काठमाडौं । नेपालको बैंकिङ्ग इतिहास लामो छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या २७१ पुगेको छ । २०४० को दशक अघि नेपालमा बैंकिङ्ग अभ्यास न्यून थियो । तर, २०४० को दशकमा सरकारले वित्तीय उदारिकरणको नीति अबलम्वन गरेपछि बैंकिङ्ग क्षेत्रमा निजी क्षेत्रले प्रवेश पायो । र, एकपछि अर्काे बैंक खुल्ने क्रम बढ्यो ।
२०४० को दशकदेखि वि.सं. २०७४ सालसम्म २७१ बैंक तथा वित्तीय संस्था पुगे । सो अवधिमा ३२ वटा वाणिज्य बैंक, ९५ वटा विकास बैंक, ८७ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरे ।
तर, बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन तथा सुवरीवेक्षण गर्न कठिनाइ परेपछि संख्या घटाउन तर्फ राष्ट्र बैंक अग्रसर बन्यो । यसबीचमा राष्ट्र बैंकले संख्या घटाउनका लागि विभिन्न उपकरणहरु अगाडि बढायो ।
निजी क्षेत्रको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुने क्रम बढ्न गई संख्या बढेपछि अस्वस्थ प्रतिस्पर्धा र संस्थागत सुशासनको अभावमा कतिपय संस्थाहरु समस्याग्रस्त हुने, इजाजतपत्र नै खारेज गर्नुपर्ने तथा सम्बद्ध पदाधिकारीहरुलाई समेत कारवाही गर्नुपर्ने अवस्था आउन थालेको भन्दै राष्ट्र बैंक संख्या घटाउन तर्फ लाग्यो ।
यस्ता गतिविधि रोक्न र नियन्त्रण गर्न राष्ट्र बैंकले पूँजी बढाउन लगाएर सक्षम र थोरै बैंक तथा वित्तीय संस्थाको आवश्यकता महसुस गर्यो र गाभ्ने/गाभिने तथा प्राप्तिको प्रक्रियाको नीति अगाडि सार्यो ।
राष्ट्र बैंकले चाहेअनुसार नै बैंक तथा वित्तीय संस्थाको संख्या ह्वात्तै घटाएर हाल १२६ वटा बैंक तथा वित्तीय संस्था मात्रै सञ्चालनमा छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यो संख्या अझै घट्ने देखिन्छ । संख्या घटाउन मर्जर तथा एक्विजीशनमा जाने संस्थालाई सहुलियतको व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंक अहिले वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउनमा जोड दिइरहेको छ ।
कुनै समयमा ३२ वटा वाणिज्य बैंक पुगेपनि हाल २६ वटामा सीमित छन् । केही बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेकाले यो संख्या अझै घट्ने निश्चित छ । हालसम्म २० वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सहभागी भएका छन् । यी बैंकहरुले विभिन्न ६७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको राष्ट्र बैंकले जनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी बैंकले हालसम्म विभिन्न पाँच वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.स २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा दुइटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २०७५ बैशाख १९ गतेका दिन एनआइडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । यसअघि यस बैंकलाई पनि मर्जर गराएर अन्य बैंकमा गाभ्नु पर्ने आवाज उठेपनि पछिल्लो समय भने वाणिज्य बैंकहरुमा नाफा आर्जन गर्नेमा एक नम्बरको बैंक बनेको छ । बैंक अहिले निजी क्षेत्रका वाणिज्य बैंकसँग प्रतिस्र्धाको दौरानमा छ ।
मेगा बैंक नेपाल
हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभ्ने÷गाभिने तथा प्राप्तिका लागि सम्झौता गरेको मेगा बैंकले पनि विभिन्न तीन वटा विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकिकृत कारोबार गरेको थियो । यस्तै, बैंकले २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंक र २०७७ असार २१ गते गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो ।
ग्लोबल आइएमई बैंक
हाल बैंक अफ काठमाण्डूसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो ।
यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो ।
प्राइम कमर्सियल बैंक
यस बैंकले हालसम्म विभिन्न ४ वटा बैंकलाई प्राप्ति गरिसकेको छ । जसमध्ये कन्ट्री देव र विराटलक्ष्मी विकास बैंकलाई २०७४ बैशाख १७ गते, कंकाई विकास बैंकलाई २०७६ भदौ २९ गते र कैलाश विकास बैंकलाई २०७६ चैत ७ गते प्राप्ति गरेको थियो ।
एनएमबि बैंक
यस बैंकले विभिन्न ६ वटा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । जसमध्ये बैंकले पाथिभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्ससँग २०७२ साल कात्तिक १ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरी २०७६ असोज ११ गते र कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७७ भदौ ७ गते एकीकृत कारोबार गरेको थियो ।
सिटिजन्स बैंक
यस बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरेको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो ।
कुमारी बैंक
यस बैंकले पनि विभिन्न ५ वटा विकास बैंक र वित्त कम्पनीलाई प्राप्ति गरेको छ । बैंकले काँक्रेविहार विकास बैंक, पश्चिामाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काष्ठमान्डप डेभलपमेन्ट बैंकलाई २०७४ असार १२ गते र देव विकास बैंकलाई २०७७ असार २८ गतेका दिन प्राप्ति गरी एकीकृत कारोबार गरेको हो ।
सानिमा बैंक
बैंकले बागमति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ पौष १९ गतेका दिन एकीकृत कारोबार गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक
हाल मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकले विभिन्न कालखण्डमा ३ वटा संस्थालाई प्राप्ति गरेको छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई २०७४ असार २९ गते, जेबिल्स फाइनान्सलाई २०७६ असार ३० गते र सिटी एक्सप्रेस फाइनान्सलाई २०७७ माघ १२ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो ।
एनआईसी एशिया बैंक
बैंक अफ एशिया नेपाललाई प्राप्ति गरी २०७० असार ६ गतेका दिन एकीकृत कारोबार गरेको थियो ।
सिद्धार्थ बैंक
बैंकले विजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ असार ७ गते एकीकृत कारोबार गरेको थियो ।
बैंक अफ काठमाण्डू
ग्लोबल आइएमई बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो ।
सनराइज बैंक
सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई २०७३ असार ३० गते र एनआईडीसी क्यापिटल मार्केटलाई २०७३ माघ २८ गते एकीकृत कारोबार गरेको थियो ।
प्रभु बैंक
प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो ।
माछापुच्छ्रे बैंक
बैंकले स्ट्याण्र्डड फाइनान्ससँग मर्जर गरेर २०६९ असार २५ गते एकीकृत कारोबार गरेको थियो ।
एनसीसी बैंक
बैंकले इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर गरेर २०७३ पुष १७ गते एकीकृत कारोबार गरेको थियो ।
सिभिल बैंक
हाल हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले यसअघि विभिन्न बैंकलाई प्राप्ति गरिसकेको छ । बैंकले सिभिलम मर्चेन्ट वित्तीय संस्था र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग २०७३ कात्र्तिक १ गते, हामा मर्चेन्ट एण्ड फाइनान्स र यूनिक फाइनान्ससँग २०७४ असार १८ गते एकीकृत कारोबार गरेको थियो ।
लक्ष्मी बैंक
यस बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरी २०७३ माघ २ गते एकीकृत कारोबार गरेको थियो ।
नबिल बैंक
आफूलाई नम्बर एक दाबी गर्ने नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । यस बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको हो ।
