काठमाडौं । दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् ।
हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु, कसरी पाइन्छ रु वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान सर्वसाधारणलाई बुझाउने कार्यक्रमहरु सञ्चालन, प्रकाशन तथा प्रशारण हुने बताइएको छ ।
कार्यक्रममा ‘बैंकिङ्ग वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञानश शिक्षा अभियानका संयोजक राजु ढुंगेलले हिमालय टेलिभिजनमार्फत प्रस्तुत हुने कार्यक्रमको मोडल पनि सार्वजनिक गरेका थिए ।
बैंकिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत साताको एक दिन वित्तीय साक्षरता सम्बन्धी गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने उनले बताए ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै एकिन गर्न नसकिने बताए । ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन। वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती छ । सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान शुरु हुनु खुसीको कुरा हो,’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग पहुँचमा आएकालाई बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’
यस्तै राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् ।
साथै कार्यक्रममा रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै सेलिब्रटी बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो ।