साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड । बीमा क्षेत्रमा दोश्रो मर्जरको रुपमा कम्पनीले तोकेको समयमै मर्जर प्रकृया सकेर कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गरिसकेको छ । यो अवधिमा मर्जको भोगाई कस्तो रह्यो ? कम्पनीलाई अगाडि बढाउन भावी दिनका योजनाहरु कस्ता छन् ? भविष्यमा आइपर्ने चुनौतिलाई कसरी सामना गर्दै छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायसँग विकासन्युजका लागि मञ्जरी पौडेलले गरेको विकास वहस ।
मर्जरको अनुभव कस्तो रह्यो ?
पहिलो अनुभव हो, राम्रै रह्यो । मर्जरको लागि दुई कम्पनीको प्रारम्भिक सम्झौतामा जुन डेडलाइनमा मर्ज भइसक्ने भनेका थियौं । त्यो मीट गर्न सफल भयौं ।
मर्जरलाई सफल बनाउन के-के विषयमा ध्यान दिनुपर्छ ?
मर्जर सफल पार्न डेडलाइन मीट गर्नैपर्छ । यदि डेडलाइन मीट भएन भने विभिन्न समस्याहरु आउने गर्छन् । जसले गर्दा मर्जर समयमा हुन सक्दैन ।
हामीले मर्ज गर्नुभन्दा अगाडि नै प्लान बनाएका हुन्छौं । त्यो प्लानअनुसार डेडलाईन अर्थात टाइमलाईन राखेका हुन्छौं । र, उक्त टाइमलाइनलाई मीट गर्दै त्योअनुसारको काम गरियो भने धेरै सजिलो हुने रहेछ भन्ने मेरो व्यक्तिगत धारणा छ ।
पोष्ट मर्जरको काम कति बाँकी छन् ?
पोष्ट मर्जरको काम खासै बाँकी छैनन् । नियमित कामबाहेक पोष्ट मर्जरमा गर्नुपर्ने अन्य काम छैनन् । हामीले गरेका प्रि प्लानअनुसार नै काम भइरहेको छ ।
मर्जरपछि कर्मचारी व्यवस्थापन कसरी गर्नुभएको छ ?
कुनै कम्पनीमा धेरै ठूलो साइजको कर्मचारी छन् भने मात्र सो कम्पनीमा कर्मचारीको व्यवस्थापन गर्न समस्या देखिन्छन् । तर हामी दुवै सानो आकारको कम्पनी हौं । र, कर्मचारी संख्या पनि हाम्रो सानै छ । त्यसैले कर्मचारी व्यवस्थापनमा समस्या हुने देखिँदैन ।
जुन साइजमा अन्य कम्पनीहरुको कर्मचारी छन्, हाम्रो दुई कम्पनीको जोड्दा पनि त्यही साइजमा हुन्छौं । त्यसैले ओभरस्टाफिङ्गको समस्या भएन । जसले गर्दा कर्मचारी व्यवस्थापनमा त्यति गाह्रो हुँदैन । जस्तै, एउटा कम्पनीले १०० करोड । अर्को कम्पनीले १०० करोड गर्दा २०० करोड व्यापार गर्ने कम्पनी अरु कम्पनीको जति कर्मचारी संख्या हुन्छ । हाम्रो त्यति नै बराबरको कर्मचारी संख्या छ । त्यसमा समस्या हुने कुरै भएन । हाल कूल ३८५ जना जति कर्मचारी हुनुहुन्छ । थप आवश्यक भएकाले हामीले भ्याकेन्सी पनि खुला गरिरहेका छौं ।
मर्जपछिको सिनर्जी कस्तो अपेक्षा गरिएको छ ? अहिले नै त्यस्तो कुनै अनुभूति भएको छ ?
हामी त सकारात्मक मात्रै होइन, एकदमै उत्साहित समेत छौं । हामी मर्ज भएको धेरै दिन नै भएको छैन । कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको १४ गतेसम्म त बिदा नै थियो । त्यसपछि कारोबार शुरु गरेको १५ दिन भयो । त्यसैले यो १५ दिनको कारोबारले त भविष्य कस्तो ? आँकलन गर्न सकिँदैन ।
तर व्यवस्थापन टीमका सबै सदस्यहरु एकदमै उत्साहित हुनुहुन्छ । कर्मचारी साथीहरु पनि त्यस्तै । अब कम्पनीलाई हामीले सफल बनाएर लैजानुपर्छ, उदाहरणीय बन्नुपर्छ भन्ने विषयमा उहाँहरु उत्साहित हुनु भएकोले म एकदमै पोजेटिभ देख्छु ।
मर्जमा जाँदैमा १ करोडको बिजनेस गरिरहेकोले ११ करोडको बिजनेस गर्छ, १० करोडको नाफा गरेको कम्पनीले अब ५० करोडको नाफा गर्छ भन्ने पनि होइन । मर्जपछि कम्पनीले बजारमा राम्रो उपस्थिति देखाउन सक्नु सबैभन्दा ठूलो हो । र, सबै स्टकेहोल्डरहरुलाई ‘इक्विटेबल एक्स्पेक्टेड रिटर्न’ दिन सक्नु पर्यो ।
जस्तो सेयरधनीलाई उचित प्रतिफल, कर्मचारीलाई उचित सेवा सुविधा, विभिन्न निकायहरुको कम्प्लायन्सको अपेक्षा छ, त्यो पूरा गर्नुपर्यो । पुनर्बीमकको अपेक्षा हुनसक्छ, त्यो पनि पूरा गर्नुपर्यो । त्यसैले सबैलाई जस्टिफाई रिटर्न दिन सक्नुपर्छ, त्यो क्वान्टेटिभ (मात्रात्मक) मात्र नभई क्वालिटेटिभ (गुणात्मक) पनि हुन सक्छ । ह्वाट वी प्रमिस, वी ह्याभ टु डेलिभर ।
सानिमा जीआईसीका लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउँलान् ?
साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्सले सेयरधनीलाई हालसम्म लाभांश वितरण गर्न पाएको थिएन । किनभने ४/५ वर्षसम्म एनएफआरएस र एनएएसको ब्यालेन्ससीट मिसम्याच हुने भएकोले र बिजनेसले एउटा आकार नलिएसम्म रिजर्भमा धेरै पैसा ट्रान्सफर गर्नुपर्ने हुन्छ । जसले गर्दा वितरणयोग्य नाफा हुँदैन । अब भने वितरणयोग्य नाफा आउँछ । फलस्वरुपः लगानीकर्ताले आगामी वर्षदेखि निश्चित प्रतिफल पाउने छन् ।
थप ५० करोड चुक्ता पुँजी कसरी पुर्याउने योजना छ ?
हाल हाम्रो पुँजी २ अर्ब रुपैयाँ छ । नियामक निकायको निर्देशन अनुसारको न्यूनतम पुँजी पुर्याउन थप ५० करोड आवश्यक पर्छ । त्यसको लागि अहिलेको हाम्रो रिजर्भबाट पनि केही पैसा ट्रान्सफर गर्न सक्ने अवस्था पनि हुन सक्छ । त्योभन्दा बाहेक हकप्रद सेयर जारी नगर्नुको विकल्प नै छैन ।
प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमाको २५ प्रतिशत रकम भुक्तानी गर्न सानिमा जीआईसी तयार हो ?
यो विषयमा हामीले नेपाल बीमक संघसँग छलफल गरिरहेका छौं । नेपाल बीमा प्राधिकरणसँग पनि निरन्तर छलफल भइरहेको छ । छलफलको निचोड जे आउँछ, त्यो त कम्पनीले व्यहोर्नै पर्छ नि ।
यो व्यहोर्दा कम्पनीको नाफा र सेयरधनीले पाउने प्रतिफलमा ठ्याक्कै कति असर पर्ला ?
त्यो मैले अहिले नै भन्ने अवस्था रहेन । किनभने यसको निर्णय के हुन्छ, कसरी अगाडि बढ्छ भन्ने विषयमा फाइनल फ्रेमवर्क (अन्तिम रूप) नै आइसकेको छैन ।
आजको दिनमा हामीले एक/दुई अर्बको दायित्व होइन, करिब ११ अर्बको दायित्व व्यवस्थापन गर्नुपर्ने छ । त्यो सबै दायित्वको उचित व्यवस्थापन गर्ने बेलामा के फाइनल निर्णय हुन्छ ? त्यसपछि कम्पनीको नाफा र कम्पनीले दिने प्रतिफलमा कस्तो असर गर्छ ? भन्ने बारेमा भन्न सकिन्छ । अहिले नै त भन्न सक्ने कुरा नै भएन ।
अबका दिनमा सानिमा जीआईसीलाई अगाडि बढाउने योजनाहरु के के छन् ? के लाई बढी प्राथमिकता दिनु भएको छ ?
सानिमा जीआईसीले अब नयाँ इनोभेटिभ प्रडक्टहरु ल्याउँछ । डिजिटाइजेशनमा जोड दिन्छ । पहिलेदेखि नै क्वान्टिटीभन्दा क्वालिटीमा फोकस गर्दै आएको हामीले यसलाई निरन्तरता दिन्छौं ।
जुन चालु आवको पहिलो त्रैमासको रिपार्टले देखाएको छ । यो अवधिमा जुन ईपीएस आर्जन गर्न सफल भएका छौं । त्यो भनेको पुरानो स्थापित र हामीभन्दा धेरै ठूलो साइजको बिजनेस गर्ने कम्पनीहरुको जस्तै लेभलमा पुगेका छौं । यसको मतलब हामी छोटो समयमै कम्पनीलाई त्यो लेभलसम्म म्यानेज गर्न सक्ने अवस्थामा पुगेका छौं । यसलाई निरन्तरता दिँदै अगाडि बढ्दै जानेछौं ।
कम्पनीले अन्तर्राष्ट्रिय मान्यता अनुसार बीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता हो । यसलाई नै कन्टिन्यू गरे अगाडि बढ्छौं ।

नयाँ प्रोडक्टलाई फोकस गर्छौं भन्नुभयो ? कस्तो खालको ल्याउँदै हुनुहुन्छ ?
हाल बजारमा नभएको प्रडक्ट भनेको ‘डाइरेक्टर एण्ड अफिस ल्यायबिलिटी’ हो । जस्तै, कम्पनीको सञ्चालक र कम्पनीको व्यवस्थापक टीमले आफैले गर्दा गर्दै कुनै काममा लापरवाही तथा गल्ती भयो र त्यसले ग्राहकलाई हानी नोक्सानी भयो भने उसले क्षतिपूर्तिको लागि दावी गर्न सक्छ । त्यस्तो दावीको बीमा नेपालमा प्रयोगमा छैन । त्यसैले हामीले त्यस्तो प्रडक्ट ल्याउने सोचिरहेका छौं ।
केही प्रडक्टहरु पाइपलाइनमा छन् त्यसलाई नि छिट्टै बजारमा ल्याउँछौं । र, बीमा प्राधिकरणले भनेको अनुसार नै नविनतम प्रडक्ट ल्याउनको लागि वर्कआउट गर्ने छौं ।
अबको एक वर्षमा सानिमा जीआईसीलाई कुन स्थानमा देख्न सकिन्छ ?
अहिले नै भन्न सकिन्न । किनभने हामी भर्खर मर्ज भएका छौं । यदी तत्कालिन सानिमा जनरल इन्स्योरेन्सको मात्रै प्लानिङ भइदिएको भए त्यो अनुसार भन्न सकिन्थ्यो । तर अहिले त भर्खर मर्ज भएर १५ दिन मात्र भएकोले यी सम्पूर्ण काम अहिले सकिएको छैन । केही समयपछि यो भिजनमा अघि बढ्छौं भन्न सक्छौं ।
तर पनि हामी टप लाइनमा मात्रै फोकस भएर काम गर्दैनौं । हामीले सम्पूर्ण सरोकारवालाहरुलाई जस्टिफाई हुने गरेर काम गर्छौं । बजारमा हामीले तीन वटा प्यारामिटरमा टार्गेट गर्ने हो । टप टेन, टप फाइभ र टप थ्री । केही समयमा टप टेन कम्पनीमा पुग्ने हो । त्यसपछिको टार्गेट टप फाइभ अनि टप थ्री हो । अहिले टप फाइभ र टप टेनको बीचमा कम्पनी पुग्ने भन्ने हो । एक वर्षभित्रमा सानिमा जीआईसी टप टेनभित्र पर्छ ।
ग्राहकहरु सानिमा जीआईसीमै किन आउने ?
हामीले ट्रष्ट (टीआरयूएसटी) को बिजनेस गरिरहेका छौं । जसको डेफिनेसन ट्रान्सप्यारेन्सी, रिलायबिलिटी, अनबायसड्, सर्भिस र टीमवर्क हो । यो मान्यतामा बसेर काम गर्ने भएकोले हामीले ग्राहकलाई एकदमै फेयर ट्रिटमेन्ट गर्छौं । चाहे त्यो सानो कस्टुमर होस् या ठूलो, यहाँ सबैलाई बराबर समान रुपमा हेरिन्छ भन्ने आश्वासनको आधारमा नै सानिमा जीआईसीलाई ग्राहकवर्गले रोज्नुहुन्छ जस्तो लाग्छ ।
दावी भुक्तानीमा पनि सानिमा जीआईसीमा समस्या छैन । दावी परेको संख्या हेर्ने हो भने एकदमै कम छ । परेको दावीलाई सकेसम्म छिटो भुक्तानी गर्ने भन्ने नै हाम्रो मूख्य प्राथमिकता हो । दावी भुक्तानीको लागि हामीले कस्टुमर सेल नै राखेर कस्टुमरलाई फलोअप गर्नेदेखि लिएर सबै कामहरु गरिरहेका हुन्छौं । त्यसैले पनि समस्या छैन । कम्पनीले दावीको लागि जुन कागजपत्रहरु माग गरेको हुन्छ, त्यो सम्पूर्ण पेश भएको अवस्थामा भुक्तानीमा ढिलाई हुँदैन ।
र, हाम्री जहिल्यै पनि बिजनेस गर्ने बेलामा नै सेलेक्टिभ हुन्छौं । भोलिका दिनमा यो बिजनेस गर्दा कस्तो खाले जोखिम आउँछ, त्यो न्यूनिकरण गर्न सकिन्छ भन्ने आधारमा मात्र व्यापार गर्नुपर्छ । यो भएपछि परेको दावी सजिलै दिन सकिन्छ ।
सानिमा जीआईसीले अबका दिनमा कस्ता चुनौतिहरु देखेको छ ? यसको सामाना गर्न कस्ता कस्ता रणनीति अपनाउँदै हुनुहुन्छ ?
सानिमा जीआईसीले बजारको सामान्य चुनातिबाहेक अन्य कुनै चुनौति देखेको छैन । मर्ज हुँदैमा कम्पनीलाई विशेष चुनौति आउँछ भन्ने पनि होइन ।
अहिलेको बजारमा जुन अवस्था छ । त्यसले कम्पनीको प्रिमियमहरु बढ्न सकेको छैन । त्यसैले बजारको अवस्थाअनुसार आइपरेका चुनौतिलाई सामना गर्दै जानुपर्छ । यसले सानिमा जीआईसीलाई मात्रै होइन सबै कम्पनीहरुलाई असर पर्छ । यो भनेको समयको कुरा हो । अर्थतन्त्र सँधै एउटै लयमा जान्छ भन्ने पनि हुँदैन । तर विभिन्न समयमा विभिन्न चुनौतिहरु आउँछन् । ती चुनौतिलाई पार गर्दै अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ ।
अर्थतन्त्रमा धेरै खाले समस्याहरु देखिएका छन् । यसले बीमा क्षेत्रमा कस्तो असर पर्ने देखिन्छ ?
इन्स्योरेन्स जहिल्यै पनि अर्थतन्त्रसँग समानान्तर रुपमा जाने हो । जब अर्थतन्त्र अर्थात आर्थिक गतिविधिमा संकुचन आइरहेको छ भने त्यसले बीमा बजारमा असर पारि नै हाल्छ । नपार्ने होइन । यसले मानिसहरुको क्रयशक्ति पनि घटाइरहेको हुन्छ । र, बिजनेसहरु पनि बढीरहेको अवस्था हुँदैन । किनभने अर्थतन्त्रमा समस्या देखिनु भनेको इकोनोमिक एक्टिभिटी नहुनु हो । यो नभएपछि बीमा गर्नेहरु कम हुन्छन् । जस्तै नयाँ बिजनेस भएन भने बीमा हुँदैन । आयात नहुँदा बिजनेस घट्छ ।