
काठमाडौं । नेपालमा सञ्चालित मानवीय सेवाका गतिविधिहरुलाई प्रभावकारी बनाउँदै उत्थानशील समुदाय निर्माण गर्न रेडक्रस अभियानका अंगहरु साझेदारीको नयाँ ढाँचामा सहमत भएका छन् । नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय महासँघ र आइसीआरसीको संयुक्त आयोजनामा मंगलबार सम्पन्न दुइदिने रेडक्रसको साझेदारी बैठकले नेपालमा समन्वयात्मक र प्रभावकारी सहयोगको लागि साझा नेतृत्वको अवधारणा अघि सारेको हो ।
यसैवीच विभिन्न देशका रेडक्रस सोसाइटीहरुले नेपालमा उत्थानशीलता, लैँगिक समानता, पूर्वतयारी, नगद सहयोग, स्वास्थ्य र जवाफदेहिता जस्ता क्षेत्रमा सहयोग अभिवृद्धि जनाएका छन् ।
कार्यक्रमको दौरानमा सहभागी अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, स्वीजरल्याण्ड, बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्याण्ड, जापान, थाइल्याण्ड लगायतका मुलुकका रेडक्रसका प्रतिनिधिहरुले नेपालमा रेडक्रसको संस्थागत विकास र सामुदायिक सहयोगमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।
बैठकमा नेपालको अवस्थाबारे विश्लेषण, नेपालमा प्रयोग गरिएका विकासका मोडलहरु,गत साझेदार बैठकका निचोड र प्रगति, नेपाल भुकम्प सहयोगको प्रगति र आगामी दिनको साझेदारीका प्राथमिकता जस्ता क्षेत्रमा गहन छलफल गरिएकोले बैठक सफल भएको धारणा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले बताए ।
उक्त २ दिने बैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको थियो । साझेदार मुलुकका प्रतिनिधिहरु बुधबार फिल्ड अवलोकनका लागि विभिन्न जिल्लाहरुमा गएका छन् ।
कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, आइएफआरसी एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलर र साझेदारी विभाग प्रमुख पियरे क्रेमर तथा अष्ट्रेलियन रेडक्रसका मुकेश सिँले सहजीकरण गरेका थिए ।