काठमाडौं । आकर्षक तलब र विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय मनोहर मुडभरी रहेका छन् ।
उनले एक व्यक्तिलाई मौरिसस पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाजुरा घर भई काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको छ ।
कास्की स्थायी घर भई टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पाँचथर घर भई काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेललाई युएई पठाइदिने प्रलोभनमा ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै पीडितबाट रकम लिने र लामो समयसम्म पनि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।
उनीहरूले चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।