काठमाडौं । सडक डिभिजन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्र भएको छ । चालु आवका लागि सङ्घीय सरकारबाट ७४ करोड ३६ लाख १९ हजार रुपैयाँ बजेट विनियोजितमध्ये साउनदेखि चैतसम्म कार्यालयको हालसम्म पुँजीगत खर्च २६ प्रतिशतमात्र भएको सडक डिभिजन कार्यालय जुम्लाका नि। प्रमुख श्रवण कुमार महताराले जानकारी दिए ।
यो आवमा सडकका २२ वटा योजना बोलपत्र भई कार्यान्वयन गर्नका लागि सम्झौता भई अहिले काम धमाधम भइरहेका छन् । कार्यालयको जुम्लालगायत कालिकोट र मुगु जिल्लामा कार्यक्षेत्र रहेको छ । राराताल जाने नाग्म-गमगढी सडकको कालोपत्र गर्न, नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर सडकको कालोपत्र गर्न ठेक्का आह्वान गरिएको कार्यालय प्रमुख महताराले बताए ।
१५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्रका लागि अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ । नाग्म-गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको छ । ४ वर्ष अगाडि सो सडकको यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब छ किलोमिटरमात्र सडक कालोपत्र भएको कार्यालय प्रमुख महताराको भनाइ छ ।
पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले सडकका विकास निर्माणका काम प्रभावित हुने देखिन्छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा करिब ५ वटा सडकका आयोजना प्रभावित हुने अनुमान गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सडक कालोपत्र गर्न आवश्यक निर्माण सामग्री नपाएको गुनासो निर्माण व्यवसायीबाट आउने गरेको सडक डिभिजन कार्यालयका प्रमुख महताराको भनाइ छ । निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।