काठमाडौं । आउदो आर्थिक वर्ष ०७५/०७६ मा विद्युत उत्पादन बढेर जडित क्षमता १८०५ मेगावाट पुग्ने भएको छ ।
आउदो वर्ष माथिल्लो तामाकोसीलगायत साना ठुला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ६६१ मेगावाट बिजुली थप भई यो लक्ष्य पुरा हुनेछ ।
सरकारले ल्याएको बजेटमा आगामी आर्थिक वर्ष सकिदा विद्युत उत्पादन बढेर १८०५ मेगावाट पुग्ने उल्लेख गरिएको छ । आउदो वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी सो परिमाणमा बिजुली थप हुने भएको हो
यो क्षमता यो तापीय ऊर्जा बाहेकको हो । नेपाल विद्युत प्राधिकरणको ५३ मेगावाटको तापीय प्लाण्ट रहेका छन् । आउदो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न हुने भएपछि धेरै बिजुली थप हुने देखिएको हो । तामाकोसी सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको छ । तामाकोसी २०७६ को बैशाखसम्म सम्पन्न हुनेछ ।
तामाकोसी बाहेक अन्य आयोजना निजी क्षेत्रको हुने छ । जसअनुसार ४० मेगावाटको खानीखोला १, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपरदोर्दीखोला, २३.५ मेगावाटको सोलुखोला आयोजना सम्पन्न हुने अनुमान गरिएको छ ।
यस्तै २२.२ मेगावाटको अपरचाकु खोला ए, २२ मेगावाटको बाग्मती साना आयोजना, १८ मेगावाटको माथिल्लो सोलु, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४ मेगावाटको माथिल्लो मैलुङ १, ३.३ मेगावाटको खप्तडगाड र ३.२ मेगावाटको गेलुनखोला आयोजना सम्पन्न हुने छ।
आउदो असारसम्म २१ आयोजना सम्पन्न भई १९५ मेगावाट बिजुली थप हुने भएको छ । साउनयता १४ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । आउदो असारसम्म थप ७ आयोजना सम्पन्न भई प्रणालीमा ९५ मेगावाट बिजुली थप हुने छ ।
आउदो असारसम्म सम्पन्न हुनेमा अरुण कावेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको कावेली बी, माथिल्लो मोदी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको मोदी, अपी पावर कम्पनीको ८ मेगावाटको माथिल्लो नौगाड, माउन्टेन नेपाल हाइडोपावरको २१.६,तल्लो हेवाखोला, रैराग हाइडोपावरको ९.९ मेगावाटको इवाखोला, विन्धवासिनी हाइडोपावरको ८.८ मेगावाटको रुदीखोला र बराही हाइडोपावरको १.५ मेगावाटको थेउलेखोला आयोजना रहेका छन् ।
निजी क्षेत्रमार्फत हालसम्म विभिन्न ७३ आयोजनाबाट ५११ मेगावाट बिजुली उत्पादन भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट गरी हालसम्म १ हजार १९ मेगावाट बिजुली उत्पादन भएको छ । असार अन्तिमसम्म जडित क्षमता १ हजार ११४ मेगावाट पुग्ने छ ।
आउदो वर्ष बिजुली सुविधा उपयोग गर्ने ३ लाख घरधुरी थप भई ४३ लाख पुग्ने अनुमान सरकारले गरेको छ । विद्युत उपयोग गर्ने जनसंख्या ७८ प्रतिशत पुग्ने सरकारको अनुमान छ । हाल ६९ प्रतिशत रहेको छ । वार्षिक विद्युत खपत १७० युनिट पुग्ने छ । हाल १६४ युनिट बिजुली खपत पुगेको छ । बिजुली चुहावट १८.९ प्रतिशतमा झार्ने लक्ष्य बजेटमा लिइएको छ । हाल विद्युत चुहावट २०.९ प्रतिशत छ । लघु तथा साना जलविद्युत आयोजनाबाट हुने बिजुली उत्पादन ३३ मेगावाट पुग्ने छ । हाल ३० मेगावाट छ ।
हाल बिजुलीको माग १ हजार २५० मेगावाट छ । भारतबाट समेत गरी १ हजार ५० मेगावाट आपूर्ति भइरहेको छ । यसमध्ये भारतको हिस्सा ४५० मेगावाट छ