काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत आयमा लाग्ने आभारभुत कर छुटको सीम बढाउन सुझाव दिएको छ ।
आगामी आर्थिक वर्षको बजेटका लागि एसोसिएसनले दिएको सुझावमा अहिलेको आधारभूत कर छुटको सीमा थोरै भएकोले बढाउन सुझाव दिइएको हो । अहिले अविवाहित व्यक्तिको वार्षिक ४ लाख रुपैयाँसम्म र विवाहित व्यक्तिको वार्षिक साढे ४ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्छ ।
एसोसिएसनले यो सीमा बढाउन भने पनि बढाएर कति पुर्याउने भन्ने सुझाव दिएको छैन । तर, बैंक तथा वित्तीय संस्थाको संचालक समितिका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले दिएको सुझावमा भने आयरकको सीमा कम्तिमा पनि ८ लाख रुपैयाँ पुर्याउनु पर्ने सुझाव दिइएको छ ।
यस्तै, बैंकर्स एसोसिएसनले दिएको अर्थमन्त्रीलाई दिएको सुझावमा १ लाख रुपैयाँसम्मको व्यक्तिगत जीवन बीमामा कर छुट गरिनु पर्ने सुझाव दिइएको छ । अहिले २५ हजार रुपैयाँसम्म मात्रै छुट दिने व्यवस्था छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि बीमा रकममा कर छुटको सीमा कम्तिमा पनि ५० हजार रुपैयाँसम्ममा छुट पाइने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिदै आएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कर्मचारीले घरजग्गा खरिद गरेको छ भने त्यस्तो कर्मचारीले कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने व्यवस्था गर्न एसोसिएसनले सुझाव दिएको छ । अहिलेसम्म यस्तो व्यवस्था छैन ।
एसोसिएसनले कर्मचारीका पहिलो २ सन्तान अध्ययन गराउनको लागि भएको खर्च पनि करयोग्य आयबाट घटाउन पाइने व्यवस्था गर्न सुझाव दिएको छ । पछिल्लो समय सन्तती पढाउनको लागि धेरै खर्च लाग्ने गरेको भएपनि त्यस्तो खर्च आयकर प्रयोजनको लागि आयबाट घटाउन नमिल्दा व्यक्तिको खर्च गर्ने क्षमता कमजोर भएको भन्दै एसोसिएसनले यस्तो सुझाव दिएको हो । तर, यसरी पढाउनको लागि लाग्ने खर्चको सीमा तोक्नु उपयुक्त हुने एसोसिएसनको सुझाव छ ।