काठमाडौं । अर्थमन्त्री विष्ण पौडेलले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले बजेट कार्यान्वयन गर्ने प्रतिवद्दता गरेका हुन् ।
आफुले बजेट प्रस्तुत गरेपछि एउटै टिप्पणी कार्यान्वयनको सुनेको भन्दै उनले यो बजेट कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने, ‘धेरैले यो कामचलाउ सरकारले बजेट ल्याउन मिल्छ, मिल्दैन, बजेट पूर्ण ल्याउन मिल्छ मिल्दैन भन्ने लगायतका टिकाटिप्पणीहरु गरे, ती सबै व्यक्तिगत विचारहरुको म सम्मान गर्छु, तर बजेट संविधान सम्मत छ, जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार बजेट आएको छ ।’
‘बजेट ससुनाउनका लागि मात्र होइन बजेट कार्यान्वयन गरेर देखाउँछु, बजेट कोरोनाको उपचार तथा जोखिम न्यूनिकरणमा छ, ती कार्यक्रममा हामी प्रभावकारी रुपमा कार्यन्वयन गर्छौं, यसमा कुनै दुविधा राख्न आवश्यक छैन, भोलि देखि नै बजेट कार्यान्वयनको विषयमा छलफल गरी काम अगाडि बढाउँछु,’ उनले भने ।