काठमाडौं । निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढाएकोप्रति निर्माण व्यवसायीहरु आक्रोशित भएका छन् । कोरोना भायरसको प्रभाव कायमै रहेको समयमा निर्माण सामग्रीहरुको मूल्य एक्कासी बढाउनु कालोबजारी भएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।
उनीहरुले सरकारलाई कालोबजारी रोक्न र अनुगमन गर्न आग्रह पनि गरेका छन् । १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले यस्ताे बताएका हुन् ।
पछिल्लो समय धेरै निर्माण सामग्रीहरुको मूलय बढेको छ । निर्माणमा चाहिँने सामान फलामजन्य डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टको मूल्य अप्रत्यासित रुपमा बढाइएको हो । अहिले महामारी कायमै रहेको समयमा पनि व्यवसायीले सिजनको गलत फाइदा उठाउँदै निर्माण सामाग्रीमा अप्रत्यासित वृद्धि गरेका हुन् ।
केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी प्रतिकेजीमा र १५ देखि देखि २० रुपैयासम्म मूल्यवृद्धि भएको र ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको छ । वालुवा, सिमेन्ट र छडको मूल्य बढेसँगै व्यक्तिगत र सार्वजनिक संरचना निर्माणको लागत बढ्ने भएको छ ।
कात्तिकसम्ममा क्रसर उद्योगमै प्रतिटिप २५ सयदेखि ३ हजारमा पाउने बालुवा अहिले ८ हजारसम्म पुगेको छ भने केही महिना अगाडि प्रतिकेजी २० सस्तोमा पाइने डण्डीको मूल्य अहिले २० देखि २५ रुपैयाँ महँग्गो भएको छ ।
जीआई तारको मूल्य पनि अत्याधिक रूपमा बढेको छ । असोजमा ग्याबिन तारको मूल्य १ सय ८५ रुपैयाँ थियो । अहिले त्यसको मूल्य २ सय २५, २ सय ३० रुपैयाँ पुगेको छ । अहिले ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको बताइएको छ ।
विगतको दिनमा २५ सयमा क्रसरमा प्रतिटिप दिइए पनि काठमाडौंमा आइपुग्दा २२ हजारसम्ममा मूल्य पथ्र्यो, तर अहिले उक्त मूल्य बढेर ३० हजार पुगेको छ । निर्माण सामगीको मूल्यमा अप्रत्यासित वृद्धि भएपछि निर्माण व्यवसायीहरुले पनि आपत्ति जनाएका छन् ।
यस्तै, सिहँले कोरोना भाइरसको कारण प्रभावित भएका निर्माणाधीन आयोजनाहरुका लागि एक वर्ष म्याद थप गर्न माग गरेका छन् । निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको कारण धेरै आयोजनाहरु प्रभावित भएकोले आयोजना निर्माण र बोलपत्रको माग थप गर्नु पर्ने माग गरेका हुन् । कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएको बताउँदै उनले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताएका हुन् ।
यस्तै, २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरे । गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग गरे ।
यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन समेत माग गरे । यस्तै, निर्माणको सिजनमा निर्माण सामग्रीहरुमा कलोबजारी भएको निर्माण व्यवसायीको ठहर छ । निर्माण क्षेत्रलाई चलायमान बनाउन आफुहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाई छ । निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनको गुनासो छ ।