काठमाडाैं । जिल्लाका ७ पालिकाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब ४० करोड रूपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र ५ नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ ।
स्थानीय तहले सामान्य ढङ्गबाट परिषद् गरिरहेका छन् । अतिथिसमेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । जसमा ४ अर्ब १५ करोड ६४ लाख रूपैयाँ बजेट सार्वजनिक गरिएको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब १४ करोड रूपैयाँ बजेट ल्याएको छ । नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि ७७ करोड ८५ लाख रूपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
यस्तै राप्ती नगरपालिकाले ८२ करोड रूपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले १ करोड ५० लाख रूपैयाँसम्म पाएका छन् । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ । माडी नगरपालिकाले ८८ करोड ७० लाख रूपैयाँको बजेट ल्याएको छ । यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ ।
कालिका नगरपालिकाले २०७७/७८ का लागि १ अर्ब २ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ । इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताए । बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए । गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ । रासस