काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा बैंकिङ प्रणालीलाई बलियो बनाउनका लागि ल्याइएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो व्यवस्थाले विभिन्न आरोपहरु लागे पनि यो व्यवस्था विशुद्ध बैंकिङ प्रणाली मजबुद र सर्वसाधारणलाई कर्जाको पहुँचमा पुर्याउनका लागि ल्याइएको स्पष्ट पारेका हुन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा ४ र १२ करोड रुपैयाँको सीमा तोकेको थियो । यो व्यवस्थाले सेयर बजार घटेको आरोप पनि राष्ट्र बैंकमािथ छ । तर, गभर्नर अधिकारीले यो व्यवस्थामार्फत सेयर बजारलाई प्रभाव गर्न खोज्ने नियत राष्ट्र बैंकको नभएको स्पष्ट पारेका हुन् ।
राष्ट्र बैंकले गरेको यो व्यवस्थाको अहिलेसम्म केही लगानीकर्ताहरु विरोध पनि गरिरहेका छन् भने यसलाई सच्याउनका लागि विभिन्न निकायसँग लविङ पनि गरिरहेका छन् ।
सोमबार सेजनले आयोजना गरेको कार्यक्रममा गनर्भर अधिकारीले ४/१२ करोड रुपैयाँको सीमाले सेयर बजारमा सर्वसाधारणको प्रवेश र सहजै कर्जा पाउनका लागि टेवा पुग्ने बताए ।
उनको विचार जस्ताको त्यस्तैः
पहिलो कुरा त नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक होइन । हामी सम्बन्धित निकायले नै सेयर बजारलाई शसक्त रुपमा नियमन गरेको हामी हेर्न चाहन्छौं । हामी बैंक तथा वित्तीय संस्थाको नियामक भएको हुनाले बैंक तथा वित्तीय संस्थालाई नै कसरी व्यवस्थित गर्ने भन्ने विषयमा नै ध्यान दिन्छौं । त्यही हिसावले नै हाम्रा नीति आउने हुन् ।
हामीले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ४ करोड र १२ करोड रुपैयाँको सीमा तोकेका थियौं । यसले बजारलाई असर गर्यो भन्ने बुझाई केहीमा परेको छ । हामीले सेयर बजार एकदमै संवेदनशिल क्षेत्र हो भनेर राम्रोसँग बुझेका छौं ।
कुन बेला कस्तो नीति ल्याउने ? कसरी ल्याउने भन्ने विषयमा हामी सजक छौं । अहिले यो नीतिले असर गर्दैन भनेर नै ल्याएका हौं । २÷४ जनालाई केही असर पर्ला तर यति धेरै लगानीकर्ताको हितका लागि यो नीति ल्याइएको हो ।
कृषि, स्टार्टअप गर्नेहरु लगायतकाहरुलाई पैसा नपाउने वातावरण सिर्जना नगर्न र भविश्यमा पर्न सक्ने जोखिम तथा असरलाई कम गर्नका लागि ४ करोड र १२ करोड रुपैयाँको सीमा तोकेका हौं ।
धेरे रकम एकै ठाउँमा नजाओस् भन्नका लागि हामीले यो प्रयास गरेका हौं । असल नियत र समग्र वित्तीय प्रणालीको स्रोत साधनलाई सही रुपमा परिचालन गर्ने अभिप्रायका साथ यो व्यवस्था गरेका हौं । हामीले यो नीति ल्याउँदै गर्दा कुनै कतै मनको कुनामा पनि सेयर बजारलाई प्रभाव पार्ने नियती होइन ।
हामी साना लगानीकर्तालाई पनि सहज होस् भन्ने मनसायका साथ यो व्यवस्था गरेका हौं । हाम्रो अर्थनीति फरकै खालको छ । यसमा थप जटिलता नआओस् भन्नका लागि र केही सीमित व्यक्तिभन्दा पनि सर्वसाधारणलाई पनि सहज हुने बुझाईले यस्तो नीति ल्याएका हौं । यो नीति परिवर्तन वा पुनरावलोकन गर्ने बारे हाम्रो सोच छैन ।