काठमाडौं । माई खोला हाइड्रोपावरको सेयर मूल्य २ दिनमा करिब ६० रुपैयाँ घटेको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार आएको २ दिनको अवधिमा ५८ रुपैयाँ घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कारोबारमा आएको पहिलो दिनदेखि नै सेयर मूल्य निरन्तर ओरालो यात्रामा छ । कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशतले घटेको थियो ।
कम्पनीको सेयर जेठ १ गते सोमबारका दिन नेप्सेमा सूचीकृत भएको थियो भने मंगलबारबाट प्रतिकित्ता ३३५ रुपैयाँमा पहिलो कारोबार भएको थियो । अन्य कम्पनीको आईपीओ निष्काशन पश्चात् दोस्रो बजारमा कारोबार हुँदा केही दिनसम्म सकारात्मक सर्किट वा सेयर मूल्य निरन्तर बढ्ने गरेको भएपनि माई खोला हाइड्रोको सेयर भने निरन्तर ओरालो लाग्न थालेको हो ।
कम्पनीको सेयर म्युचुअल फण्डहरुले बिक्री गरेको हुन सक्ने एक लगानीकर्ताले बताए । उनका अनुसार आईपीओमा म्युचुअल फण्डलाई छुट्टै कोटा दिइएको हुन्छ । सोही सेयर बिक्री गरेर मासिक वित्तीय विवरण राम्रो देखाउन कम्पनीको सेयर बिक्री गरेको हुन सक्ने उनले बताए ।
‘आईपीओ हो, जलविद्युत कम्पनीको सेयर मूल्य औषत २/३ सय मात्रै छ, एकैचोटी २ सय रुपैयाँ नाफा आएपछि बिक्री गरिहाल्छन्,’ उनले भने, ‘म्युचुअल फण्डलाई आरक्षण दिइएको छ, सेयर मूल्य बढेपछि बिक्री गरेर खेल खेल्छन्, सबै म्युचुअल फण्डले सल्लाह गरेर नै बिक्री गरेको हुन सक्छन् ।’
उनले आईपीओमा पनि जोखिम रहेको बताए । नेपालमा आईपीओमा जोखिम छैन भनिएपनि अब जोखिम बढ्दै गएको उनको भनाइ छ । उनले घोराही सिमेन्टको सेयर बिक्री नभएर अण्डरराइटरले साकार गर्नु पर्ने अवस्था आएको बताए । साथै, नागरिक दैनिकको सेयर पनि अन्यौल रहेको उनको भनाइ छ ।
‘विदेशमा आईपीओमा पनि जोखिम बढ्छ, अब लगानीकर्ताहरुले आईपीओमा जोखिम देख्छन्, प्रिमियम मूल्यमा आईपीओ जारी भएपछि त झनै जोखिम बढ्छ, विदेशमा आईपीओ भन्दैमा खरिद गर्दैनन्, उनीहरुले विश्लेषण गरेर मात्रै आईपीओ भर्ने की नभर्ने भनेर निर्णय गर्छन्,’ उनले भने ।
नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशत अर्थात् ३३ रुपैयाँ घटेको थियो । यस्तै, दोस्रो दिन पनि कम्पनीको सेयर प्रतिकित्ता ७.९३ प्रतिशत अर्थात् २३.९० रुपैयाँ घटेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता २७७.६० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ ।
गत जेठ १ गते आयोजना प्रभावित स्थानिय बासिन्दालाई बिक्री गरिएको १० प्रतिशत अर्थात् ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको ३९ प्रतिशत १५ लाख २९ हजार ४११ कित्ता र संस्थापक समूहको ५१ प्रतिशत अर्थात् २० लाख कित्ता गरी कूल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता १११.६७ रुपैयाँदेखि ३३५.०१ रुपैयाँ प्रदान गरेको थियो । कम्पनीको पहिलो सेयर कारोबार अधिकतम मूल्यबाट भएको थियो ।
कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
हाल यस कम्पनीमा ८ जना संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाईं रहेका छन् भने प्रबन्ध निर्देशक भुषण गुरागाईं रहेका छन् । यस्तै, सञ्चालकमा दिनेश गुरुङ्ग र श्रीजेश गुरागाईं रहेका छन् । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका २९ अनामनगरमा रहेको छ भने जलविद्युत उत्पादन केन्द्र ईलाम नगरपालिका–८, सिमफिरिङ मा रहेको छ ।