काठमाडौं । बोनस र हकप्रद सेयरमा लागेको लाभकरका विरुद्धमा सेयर कारोबार ठप्प भएपछि सरकारले समस्या समाधान खोज्न आन्तरिक गृहकार्य थालेको छ । अर्थ मन्त्रालयले लाभ करको विषयमा लगानीकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि आन्तरिक तयारी थालेको हो ।
लाभकरको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल जारी रहेको अर्थका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीले बताए । “हामी आन्तरिक छलफलमै छौ अहिलेसम्म लाभकरको विषयमा कुनै निर्णय भएको छैन” उनले भने “समाधानका लागि उपाय खोजी गरिरहेका छौ । केही दिनभित्रै समस्या समधान हुने छ ।”
सोमबार लगानीकर्ताको धारणा बुझेपछि अर्थ मन्त्रालय आन्तरिक छलफलमा जुटेको हो । सोमबार अर्थ मन्त्रालयमा राजश्व सचिव शिशीरकुमार ढुङ्गाना र नेपाल इन्भेष्टर्स फोरमबीच भएको वार्ताबीना निष्कर्ष टुङिएको थियो । सरकारले लाभकर खारेज नगरेको भन्दै लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प बनाएका छन् ।
लगानीकर्ताको दवाव आएपछि सेयर बजारप्रति अनुदार अर्थमन्त्री डा. युवराज खतिवडाले लाभकरका विषयमा केही द्धिविधा देखिएको भन्दै यसलाई मिलाउने बताए पनि हालसम्म यसका लागि कुनै काम भएको छैन । उनले अन्तरवर्तामा हिजै समस्या समाधान गर्ने बताएका थिए ।
कान्तिपुर टेलिभिजनको फायरसाइमा अन्तरवार्ता दिदै अर्थमन्त्री खतिवडाले लाभकर समस्या समाधान गर्ने ग्रीन सिग्नल दिएका थिए । यद्यपी उनले लाभकर हटाउने भनेका छैनन् केवल द्धिविधा मात्र हटाउने भनेका छन् । उनले लगानीकर्तामाझ केही अन्यौलता देखिएको भन्दै यसलाई तत्काल मिलाउने बताएका हुन् ।
यता सामाजिक सञ्जालमा लगानीकर्ताले अर्थमन्त्री खतिवडाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । तर खतिवडाले सेयर बजारको विस्तार र व्यवस्थित गर्न चाहेको स्पष्ट पारेका छन् ।
बोनस सेयर र हकप्रद सेयरमा थप लाभ कर लगाउन आन्तरिक राजश्व विभागले आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस क्लियरिग हाउस लिमिटेडलाई पत्राचार गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । आइतबारदेखि बोनस र हकप्रद सेयरमा थप लाभकर लागेको हाे।
सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो ।
संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । बाेनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार ओरालो लागेको छ ।