काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउन र वित्तीय संस्थाहरु मर्ज गराई थोरै संख्यामा झार्न नेपाल राष्ट्र बैंकलाई सफलता मिलेको छ । वित्तीय क्षेत्रको सुदृढीकरणको लागि राष्ट्र बैंकले तीन वर्षअघि पुँजी वृद्धिको लागि बाध्यकारी र मर्जरको लागि स्वेच्छिक नीति लिएको थियो ।

पुँजी वृद्धिमा राष्ट्र बैंकलाई करिव ८६ प्रतिशत सफलता मिलेको छ । पुँजी वृद्धिमा वाणिज्य बैंकतर्फ ९६ प्रतिशत, विकास बैंकतर्फ ८५ प्रतिशत र वित्त कम्पनीतर्फ ७६ प्रतिशत सफलता मिलेकाे छ ।
एउटा वाणिज्य बैंक, एउटा वित्त कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेको, एउटा विकास बैंक र ४ वटा वित्त कम्पनी रेजिलेशनमा रहेको तथा एउटा वित्त कम्पनी खारेजी प्रक्रियामा रहेकोले लक्ष्यमा ८६ प्रतिशत मात्र सफलता मिलेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको स्वेच्छिेक मर्जर नीति पनि प्रभावकारी देखिएको छ । ‘वित्तीय क्षेत्रको सुदृढीकरणको लागि बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया र चुक्ता पुँजी वृद्धि नीति लिए पश्चात् कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्’ आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले भने’–‘त्यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् ।’
नयाँ मौद्रिक नीतिमा पनि स्वेच्छिक मर्जरलाई प्राथमिकता दिने भनिएको छ ।
२०७२ असारमा वाणिज्य बैंकहरुको संख्या ३० रहेकोमा हाल २८ मा झरेको छ । २०७२ असारमा विकास बैंकहरुको संख्या ७६ रहेकोमा सो संख्या हाल ३३ मा झरेको छ भने वित्त कम्पनीको संख्या ४८ बाट २५ मा झरेको छ ।
पुँजी वृद्धि नीति कार्यान्वयनमा पनि सफल भएको राष्ट्र बैंकको विश्लेषण छ । ‘२८ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटाले तोकिएको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन् । २०७५ असार मसान्तसम्ममा २ वटा वाणिज्य बैंकहरु चुक्ता पुँजी पु¥याउने प्रक्रियामा छन् भने एउटा वाणिज्य बैंकको चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने देखिन्छ’ राष्ट्र बैंकले भनेको छ । कुमारी बैंक र एनएमबीले चुक्ता पुँजी ८ अर्ब पुर्याउँदै छन् भने एनसीसी बैंकले २०७५ असार मसान्तसम्ममा पनि ८ अर्ब पुँजी पुर्याउन नसक्ने राष्ट्र बैंकको भनाई छ ।
२०७५ जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी २२७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
विकास बैंक र वित्त कम्पनीको अवस्था पनि सन्तोषजनक
अधिकांश विकास बंैक र वित्त कम्पनीहरु पनि तोकिएको चुक्ता पुँजी पु¥याउने प्रक्रियामा राष्ट्र बैंकले जनाएको छ । ८५ प्रतिशत विकास बैंकहरु तोकिएअनुसार पुँजी पुर्याउ सफल देखिएका छन् । हाल सञ्चालनमा रहेको ३३ विकास बैंकहरुमध्ये २१ वटाले तोकिएको चुक्ता पुँजी पु¥याएका छन् । राष्ट्र बैंकका अनुसार ७ वटा विकास बैंक तोकिएको चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन् । ४ वटा विकास बैंकको चुक्ता पुँजी पु¥याउने समयावधि थप गरिएको छ र एक विकास बैंक रिजोलुशनको प्रक्रियामा रहेको छ ।
त्यस्तै, ७६ प्रतिशत वित्त कम्पनी राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याउने अवस्थामा छन् । राष्ट्र बैंकमा अनुसार २५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पुँजी पु¥याएका छन् । ३ वटा वित्त कम्पनी चुक्ता पुँजी पुर्याउने क्रममा रहेका छन् । ५ वटा वित्त कम्पनीको चुक्ता पुँजी पु¥याउने समयावधि थप गरिएको छ ।
एउटा कम्पनीको चुक्ता पुँजी नपुग्ने देखिन्छ । यस बाहेक ४ वटा वित्त कम्पनीहरु रिजोलुसनको प्रक्रियामा छन् र एक वित्त कम्पनी खारेजीको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले गाभिने तथा प्राप्ति एवम् चुक्ता पुँजी वृद्धि गर्ने नीति लागू गरे पश्चात् विकास बैंक तथा वित्त कम्पनीहरुको संख्यामा उल्लेख्य कमी आएता पनि वाणिज्य बैंकहरुको संख्यामा अपेक्षाकृत कमी आएको गभर्नर नेपालले बताए ।