काठमाडौं । नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस भित्र्याउन दुई कम्पनीले तयारी थालेका छन् । प्रदुषण कम गर्ने विद्युतिय बस सञ्चालनका लागि गोर्खा इको प्यानल र मयुर यातायातले आआफ्नै तयारी थालेका छन् ।
इलेक्ट्रोनिक बस खरिद गर्नका लागि सरकारले करमा विशेष छुट दिएपछि कम्पनीहरुले बस भित्र्याउन तिब्र तयारी थालेका हुन । डिजेलबाट चल्ने बस भन्दा ब्याट्रिबाट चल्ने बस केहि महगों हुने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए । “हामीले अहिले नमूना परिक्षणका लागि २ वटा बस ल्याउने तयारी गरेका छौं, यसका लागि चीनियाँ कम्पनी सियानज्याङ जिउहाउ अटोमोबाइलसँग सम्झौता भैसकेको छ, दुवालले भने अबको ३ महिना १५ दिनमा बस सञ्चालनमा ल्याउछौं ।”

उनले इलेक्ट्रोनिक बसलाई मानिसहरुले विस्वास नगरेको र आफ्नो कम्पनीले सो भ्रमलाई चिर्ने बताए । यो बसको ब्याट्री ३ घण्टामा फुल चार्ज हुनेछ । फुल चार्ज एक पटक फुल चार्ज भएको ब्याट्रीबाट ५० किलोमिटरसम्म गुडाउन सकिनेछ ।
दुवालका अनुसार बसका लागि ४ करोड रूपैयाँ खर्च लाग्नेछ । प्यानलले बस रिङरोडभित्रै सञ्चालन गर्ने तयारी गरेको छ । एउटा बसको लम्बाई ५ मिटर र अर्को बसको बसको लम्बाई १० मिटर भन्दा बढी हुने हुनेछ । बसको लम्बाई लामो हुने भएकोले कुन रुटमा बस सञ्चालन गर्ने भन्ने विषयमा छलफल भैरहेको छ । प्यानलले ल्याउने १० मिटरको बसमा एसी, वाइफाई, बाहिरको धुलो सजिलै भित्र नपस्ने लगायतको व्यवस्था गरिनेछ । उपत्यकामा यो बस सफल भए यसको संख्या बढाउने प्यानलको तयारी छ ।
यस बसमा प्रयोग गरिएको ब्याट्री ५ वर्षसम्म टिकाउ हुने जिउहाउ कम्पनीले दाबी गरेको छ । ब्यट्रीमा प्रयोग गरिएको लिथियम आइरन फोस्फेटले ब्याट्री चार्ज छिटो हुनेछ । इको प्यानलले ल्याउने बस सीएनएसी ब्राण्डको हो । यो बस चीनको विभिन्न शहरहरुमा सञ्चालन भैरहेको छ भने मलेसिया थाइल्याण्डमा समेत सञ्चालन भैरहेको छ । नेपालका लागि यो बसको आधिकारी बिक्रेता इको प्यानल हुनेछ ।
मयुर यातायातमा १ अर्ब लगानी, १ वर्षभित्र ४० वटा इलेक्ट्रिक बस भित्र्याउने
सिन्डिकेट अन्त्य भएपछि उदाएको मयुर यातायातले आफ्नो सेवालाई देशभर विस्तार गर्ने तयारी गरेको छ । यातायातका कार्यकारी प्रमुख मोहन श्रेष्ठका अनुसार दशैअघि १०० वटा बस पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले यो वर्षभित्र ४० वटा इलेक्ट्रिक बस ल्याउनेछ । कम्पनीले दशैअघि उपत्यका बाहिर समेत सेवा सुचारु गर्नेछ ।

हालसम्म सो कम्पनीमा लगानी १ अर्ब रूपैयाँ नागिसकेको छ । कम्पनीले पब्लिकमा सेयर जारी गरेर थप सेवा विस्तार गर्ने तयारी गरेको छ । श्रेष्ठले भने-” कम्पनीमा गैरआवासीय नेपालीहरुले समेत लगानी गरेका छन्, अब नेपालीहरुलाई पनि सेयर बेचेर नेपालको सबैभन्दा ठूलो यातायात कम्पनी बन्छौं, यसको मोडालिटीको लागि थप छलफल गरिरहेका छौं ।” नेपालमा विद्युत उत्पादनको क्षमता बढेसँगै विद्युतिय कार, मोटरसाइकल स्कुटरको प्रयोग बढ्दै गैरहेको छ ।