काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछाडि पार्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य रहेका थिए । मतदानमा सबै ८९ सांसद सहभागी भएको समितिले जनाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।