हिमालयन-सिभिल मर्जर : साढे २० अर्ब पुँजी, कर्मचारीको हैसियत बराबर, अन्य सूचकमा कस्तो ?

<p>काठमाडौं । लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच एक आपसमा गाभ्न/गाभिने प्रक्रियामा जान सहमति भएको छ। यसअघि आपसमा गाभ्ने/गाभिने प्रक्रिया गर्ने भनिए पनि केही विषयमा कुरा नमिलेर रोकिएको दुई बैंकको मर्जर प्रक्रिया आज हुँदैछ । मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८१ [&hellip;]</p>

काठमाडौं । लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच एक आपसमा गाभ्न/गाभिने प्रक्रियामा जान सहमति भएको छ। यसअघि आपसमा गाभ्ने/गाभिने प्रक्रिया गर्ने भनिए पनि केही विषयमा कुरा नमिलेर रोकिएको दुई बैंकको मर्जर प्रक्रिया आज हुँदैछ ।

मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।

प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउने भएका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई राणापछिको महत्वपूर्ण भूमिका दिने सहमति भएको छ ।

हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । यो विषयमा सहमति जुट्न धेरै समय लागेको थियो ।

हिमालयनले सिभिललाई प्राप्ति गर्ने भएसँगै नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ ।

१००ः८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।

यस्तो बन्नेछ बैंक

हिमालयनले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंकको पुँजी केही घट्नेछ । हाल ९ अर्ब ७ करोड रहेको चुक्ता पुँजी घटेर ७ अर्ब ३३ करोड ३४ लाख ३३ हजार रुपैयाँ कायम हुनेछ । नयाँ बन्ने हिमालयन बै‌ंककाे पुँजी साढे २० अर्ब कायम हुनेछ ।

यस्तै, प्राप्तिपछि हिमालयन बैंकको कुल कर्जा लगानी २ खर्ब ४६ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ भने निक्षेप २ खर्ब ५६ अर्ब १ करोड ३२ लाख पुग्ने देखिएको छ ।

हाल हिमालयनको कुल कर्जा लगानी १ खर्ब ५८ अर्ब २८ करोड ९ लाख छ भने सिभिलको ८८ अर्ब ३९ करोड ९६ लाख ३४ हजार रुपैयाँ छ । हाल हिमालयनको निक्षेप संकलन १ खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ र सिभिलको ९० अर्ब ७० करोड ४० लाख ९९ हजार रुपैयाँ छ ।

यस्तै, नयाँ बन्ने हिमालयन बैंकको कुल शाखा कुल २२२ हुनेछन् । हाल हिमालयनको ८९ वटा र सिभिलको १३३ वटा शाखा छन् । हाल हिमालयनको १४२ एटीएम बुथहरु छन् ।

नयाँ बैंक बनेपछि कर्मचारी करिब २ हजार पुग्नेछन् । हाल हिमालयन बैंकमा १०१८ स्थायी कर्मचारी छन् भने सिभिलमा ९५६ जना स्थायी कर्मचारी छन् । करार तथा अस्थायी कर्मचारी गरेर २ हजार बढी कर्मचारी बैंकमा हुनेछन् ।

कुन बन्ला ठूलो बैंक ?

अहिले एकपछि अर्को ठूलो बैंकहरुबीच मर्जरको सम्झौता भइरहेको छ । सोमबार मात्रै नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकिकृत कारोबार सुरु भइसकेको छ । जुन हालसम्मको चुक्ता पुँजीमा दोस्रो बैंक बनेको छ ।

नबिल बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ ।

यस्तै, हाल ग्लोबल आईएमई बैंक चुक्ता पुँजीमा सबैभन्दा ठूलो बैंक छ । जसको कुल पुँजी २३ अर्ब भन्दा बढी छ । केही साता अगाडि मात्रै ग्लोबल आईएमई र बैंक अफ काठमाडाण्डूबीच पनि मर्जर सम्झौता भइसकेको छ ।

यी दुई बैंकको मर्जरपछि कुल चुक्ता पूँजी ३४.४१ अर्ब रुपैयाँ, कूल निक्षेप ३८४ अर्ब रुपैयाँ, कूल कर्जा ३८० अर्ब रुपैयाँ कायम हुने बताइएको छ ।

यस्तै, हाल नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच पनि मर्जरको सम्झौत भइसकेको छ । १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका यी दुई बैंकबाट बन्ने नयाँ बैंकको कुल चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्ने बताइएको छ ।

हालसम्म सम्झौता भए अनुसार चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो ग्लोबल आईएमई बिओके, दोस्रो ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तेस्रोमा नबिल र चौथोमा हिमालयन बैंक बन्ने देखिएको छ ।

Share News