काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल बजारलाई अस्थिर बनाउँदै कच्चा पदार्थको लागत उच्च बनाए पनि चीनका औद्योगिक कम्पनीहरूको नाफा मार्च महिनामा पछिल्ला छ महिनाकै सबैभन्दा तीव्र गतिमा बढेको छ ।
राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मार्चमा औद्योगिक नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशतले बढेको हो, जुन गत वर्षको सेप्टेम्बरयताकै सबैभन्दा तीव्र वृद्धि हो । यसअघि यस वर्षको पहिलो दुई महिनामा १५.२ प्रतिशत वृद्धि भएको थियो ।
यस वर्षको पहिलो तीन महिनामा उद्यमहरूको नाफा १५.५ प्रतिशतले बढेको छ, जुन २०१७ पछि (२०२१ मा महामारीका कारण भएको असामान्य वृद्धि बाहेक) वर्षको सुरुआतकै सबैभन्दा तीव्र वृद्धि हो ।
एनबीएसका प्रमुख तथ्याङ्कविद् यू वेइनिङले उपकरण तथा उच्च प्रविधि उत्पादन क्षेत्रको नाफामा तीव्र वृद्धि भएको उल्लेख गरेका छन् । पहिलो त्रैमासमा यी क्षेत्रहरूको नाफा क्रमशः २१ प्रतिशत र ४७.४ प्रतिशतले बढेको छ ।
कृत्रिम बौद्धिकता (एआई) र अर्धचालक (सेमिकन्डक्टर) क्षेत्रमा आएको उछालले वर्षको पहिलो तीन महिनामा विभिन्न उपक्षेत्रहरूमा उल्लेखनीय नाफा वृद्धि गराएको छ ।
अप्टिकल फाइबर उत्पादकहरूको नाफा ३३६.८ प्रतिशतले बढेको छ भने अप्टोइलेक्ट्रोनिक्स र डिस्प्ले उपकरण उत्पादकहरूको नाफा क्रमशः ४३ प्रतिशत र ३६.३ प्रतिशतले बढेको छ ।
स्मार्ट (बौद्धिक) उत्पादनहरूको माग बढ्दा उदीयमान उद्योगहरूमा पनि आम्दानी बढेको छ । ड्रोन उत्पादकहरूको नाफा ५३.८ प्रतिशतले बढेको छ भने अन्य स्मार्ट उपभोक्ता उपकरण उत्पादकहरूले पनि उल्लेखनीय वृद्धि गरेका छन् ।
कच्चा पदार्थ उत्पादकहरूको नाफा पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा ७७.९ प्रतिशतले बढेको छ, किनभने तेल रिफाइनरीहरू नाफामा फर्किएका छन् । साथै एरोस्पेस, नयाँ ऊर्जा र नयाँ पुस्ताको सूचना प्रविधि जस्ता रणनीतिक उदीयमान उद्योगहरूले गैर–फलाम धातु कम्पनीहरूको नाफा ११६.७ प्रतिशतले बढाएको छ ।
यो वृद्धि २०२५ मा देखिएको स्थिरताको अवधिपछि आएको हो, जब औद्योगिक कम्पनीहरूको आम्दानी लगातार तीन वर्षको गिरावटपछि मात्र ०.६ प्रतिशतले बढेको थियो ।
पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेइ झाङका अनुसार उत्पादकहरूको नाफा सुधार हुनुमा बलियो निर्यातको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । पहिलो त्रैमासमा चीनको निर्यात अमेरिकी डलरमा १४.७ प्रतिशतले बढेको छ, जुन २०२२ को सुरुआतपछि सबैभन्दा तीव्र वृद्धि हो ।
तर झाङका अनुसार मध्यपूर्वको द्वन्द्वले दोस्रो त्रैमासमा अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्छ, किनकि उच्च ऊर्जा मूल्य र कमजोर बाह्य मागले निर्यातकर्ताहरूका लागि चुनौती बढाउनेछ ।
संकटका बीच पनि तुलनात्मक स्थायित्व
तेलको मूल्य बढ्दै जाँदा यसले विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले आयात लागत बढाउने र कच्चा पदार्थमा निर्भर उत्पादकहरूको नाफा घटाउने जोखिम बढाएको छ ।
अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि फेब्रुअरी अन्त्ययता ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४८ प्रतिशतले बढेको छ, जसले रसायन, फाइबर र प्लास्टिक जस्ता क्षेत्रहरूको लागत बढाएको छ ।
मोरगन स्ट्यान्लीका चीनसम्बन्धी प्रमुख अर्थशास्त्री रोबिन सिङका अनुसार चीनको ऊर्जा संरचना जसमा कोइला र नवीकरणीय ऊर्जाको ठूलो हिस्सा छ । जसले तेल मूल्यको उतारचढावबाट केही संरचनात्मक सुरक्षा दिएको छ।
३२ वटा क्षेत्रको सर्वेक्षणमा करिब ७० प्रतिशत कम्पनीहरूले आफ्ना विश्वव्यापी प्रतिस्पर्धीहरूको तुलनामा ‘कम लागत झट्का र कम उत्पादन अवरोध’ अनुभव गरेको बताएका छन् ।
सिङका अनुसार, ‘चीन तुलनात्मक रूपमा राम्रो अवस्थामा छ र ठूलो तर अत्यधिक नभएको ऊर्जा झट्काबीच निर्यात बजार हिस्सा बढाउने अवसर पाउन सक्छ ।’
यद्यपि विश्वव्यापी माग सुस्त हुँदा निर्यातको गति सीमित हुन सक्छ र उच्च ऊर्जा आयात लागतले आपूर्ति श्रृंखलामा नाफा घटाउन सक्छ, जसले अर्थतन्त्रलाई पूर्ण रूपमा सुरक्षित राख्न सक्दैन ।
उद्यमहरूको नाफा पहिले नै दबाबमा थियो किनभने लामो समयदेखि कमजोर रहेको रियल इस्टेट बजार र कमजोर रोजगारी अवस्थाले आन्तरिक माग घटाएको थियो, जसले विभिन्न क्षेत्रमा प्राइस वार बढाएको थियो ।
हालै धातुको मूल्य बढ्नु र बेइजिङले अत्यधिक उत्पादन क्षमता नियन्त्रण गर्न तथा अत्यधिक प्रतिस्पर्धा कम गर्न गरेको प्रयासले अर्थतन्त्रमा मुद्रा संकुचनको दबाब केही कम गरेको छ ।
तेलको मूल्य बढेपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मार्चमा सकारात्मक भएको छ, जुन तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक वृद्धि भएको हो र दशकौं लामो अपस्फीतिको अन्त्य गरेको छ ।
मोरगन स्ट्यान्लीले यस वर्ष चीनको पीपीआई १.२ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ, जबकि गत वर्ष २.६ प्रतिशतले घटेको थियो । उपभोक्ता मूल्य पनि यस वर्ष ०.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जबकि गत वर्ष स्थिर थियो ।
समुद्रमा रहेका ट्यांकरहरूमा भण्डारण गरिएको इरानी तेल तथा ठूलो मात्रामा मौज्दातले विश्वकै सबैभन्दा ठूलो आयातकर्तालाई केही राहत दिएको छ । तर हालैका हप्ताहरूमा ट्रम्प प्रशासनले होर्मुज जलडमरूमा लगाएको नौसैनिक नाकाबन्दीले बेइजिङको रणनीतिमा परिवर्तन ल्याउन सक्छ, किनकि युद्ध सुरु हुनु अघि चीनको करिब आधा तेल आयात यही मार्गबाट हुने गरेको थियो ।
अमेरिकी प्रशासनले शुक्रबार चीनको एउटा स्वतन्त्र ‘टीपोट रिफाइनरीमाथि इरानी तेल खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको जनाएको छ । यसले चीनको कुल रिफाइनरी क्षमताको करिब चौथाइ हिस्सा ओगट्ने प्रमुख ऊर्जा स्रोतमा असर पार्न सक्छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)