काठमाडौं । अहिले १ दर्जन बढी वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको तयारीमा छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक र केही अन्य बैंक बाहेक अधिकांश बैंकहरु मर्जरको तयारीमा जुटेका हुन् ।
वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार अधिकांश वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको गृहकार्य गरिरहेका छन् । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा मर्जर तथा एक्विजिसनको तयारीमा रहेको उल्लेख गरेका छन् ।
बैंकहरुले उपर्युक्त पार्टनर पाएमा चालु आवमै मर्जरको प्रक्रिया टुङ्ग्याउने रणनीति बनाइरहेको पनि बुझिएको छ । कतिपयले बैंकले मर्जर तथा एक्विजिसनका लागि साधारणसभाबाट स्वीकृति नै पाइसकेका छन् भने कतिपय बैंकहरु वार्षिक साधारणसभामा विशेष प्रस्ताव गरेर मर्जर तथा एक्विजिसनको स्वीकृति लिने तयारीमा छन् ।
ती बैंकहरुले साधारणसभाबाट मर्जर तथा एक्विजिसनको स्वीकृति पाइसकेपछि बैंकहरु औपचारिक रुपमा मर्जर समिति नै गठन गरेर उपर्युक्त बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गर्नेछन् । यद्यपि अहिले पनि धेरै बैंक तथा वित्तीय संस्थाहरुबीच अनौपचारिक रुपमा मर्जर तथा एक्विजिसनका लागि छलफल भइरहेको छ ।
अहिले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भएर पनि प्रक्रिया धेरै अगाडि बढिसकेको छ भने नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच पनि छलफल भइरहेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकले बेग्लाबेग्लै मर्जर समिति गठन गरेर अध्ययनको काम गरिरहेका छन् ।
यी हुन् मर्जरका तयार रहेका बैंक
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल पनि मर्जर तथा एक्विजिसनमा जान तयार भएको छ । बैंकले गत कात्तिक १६ गते भएको साधारणसभाबाट मर्जर तथा एक्विजिसनको स्वीकृति लिएर अगाडि बढिसकेको हाे ।
याे बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एकाआपसमा मर्जर तथा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न स्वीकृति दिनका लागि साधारणसभामा विशेष प्रस्ताव पेश गरेको थियो ।
साधारणसभाले मर्जर तथा एक्विजिसन गर्ने सम्बन्धि प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिसकेको छ ।
सनराइज बैंक
सनराइज बैंक पनि मर्जर तथा एक्विजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीमा छ । सनराइज बैंक स्रोतका अनुसार अहिले बैंक मर्जर तथा एक्विजिसनमा जानका लागि दुई/तीन बैंकसँग आन्तरिक छलफल गरिरहेको छ । सनराइज बैंक गाभिनेभन्दा पनि मर्जरमै जाने रणनीतिका साथ अगाडि बढिरहेको स्रोतकाे दावी छ ।
बैंकले पनि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनका लागि चल-अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नका लागि प्रस्ताव गरेको थियो । बैंकको पुस १५ गते भएको साधारणसभाले सो स्वीकृति दिइसकेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिनका लागि तयार रहेको बुझिएको छ । बैंकको आगामी पुस ३० गते हुने साधारणसभाले त्यसका लागि स्वीकृति दिनेछ ।
बैंक्ले साधारणसभाका लागि आव्हान गरेको सूचनमा भनिएको छ, ‘मर्जर तथा एक्विजिसन सम्बन्धमा बैंकको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गरी सो मा हस्ताक्षर गर्ने, लगायत मर्जर तथा एक्वीजिसन सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशष्ो प्रस्ताव पारित गर्नेछ ।’
सिभिल बैंक
सिभिल बैंकले आगामी पुस ३० गते साधारणसभा बोलाएको छ । यस बैंकले पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभामा प्रस्ताव गर्नेछ । साधारणसभाले सो प्रस्तावलाई स्वीकृत गरिसकेपछि बैंकले मर्जर तथा एक्विजिसनमा जानका लागि बाटो खुल्नेछ ।
प्रभु बैंक
प्रभु बैंकले पुस १८ गते साधारणसभा गरिसकेको छ । सो साधारणसभाले मर्जर तथा एक्विजिसनका लागि स्वीकृति दिइसकेको छ । प्रभु बैंक पनि मर्जर तथा एक्विजिसनको तयारी गरिरहेको छ । यस अघि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वाएर गरेर ठूलो बैंकका रुपमा स्थापित भएको यो बैंक अझै पनि मर्जर तथा एक्विजिसनको तयारीमा छ ।
सानिमा बैंक
सानिमा बैंक पनि मर्जर तथा एक्विजिसनको तयारीमा जटिरहेको छ । गत कात्तिक १४ गते बैंकको साधारणसभाले मर्जर तथा एक्विजिसनको स्वीकृति दिइसकेको छ । यस बैंकले पनि आफ्नो उपर्युक्त पाटर्नर खोजिरहेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले पनि मर्जर तथा एक्विजिसन गर्नका लागि अपनाउनु पर्ने आन्तरिक गृहकार्य गर्नको लागि साधारणसभाबाट स्वीकृति पाइसकेको छ ।
माछापुच्छ्रे बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लाग मूल्यांकनकर्ता नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक रणनितिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नका लागि बैंकले पेश गरेको प्रस्तावलाई साधारणसभाले स्वीकृति दिएको हो ।
प्राइम कमर्सियल बैंक
प्राइम बैंकले पनि पुस ६ गते साधारणसभा गरिसकेको छ । यस बैंकले पनि अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्जर तथा एक्विजिशन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने गर्नका लागि स्वीकृति पाइसकेको छ ।
कुमारी बैंक
कुमारी बैंकको सञ्चालक समितिले पनि गत कात्तिकमा भएको बैंकको साधारणसभाबाट मर्जर तथा एक्विजिसन गर्नका लागि अख्तियारी पाइसकेको छ । यसले पनि कुमारी बैंक् अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान तयार रहेको बुझिएको हो ।
बैंकले गत कात्तिकमा भएको साधारणसभामा मर्जर तथा एक्विजिसनका लागि साधारणसभाबाट लाई स्वीकृति प्रदानज गर्न प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताव स्वीकृत भइसकेको छ ।
मेगा बैंक
मेगा बैंकले गत मंसिर २८ गते साधारणसभा सम्पन्न गरिसकेको छ । मेगा बैंकको सञ्चालक समितिले बैंक मर्जर तथा एक्विजिसनमा जानका लागि स्वीकृत पाइसकेको छ ।
बैंकले कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यकता अनुसार मर्जर÷प्राप्ती समिति गठन गर्ने, दायित्व तथा कारोबारको मुल्याड्ढन (डीडीए) गर्न मान्यता प्राप्त (स्वदेशी वा विदेशी) मुल्याड्ढनकर्ता नियुक्ती गर्ने गराउने, मुल्याङ्कनकर्ताको पारिश्रमिक तोक्ने, सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नका लागि प्रस्ताव गरेको थियो । बैंकको सो प्रस्ताव साधारणसभाले स्वीकृति दिएसँगै बैंक मर्जर तथा एक्विजिसनमा जानका लागि प्रक्रिया गर्न बाटो खुलेको हो ।
एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंक पनि मर्जर तथा एक्विजिसनका लागि तयार देखिएको छ । बैंकले गत पुस २९ गते बोलाएको छ ।
एनसीसी बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय सस्ंथाहरू एक आपसमा मर्ज तथा तथा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सहमति/सम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानून, नियम अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान भएसँगै अब मर्जरको बाटो खुला भएको हो ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि मर्जरका लागि पाटर्नर खाजिरहेको छ । बैंकको साधारणसभा पुस ८ गते भइसकेको छ । लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिनका लागि प्रस्ताव गरेकोमा सो प्रस्ताव साधारणसभाले स्वीकृती दिइसेको छ ।
नेपाल एसविआई बैंक
नेपाल एसविआई बैंकको पनि हिजो अर्थात पुस २० गते साधारणसभा सम्पन्न भइसकेको छ । बैंकले पनि अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसन गर्ने अख्तियारी पाएको छ । अब नेपाल एसविआई बैंक पनि मर्जर तथा एक्विजिसनका लागि पाटर्नर खोज्नेछ ।
मर्जरमै जानु पर्ने बाध्यता थपियोः बैंकर्स संघ
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय अब वाणिज्य बैंकहरु मर्जरमा जानु पर्ने चुनौति तथा बाध्यता थपिएको बताउँछन् । उनका अनुसार धेरै वाणिज्य बैंकहरुले मर्जर तथा एक्विजिसन गरेर ठूलो बनेपछि अन्य बैंकहरुलाई पनि चुनौति थपिएकाे र धमाधम साधारणसभाबाट नै त्यसको स्वीकृृति मागेको हुन सक्छन् ।
‘ग्लोबल बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेर ठूलो बैंकका रुपमा देखिएको छ, हिमालयन र नेपाल इन्भेष्टमेन्ट पनि मर्जरको प्रक्रियामा छन्, यसले पनि अन्य बैंकलाई चुनौति थपेकाे छ, ग्राहक बढाएर कारोबार बढाउने सबैको इच्छा हुन्छ, त्यसैले पनि सबैले साधारणसभाबाट मर्जर तथा एक्विजिसनको स्वीकृति लिएका हुन्,’ उनले भने ।
उनका अनुसार अहिले अधिकांश वाणिज्य बैंकहरुलाई मर्ज तथा एक्विजिसनमा जानै पर्ने बाध्यता छ ।
नेपाल राष्ट्र बैंकले पनि मर्जर तथा एक्विजिसनको नीतिलाई प्राथमिकताको साथ हेरेर बैंकहरुलाई फोर्स गरिएपछि वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनमा जान बाध्य भइरहेका छन् । बैंकहरुले साधारणसभामा मर्जर तथा एक्विजिसनको प्रस्ताव गरेको हेर्दा अब बैंकहरु मर्जर तथा एक्विजिसनका लागि तातेको हुन् कि भन्ने बुझ्न सकिन्छ ।