काठमाडौं । गत वर्ष असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा चीनकै आर्थिक सहयोगमा टोखा–छहरे सुरुङमार्ग बनाउने भन्ने विषयले निकै प्राथमिकता पायो । त्यतिखेर नेपाल र चीनबीच २० बुँदे समझदारीपत्रमा टोखा–छहरे सुरङ मार्ग बन्ने भनिएपछि चीनसँग प्रत्यक्ष जोडिने सुरुङ मार्गका रुपमा टोखा–छहरे सुरुङमार्गलाई लिइयो ।
राष्ट्रपति सीको राजकीय भ्रमणका अवसरमा दुई देशका उच्चस्तरीय सरकारी टोलीले छलफल गरी १८ वटा समझदारीपत्र र २ ओटा लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीमा हस्ताक्षर भएको थियो । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौतापत्र दुई देशका सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच आदानप्रदान गरिएको थियो ।
सो सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो ।
सो सम्झौता भएको एक वर्ष भइसक्दा पनि त्यसको कुनै पनि काम अगाडि बढेको छैन । चीनको आर्थिक सहयोगमा बन्ने भनिएको सो सुरुङमार्गको निर्माणमा चीनीयाँ र नेपाली पक्षले कुनै पनि काम अगाडि बढाएका छैनन् ।
सडक विभागका अनुसार हालसम्म सो सुरुङमार्गको कुनै पनि काम अगाडि बढेको छैन । ‘यो नितान्त चिनियाँ लगानीमा बन्ने भनिएको परियोजना हो, त्यसमा नेपाल सरकारको कुनै पनि कार्यक्रम छैन, यसमा चीनियाँ अध्ययन टोली आउनु पर्ने हुन्छ, त्यसको समन्वयकर्ताको रुपमा मन्त्रालय रहन्छ, ठ्याक्कै यो काम भएको भन्ने छैन,’ सडक विभागका सूचना अधिकारी शिवहरी सापकाेटाले भने ।
साे परियाेजना विभागको मातहतमा भएपनि काम भने केही नभएको उनको भनाई छ । हामीले टोखा छहरे निर्माण गर्ने कि खुटिया दिपायलतर्फको निर्माण गर्ने भनेर अध्ययन पनि गर्यौं, यो परियाेजना नितान्त चीनियाँ सरकारकाे मातहतमा पर्ने परियाेजना हो, यो उहाँहरुले गर्दै रहनु भएको होला, त्यसको विस्तृत प्रतिवेदन हामी कहाँ आइपुगेको छैन, त्यसैले हामीले केही पनि भन्न सकिने अवस्था छैन,’ सापकाेटाले भने ।
अध्ययनको जिम्मा चीनीयाँ पक्षकाे भएको उनको भनाई छ । एक पटक चिनियाँ पक्ष आएर पनि हेरेर गएको उनले बताए । ९ जनाको टोलीले करिब एक महिना लगाएर सुरुङको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भन्ने थियो । तर टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो ।
एक वर्ष अगाडि नेपाल र चीनियाँ पक्षबिच भएको समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भनेको थियो ।
टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्ने उल्लेख गरिएको थियो । हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ ।
लगानीबोर्डले पनि टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि प्रस्ताव पेश गरेको थियो। लगानी बोर्डले पेश गरेको प्रस्तावमा सुरुङमार्गको लम्बाई ४.१७५ किलोमिटर हुने उल्लेख छ । २०७१ सालमा गरिएको अध्ययन अनुसार बोर्डले सुरुङमार्ग निर्माण गर्न २६ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, यकिन लगानी भने हालसम्म आएको छै ।