काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने तर भएका कम्पनीहरु मर्ज हुनुपर्ने बताएका छन् । केही महिनाअघि उनले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बताएका थिए ।
‘बीमा कम्पनीको संख्या धेरै भयो भन्ने फिडव्याकलाई हामीले मनन गरेका छौं । ठिक छ, नयाँ कम्पनीलाई लाइसेन्स रोकौला । तर कम्पनीको संख्या धेरै भए भन्नुहुन्छ भने मर्ज हुनुहोस्’ आईएमई जनरल इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको दुई वटा नयाँ बीमा सेवाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले भने–‘मर्जरलाई प्रोत्साहित गर्ने गरी १९/२० वटा सुविधा दिएका छौं । पहिला पनि आईएमईले मर्जरको लागि गृहकार्य गरेको रहेछ । त्यसलाई अगाडि बढाउनुहोस् । मर्जरको पहलकदमी आईएमईले नै लियोस् ।’
कृषि बीमाको प्रिमियममा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिएको र प्रदेश सरकारहरुले २० प्रतिशत अनुदान दिन तयार भएको अवस्थामा पनि बीमा कम्पनीहरु सेवा दिन किसानसम्म नपुगेको अध्यक्ष सिलवालको गुनासो छ । उनले कानुन र नियामकको निर्देशन पालना गर्न बीमा कम्पनीहरु चुकेको भन्दै सुशासनमा नबस्ने हो भने बैकिङ र बीमा क्षेत्रबाट बाहिरिन लगानीकर्तालाई सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीलाई उत्पादन मुलक क्षेत्र र पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन सहज हुने गरी लगानी निर्देशिका परिमार्जन गर्न बीमा समितिलाई सुझाव दिए । ‘बीमा कम्पनीहरुमा लगानीयोग्य रकम धेरै छ । त्यो पैसा बैंकमा निक्षेपको रुपमा सीमित छ । त्यसबाट अर्थतन्त्रमा धेरै लाभ भएको छैन’, ढकालले भने–‘भारतमा जस्तै नेपालमा पनि बीमा कम्पनीहरुले पूर्वाधार निर्माणको क्षेत्रमा १५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गर्न सके आर्थिक विकासमा त्यसले ठूलो मद्दत गर्नेछ ।’

आईएमई जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष हेमराज ढकालले पनि उत्पादन मुलक क्षेत्रमा लगानीको लागि ढोका खोलिदिन बीमा समितिसँग माग गरे । बीमा कम्पनीले संकलन गर्ने बीमा शुल्कको ठूलो हिस्सालाई उत्पादन मुलक क्षेत्रमा परिचालन गर्न सके स्वदेशमै रोजगारी पनि सिर्जना हुने, व्यापार घाटा पनि कम हुने उनले बताए । बैदेशिक व्यापार घाटा कम गर्नु र रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा उनले जोड दिए ।
विदेशमा बीमाको पहुँच बैंकको भन्दा बढी रहेको तर नेपालमा बैंकको भन्दा बीमाको पहुँच आधा मात्र भएको उनले उल्लेख गरे । करिव ७० प्रतिशत नेपालीमा बैकिङ पहुँच पुगेको तर बीमाको पहुँच करिव ३५ प्रतिशत मात्र रहेको तथ्याङ्क छ ।