हिजो सेयर बजारमा बीमा क्षेत्रले बनायो इतिहास, किन देखियो यस्तो आकर्षण ?

<p>काठमाडौं । हिजो (पुस १० गते) नेपालको सेयर बजारमा बीमा क्षेत्रले इतिहास बनायो । बीमा क्षेत्रका सुचिकृत कम्पनीमध्ये ५० प्रतिशतभन्दा बढीमा मूल्य बढेर सर्किट लेवलमा कारोबार भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो दिन २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । यी कम्पनीमध्ये अधिकांश त बीमा कम्पनीहरु नै छन् । [&hellip;]</p>

काठमाडौं । हिजो (पुस १० गते) नेपालको सेयर बजारमा बीमा क्षेत्रले इतिहास बनायो । बीमा क्षेत्रका सुचिकृत कम्पनीमध्ये ५० प्रतिशतभन्दा बढीमा मूल्य बढेर सर्किट लेवलमा कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो दिन २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । यी कम्पनीमध्ये अधिकांश त बीमा कम्पनीहरु नै छन् । बीमा क्षेत्रमा ४१ कम्पनी भएपनि जम्मा ३० कम्पनी मात्रै नेप्सेमा सुचिकृत छन् ।

नेप्सेमा सुचिकृत भएको नेपाल पुनर्बीमा कम्पनीलाई बीमा समुहमा राखिएको छैन, अन्य समुहमा राखिएको छ ।

हिजो नेसनल लाइफ, युनाइटेड, एभरेष्ट, प्रिमियर, प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, एसिएन लाइफ, प्राइम लाइफ, जुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

यस्तै, ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका अन्य बीमा कम्पनीहरुमा जनरल इन्स्यारेन्स, सूर्या लाइफ, एनएलजी, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जनरल, अजोड इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

हिजो १४ वटा बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अहिले कार्यान्वयनमा रहेको कानुनी व्यवस्था अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतभन्दा बढीले घट्न वा बढ्न पाउँदैन । यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

हिजो जीवन बीमा समुहको परिसुचक ९.७४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुहको परिसुचक ८.२१ प्रतिशतले बढेको छ ।

हिजो बीमा क्षेत्रमा देखिएको उछाललाई कतिपय जानकारहरुले ऐतिहासिक घटनाको रुपमा लिएका छन् । सेयर बजारबारे जानकार दिलिप मुनंकर्मी कुनै एउटा क्षेत्रका सबै कम्पनीहरुको सेयर मूल्य बढेको विरलै पाइने र एउटा समुहको परिसुचक ९ प्रतिशतभन्दा बढीले बढेको यसअघि आफूलाई थाहा नभएको बताउँछन् ।

‘बीमा क्षेत्रका सबै कम्पनीको मूल्य करिब सर्किट लेबलमा देखियो, यसअघि यस्तो भएको मलाई याद छैन, सम्भवतः यो ऐतिहासिक घटना हुनुपर्छ,’ मुनंकर्मीले भने ।

किन बढ्यो मूल्य ?

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा कडाई गरिएको सुचना सार्वजनिक भएयता सेयर बजारमा सकारात्मक असर देखिएको छ । अघिल्लो साता नेप्से परिसुचक साताभर नै बृद्धि भएको थियो ।

बीमा क्षेत्रका कम्पनीहरुको मूल्य उच्च अंकले बढ्नुको कारण यो क्षेत्रमा पुँजी बृद्धि हुँदैछ भन्ने सुचनाले हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा हुने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । यही सुचनाको आधारमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्लान भन्ने अनुमानका आधारमा बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढेको हो ।

सम्बन्धित समाचार

नयाँ लाइसेन्स माग गर्दै ८ कम्पनी बीमा समितिमा, पुँजी ५ अर्ब र ३ अर्ब तोकिँदै

बीमा समितिको सञ्चालक अस्वीकार गर्दै करका हाकिम

बीमा कम्पनीहरुले पुँजी वृद्धि नगरी सुखै छैन: अध्यक्ष सिलवाल

Share News