काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट उत्पादनमुखी हुनु पर्ने बताएका छन् । अध्यक्ष मल्लले विकासन्युजसँग कुरा गर्दै अहिलेसम्म बजेट वितरणमुखी हुने गरेकोले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वितरणमुखी भन्दा पनि उत्पादनमुखी हुनु पर्ने बताएका हुन् ।
आगामी बजेट मुलुकलाई स्थायित्व दिने खालको हुनु पर्ने उनको भनाइ छ । ‘मूलुकको अर्थतन्त्र सुधारका लागि प्रत्येक वर्ष निजी क्षेत्रको तर्फबाट अर्थ मन्त्रालयलाई राय सुझाव पेश गर्दै आएका छौं, बजेटका कार्यक्रमले मुलुकलाई सम्वृद्ध बनाउन तर्फ सरकारको ध्यान जानु पर्छ, अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको बजेट आवश्यक छ,’ उनले भने ।
आगामी बजेट सानो र चुस्त दुरुस्त हुनु पर्ने उनको भनाइ छ । विनियोजित बजेटलाई पनि खर्च गर्न सक्ने प्रभावकारी व्यवस्था गर्नु पर्ने उनले बताए । बजेट समय सापेक्षित भए मात्र बैंकिङ प्रणालीमा पनि तरलताको समस्या सुधार हुँदै जाने बताए ।
‘आगामी बजेट देशलाई आत्मनिर्भर बनाउने खालको हुन आवश्यक छ, स्रोत र साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधि ल्याउन जरुरी छ, मुलुकलाई डिजिटलाइजेशनमा अगाडि बढाउनु पर्छ,’ उनले भने ।
उनले पछिल्लो समय उधारो कारोबार मात्रै हुने गरेको बताउँदै यसलाई बन्द गर्ने किसिमको बजेट तयार गर्नु पर्ने बताए । विनियोजित बजेटको खर्च समयमै नहुँदा आयोजनाको लागत पनि बढेको उनको भनाइ छ ।
उनले आगामी बजेट युवालाई प्रोत्साहन गर्ने किसिमको हुनु पर्ने उनको भनाइ छ । युवाहरु बढ्दो संख्यामा विदेशिरहेको विषयलाई जोड दिँदै यसलाई रोक्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने धारणा राखे ।
‘आगामी बजेट उत्पादनशिल र प्रभावकारी हुनु पर्छ, वितरणमुखी हुनु भएन, बजेट छुट्याउने तर काम नहुने प्रवृति हावी छ, अब यस्तो हुनु भएन, एउटा ठोस नीति बनाएर बजेट विनियोजन गर्ने र त्यसको प्रभावकारी रुपमा खर्च हुने वातावरण सिर्जना हुनु पर्छ, तब मात्रै मुलुक अगाडि बढ्छ,’ उनले भने ।