काठमाडौं । एनएमबी बैंकले मूल्य घटाएर थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । एफपीओ निष्कासनका लागि बैंक र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच पुनः छलफल सुरु भएको छ । नयाँ दरको विषयमा बैंक, नागरिक लगानी र धितोपत्र बोर्डबीच अहिले छलफल चलिरहेको कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण पोखरेलले बताए ।

“सेयर बजार घटेकाले एनएमबीको एफपीओ पहिलाको भन्दा कम दरमा आउने छ” उनले भने “नयाँ दर निर्धारण गर्नका लागि छलफल भइरहेको छ । केही दिनभित्र तय हुने छ ।” कोषसहित ५ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभुति (अण्डरराइटिङ) गर्ने छन् ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धक कोषले प्रस्तावित प्रतिकित्ता ४२५ रुपैयाँमा एफपीओ नकिन्ने भएपछि मूल्य घटाउन लागिएको हो । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेका थियो ।
सेयर बजार निरन्तर घटदै गएको र बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को एफपीओ बिक्री नभएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नु परेपछि कोष सञ्चालक समितिले सो दरमा प्रत्याभूति गर्न नसक्ने भनेको हो ।बीपीसीको ५५ करोड रुपैयाँ बराबरको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले सकारेका थिए ।
चुक्तापूँजी न्युनतम् ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । एनएमबीको पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ ।
बैंकका सीईओ सुनिल केसीले एफपीओ निष्कासन गरेर न्युनतम पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । उनले एफपीओ निष्कासनमा कुनै समस्या नभएको बताए ।
आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ ।
८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।