प्राधिकरणले प्रकाशित गरेको यो सूचनाले लोडसेडिङ तालिका आउने संकेत गरेको हो ?

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको एउटा सूचनाले सर्वसाधारणलाई झस्काएको छ । केही वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीले फेरि बत्ती नआउने हो कि भन्ने चिन्ताले सताएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा ‘मिति २०७७।०९।१६ गते विहीवार बानेश्वर सव स्टेसनको लोड व्यस्थापन गर्नको लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर विहान [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको एउटा सूचनाले सर्वसाधारणलाई झस्काएको छ । केही वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीले फेरि बत्ती नआउने हो कि भन्ने चिन्ताले सताएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा ‘मिति २०७७।०९।१६ गते विहीवार बानेश्वर सव स्टेसनको लोड व्यस्थापन गर्नको लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर विहान ९ः०० बजे देखि १०ः०० बजे सम्म, हरिसिद्दि फिडर दिउसो १२ः०० बजेदेखि २ः०० बजेसम्म र रेडियो नेपाल फिडर दिउसो १२ः०० बजे देखि ३ः०० बजेसम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने भएकोले सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ’ भनिएको छ ।

प्राधिकरणले लोड व्यवस्थापनको लागि भन्दै निश्चित क्षेत्रमा तोकिएको समयसम्म बत्ती नआउने सूचना प्रकाशित गरेको हो । प्राधिकरणले भनेको लोड व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङने नेतृत्व संहाल्नुअघिको जस्तै लोडसेडिङको पूर्वाभ्यास हो कि होइन भनेर हामीले प्राधिकरणका प्रवक्ता मदन तिम्सिनालाई साधेका छौं ।

‘लोडसेडिङ भनेको माग अनुसार विद्युत उपलब्ध नभएको अवस्थामा एकातिर बत्ती नदिएर अर्काेतिर बत्ती दिने कार्य हो, अहिले माग अनुसारको विजुली उपलब्ध छ, त्यसैले यो लोडसेडिङ होइन, नियमित रुपमा विद्युत आपूर्ति गर्नको लागि अपनाउनु पर्ने पूर्व सावधानीको काम गर्नको लागि केही समय विद्युत आपूर्ति रोकेर पूर्वाधार बनाइएको मात्रै हो, यसलाई नियमित मर्मत सम्भारको अर्थमा बुझ्दा पनि हुन्छ,’ प्रवक्ता तिम्सिनाले भने ।

उनले अहिले लोडसेडिङ हुने कुनै सम्भावना नरहेको पनि दाबी गरे । माग अनुसार विद्युत उपलब्ध भएकोले लोडसेडिङ नहुने उनको भनाई छ ।

प्रवक्ता तिम्सिनाका अनुसार अहिलेसम्म यो सिजनको सबैभन्दा बढी माग १४ सय ६० मेगावाटसम्म पुगेको छ भने औसत माग १४ सय ५० मेगावाटको हाराहारीमा छ । यसमध्ये प्राधिकरणका आयोजनाबाट दैनिक ५ सय २० मेगावाटको हाराहारीमा विद्युत उत्पादन भएको छ भने निजी क्षेत्रका आयोजनाबाट दैनिक ३ सय २० मेगावाटको हाराहारीमा विद्युत प्राप्त भएको छ । आन्तरिक उत्पादनबाट अपुग भएको दैनिक करिब ६ सय मेगावाट विद्युत भारतबाट खरिद गरेर ल्याइएको तिम्सिनाले जानकारी दिए ।

प्रवक्ता तिम्सिनाले विद्युत आपूर्ति कटौति गर्नुपर्ने अवस्था नरहेको दाबी गरिरहेपनि बेलाबेलामा बत्ती गइरहने समस्या भने छ । अहिले भएको पूर्वाधारमा समस्या आउँदा पनि बत्ती आउने जाने भइरहेको उनको दाबी छ ।

‘कुलमान सर प्राधिकरणको नेतृत्वमा आउनु अघिसम्म धेरै समय लोडसेडिङ हुन्थ्यो, उहाँ नेतृत्वमा आएपछि त्यो समस्या हट्यो तर, लोडसेडिङ हटेपनि बेलाबेलामा बत्ती गइरहने समस्या कुलमान सर नेतृत्वमा भएको समयमा पनि थियो, लोडसेडिङले आक्रान्त भएका उपभोक्ताले त्यो बेला बत्ती आउने र जाने समस्याप्रति त्यति ध्यान दिएनन्, उहाँ हटेपछि फेरि लोडसेडिङ सुरु हुन्छ कि भन्ने त्रास बढ्यो, जसले गर्दा केही समय बत्ती गएको पनि ध्यान दिइन थालेकोले के हुन लाग्यो भन्ने चासो र चिन्ता बढेको मात्रै हो, तर ढुक्क भए हुन्छ, लोडसेडिङ हुँदैन,’ प्रवक्ता तिम्सिनाले भने ।

Share News