काठमाडौं । दशैं पछिको पहिलो दिन खुलेको सेयर बजारमा हरियाली छाएको थियो । तर, सेयर बजार बढेको दोस्रो दिन नै फेरि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ अंकमा बन्द भएको छ ।
यस्तै, सोमबार दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर १७ हजार ८७६ पटक खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ लाख ७१ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८४ प्रतिशत बढेको छ ।
सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । हालै आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, गरिमा डिवेञ्चर २०८५ को सेयर मूल्य ८.१३ प्रतिशत घटेर ७४५ रुपैयाँमा सिमित भएको छ ।