हजार कम्पनीले खर्च कटाएर बाँकी ८३ करोड ४६ लाख १८ हजार रुपैयाँ पुलमा जम्मा गरिदिन्छ । यस कम्पनीले पुलको ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँबाट १४ करोड २३ लाख ८६ हजार प्राप्त गर्छ । र, ३१ प्रतिशत अर्थात् ९५ करोड ९६ लाख रुपैयाँको २६.९६ प्रतिशत रकम प्राप्त गर्छ । सो बापत २५ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्छ । समग्रमा सन नेपालले ८४ लाख ३० हजार, १४ करोड २३ लाख ८६ हजार र २५ करोड ८७ लाख गरी कुल ५० करोड ५७ लाख ३८ हजार रुपैयाँ प्राप्त गर्छ । यहाँ कम्पनीलाई ३३ करोड ७३ लाख १० हजार रुपैयाँ घाटा भएको देखिएको छ । नेपाल लाइफ नेपाल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ६२ लाख ०८ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १९ करोड ४ लाख ८० हजार गरी कुल ३३ करोड ९० लाख ७४ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ६२ करोड ८ लाख ६ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई २८ करोड १७ लाख ३१ हजार रुपैयाँ घाटा लागेको छ । आइएमई लाइफ आइएमई लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ३५ लाख ३५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १० करोड ८४ लाख ३४ हजार गरी कुल २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३५ करोड ३५ लाख ७३ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ९ करोड ९२ लाख १७ हजार रुपैयाँ घाटा हुने भएको छ । एशियन लाइफ एशियन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत ३० लाख ३१ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ९ करोड २९ लाख ८५ हजार गरी कुल २३ करोड ८४ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३० करोड ३१ लाख ४० हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ६ करोड ४७ लाख ३७ हजार रुपैयाँ घाटा हुने भएको छ । नेशनल लाइफ नेशनल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २७ लाख १ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ८ करोड २८ लाख १३ हजार गरी कुल २२ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २७ करोड १ लाख ११ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ४ करोड २२ लाख ११ हजार रुपैयाँ घाटा हुने भएको छ । सूर्यज्योति लाइफ सूर्यजोति लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २५ लाख रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ७ करोड ६६ लाख ७२ हजार गरी कुल २२ करोड १५ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २५ करोड ८६ हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ८५ लाख २७ हजार रुपैयाँ घाटा हुने भएको छ । सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २० लाख ५६ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ६ करोड ३० लाख ४५ हजार गरी कुल २१ करोड १० लाख ४३ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २० करोड ५६ लाख बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ५६ लाख ३१ हजार रुपैयाँ नाफा हुने देखिएको छ । रिलायबल लाइफ रिलायबल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १७ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५ करोड ४६ लाख १ हजार गरी कुल १९ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १७ करोड ८० लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ७ लाख ६६ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । सिटिजन लाइफ सिटिजन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १० लाख ५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ३ करोड ८ लाख गरी कुल १७ करोड ४१ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १० करोड ५ लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ७ करोड ३६ लाख २२ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । प्रभु महालक्ष्मी लाइफ प्रभु महालक्ष्मी लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५६ लाख ६१ हजार गरी कुल १४ करोड ८२ लाख २७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १८ लाख ७८ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई १४ करोड ६३ लाख ५३ हजार रुपैयाँ फाइदा हुने देखिएको छ ।
वैदेशिक रोजगार बीमामा पुल प्रणाली लागु, कसरी हुन्छ बाँडफाँट ?
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमामा अब सामूहिक बीमा कोष (पुल) प्रणाली लागु भएको छ । नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको निर्देशनअनुसार पुलको व्यवस्थापन भने दुई पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्सले गर्नेछन् कम्पनीहरुले दैनिक रुपमा कारोबारको विवरण पुल व्यवस्थापकलाई पठाउनु पर्नेछ । कम्पनीहरुले दिएको दाबी भुक्तानीको विवरण हरेक महिना समाप्त भएको ७ दिनभित्र पुल व्यवस्थापकलाई पठाउनु पर्ने कार्यविधिमा उल्लेख छ । सो रकम व्यवस्थापनका लागि पुल व्यवस्थापकको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्नेछ । र सो खातामा पुलमा सहभागी सबै कम्पनीहरुको वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गतको कारोबार जम्मा हुनेछ । कसरी हुन्छ बाँडफाँट ? सामूहिक कोषमा जम्मा भएको रकम खर्च र आयको हिसाब पुल व्यवस्थापकले गर्नेछ । जसमध्ये यस बीमालेख जारी गर्ने हरेक कम्पनीले चालु आर्थिक वर्ष २०८१/०८२ मा ४.६ प्रतिशत भाग पाउने छन् । यसैगरी, २०८२/०८३ मा ५.७ प्रशितशत हिस्सा हरेक कारोबार गर्ने कम्पनीले पाउने छन् । ऋार्थिक वर्ष २०८३/०८४ भने हरेक कारोबार गर्ने कम्पनीले ६.६६ प्रतिशत हिस्सा पाउने निर्देशनमा उल्लेख रहेको छ । चालु आवमा कुल व्यापारको ६९ प्रतिशत कोषमा रकम सबै कम्पनीलाई बराबार भाग गरिन्छ । र, ३१ प्रतिशत रकम कम्पनीले कारोबार गरेको आधारमा बाँडफाँट गरिन्छ । आव २०८२/०८३ मा ८५.५० प्रतिशत सबै कम्पनीलाई बराबर र १४.५० प्रतिशत कम्पनीको कारोबार अनुसार बाँडफाँट हुन्छ । आव ०८३/०८४ मा भने ९९.९० प्रतिशत सबै कम्पनीलाई बराबर र ०.१० प्रतिशत रकम गत आर्थिक वर्षमा यस पोलिसि जारी गर्ने १० कम्पनीलाई बराबार भाग गरिन्छ । निर्देशन अनुसार १५ कम्पनीले उक्त भाग पाउने छन् । हाल नेपालमा ३ लघु सहित १७ जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये विदेशिक जीवन बीमक द्वय मेटलाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । गत साउन महिनाको १ गते देखिको व्यवसाय नै पुल प्रणालीमा लागु हुने उल्लेख छ ।
लघु बीमकलाई बाइपास गरेर वैदेशिक रोजगार बीमा पुल प्रणालीमा लैजाने तयारी
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजाने सहमति भएको छ । हिजाे आइतबार नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा उक्त बीमालाई पुल प्रणालीमा लैजाने सहमति भएको हो । छलफलमा जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, संघका पदाधीकारी तथा जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्राधिकरणका उच्चस्थ कर्मचारी उपस्थित थिए । वैदेशिक रोजगार बीमालाई पुलमा लैजाने विषयमा भएको उक्त छलफलमा लघु जीवन बीमा कम्पनीका सीईओहरूलाई बाइपास गरेको पाइएको छ । आइतबार १ बजे प्राधिकरणमा छलफल हुने पूर्वकार्यसूची थियो । प्राधिकरणमा १ बजे छलफल हुन्छ भन्ने कुरा जीवन बीमक संघका पदाधीकारीहरूलाई अघिल्लो दिन नै जानकनरी थियो । तर, लघु जीवन बीमकका सीईओहरूलाई भने जानकारी नदिएको स्रोतले बताएको छ। स्रोतका अनुसार दिउँसो १ बजो हुने कार्यक्रमक लागि लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीलाई दिउँसो १२ बजेर ४५ मिनेटमा मात्र जानकारी दिइएको स्रोतले जनाएको छ । पूर्वनिर्धारित छलफल कार्यक्रममा कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेट अगाडि मात्र जानकारी दिँदा जो कोही पनि सो कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था हुन्छ । लघु बीमकलाई बाइपस गर्न यसरी ढिला जानकारी दिइएको हुनसक्ने केही लघु बीमकका सीईओहरूले विकासन्युजलाई बताए । १२ बजेर ४५ मिनेटमा जीवन बीमक संघका एक पदाधीकारीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारीलाई फोन गरेर जानकारी दिइएको बुझिएको छ । यसबारे लघु बीमक रुष्ट भएको स्रोतले जनाएको छ । यस बारेमा जानकारी लिन खोज्दा जीवन बीमक संघका अध्यक्ष पौडेल भने बोल्न चाहेनन् । यता प्राधिकरणले भने सबैलाई समेटर अघि बढ्ने प्रयास भइरहेको जनाएको छ । पुलमा जानुपर्ने कारण ? वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय हात पार्न बीमा कम्पनीहरूले म्यानपावर कम्पनीहरुलाई ३० प्रतिशतसम्म कमिसन दिने गरेका थिए । प्रायः सबै कम्पनीहरूले यसरी कमिसन दिन थालेपछि बजार नै अस्वस्थय प्रातिस्पर्धामा धकेलिएको थियो । यति मात्र होइन कम्पनीहरुले कानुनविपरीत काम गर्न थालेका थिए । वैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमाशुल्क ट्यारिफ रेटअनुसार निर्धारण हुन्छ । ट्यारिफ रेटलाई घटाएर वा बढाएर बेच्न नपाइने कानुनी प्रावधान रहेको छ । सोही कानुनी प्रावधानको खिल्ली उडाउँदै कम्पनीहरूले ३० देखि ५० प्रतिशतसम्म कमिसन म्यानपावर कम्पनीहरूलाई दिने गरेका थिए । सोही विकृति रोक्ने प्रयास प्राधिकरणले गरेको हो । जसको उत्तम विकल्प भनेको पुल प्रणली हो । अब बन्ने पुलको व्यवस्थापन बीमा प्राधिकरणले गर्ने जनाइएको छ ।
वैदेशिक रोजगार बीमा : सवा ३ अर्बको बजार, ५८ प्रतिशत हिस्सा ३ कम्पनीको कब्जामा
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको कब्जामा रहेको देखिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन् । गत आवमा उक्त बीमाअन्तर्गत ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । जसको ५८.१२ प्रतिशत हिस्सा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफले कब्जा गरेका छन् । गत आवमा नेपालमा १० बीमा कम्पनीले उक्त बीमालेख बिक्री गर्दै आएका थिए । जसमध्ये ७ कम्पनीले बाँकी ४१ प्रतिशत बजारमा प्रतिस्पर्धा गर्नुपरेको हो । सन् नेपाल लाइफले मात्रै ८४ करोड ३० लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट आर्जन गरेको छ । उक्त रकम वैदेशिक रोजगार बीमा बजारको २७ प्रतिशत हो । यसैगरी, नेपाल लाइफले ६२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन करिब २० प्रतिशत हो । यस्तै, आइएमई लाइफले ३५ करोड ३५ लाख रुपैयाँ र एशियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यता सबैभन्दा कम व्यपार प्रभु महालक्ष्मी लाइफले गरेको छ । यस पोलिसिअन्तर्गत प्रभु महालक्ष्मीले जम्मा १८ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ । चालु आवमा भने प्रभु महालक्ष्मीले यस बीमालेख बिक्री नगर्ने भएको छ । कुन कम्पनीको बजार हिस्सा कति ?
वैदेशिक रोजगार बीमा बजारबाट बाहिरियो प्रभु महालक्ष्मी लाईफ, तीन माईक्रोसहित चार कम्पनी थपिए
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई आवेदन दिन भनेको थियो । विभागले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सो प्रस्ताव आह्वान गरेको थियो । विगतमा सो पोलिसि बिक्री गर्दै आएको प्रभु महालक्ष्मीले भने आवेदन नै नदिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले विकासन्युजसँग बताए । सूचना अधिकारी सुवेदीका अनुसार नयाँ तीन जीवन लघुबीमा कम्पनीहरुले उक्त पोलिसी बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाईप इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले उक्त पोलिसि बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । विगतमा यो पोलिसी बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि चालु आवमा पोलिसी बिक्रीका लागि सम्झौता गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा बिक्रीका लागि १३ कम्पनीले सम्झौता गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार तीन वटा लघु जीवन बीमक र १० वटा जीवन बीमक गरी कुल १३ वटा कम्पनीले सो पोलिसी बिक्रीका लागि सम्झौता गरेका हुन् । गत आर्थिक वर्ष १० वटा बीमा कम्पनीले यस्तो पोलिसी बिक्री गर्दै आएका थिए ।
वैदेशिक रोजगार बीमालेखबाट १० कम्पनीले उठाए साढे २४ करोड प्रिमियम
काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट २४ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये १० वटा कम्पनीले सो मात्राको प्रिमियम उठाएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनसम्ममा १० वटा कम्पनीले कूल ५८ हजार ८ सय वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरी २४ करोड ६९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमा नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । जसमध्ये सन नेपाल लाइफले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामै ५ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम वैदेशिक रोजगार पोलिसी बिक्री गरी आर्जन गरेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले मात्रै बीमितहरुमा १३ हजार ७ सय ३३ वटा पोलिसी बिक्री गरेको हो । उक्त संख्या अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको दोश्रो स्थानमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले एक महिनामा १२ सय १७० वटा बीमा पोलिसी बिक्री गरी कूल ५ करोड ५३ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । आइएमई लाइफले ३ करोड ३८ लाख, सूर्यज्योतिले २ करोड १५ लाख, रिलायबल नेपालले १ करोड ७९ लाख, नेशनल लाइफले १ करोड ७८ लाख, सानिमा रिलायन्सले एक करोड ६७ लाख, सिटिजन लाइफले एक करोड ४८ लाख, एशियन लाइफले एक करोड १५ लाख र प्रभु महालक्ष्मी लाइफले ३ लाख ४४ हजार रुपैयाँ बरारबको प्रिमियम वैदेशिक रोजगार बीमालेख बिक्री गरी संकलन गरेका छन् । सन नेपाल लाइफले सर्वाधिक बीमालेख जारी गर्दा प्रभु महालक्ष्मीले सबैभन्दा कम पोलिसी जारी गरेको छ । सन नेपालले १३ हजार ७३३ वटा, नेपाल लाइफले १२ हजार १७० वटा, आइएमई लाइफले ८ हजार ४५८ वटा, सुर्यज्योतिले ५ हजार १५४ वटा, रिलायबल नेपाल लाइफले ४ हजार ३३२ वटा, सानिमा रिलायन्सले ४ हजार १५८ वटा, नेशनल लाइफले ४ हजार २७९ वटा, सिटिजन लाइफले ३ हजार ६२७ वटा, एशियन लाइफले २ हजार ८०८ वटा र प्रभु महालक्ष्मी लाइफले ८१ वटा बीमालेख वैदेशिक रोजगारमा जाने बीमितहरुलाई बिक्री गरेका छन् ।
सन नेपालले गर्यो १४ लाखको वैदेशिक रोजगार बीमाको मृत्युदावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३ गते दुबईमा मृत्यु भएका थियो । उनले कम्पनीको वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको थिए । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले ठगुन्नालाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी सो रकम बराबरको चेक हस्तातरण गरेका थिए ।