काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुटवलमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ ।
बैंकको बुटवल शाखामार्फत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरिएको हो । कार्यक्रमका अवसरमा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाहरूको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग प्रदान गरिएको बताए ।
उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।