काठमाडाैं । नेपाल सरकारले भारतसँग खरिद गरेका दुई रेल तयार भएका छन् । जयनगर–विजलपुरा–कुर्थासम्म चल्ने रेल भारतको सवारी डिब्बा कारखानाले तयार पारेको हो । नेपालमा सञ्चालन गर्ने भनिएका दुई वटा रेल भारतको मद्रासमा तयार भइसकेका जनाइएकाे छ ।
विभागले एउटा रेलको मूल्य ४२ करोड ५० लाख रुपैयाँमा पर्ने बताएको छ । रेल विभागका अनुसार रेल माघको तेस्रो सातासम्म नेपाल आइपुग्नेछन् । दुवै रेलमा नेपाल सरकारले भारत सरकारसँग ८५ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको जनाएको छ ।
रेल विभागले भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्ने विभागले जनाएको छ ।
रेल विभागका महानिर्देशक मिश्रले रेल नेपाल ल्याएको एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताए । तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने उनको भनाइ छ ।
जनशक्ति भारतबाट मगाइने
रेल सञ्चालनका लागि भारतबाट जनशक्ति मगाइने विभागले जनाएको छ । अहिलेसम्म नेपालले रेल सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसकेको मिश्रकाे भनाइ छ। रेल सञ्चालनका लागि आवश्यक जनशक्ति भारतबाटै करारमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ ।
जनकपुर–जयनगर–कुर्था रुटमा चल्ने रेलमा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न सकिने भएको छ । सरकारले सरकारी रेल्वे कम्पनीलाई आवश्यक दक्ष श्रमिक नेपालबाट भर्ति गर्न नसके विदेशबाट झिकाएर रेल चलाउन सक्ने गरी अनुमति दिएको छ ।
जयनगर–बिजलपुरा लागि एउटा ‘डिमो’ ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन् त्यसमा उभिएर यात्रा गर्नेसहित गर्दा १२ सयदेखि १४ सय जना यात्रु आवतजावत गर्न मिल्ने जनाइएको छ ।
२ सय २६ कर्मचारी करारमा
सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।