काठमाडौ । भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियतपूर्ण ऋण पाउन कठिन भएकामा गाउँपालिका महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका छन् ।
पुनःनिर्माणका क्रममा स्थानीयस्तरमा देखिएका समस्याबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गाउँपालिका महासंघका प्रतिनिधिबीच आज सोमबार भएको छलफलमा पुनःनिर्माणका क्रममा स्थानीय तहमा देखिएका समस्या राख्दै महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका हुन् ।
सरकारले पुनःनिर्माणका लागि उपत्यकामा २५ लाख र उपत्यका बाहिर दुई प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । सामूहिक जमानीमा पीडितलाई दिने भनिएको ३ लाख रुपैयाँ ऋण पनि धेरैले पाउन सकेका छैनन् ।
महासंघका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जिल्लाका जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रियालाई तीव्रता दिन प्राधिकरणलाई आग्रह गरे।
महासंघका महासचिव एवं सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले संघीयतापछि जिल्ला कार्यालय खारेज गर्ने निर्णय भएकामा जिल्ला सदरमुकाममा १९ वटा नयाँ भवन किन बनेको हो भनी जिज्ञासा राखेका थिए। टेण्डर भएर पनि काम शुरु नभएका भवनको निर्माण स्थगित गरी तिनलाई स्थानीय तहमा सार्ने प्रक्रिया मिलाउन उहाँले प्राधिकरणसँग अनुरोध गरे।
महासंघकी केन्द्रीय सदस्य एवं सिन्धुलीको सुनकोशी गाउँपालिका उपाध्यक्ष दीपा बोहराले बैंकमा अनुदान रकम पुगे पनि लाभग्राहीलाई समयमै उपलब्ध गराउन ढिलाइ हुने गरेकाले छिटो दिने व्यवस्था मिलाउन माग गरिन् ।
सिन्धुलीकै फिक्कल गाउँपालिका उपाध्यक्ष एवं महासंघ प्रदेश नं ३ सदस्य पार्वती सुनुवारले विभिन्न स्थानमा विद्यालय बनाउने काम निर्माण व्यवसायीले समयमै नगरेकाले त्यसको अनुगमनलाई चुस्त बनाउनुपर्नेमा जोड दिइन्।
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा स्थानीय तहका जनप्रतिनिधिको अगुवाइलाई प्राधिकरणले प्राथमिकतामा राखेको बताए । रासस