काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र संकुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतिलाई गम्भिर भएर सरकारले सोच्नुपर्ने बताउँदै उनले भने, ‘मुलुकलाई आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित बनाउन बजेट प्रभावकारी भएको छ, अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन सक्दैन ।’
आर्थिक गतिविधि बढाउनको लागि बजेट बढाउँदा स्रोतको चुनौतिलाई ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् ।
निश्चित क्षेत्रभित्र रहेर विस्तारकारी बनाए अन्य क्षेत्रमा खर्च कटौति र नियन्त्रण गर्नुपर्ने र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गर्न आवश्यक रहेको उनले बताए ।
‘बजेट बनाउनु पूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालु खर्च कटौति गर्ने योजना र योजनाहरुको पुनःप्राथमिकरण गर्ने,सेवासुविधा र प्रयोगको पुनः परिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्छ,’ उनले भने ।