काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । पछिल्लो समय कम्पनीहरु धमाधम मर्ज हुँदा पनि मर्जरमा नगएको शिखर इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा बढी छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार शिखरले गत फागुनसम्ममा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १२.२३ प्रतिशतले बढी हो । माघमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
शिखरलाई मर्जरमा गई बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अर्थात ‘सलिको’ले पछ्याएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा १०.४८ प्रतिशतले बढी हो ।
त्यस्तै, मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा व्यवसाय पनि सोही प्रतिशत अर्थात १०.६७ प्रतिशतले बढेको छ । कम्पनीले फागुनसम्ममा २ अर्ब ९८ करोड बराबरको प्रिमियम उठाएको छ ।
त्यसैगरी, बढी प्रिमियम संकलन गर्नेको चौथो स्थानमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले गत माघको तुलनामा १२.६८ प्रतिशतले बिजनेस बढाई १ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ ।
सबैभन्दा पहिला मर्ज भई एकीकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स बीमाशुल्कको आधारमा पाँचौ स्थानमा छ । समीक्षा अवधिमा इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।
त्यस्तै, अन्य ७ कम्पनीले एक अर्ब माथिको प्रिमियम संकलन गरेका छन् । गत माघमा करोडको क्लबमा रहेको नेपाल र प्रभु इन्स्योरेन्स फागुनमा अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । एक महिनामा यी कम्पनीले क्रमशः १२.८१ प्रतिशत र १०.८५ प्रतिशतले प्रिमियम बढाएका छन् ।
प्रतिशतको आधारमा हेर्दा बिजनेश व्यवसाय बढाउनेमा सानिमा जिआईसी आक्रमक देखिएको छ । कम्पनीले पछिल्लो एक महिनामा सबैभन्दा बढी प्रतिशत अर्थात १८.१६ प्रतिशतले आफ्नो व्यवसाय बढाएको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
यता करोडको क्लबमा बाँकी ४ कम्पनी रहेका छन् । जसमा दि ओरिएन्टल, प्रुडेन्सियल, युनाइटेड र नेशनल इन्स्योरेन्स रहेका छन् ।
समग्रमा निर्जीवन बीमा व्यवसाय एक महिनामा १२.१७ प्रतिशतले बढेको छ । गत माघमा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीले फागुनसम्ममा २५ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम उठाएका छन् ।
एक महिनामा कसको कति बढ्यो ?
