काठमाडौं । मंगलबार हिमालयन बैंकको अन्तिम सेयर प्रतिकित्ता २९९ रुपैयाँका दरले किनबेच भयो । सिभिल बैंकको सेयर प्रतिकित्ता १९६ रुपैयाँमा किनबेच भयो ।
दुई बैंकको सेयर मूल्य अन्तर प्रतिकित्ता १०३ रुपैयाँ छ । हिमालयन बैंकसँगको तुलनामा सिभिलको सेयर मूल्य ३४.४४ प्रतिशत कम छ ।
सम्बद्ध बैंक स्रोतका अनुसार हिमालयन र सिभिल बैंकबीच आपसमा मर्ज हुने सहमति भएको छ । सहमतिमा हस्ताक्षर र सार्वजनिक गर्ने कार्यक्रम आजै साँझपखको लागि तय भएको छ ।
मर्जको स्वाप रेसियो ८१ रुपैयाँ नै तय भएको छ । त्यो भनेको हिमालयन बैंकको तुलनामा सिभिल बैंकले १९ प्रतिशत कम मूल्य पाउनु हो ।
स्वाप रेसियोलाई आधार मान्दा हिजोको सेयर मूल्य हिमालयन बैंकको तुलनामा सिभिल बैंकको १५.४४ प्रतिशतले कम छ । १५.४४ प्रतिशतले सिभिल बैंकको सेयर मूल्य वृद्धि हुने हो भने प्रतिकित्ता २२६ रुपैयाँ हुन्छ ।
स्वाप रेसियोसँग बराबरी हुन आजै सिभिल बैंकको सेयर प्रतिकित्ता ३० रुपैयाँले बढ्नुपर्छ, हिमालयन बैंकको मूल्य घटेन भने । तर आज एकै दिन सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँसम्मले बढ्न सक्दैन ।
एकैदिन बढीमा १० प्रतिशत मात्र सेयर मूल्य बढ्न पाउने नियम छ । त्यसैले आज सिभिल बैंकको सेयर मूल्य सर्किटब्रेक लागेर २१६ रुपैयाँमा कारोबार बन्द हुनसक्छ ।
मर्जबारे प्रकाशित समाचारका आधारमा सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जले हिमालयन र सिभिल दुबै बैंकको सेयर कारोबार आजैदेखि रोक्का गरिदिन पनि सक्छ ।
सम्बन्धित समाचार