काठमाडौ) । सयपत्री हाइड्रो पावरले आगामी असार २ गतेदेखि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । हाइड्रोले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।
आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका-२ र ३ मा पर्ने दरमखोलामा २।५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।
लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौंबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ ।