काठमाडौं । सरकारले एक अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरका विभिन्न वस्तुमा कर छुट दिने निर्णय गरेको छ । सरकारले विभिन्न वस्तु आयातमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्य शुल्क पूर्ण रूपमा छुट दिएको निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट फर्काइएका सामग्री, विदेशबाट नेपाल ल्याइएका पुरातात्त्विक सम्पदा तथा प्रतिनिधिसभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट प्राप्त सवारी साधन, सुरक्षा उपकरण र अन्य सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार अधिकांश कर छुट निर्वाचन केन्द्रित सहयोग सामग्रीमा दिइएको छ । भारत सरकारबाट अनुदान तथा सहयोगस्वरूप प्राप्त सवारी साधन, टियर ग्यास गन, फर्निचर, सुरक्षा सामग्री र स्पेयर पाट्र्सलगायत सामग्रीमा करोडौं रुपैयाँ बराबरको कर छुट प्रदान गरिएको छ ।
सरकारले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट प्राप्त विभिन्न सामग्रीमा व्यापक कर छुट दिएको हो । यसअन्तर्गत भारतीय दूतावास काठमाडौंको नाममा पैठारी भई नेपाल सरकारलाई हस्तान्तरण गरिने १०६ थान सवारी साधनमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ । यी सवारी साधनको मूल्य भारतीय रुपैयाँ ७ करोड ४८ लाखभन्दा बढी रहेको उल्लेख छ ।
त्यस्तै, थप २२३ थान सवारी साधनमा १६ करोड १९ लाख रुपैयाँ बराबरको कर छुट दिइएको छ भने अर्को चरणमा प्राप्त ३० थान सवारी साधनमा २ करोड ४१ लाख रुपैयाँ बराबरको कर मिनाहा गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि भारत सरकारबाट प्राप्त टियर ग्यास गन तथा सम्बन्धित सामग्रीमा पनि सरकारले कर छुट दिएको छ । करिब १८ करोड ३८ लाख भारतीय रुपैयाँ मूल्य बराबरका ती सामग्री निर्वाचन सुरक्षामा प्रयोग गरिएको बताइएको छ ।
यसका अतिरिक्त विभिन्न चरणमा प्राप्त फर्निचर, कार्यालय सामग्री, सुरक्षा उपकरण, लाइटिङ सिस्टम, रोड ब्लकेड तथा अन्य निर्वाचन सहजीकरण सामग्रीमा समेत करोडौं रुपैयाँ बराबरको कर छुट प्रदान गरिएको छ ।
राजपत्रअनुसार सातौँ, नवौँ र दशौँ किस्तामा प्राप्त सामग्रीमा मात्रै २२ करोड ८७ लाख रुपैयाँभन्दा बढी बराबरको कर छुट दिइएको छ । त्यस्तै तेह्रौँदेखि पन्ध्रौँ किस्तासम्मका सामग्रीमा थप ७ करोड ११ लाख रुपैयाँ बराबरको कर छुट गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसन ‘युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराक मा खटिएका नेपाली शान्ति सैनिकहरूले प्रयोग गरेका सामग्री नेपाल फर्काउँदा पनि सरकारले कर छुट दिएको छ ।
मिसन बन्द हुने भएपछि अमेरिकी डलर २२ हजार ४१९ बराबरका हतियार, एम्युनिशन तथा एसेसरिज नेपाल ल्याउँदा लाग्ने भन्सार महसुल, भ्याट तथा अन्य शुल्क पूर्ण रूपमा मिनाहा गरिएको हो ।
सरकारले बेल्जियमबाट नेपाल फिर्ता ल्याइएका ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सामग्रीमा समेत कर छुट दिएको छ । ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाल ल्याइएका १२औं शताब्दीको प्रस्तर निर्मित परशुरामको मूर्ति, ११औँ शताब्दीको काठको गाता चित्र र काठको टुँडाललगायत सामग्रीमा लाग्ने भन्सार महसुल तथा अन्य शुल्क मिनाहा गरिएको हो ।
यी सामग्री ‘आर्ट रिकभरी इन्टरनेशनल’ नामक संस्थाको पहलमा नेपाल फिर्ता ल्याइएको जनाइएको छ ।
अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी विभिन्न मितिमा यी निर्णय गरेको जनाएको छ । सरकारका अनुसार राष्ट्रिय महत्व, निर्वाचन व्यवस्थापन, सुरक्षा तयारी तथा सांस्कृतिक सम्पदा संरक्षणलाई ध्यानमा राखेर कर छुटको व्यवस्था गरिएको हो ।