काठमाडौं । बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका अधिकांश विषय बस्तु बजेटमा नसमेटिएपछि सामाजिक सञ्जालमा व्यङग्य सुरु भएको छ । सामाजिक सञ्जालमा विज्ञ अर्थमन्त्रीको बजेटमाथी निकै चोटिला र तर्कपूर्ण टिप्पणीहरु भैरहेका छन् ।

पुर्व एमाले तथा वर्तमान नेकपाका कार्यकर्ता प्रकाश दुलालले घोषणा पत्र लेखिएको वृद्ध भत्ता सम्बन्धी बुँदा उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडालाई प्रश्न गरेका छन् । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि बजेट र अर्थमन्त्रीमाथी तिखो टिप्पणी लेखेका छन् । ‘दायरा बढाउने दुःख गर्नु भन्दा निचोर्ने बुद्धि लाउनु नै ठिक । अधिकार छदैँछ के भो र ? झन सजिलो बुद्धि व्याक्तिहरुलाई निचोर्नै नै हो ? प्राकृतिक व्यक्तिले न कुनै खर्च देखाउन पाईन्छ न न्युनविजिकरण नै गर्न पाईन्छ । झ्याप्पै कर लगाउनु भएछ बिज्ञ अर्थमन्त्रीले । चाहे दुःख गर्ने कर्मचारी हो, चाहे घर बेचेर खर्च जोहो गर्ने ब्याक्ति होस् या बर्षौ देखि घाटामा शेयर पाल्दै आएको व्याक्तिगत लगानीकर्ता होस । घरभाडा कर बढाउन छुटेछ है । केहि कारण परेछ के हो । आफू चाहि ३६ प्रतिशत कर तिरेर देश बिकासको महत्वपूर्ण हिस्सा बन्ने शौभाग्य पाएकोमा आभारी भईयो । धन्यबाद सरकार । समृद्द नेपाल, सुखी नेपाली । थप करको भार सांच्ची कै देशको समृद्धिमा लागोस । शुभकामना ।’, ज्ञवालीले आफ्नो फेसबुकमा लेखेका छन् ।

फेसबुकमै मधु पौडेलले आफुले ३० प्रतिशत काम सरकारका लागि गरेकाले बिरामी पर्दा निःशुल्क उपचार पाउँछु कि भन्ने जिज्ञासा राखेका छन् । पौडेल लेख्छन्–म ३० प्रतिशत काम सरकारका लागि गर्छु । अर्थात् ३० प्रतिशत काम गरे वापत प्राप्त हुने सम्पूर्ण ज्याला सरकारलाई बुझाईदिन्छु । र, ७० प्रतिशत काम आफ्ना लागि । के म सरकारसँग यत्ती अपेक्षा गर्न सक्छु– विरामी पर्दा निःशुल्क उपचार पाउने ?
पत्रकार विनय बञ्जाराले पनि विज्ञ अर्थमन्त्रीको बजेटमाथी समाजिक सञ्जालमा कडा टिप्पण गरेका छन् । ‘अर्थमन्त्री जीले भएभरका सामानमा कर बढाएर साढे ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य राखेछन् । ‘६ प्रतिशतको मुद्रास्फीति लक्ष्य राखिएकोमा साढे ९ प्रतिशत पुगेको छ,’ भनेर राष्ट्र बैंकमा भाषण गर्ने बानी लागेको, अहिले पनि भुल्या रैनछन् । सँगसँगै ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य । खास्साका अर्थशास्त्री ।’, बञ्जाराले लेखेका छन् ।