
काठमाडौं । खुल्लामञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो ।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकाले बाँकी सामाग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली बताउँछन् । उनका अनुसार अस्थायी वसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर भएपनि खुल्ला मञ्चलाई खुल्ला गरिनेछ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको नगर प्रहरी उपरीक्षक धनपति सापकोटा बताउँछन् । आइतबार खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका वार भत्काइएको छ भने क्रमश अन्य अस्थायी संरचना भत्काउने महानगरको योजना रहेको छ ।