सेयर बजारको लफडा: समृद्धिको उल्टो यात्रा

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पुग्दा लगानीकर्ताको सधै एउटै प्रश्न हुन्थ्यो–‘अनलाईन कारोबार चाँडो चाहियो, नेप्सेको सर्भर राम्रो हुनुपर्यो ।’  तर मंगलबार नेप्सेका लगानीकर्ताको माग अर्कै थियो । उनीहरु भन्दै थिए–‘नेप्सेको सर्भर डाउन गर्नु पर्यो ।’ ब्रोकर कम्पनीलाई सेयर खरिद बिक्रिको अर्डर दिने लगानी कर्ता त्यहाँ पनि भन्दै थिए–‘सेयर कारोबार बन्द गर्नुस नत्र गाह्रो पर्छ ।’ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पुग्दा लगानीकर्ताको सधै एउटै प्रश्न हुन्थ्यो–‘अनलाईन कारोबार चाँडो चाहियो, नेप्सेको सर्भर राम्रो हुनुपर्यो ।’  तर मंगलबार नेप्सेका लगानीकर्ताको माग अर्कै थियो । उनीहरु भन्दै थिए–‘नेप्सेको सर्भर डाउन गर्नु पर्यो ।’

शुन्य कारोबार भएको दृश्य

ब्रोकर कम्पनीलाई सेयर खरिद बिक्रिको अर्डर दिने लगानी कर्ता त्यहाँ पनि भन्दै थिए–‘सेयर कारोबार बन्द गर्नुस नत्र गाह्रो पर्छ ।’ सेयर बजारका लगानीकर्ताहरुका तीन वटा संगठनले सोमबार साँझ नै संयुक्त रुपमा पत्र लेखेर सेयर कारोबार नगर्न चेतावनी दिएका थिए । लगानीकर्ताहरुको आन्दोलनलाई ब्रोकरहरुले पनि स्वतःफुर्त सघाएका छन् । ब्रोकरहरुले कारोबार खुलाएका छन् तर खरिद बिक्रिको अर्डर लिईरहेका छैनन् ।

कारोबार रोकेर डिस्प्लेमै लोकदोहोरी हेर्दै लगानीकर्ता

सेयर लगानीकर्तालाई सधै स्वागत गर्ने नेपाल धितोपत्र बोर्ड र नेप्सेको गेटमा प्रहरी तैनाथी गरिएको छ । आन्दोलनकारीहरु ब्रोकरहरुका कार्यालयहरुमा पुगेर सेयर कारोबार भए।नभएको अनुगमन गरिरहेका छन् । अर्थमन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिनको म्यादसहित सेयर बजारमा देखिएको समस्या समाधानका लागि समिति गठन गरेको छ । तर आन्दोलनकारी लगानीकर्ताहरुले आन्दोलन फिर्ता नलिने अडान राखेका छन् । ‘बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पत्र फिर्ता नभएसम्म आन्दोलन फिर्ता हुन्न’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले भने ।

सिडिएस कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी

तर राजश्व सचिव शिशिर ढुंगानाले भने तत्कालै लाभकर सम्बन्धी पत्र फिर्ता नहुने स्पष्ट पारेका छन् । ‘समस्याको अध्ययनका लागि समिति बनाएका छौं, त्यहाँ आफ्ना कुरा राख्न लगानीकर्ताले पनि पाउँछन्, १५ दिनमा प्रतिवेदन आउँछ, त्यतिञ्जेल कुर्नुस भनेका छौं’, राजश्व सचिव ढुंगानाले भने ।

सेयर कारोबारको गर्न छाडेर टिभीमा समाचार हेर्दै लगानीकर्ता

कर कार्यालयले बोनस र हकप्रद सेयरमा ७.५ प्रतिशत लाभकर लगाउन परिपत्र गरेको छ । त्यसका विरुद्ध सेयर लगानीकर्ता आन्दोलन गरिरहेका छन् । उनीहरुले नेप्से देखि धितोपत्र बोर्डसम्म धर्ना दिईरहेका छन् । सरकारले समृद्धिको आधार बर्षका रुपमा नीति तथा कार्यक्रम ल्याएको थियो । त्यसलाई सार्थक बनाउने भन्दै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिसकेको छ ।

अर्थतन्त्रको पहिलो प्रतिबिम्बका रुपमा हेरिने सेयर बजारका लगानीकर्ता निरुत्साहित बनेका छन् । बजार चल्नु पर्यो, छिटो छिटो राफसाफ गर्नु पर्यो भन्ने लगानीकर्ता आफैं सेयर बजार बन्द गराउँदै हिडेका छन् । लगानीकर्ताले आफै बजार बन्द गराएको यो नै नेपाली इतिहासको पहिलो घट्ना हो । ‘बामपन्थी सरकारले सेयर बजारलाई समाप्त पार्ने संकेत देखिएको छ, राजश्व तर्फका कर्मचारी सेयर बजारप्रति साह्रै नकारात्मक देखिए’, एक जना लगानीकर्ता संगठनका नेताले भने ।

सरकारले समृद्धिको सपना देखाईरहेका बेला त्यसका सहयात्रीहरु आन्दोलन गरिरहेका छन् । सेयर बजारको यो लफडाले देश पक्कै बन्दैन् । अर्थमन्त्री डा. युवराज खतिवडाको पहिचान घर जग्गा कारोबार र सेयर बजार प्रति नकारात्मक पात्रका रुपमा स्थापीत छ । तर अर्थमन्त्री भएपछि उनले सेयर बजारबाट पूँजी संकलन गरेर राष्ट्रिय अर्थतन्त्र निर्माणमा खर्च गर्ने बताउँदै आएका छन् । उनले पूँजी बजारको विस्तार र स्थायीत्वका लागि एक लाख भन्दा बढि पूँजी भएका सबै उद्योग व्यवसायलाई पूँजी बजारमा प्रवेश गर्नै पर्ने बाध्यात्मक व्यवस्था पनि अघि सारेका छन् । तर बोनस र हकप्रद सेयरमा लाभकर लगाउने निर्णयबारे भने उनी मौन देखिन्छन् । सेयर बजारको लफडाले नेपालमा सबै खाले क्षेत्रमा लगानीकर्ताको मनोबल गिराउन सक्छ । विदेशी लगानी पनि निरुत्साहित हुन सक्छ । समृद्धिको आधार बर्ष घोषणा गरेको सरकार यस्ता बिषयमा सचेत हुनु आवश्क छ ।

Share News