काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकको वर्तमान सञ्चालन अवस्था, वित्तीय सबलपक्ष र आगामी रणनीतिक विस्तारका योजनाहरू प्रस्तुत गर्दै लगानीकर्ताहरूलाई अस्पतालको दिगो विकासबारे प्रस्ट पारेका थिए ।
सो अवसरमा लगानीकर्ताहरूले मूल्य निर्धारण र मूल्याङ्कन पद्धतिका बारेमा आफ्ना धारणा राख्दै नर्भिकले अवलम्बन गरेको मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै खुसी व्यक्त गरे ।
लक्ष्मी सनराइज क्यापिटलले सहभागीहरूलाई बुक-बिल्डिङको संरचना, नियामक प्रावधान र मूल्य निर्धारणका आधारहरूका बारेमा विस्तृत जानकारी गराएको थियो। यस रोड शोको सफल समापनले नेपालको पुँजी बजारमा पारदर्शी र बजार(आधारित मूल्य निर्धारण प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाई ५ कार्य दिनभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सिलबन्दी आशय पत्र बुझाउनुपर्ने व्यवस्था रहेको छ ।